बालाराम पुन
चितवनको पर्सातर्फ यात्रा गर्दै गर्दा मनमा व्यग्र उथुलपुथल थियो, तर, त्यहाँ न त तीर्थयात्राजस्तो छटपटी थियो, न घुमघामको हतारो नै । भरतपुरदेखि पर्सासम्मको करिब २० किलोमिटरको ४० मिनेटको यात्रा अवधिभर मनको निकै बाक्लो किताबमा एउटा सार्थक जीवनका अध्यायहरू फरफर पल्टिरहेका थिए । स्मृतिका नजरहरू घरी प्रारम्भिक पानाहरू छिचोल्थे, घरी अन्तिम पानातिर पुगेर अडिन्थे ।
शरीर पर्सा पुग्नुपहिल्यै मन पर्साबजारको चोकमा रहेको देवी दिदीको घरमा बारम्बार पुगिरहेको थियो । अल्जाइमरले ग्रस्त मेरी आदरणीय फुपू अहिले कस्तो अवस्थामा हुनुहोला ? देवी दिदी के गरिरहनुभएको होला ? देवकुमारी र म जब दिदीको घरभित्र पस्यौँ त्यहाँको अवस्था देखेर स्तब्ध भयौँ । हामीबिचको त्रिपक्षीय मौनता निकै बेरसम्म अटुट रह्यो । त्यो मौनताभित्र थियो जीवन, समय र स्मृतिबीचको चिरन्तन अन्तरद्वन्द्व ।
फुपूलाई भेटेको त्यो क्षण अझै मनमा ताजै छ । कुनै समय घर-परिवार, गाउँ-समुदाय सम्हाल्दै खेतबारी र वनपाखामा अघिअघि फाल हाल्दै हिँडेको फुपूको त्यो विशाल काया सानो खाटको ओछ्यानमा पथाउरो परेको थियो । मंगोलियन जिउका बलिया हातखुट्टाहरू आज ओछ्यानमा निश्चल थिए । आँखा घरीघरी खुल्न खोज्दथे. तर सक्दैनथे । मुखबाट नबुझिने बर्बराहट निस्किरहेको थियो । ती आँखाभित्र कुनै स्मृतिको झिल्को बाँकी थिएन । स्मृतिका सबै झ्यालढोकाहरू सदाका लागि बन्द भइसकेका थिए । मनको घरभित्र निष्पट्ट अँध्यारो मात्रै बाँकी थियो । त्यो अँध्यारोभित्र एकोहोरो चलिरहेको सासको मसिनो स्वर सुनिन्थ्यो ।
त्यस ओछ्यानको छेउमा टोलाएर बसिरहनुभएको थियो उहाँकै एक मात्र सन्तान देवी । उहाँले आफ्ना जीवनका पारिवारिक काम कर्तव्यहरू, चाहनाहरू, महत्त्वाकांक्षाहरू आफ्नो कर्मघरको कुनामा थाती राखेर आफ्नी महतारीको स्याहारलाई नै एक मात्र धर्म बनाउनुभएको छ । वर्षौँपहिलेदेखि ओछ्यान परेकी अचेत अवस्थाकी जन्मदातृ मातृलाई नियमित रूपमा ओखती, पानी र जाउलो खुवाउने, दिसापिसाब गराउने, दिसापिसाबले क्षणक्षणमा बिग्रिरहने कपडालत्त सफा गरिदिने काम दिदी एक्लैले गरिरहनुभएको छ । देवी दिदीको युवाकालीन जोसजाँगर, जिज्ञासु स्वभाव, सकारात्मक सोच र शिक्षामा अब्बलपना देख्दा लाग्थ्यो उहाँ देशकै अग्रपङ्तिको नेतृत्वसम्म पुग्नुहुनेछ । तथापि अहिले त्यो पङ्तिभन्दा पनि धेरै अगाडि पुगेर अर्थात् जीवनको सर्वतोमुखी तथा अपरिहार्य भूमिका निर्वाह गरिरहनुभएको छ ।
वृद्धावस्थाले असक्त र असहाय हुँदै गइरहेका आफ्नै जन्मदिने बाबुआमालाई परित्याग गर्ने स्वार्थी सन्तानले जेलिएको संसारमा देवी दिदी अपवाद मात्र हुनुहुन्न, उहाँ एक आदर्श सन्तान हुनुहुन्छ । परलोक छ भने उहाँले त्यहीँसम्मको पुण्य कमाइसक्नुभएको छ र परलोक नभए पनि यही जीवनलाई उज्यालो बनाउनुभएको छ, एक असल र अनुकरणीय सन्तानको निष्ठा र कर्तव्य निर्वाहले । आजभोलि आमाबाबुको पालनपोषणको अपरिमेय ऋण चुक्ता गर्ने सन्तान यस संसारमा बिरलै भेटिन्छन् ।
आजभन्दा केही वर्षअगाडि मेरो बुवा दशैँ र तिहारमा टीका थाप्न फुपूकै घरमा पुग्नुहुन्थ्यो । बुवाको पछिपछि लागेर हामीहरू पनि फुपूको घरमा जान्थ्यौँ । फुपूले बुवाको गलामा काँक्राको बियाँ, मकदुल र हजारीको माला र निधारमा सप्तरङ्गी टीकाले भरिदिँदा हामीहरूले फुपूकी छोरी देवी दिदीको हातबाट टीका थाप्थ्यौँ र नाङ्लाभरिका सेलरोटी र केराहरू पाउँथ्यौँ । त्यसो त टीका थाप्नकै लागि मात्र बुवाले दिदी तुल्याइएकी आफन्ती हुनुहुन्थ्यो हाम्री फुपू । तर उहाँहरूको नाता र व्यवहार सहोदर भाइबहिनीजत्तिकै घनिष्ठ थियो ।
फुपू फुपाजुको बारेमा दिदीसँग कुरा गरिरहँदा झ्यालमा राखिएको फुपाजूको तस्बिरले एकोहोरो सुनिरहेको जस्तो लाग्छ । मेरो फुपाजु बालाराम पुन- रुकुम, सोलाबाङका विकासप्रेमी, शैक्षिक अभियन्ता र समाजका अनुकरणीय नेता । वि.सं. २०४९ मा खलङ्गा गाउँ विकास समितिको वडा नं ६ बाट निर्वाचित वडाध्यक्ष । गाउँका हरेक भौतिक तथा अभौतिक विकासकार्यमा अग्रपंक्तिमा रहने एक सच्चा जनप्रतिनिधि । सोलाबाङ विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रूपमा गर्नुभएको कुशल नेतृत्व, स्थानीय शिक्षाको उन्नतिमा उहाँको योगदान र गाउँलेहरूका प्रमुख सल्लाहकार र हरेक कचहरीका अभिन्न न्यायकर्ताको भूमिकाले उहाँलाई मुसीकोटमा अमर तुल्याएको छ ।
फुपाजु बालाराम पुन रुकुम जिल्लाकै शैक्षिक धरोहर मीनबहादुर पुनका कान्छा बुवा पनि । त्रिभुवन जनता माध्यमिक विद्यालयका पूर्व प्राचार्य र रुकुमेली क्याम्पसका संस्थापक एवं क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभएका मीनबहादुर पुनको प्रगतिका आधार र उत्प्रेरक पनि उहाँ नै हुनुहुन्थ्यो । लामो समयसम्म वन सेवातर्फको सरकारी सेवामा कार्यरत रही सेवा निवृत्तपश्चात् हाल सामाजिक सेवामा अहोरात्र खटिइरहनुभएका चितवन, पर्साका स्थायी बासिन्दा भरत भण्डारी उहाँका एक मात्र छोरीजुवाइँ हुनुहुन्छ । उहाँको देवी दिदीलाई दिएको पारिवारिक साथ र समर्थनले नै दिदीले आमाको अनवरत सेवा गर्ने समय र मौका पाउनुभएको छ ।
तीन वर्ष अघिसम्म विभिन्न रोगहरूका साथै अल्जाइमरले स्मृतिहीन हुँदै गइरहेकी फुपूको साथमा फुपाजु हुनुहुन्थ्यो । अल्जाइमरले भुत्ते बनाएको फुपूको स्मृतिपटलबाट सबथोक विलुप्त हुँदै जाँदा पनि फुपाजू भने ताजै हुनुहुन्थ्यो । फुपूको मुखबाट निस्कने एक मात्र शब्द भनेकै फुपाजुको नाम थियो । तर विधिको बिडम्बना कोरोनोकालको छोटो समयकै बिरामीले फुपूको एक मात्र आधार फुपाजूलाई फुपूबाट हठात् खोसेर लग्यो । फुपाजु बितेको हप्तौँसम्म फुपूले फुपाजुलाई पुकारिरहनुहुन्थ्यो रे । फुपाजुले अन्तिम सास फेर्दा हातले खाटमा हिर्काउनुभएको थियो रेः सायद यस्तो असक्त जीवनसङ्गिनीलाई स्याहारसुसार गर्न नपाएर अकालमै जानुपर्यो अब कसले सेवा पुर्याउला ? भन्ने गुनासो थियो होला उहाँको ।
ती दिन, ती वर्ष, ती योगदान, सबैलाई सम्झँदा सोलाबाङको त्यो घर आज पनि एउटा अलिखित इतिहासको पुस्तकालयजस्तै लाग्छ, जहाँ समय रोकिए पनि इतिहासको मिठो गुन्जन बोकेका अनगिन्ती खोल्साहरू मुसीकोटमा अविरल बगिरहेका छन् । त्यो अजर अमर पुस्तकालयलाई त्यहीँ अलपत्र छोडेर फुपू र फुपाजु पर्सातिर झर्नुभयो । फुपाजुको निधनमा उहाँको गुनगान गाउने गाउँलेहरूले शोकसन्तप्त हुँदै शवयात्रामा भाग लिन पाएनन्, उहाँको चितामा ‘आगो’ दिन पाएनन् । फुपूलाई ‘आफै सम्हालिनू है!’ भन्दै समवेदना प्रकट गर्न उहाँको घरमा आउन पाएनन् ।
फुपू र फुपाजूका जीवनका सुनौला क्षणहरू सम्झिँदा लाग्छ, मानिस वार्धक्यले थला पर्छ, स्मृतिमा ताला लाग्दै जान्छ, आफ्नाहरू बिराना हुँदै जान्छन्, दिनकै उज्यालो पनि अँध्यारिँदै जान्छ र त्यही अँध्यारोको गर्तमा मान्छे एक दिन बिलाउँछ; तर राम्रो कामले छरिएको बाहिरी उज्यालो कहिल्यै निभ्दैन ।
हिजोको भेटघाट केवल भेटघाट थिएन, अनुकरणीय शिक्षक र पुस्तकहरूले पढाएको एक गहिरो पाठ थियो । बुढ्यौली, रोग, जिम्मेवारी, स्नेह, सेवा र सन्तानधर्म- यी सबै एकै ठाउँ एउटै ओछ्यानमा वरिपरि भेला भएको एउटा पाठशाला । एक पुस्तकः बालाराम फुपाजु जसका पाना अद्यापि खुल्लै छन् । फुपू अर्को पुस्तक, जहाँ जीवन व्यवहारका धेरै पाठहरू खाटभरि असरल्ल छरिएका छन् । अनि, त्यो पाठशालाकी कर्तव्यनिष्ठ शिक्षिका- देवी दिदी, जसले व्यवहारद्वारा नै जुनसुकै किताबमा लेखिएको भन्दा भरपुर शिक्षा दिइरहनुभएको छ ।
फुपू र फुपाजूले सम्झनलायक जीवन जिउनुभयो । दिदीले सम्झनलायक सेवा गरिरहनुभएको छ र शिक्षार्थी देवकुमारी र म, जसले मुसीकोटदेखि पर्सासम्मका थुप्रै दृष्टान्तहरूसहितका पाठहरू दोहोर्याएर भर्खरै फर्किएका छौँ ।
सम्भव भएसम्म फुपूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।
![]()