तिलाचन र महतको रोमाञ्चक यात्रा
अबभै !!! घरमै छु भनी जानपरिवारलाई छक्काइकन डाँराकाँरा डुल्ने यस्तो पनि कोइ गर्चन् !! प्रकृतिको बिछट्टै सुन्दरतासँग रम्न पाए परिवारको परमादेशको उल्लङ्घन कसले पो गर्दैन्थ्यो र !
नवयौवनाको तिलाकोटीजस्तो तिलाचन र बेहुलाको पगरीजस्तो धौलागिरि । सगर खुन्टिने हिसाबले अग्लिएका बाग्लुङ रोल्पा र रुकुमका अधिकांश उच्च शिखरहरू । ग्रामीण वस्तीहरू तथा काँधमा काँध मिलाएर डाँडैभरि बसेका महतका घरहरू । महतबाट एकटाङपारि देखिएका रुकुमका मोरबाङ, सीमा, झुम्लाबाङ, क्याङ्सी, आदि सुन्दर घनावस्तीहरू । यात्रा जिन्दगीका लेखक पासाङ र समीक्षक पूर्ण ओली बालुवाटारको उक्त पुस्तक विमोचन कार्यक्रमबाट हराएपश्चात् महतमा दोस्रोचोटि भेटघाट ।
मध्यपहाडी लोकमार्गबाट यसअघि बिसौँचोटि ओहोरदोहोर गरे पनि न यति नजिक तिलाचन दह छ भन्ने थाहा थियो न त महत नै । रुकुम बाग्लुङ र रोल्पाको सीमानाको पाथिहाल्नेको नजिकै रहेको तिलाचननै नपुगेपछि पुथा र धौलागिरि हिमालहरू यति नजिक देखिन्छन् भन्ने कसरी थाहा हुनु । प्राकृतिक मनोरमतामा चुर्लुम्मै डुब्न मध्यपहाडीको लोकमार्ग हुँदै यात्रा नगरेपछि झन्डै छोइएलान् जस्तो गरी छेउमै लम्पसार परेर सुतेका गुल्मीको र रोल्पाको सुनछहरीको कसलाई अत्तोपत्तो । मध्यपहाडीको बाटो ओहोरदोहोर गर्दा पाथिहाल्नामा नओर्लिने बिरलै हुन्छन् । ओर्लिएपछि गालामा ठण्डा हावाको थप्पड खाँदै आसपासको जङ्गल र मास्तिर रहेका नाङ्गा पाखाहरूको अवलोकन नगर्ने को बाँकी होला र । तर तिलाचन नपुगी छोड्दिन भनी यात्रा गर्नेले मात्र यी कुराहरू देख्न भोग्न पाउँछ ।
पाथिहाल्नेबाट दक्षिणतिरको उकालो बाटो समात्दै ४०० मिटर जति उचाइमा पुगेपछि करिब १ घण्टाको यात्रापश्चात् भेटिन्छ तिलाचन दह । तिलाचन भने किलाचन शब्दको अपभ्रंश रूप रहेछ । ३५०० मिटरभन्दा बढी उचाइमा रहेका रुकुम बाग्लुङ र रोल्पाका उच्च लेकहरूको माथमा रहेको निलो तालले निधारमा टीकुली लगाएजस्तै अझ भनौँ अनिन्द्य सुन्दरीले गालामा तिलाकोटी बनाइएजस्तै शोभा दिएको रहेछ । दह उति ठुलो छैन । दहकै विशालता हेर्नका खातिर गएका आँखाहरू भने तालको सानो आकार देखेर निराश हुनसक्दछन् । तर तालको सौन्दर्य हेर्ने उत्कट इरादाले पुगेका आँखाहरू भने तालको सौन्दर्यता देखेर थाक्दै थाक्दैनन् । सम्झनुहोस् त सुन्दरीको गालामा बिन्दुबराबरको कालो तिलाकोटीको सट्टा पिपलको पातबराबरको कालो पोतिए गालाको शोभा घट्ला कि बढ्ला
मान्छे नग्नताप्रति स्वभावैले आकर्षित हुन्छ । अझ प्राकृतिक नग्नता बिछट्टै सुन्दर लाग्दछ मान्छेको यो जातलाई । यही नग्नतालाई हिउँले बेरिदिँदा मान्छे बेहदै आकर्षित हुन्छ । शिशिर ऋतुमा पुग्ने हो भने तिलाचन वरपर हिउँसँग पनि खेल्न पाइन्छ तर कमै उचाइ भएकोले यहाँ परेको हिउँ वसन्त ऋतुमा पग्लिइसक्छ । हिउँ पग्लिए पनि सुन्दरता भने पग्लिएर जाँदैन । कुनै नवयौवनाले मजेत्रो खोलेजस्तै थप सुन्दरता उदाङ्गिन्छ । उदाङ्गो सतहमा प्राकृतिक अङ्ग प्रत्यङ्ग कोट्याई कोट्याई मनग्गे हेर्न पाइन्छ ।
तिलाचन पुग्नुका उद्देश्यहरू यतिमा सकिँदैनन् । यहाँबाट नजिकै देखिन्छ धौलागिरि हिमशृङ्खला ।
![]()