Purna Oli

Freelance Writer

क्यार्दान र बलै (व्यङ्ग्य)मनोरञ्जनलेख/आलेख

तँ पनि ठगको फेला परिगएस् !

तँ पनि ठगको फेला परिगएस् !

उफ् ! अनलाइनबाट मगाएको मुसा धपाउने औषधिले पनि काम गरेन । अर्को मोरोबाट फेरि ठगिएछु । यो खप्परमा ठगिनु पनि कति लेखिएको हो ? यसअघि नै यति धेरै ठगिइसकेको छु कि अहिले “फेरि ठगिएँ” भन्नै लाज लाग्ने ।

गर्न त यसभन्दा अघि अनलाइन विधिबाट मगाएका कुनै वस्तुले पनि आशातीत आवश्यकता पूरा गरेनन् । प्रत्येक वस्तु मगाइसकेपछि कान समात्ने गर्छु “बस्! आजैदेखि अनलाइन किनमेल बन्द!”। तर त्यो प्रतिज्ञा जँड्याहाको जाँड छोड्ने प्रतिज्ञाभन्दा पनि फितलो सावित हुन्छ । मोबाइल फोनको स्क्रिनमा देखिने पाँच सेकेन्डका ‘ग्याजेट–रिल’ ले भुसुक्कै बिर्साइहाल्छन् ।

पछिल्लो रामराज्य कालमै यस्तो अवस्था !

अनलाइन विधिबाट कपटपूर्ण सामान मगाउँदा एक महिनाको पेन्सन चौपट ! घरमा बुढीसँग खटपट ! आर्थिक मानसिक र शारीरिक स्वास्थ्यमा गडबड ! अनि मात्र पश्चात्तापले भतभती पोलेर बित्थैको छटपट !

बुढी दिक्क मान्दै भन्छिन्, ‘यी ठगहरूको विश्वास नगर भन्यो, माने पो ! बाँकी रहेको खेतबारी पनि सक्काउने भो । अहिल्यैदेखि खरानी घसे भो !“

म भन्छुः “यो दुनियाँ अनलाइनकै हो ! तिमीजस्ती पुरातन सोचकी घरबुढीलाई आधुनिक जमानाका कुरा के पत्तो ? अनि बुढी मर्माहत । उनको लागि ‘पुरातन सोचकी’ जस्तो अवहेलनापूर्ण गाली अर्को छैन ।

त्यसो त बिहानको चियादेखि सुरु भएर रात्रिकालीन पेयसम्मका हरेक कुरामा ठगीकै अंश हुन्छ । आँखा खुल्यो कि कुनै न कुनै ठगी पक्का ! एकचोटि बाघदेखि तर्सिएको मान्छे बाच्छो देखे पनि तर्सिन्छ, सापले तर्साएको मान्छे डोरी देखेर तर्सिन्छ, भुतको कथा सुनेको मान्छे रुखको पात हल्लिँदा पनि तर्सिन्छ । तर ठगीमा परेको मान्छे ठगहरूसँग साक्षात्कार हुँदा पनि तर्सिँदैन । ठगहरूको कस्तो मोहनी रूप !

यसपालि मुसा धपाउने औषधिले काम नगरेर फेरि ठगिएको महसुस भएपछि झनक्कै रिस उठ्यो । ठगिएकोमा आफैलाई लोप्पा पनि खुवाएँ । ‍औषधी उत्पादक कम्पनीको फोन नम्बर खोज्न फेसबुक रिल हेर्न थालेँ । रिलको तल हजारौँ कमेन्टः “मलाई चाहियो ।“, “मलाई चाहियो ।“ “मूल्य कति हो ? बिचबिचमा “यो औषधि हालेपछि सबै मुसा गायब ! यो त रामवाण नै सावित भयो ।“ यस्ता कमेन्टहरू देखेर झटपट एउटा कमेन्टरलाई नै फोन लगाएँ र फोन उठेपछि सोधेँ:

“मेरोमा मुसा धपाउने ‍औषधिले त “मुसा बोलाउने फ्रेगरेन्स जस्तो काम पो गर्‍यो । तपाईँले किनेको क्रियटिभ इन्टरनेशनलको मुसा धपाउने औषधिले मुसा धपाएको हो र ?”

“हो नि, त्यो औषधि छरेदेखि मेरो घर वरपरका सारा मुसा टाप ।“

उसको खिलखिलाउँदै गरेको मिठो बोलीले ऊसँग सवालजवाफ गर्न म झनै लोभिएँ ।

“साँच्चि हो र ? मेरोमा त फुट्टी काम गरेन बाइ । मुसा लर्को लागेर भित्रिएका भित्रिएई छन् ।

“औषधि प्रयोग गर्न जान्नुभएन होला नि त !”

“विक्रेताले भनेबमोजिम नै स्प्रे गरेको हुँ ।“

“स्प्रे गर्न जानेर मात्र हुन्छ त ?”

“डबल-ट्रिपल स्प्रे पनि गरेँ । मुसा झन् झन् उर्लिएपछि मुसाको नाचघरमा एक सिसी नै खन्याएँ तैपनि कम भएनन् । कस्तो तरिका हो त औषधि हाल्ने ?”

“त्यसरी होइन नि ! पहिले मुसा च्याप्प समात्नुस् !!”

“मुसा समात्न सकेको भए औषधि हाल्नै पर्थेन नि । अनलाइन व्यापारीभन्दा पनि चलाक मुसा समात्न सके पो !”

“जस्तोसुकै पासोले मुसा समातिन्छन् त ? हाम्रो कम्पनीको मुसा समात्ने पासोले मात्र चपक्कै मुसा समात्न सक्छ !”

“साँच्चिकै ? कति पर्छ त्यो मुसा समात्ने पासोलाई ?“

“एक हजार मात्र पर्छ ! अस्तिसम्म दुई हजार पर्थ्यो आजलाई मात्र अफरमा आएको छ ! लाने भए मौका नगुमाउनुस्, अहिल्यै अर्डर गरिहाल्नुस् ।“

“त्यो पासो ल्याए पक्का समातिन्छ त ?”

“चारो पनि मुसालाई मनपर्ने खालको हुनुपर्छ नि !”

“त्यो चारो कहाँ पाइन्छ त ?”

“हाम्रै कम्पनीमा मात्र पाइन्छ । अन्त कतै पाइँदैन ।“

“हो र ? कति पर्छ मुसाको चारोलाई ?”

“हिजोसम्म दुई पुरीको पन्ध्र सय थियो । आजलाई तीन पुरीलाई जम्मा एक हजारमा धमाधम विक्री भइरहेको छ । लाने भए छिटो गर्नुहोला । माग अत्यधिक भएकोले भोलिबाट दुई हजार पुग्नसक्छ ।“

“त्यो पुरीले पक्कै मुसा समातिन्छ त ?”

“विश्वास गर्नुस् न, हाम्रो कम्पनीको सामान किन्नेले गाउँभरिका मुसा समातिसके !”

“अनि, मुसा नै समातिएपछि यो किनिसकेको ‘र्‍याट निल’ ब्राण्डको मुसा भगाउने औषधिको काम के भयो त ?”

“मुख्य काम त्यसैको त हो नि । पहिले मुसा समात्नुहोला, अनि, ब्यूटी पार्लरजस्तै त्यो औषधि मुसाको जुँगामा दलेर छोडिदिनुहोला । जति मुसा समातिन्छन्, त्यति मुसाको जुँगामा दलिदिनुभयो भने ती मुसाले तपाईँको घरमा कहिल्यै पाइलो टेक्ने छैनन् ।“

फोनमा लामै गडगडाहट सुनियो र लाइन काटियो । म बकटक्कै !अर्को ठगको फेला पो परिएछ भन्ने बल्ल ज्ञात भयो ।

त्यसो त एउटाले मगमग बास्ना आउने जापानिज कमल फूलको बीऊ किनायो, एउटै उम्रिएन । अर्कोले सजिलै रुख काट्ने करौँती भन्यो, एउटा पोथ्रो नकाट्दै २ टुक्रा भयो । तेस्रोले फूलबारीमा रङ्गीचङ्गी फूलहरूको बीऊ भन्यो, पाकेटभित्र जम्मा ५ वटा बियाँ पठाएको रहेछ । ५ मध्ये २ वटा उम्रियो । फुलेपछि थाहा भयो आफ्नै बारीका पाटाहरू र कान्लामा फुल्ने पहेँलो पुतली झार पो रहेछ । ट्रेकिङमा जान सजिलै बोक्न मिल्ने कुर्सी भन्यो र १५ हजारमा १२ वटा किनायो । किनेपछि थाहा भयो त्यस कुर्सीमा २ वर्षभन्दा ठुलो मान्छे बस्नै मिल्दो रहेनछ । आफू बस्दा एउटा कुर्चुप्पै । बुढीले बाँकी कुर्ची नकुहिने फोहोरमा लगेर मिल्काएको पत्तै भएन ।

यस्ता अनलाइन ठगाइ त कति कति । ठगिनु पनि कति ठगिनू, तर कहिले चेते पो । यिनीहरूको सित्तैको मोहजालमा फसिहाल्ने म पनि उस्तै !

जागिरे जीवनका ठगहरूको झन् के कुरा गर्नू ! जागिरे ठगहरूको महाकाव्य तयार गर्नै लाज लागिरहेको छ । कुरा गर्‍यो आफैलाई लाज ।

***************

लाज भन्नेबित्तिकै आफ्नै घरबुढीलाई सम्झिएँ । उनले यो यात्रा संस्मरण कदापि प्रकाशन नगर्नू आफैलाई लाज हुन्छ भनेर किरियाकसम खुवाएकी छन् । प्रकाशन गरौँ आफैलाई लाज नगरौँ मुर्गा बनाइएको अपमानको आगो यो छातीभित्र दन्केको दन्केई छ । निभ्दै निभ्दैन त के गरूँ ?

आँ गरे अलङ्कार बुझ्नुहोला, घरबुढीको कानमा फेसबुकमा राखेको यो कुरा कसैगरी नपारिदिनुहोला ।

अँ त, एक हप्ताअघि घोराही हुँदै काठमाडौँ आइयो । गाडी यात्रा भनेपछि उनलाई सारै सकस ! उनले त एक महिनाको पेन्सनको रकम त हो, प्लेनमै जाम् भनी जिद्दी गरेकी थिइन् । तर मैले मानिनँ, “अब पटक पटक रुकुम काठमाडौँ गरिरहनुपर्ने होला, सधैँ प्लेन चढेर के साध्य ? तिमी प्लेनमा जाऊ, म गाडीमै जान्छु । उनले ‘भात छोड्नू, साथ नछोड्नू’ भन्ने उखान सम्झाउँदै पछि लागेरै छोडिन् । छिट्टै काठमाडौँ पुग्नुपर्ने भएकोले फोल्डिङ सिट नकुरी ३ र ४ नम्बरको क्याबिनको सिट लिइयो । बस आइपुगेपछि देखियो, क्याबिन स्याबिन सबै सिटमा मान्छे भरिभराउ । खुट्टा राख्नु त परैको कुरा सियो राख्ने ठाउँसम्म छैन ।

टिकटअनुसारको सिट मिलाइदिन चालक र सहचालकलाई हातपाउ जोडियो । तर उनीहरूले ‘टिकट काट्नेलाई नै भन !’ भनेर उल्ल्याए मात्र । बाट क्याबिनमा अरू यात्रुहरू खाँदिए । मुस्किलले जिउ अल्झाएको क्याबिनबाट पनि हाम्रो उठिबास लाग्यो । त्यहाँ छानीछानी उनीहरूलाई राखे ।

फोल्डिङ सिटमा मात्र काउन्टरवालाको टिकटले काम गर्ने । क्याबिनको बेन्च वा प्यासेजमा मुढा उपलब्ध गराउने सम्पूर्ण तजबिजी अधिकार खलासीलाई । रात्रिबसको एकतन्त्रीय महाराजाः खलासी । (आजभोलि खलासी भन्न पाइँदैन भनिन्छ क्यारे, तर मानवताको नाउँमा लासजस्तै गर्नुसम्म दुर्व्यवहार गर्नेलाई खलासीभन्दा निम्नस्तरको कुनै शब्द भए त्यही शब्द प्रयोग गर्ने थिएँ ।) खलासी बीस बाइसे कुकुरबैँसे हुन्छ । उसका छनौटमा कस्ता यात्री पर्छन् ? रात्री बसका आम यात्रुहरूलाई जगजाहेरै छ । बिरामी, वृद्ध, असक्त र अपाङ्गहरूलाई प्राथमिकतामा नपार्ने मात्र होइन, उसले घृणा गर्छ, दुत्कार्छ र जो नवयौवना छे र खलासीले जे जे भन्यो त्यही मान्छे, उसैलाई आफ्नो छेउको बेन्चमा वा मुढामा बसाउँछ र कुनै फोल्डिङ सिट खाली भयो भने त्यसैमा बसाउँछ ।

तर यात्रीहरूले अपर्झटको यात्रा गर्नैपर्छ । क्याबिनको सिट भए पनि काट्नैपर्छ र बारम्बार यस्तै दुर्ब्यवहार खेपरहनैपर्छ । जस्तोसुकै दुर्व्यवहार पनि सहनै पर्छ ।

पैसा फिर्ता गर्न मान्दैन । तिरिसकेको भाडा यात्रा नै नगरी यत्तिकै गुमाउन पनि मनले मान्दैन । अनि सुरु हुन्छः दशकौँदखि मर्मत नगरेर वा विस्तारको निहुँमा उखडखाबड पारेर छोडिएको बुटवलसम्म ठिङ्ग उभिएरै यात्रा ! जिउ अड्याउन मुढासमेत नपाएको अवस्था ! वार्धक्यले थला पार्दै गएको जिउ ! पेलापेल ! धकेलाधकेल ! फोल्डिङमा बस्नेहरूको कानको जाली फुट्ने खालको चर्को हप्काइ र सुन्नै नमिल्ने गाली !!

अनि बुटवलदेखि नारायणघाटसम्मको यात्रामा मुढाको बसाइ । पिठ्युँको ढाड दोब्रिएर सिधा नहुने अवस्था ! अर्काको बान्ता आफ्नो शरीरभरि ! आफ्नो बान्ता अर्काको शरीरभरि ! बसमा चढ्ने र झर्नेहरू आफ्नै टाउको वा जिउमा चढेर वारपार गर्ने ! घरी उफ्रँदै अघिल्तिर घरी पछिल्तिर । आफूसँग सुरक्षित हुन्छ भनी झोलामा राखिएको ल्यापटप, घिउतेल, खानेकुरा सबै ध्वस्त । जुत्ता चप्पल चट् ! आजित भएर बाँकी यात्राको भाडा नै माया मारी बिचमै झरेपछि एकलाई अर्कोले देख्दा नचिनेर तर्सिनुपरेको दारुण अवस्था ! गरुड पुराणका १३ वटा क्रुरतम् नर्कहरूको यातना १३ घण्टाकै यात्रामा भोगिसकिएपछि रहरको होइन स्वर्गको अनिवार्य यात्राको प्रबल सम्भावना !

अनि त बुढाबुढीको बोलचालै सदाको लागि बन्द ! म त पुरुष यात्रु भैगएँ एकजना महिला यात्रुको हालत के भयो होला ?

************

ठगहरूको ठगी पुराण यतिमै सकिँदैन । अब सुरु हुन्छः यस्तो अवस्था निम्त्याउने महाठगहरूको सङ्क्षिप्त वर्णन । यी महाठगले यी माथि उल्लेखित सानातिना ठगलाई स्वतन्त्र नछोडिदिएको भए यिनीहरूको स्वेच्छाचारिता किन चल्थ्यो र ?

महाठगहरूको ‘चुनाउ’ नाउको जात्रा नजिकिँदै छ । कहिल्यै नदेखेका, नसुनेका र गाउँको विकास वा मर्दा-पर्दा सिन्कोसम्म नभाँच्नेहरूको भव्य उपस्थिति । चुनावी र्‍याली । जिन्दावाद मुर्दावादको नाराले गाउँ नै जुरुक्क उचालिने । विभिन्न नाराहरूका प्लेकार्ड बोकेका मुर्गाहरूको जुलुस । भोज भतेर त कति हो कति ।

विभिन्न जात्रा हेर्न कतै जानै पर्दैन, तपाईँकै घर आँगनसम्म त्यो जात्रा आइपुग्छ । जात्राको मुख्य आकर्षणः मिठो भाषणको वर्षा, तालीको पर्रा, मासुभातको झरी, पैँसाको हावाहुरी ।

तपाईँलाई देख्नेबित्तिकै पहिले नमस्कार पनि नफर्काउनेले खुट्टामै पर्न आउँछ । सातजुनीसम्मको किरियाकास्टा खान्छ । रातारात गधाबाट ‘गाई’ बनिसकेको नाटक गर्छ । बालबालिकालाई ललीपप, भाउजूलाई बम्बैवाले सारी, दाजुलाई कानेटोपी र बाख्रालाई समेत दाना बोकेर तपाईँको घरको मैरोमै छिर्छ । घरघरमै अस्पताल, सडक, विश्वविद्यालय, रेल, हवाईजहाज पुर्‍याइदिने वाचा गर्छ । कर्मचारीलाई तलब बढाएर दुई लाख पुर्‍याइदिने आश्वासन दिन्छ । अरू उम्मेदवारजति नामुद भ्रष्टचारी र आफू मात्र दूधले नुहाएको सज्जन कहलिन्छ । चुनावी महोत्सव नटरुन्जेल यति मीठो बोल्छ कि पहिलो माया बस्दा प्रेमिकाले त्यति मीठो बोलेकी थिइनन् । अघिपछि एक लाइन शुद्ध लेख्न नजान्ने यति बेला चर्चित गायक र महान कवि बन्छ । धोद्रै स्वर भए पनि गीत गुनगुनाउँदै हिँड्छ । खुट्टै चलाउन नजाने पनि गरुवा सिँगारु पैँसेरु र टप्पा नाच्दै हिँड्छ । मतदाताको कुकुर बिरालालाई समेत अंगालो मार्दै सेल्फी खिच्दै हिँड्छ । स्वास्थ्य चौकी अस्पत्ताल वा बिरामी भएको घर चहार्दै बिरामीलाई तिम्रो पीडा मेरो पनि पीडा भन्दै हात मुसार्छ र निस्कँदा हातमा आधा बोत्तल स्यानिटाइजर र जिउमा पर्फ्युम छर्दै बाहिरिन्छ । कहिल्यै नपसेको मन्दिमा मात्र होइन, बाटोमा भेटिएका चुच्चे ढुङ्गामा समेत शिर जुधाउँदै र जिते बोका चढाउने कबोल गर्दै हिँड्छ । गाउँलेले समस्या सुनाए भने नोटबुकमा टिपेजस्तो गर्छ तर नोटबुक अर्को गाउँ जानुपहिल्यै खोलामा बगाइदिन्छ ।

माथिका उपक्रमहरू त मतदातालाई आकर्षित गर्ने टुनामुना मात्र हुन् । आखिरी रातमा बाँडेको मासु–मदिरा र पैँसाले अन्तिम डोजको काम गर्छ र सजिलै मुर्गा बनाइएको मतदाता भोलिपल्ट उसैले सिकाएको चिन्हमा छ्याप्प छाप हान्छ ।

ढाँट्नु ढाँटेर मतदातलाई मुर्गा बनाउने सक्ने ठगहरूमध्ये सबैभन्दा महाठगले अत्यधिक मुर्गाहरूको भोट थुत्छ र चुनाव जित्छ । जितेपछिको उसको बाँकी काम चुनाव गरेको खर्च गरेको पैसाको साँवा ब्याज उठाउनमै तल्लिन हुनु हो । ऊ बदलिन्छ माथि दोस्रो प्रसङ्गमा वर्णन गरिएको स्वेच्छाचारी खलासीमा । दिउँसोको शासनलाई रात्रिको शासनमा बदल्छ । यात्रुलाई छानी छानी सेवा पुर्‍याउँछ । एक अवधिसम्म उसकै एकछत्र स्वेच्छाचारी राज चल्छ । जनताहरू रात्रिबसको मुढा भाग पाउने यात्रीको जस्तो प्रताडना सहन बाध्य हुन्छन् ।

जिताइसकेपछि उसलाई जति भन्नोस्, कोट्याउनोस्, गाली गर्नोस्, उसले किन सुनोस् ?

हिजोआजको राजनीतिक दल दर्ताको बाढी देख्नुभएकै छ । छर्लङ्गै थाहा छ उसलाई, यी पाखेहरूलाई दिनदहाडै ठग्न सकिन्छ । उम्मेदवारी किन बढ्छ ? प्रत्येक उम्मेदवारलाई थाहा छ, कसरी चुनाव जितिन्छ भन्ने तिकडम । एक एकसँग एक एक जुक्ति छ, मतदाताहरूलाई उल्लु वा मुर्गा बनाई खुलेआम ठग्नको लागि । केही तरिका पहिलेका नेताबाट सिकेर, केही आफैले जुक्ति लगाएर । उनीहरूको ठगीको नाफा–नोक्सानी व्यवसाय, हग्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तै हुन्छ ।

तर आफूलाई भने नठगिई नहुने बानी नै परेको छ । एउटा मात्र ठग भए पो जोगिन सकिनु ? पानीमा ठगी, दूधमा ठगी, तरकारीमा ठगी, दालचामलमा ठगी, लुगालत्त ठगी, काममा ठगी, दाममा ठगी । नजिककै नातेदारबाट ठगी, साथीभाइबाट ठगी, वरिष्ठबाट ठगी, कनिष्ठबाट ठगी, क्रेताबाट ठगी विक्रेताबाट ठगी नेताबाट ठगी । आहोहोहो जताततै ठगी नै ठगी । ठगहरूको नालीबेली केलाउँदा चक्कर लागेर ढलुँलाजस्तो भैसक्यो ।

यो देशमाः

मुसालाई भगाउन खोज्दा मुसाले आफैलाई भगाउँछ,

यात्रामा बसको टिकट काट्दा नरकको यात्रा भोगाउँछ,

नेतालाई भोट दिँदा, देश डुबाउँछ र मतदाताको बेथा जस्ताको तस्तै रहन्छ ।

नठगिएको कुनै दिनै छैन, क्षणै छैन । ठगको फेला पर्नुसम्म परिसकेपछि झोँक चल्छ, झनक्क रिस उठ्छ र जो नजिक पर्‍यो उसैलाई गाली गरौँ गरौँ लाग्छ । कलिजुगका विद्यमान गालीहरू लागे पो ? सबै भुत्ते भइसके ।

गाली गर्नेबित्तिकै ठहरै पारिहाल्ने खालको कलीजुगको यत्ति एउटा गाली छः “तँ पनि ठगको फेला परिगएस् !”



Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *