Purna Oli

Freelance Writer

त्रिपन्न टाकुरीबाउन्न पोखरी त्रिपन्न टाकुरी

जमारु हरले

एउटा यस्तो समय थियो सोलाबाङको पारिपट्टिबाट जोसिला युवाहरूको ताँती बैरागी ठाँटीतिर द्रुत गतिमा झर्थ्यो । मुसीकोट खलङ्गाको हाइस्कुलमा अन्य मेधावी विद्यार्थीहरूसँग खरो प्रतिष्पर्धा गर्थ्यो र पुरै टिम नै विजय हासिल गर्थ्यो । मुसीकोट उक्लँदा ओर्लँदा ठाँटीबजारमा एकछिन अल्झिएर देश विदेशका तातताता घटनाहरूको बारेमा विचार विमर्श चलाउँथ्यो । त्यस बेलाको प्रख्यात समाचार स्रोत घटना र विचार सुन्थ्यो र त्यसलाई आफ्नै ढङ्गले अर्थ्याउँथ्यो ।

त्यो समय थियो २०४१/४२ तिरको । युवाहरू थिए नयाँगाउँ आसपासका गोपाल खडका, लालबहादुर ओली, विजय ओली, यज्ञबहादुर ओली, अर्जुनकुमार ओली र मोतीराम ओलीहरू । उनीहरूलाई निर्देशित गर्थे नयाँगाउँकै पाका तथा शिक्षित व्यक्तिहरू गोविन्द ओली, मोहनलाल ओली, तिलकराम ओली, भीमबहादुर ओली आदिले ।

त्यो युवा पङ्तिले एकैपटक शिक्षक सेवा आयोग पास गरी आसपासका विभिन्न विद्यालयमा नियुक्ति पाएपछि नयाँ नयाँ काम गरेर विद्यालयमा नै शैक्षिक तहल्का मच्चाउन थाले । उति बेला नयाँगाउँ छिवाङ गाउँ विकास समिति अन्तर्गत पर्दथ्यो । छिवाङमा मात्र होइन रुकुमका शिक्षित गाउँहरूमध्ये नयाँगाउँले अग्र स्थान ओगटेको थियो । नयाँगाउँ यिनै नयाँ जोसजाँगरका युवाहरूको पर्याय बनेको थियो । शिक्षक भएपश्चात् पनि ती युवाहरूको वैचारिक विमर्शको स्थल ठाँटीबजार नै बनिरहेको थियो । सडक पुगेपछि ठाँटीबजार सोलाबाङमा सर्‍यो, तर त्यो वैचारिक केन्द्र भने अस्ताएर गयो ।

पछि नयाँगाउँलाई नयाँ गाउँमा रुपान्तरण नगरेरै ती युवाहरू कोही दाङतिर झरे, कोही सुर्खेततिर गए, कोही बाँके बर्दियातिर लागे र कोही काठमाडौँतिर लागे । शैक्षिक उन्नयनमा उदीयमान नयाँगाउँ नाममा मात्र सीमित रहन बाध्य भयो ।

४६/४७ सालतिर नयाँगाउँमै एकजना निकै जेहन्दार, परिश्रमी, अनुशासित, मृदुभाषी, अल्पभाषी, होचोहोचो र पातलो व्यक्तिले गोपालहरूको समूहले नापेको बाटोलाई नाप्न थाले । उनका बहुगुणले नयाँगाउँ मात्र होइन आसपासका ठाउँहरूमा समेत सुपरिचित थिए । उनी नाताले मेरो भाइ पर्दथे र केही समय उनलाई पढाएकोले हामीबिच गुरुचेलाको सम्बन्ध पनि थियो । मसँग प्रस्तुत हुँदा उनी निकै विनयशील हुन्थे । उनी नामका मात्र कुबेर थिए धनसम्पत्ति र शैक्षिक प्रगतिको हिसाबले पटक्कै होइन । उनले शैक्षिक प्रगति खासै गर्न सकेका थिएनन् । आफ्नो कडा मिहेनतले छोराछोरीको उज्ज्वल शैक्षिक प्रगति हेर्ने उनको सपना थियो होला ।

आफ्नो नामलाई सार्थक तुल्याउन उनले जीवनभर परिश्रम गरिरहे । उनको परिश्रमको क्षेत्र बन्यो परम्परागत कृषि पेसा । माटोमा जति रगतपसिना बगाए पनि, जति दशनङ्ग्रा धसे पनि उनले आफ्नो आर्थिक स्तरलाई अपेक्षित रूपमा उकास्न असफल नै रहे । उनका बच्चाहरू सानै थिए र पढ्दै थिए । पूरै परिवारको भार उनको काँधमा मात्र परेको थियो । उनले देखेका सपना ठुलै थिए होलान् र क्रमशः विपनामा साकार हुने क्रममै थिए होलान् । अकस्मात त्यो परिश्रमी परिवारउपर कठोर दैव अझै निर्ममताका साथ खनियो । कहिल्यै अस्पत्तालमा जानु नपरेका कुबेर भाइको गत कार्त्तिक पूर्णिमाको अघिल्लो दिन अल्पायुमै निधन हुन पुग्यो ।

रुकुमकै प्रसिद्ध मेला तथा आसन्न पर्व डिग्रेमा पुगेर रमाइलो हेर्ने रमाइलो गर्ने भनी जमजमाएका भाइबन्धु इष्टमित्रहरू उनको मलामी बनेर आँसुको घुट्का निल्न बाध्य हुनुपर्‍यो । कुबेर भाइको शवयात्रा र अन्त्यष्टिमा म पनि सामेल हुन पुगेको थिएँ । त्यसपछि उनको परिवारमा समवेदना प्रकट गरी आलो घाउमा थोरै मलहम लगाउन जानैपर्ने कर्तव्यबाट म भने जागिरको बहानामा च्युत हुने अवस्थामा थिएँ तसर्थ यस शनिबारलाई मैले नयाँगाउँ पुगेर उपयोग गर्ने सोच बनाएँ ।

उज्यालो नबस्दै घरबाट निस्किएपछि नयाँगाउँ उक्लँदै गर्दा मैले ती निकै परिश्रमी कुबेरलाई मात्र सम्झिनँ, आजभन्दा ४० वर्ष अघिको त्यो जोसिलो युवा जमातलाई एकएक गरी सम्झिएँ । मोहन दाइलाई पनि सम्झिएँ र उहाँको पुरानो घरको डोब खोजेँ । गोपालको पुरानो घरको आँगनमा निस्किएको अपरिचित अनुहार देखेर झस्किएँ । कुबेरको घर जाने बाटो सोध्ने मान्छे नै भेटिनँ ।

भाइ कुबेरको घरमा पुगेपछि आजै उनको शुद्धीकार्य पनि रहेछ । भाइ कुबेरको पुण्य तिथिको अवसर पारेर दिवंगत भाइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ । भाइबुहारी र बच्चैमा कोरा कपडामा बेरिएका चिचिला भतिजहरूलाई देखेर मुटु भक्कानियो । आफ्नो गहमा एकैछिनमा भरिइहाल्ने आँसु बारम्बार पुछ्दै गएँ । मैले व्यक्त गर्न नसकेको समवेदना मेरो पिलपिले अवस्थाले जनायो।

शुद्धिकार्यमा भीमबहादुर दाइ बिहानैदेखि बन्धुत्वको कर्तव्य निभाइरहनुभएको थियो । अन्य भाइपट्टिहरू पनि ठाउँठाउँबाट जम्मा हुँदै थिए । आसपासका गाउँहरूबाट मात्र होइन दाङ, सल्यान, जाजरकोट, बाँके र बर्दियासमेतबाट इष्टमित्रहरू ओइरिइरहेका थिए । कुबेर भाइले यो धर्ती छोडेर गए पनि यति धेरै इष्टमित्र कमाएका रहेछन् भनी गर्वको महसुस भयो ।

आजै दशौँ, एघारौँ, बाह्रौँ र तेह्रौँ दिनको कर्मकाण्डहरू पूरा गर्नुपर्ने अवस्था थियो । तसर्थ दशौँ दिनको कार्यको लागि बिहानै नयाँगाउँको बिचमा रहेको पाखोतिर झर्‍यौँ । बाहुनले जानी/नजानी काजक्रियाका विधिहरू सुनाउँदै थिए र कुबेरका छोराहरू निन्याउरो अनुहारमा जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गरिरहेका थिए । भात खुवाउन गएका इष्टमित्रहरूबिच स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचार विमर्श हुन थाल्यो । पुरानो युवाजमातको अभाव पुनः खट्कियो । भीम दाइले त्यो जमातका अधिकांश युवाहरू जो अब वृद्धावस्थाको सङ्घारको नजिक नजिक पुगिरहेका थिए, तिनीहरू यस शुद्धिकार्यमा आइपुग्ने आश्वासन दिनुभयो । म फेरि उनीहरूसँग भेट हुने आशाले रोमाञ्चित हुन पुगेँ ।

यस्तैमा साइनोको कुरा चल्यो । प्रसङ्गवश् भीम दाइलाई लाज पचाएर सोधिहालेँ, ‘भीमदाइ हजुरलाई दाइ भन्न थालेको त झन्डै आधा शताब्दी बितिसक्यो तर हजुर कसरी दाइ पर्नुभयो ठ्याक्कै ठम्याउन सकेको छैन । मलाई खुलस्त बताइदिनू न !’

उहाँले भन्नुभयो, “हाम्रा घरका बज्यैहरू साख्खै दुईबहिनी हुन् । जेठी बहिनीपट्टिका नातिहरू तिमीहरू भयौ । अर्को बहिनीका छोराहरू प्रताप प्रवीरहरू हुन् र कान्छी बहिनीका नातिहरू म र कुबेर भयौँ । अरू बहिनीपट्टिहरू कोही लोरीबाङ छन्, कोही जाजरकोटतिर छन् ।”

“बाका मामाहरू को हुन् त दाइ ? तिनीहरू कहाँ छन् ?” मैले थप कौतुक पेश गरेँ ।

“यो गाउँको पश्चिमपट्टि नजिकै जमारू भन्ने गाउँ छ । जमारुको तलपट्टि हरले भन्ने सानो गाउँ छ । हरलेमा हाम्रा बाका मावलीहरू थिए तर अहिले त्यहाँ कोही पनि छैनन् । सबै बाँकेतिर देश गइसके ।” दाइले भन्नुभयो ।

भीम दाइले मावली नजिकै छ भनिदिएपछि मलाई बाबाको मावली हेर्ने हुटहुटी मच्चियो । बा छँदै किन यति नजिकको गाउँमा पुगिन हुँला भनी निकै पश्चात्ताप पनि भयो । हाम्रो कुरा चल्दै गर्दा पुरानो युवा जमातका डाइरेक्टर गोविन्द अङ्कल पनि आइपुग्नुभयो । उहाँले बाको मावलीको बारेमा थप जानकारी दिनुभयो । गोविन्द अङ्कल कसरी अङ्कल पर्नुभयो भन्ने कुरा बल्ल उत्तरकालमा खुलस्त भयो । उहाँको आमाको मावली र हाम्रा बाको मावली एउटै पो रहेछ ।

मलाई बाको मावली गाउँमा उडेर पुगूँ कि गुडेर पुगूँ जस्तो भयो । उज्यालो नबस्दै घरबाट निस्केको थिएँ, तर मध्यान्ह हुन थाल्दा समेत् हातमुख जोर्ने मेसो मिलेको थिएन । ठुलो सङ्ख्याका इष्टमित्रलाई खानपिन गराउन ठुलै स्तरको तयारी भइरहेकोले पाकेको अन्न छिट्टै भेटिन पनि मुस्किल थियो । उपस्थित इष्टमित्रमध्ये कसैले आज एघारौँ दिनको पनि काम भएकोले यहाँ त केही खान मिल्दैन भनिदिएपछि त्यहाँ हातमुख जोर्ने सम्भावना पनि टरेर गएको थियो । अतः शुद्धेरीमा आइपुगेको पाहुना शुद्धिकार्य नसकिँदै फर्कनु अशोभनीय हुँदा हुँदै पनि म त्यहाँबाट लुसुक्क भागेँ । मैले त इरादा कसेकै थिएँ आजै अहिल्यै बाको मावली गाउँमा नपुगी नछोड्ने ।

म त्यहाँबाट नयाँगाउँको टाकुरामा उक्लिएँ । त्यहाँबाट सोलाबाङ मात्र होइन मुसीकोट सदरमुकामको दृश्य सपाट देखियो । मेरो डुलुवा मन आसपासका चुचुरामा पुगेर फनफनी नाच्न थाल्यो । सडक बाटोलाई पछ्याउँदै म तेर्पायाँ तेर्पायाँ अगाडि बढेँ । नयाँगाउँको अलिकति माथिको गाउँ रहेछ माथिगाउँ । माथिगाउँबाट अझै उक्लिएपछि भेटिँदो रहेछ गर्वेटाकुरो गाउँ । सोलाबाङबाट कहिल्यै नदेखिएको एकपछि अर्को गाउँ देख्न पाउँदा खुसीले आल्हादित हुन्थेँ । जति जति माथि उक्लँदै जान्थेँ उत्तरतिरका गाउँहरू उति उति छर्लङ्गिदै थिए । तर सोलाबाङबाट नजिकै देखिने टोड्केको लेक भने जति उक्लियो उति झन् झन् अग्लो देखिँदै गएको थियो । तथापि समय बचे टोड्के पनि पुग्छु भन्ने जोस पनि उत्तिकै थियो ।

बाटोमा २ जना केटाहरू भेटिएपछि सोधेँ, “बाबु जमारु पुग्न अब कति छ ?” अब ५ मिनेट पनि छैन भनिदिऊन् भन्ने आशाको विपरीत उनीहरूले त, “अब १ घण्टा लाग्छ !” पो भन्छन् । यिनी फुच्चेहरूले मलाई बामे सर्ने बुढो नै ठाने कि भनी रिस पनि उठ्यो ।

सोलाबाङमा अक्सर सुनिने नाम हो जमारु । जमारु नपुगे पनि नयाँगाउँसँग लपक्कै टाँसिएको बाक्लो जमारु गाउँको नक्सा आँखामा टाँसिएको सानो छँदादेखि नै हो । मोतीराम ओली पनि त नयाँगाउँकै गोपालहरूसँग टाँसिएरै स्कुल जान्थे । ती मोतीलाल बस्ने जमारु कसरी टाढा हुनसक्थ्यो ?

अलि पर गएपछि एकजना वृद्धा महिलाले मलाई सोधिन्, “एक्लै लुखुरलुखुर कता हो बाबु ?”

“यतै हो आमै । एक्लो जिउ, खाला घिउ ।” भनेँ मैले ।

“साथी ल्याएर आएको भए हुने । हिजो राति मात्र यहाँ बाघ आएको थियो । होस गरेर हिड्नू है ।”

हाँसो उठ्यो, आजको जमानामा पनि जमारु गाउँमा बाघ भेटिन्छन् भन्ने उनको अडबाङ्गे कुराले । चेत हराएकी बुढी होलिन् भन्ने ठानेँ ।

केही पर नपुग्दै जमारु भेटिन्छ भन्ने मेरो प्रबल आशाको विपरीत साल र सल्लाको जङ्गल पो सुरू भइदिन्छ । क्षितिजसँग जोडिएको जङ्गलपारिको गाउँतिर हेरेँ त्यो त निकै टाढा पो छ । त्यहाँ पुग्न त एक घण्टा कमले मान्दै मान्दैन । ठिकै त भनेका रहेछन् ती केटाहरूले ।

झन् पर जान्छु झन् जङ्गल बाक्लिन्छ । टोड्केको जर्जर पाखो निकै आकासिएको छ । बाटोमा एउटा चरो मुसो केही भेटिँदैन । अलि पर पुगेपछि कुकुरका छाउराहरू लहरै मरेका देखिए । कुहिसकेको भए गन्ह आउँथ्यो होला । अड्कल गरेँ भर्खरै बाघले माउलाई समातेको हुनुपर्छ । जिउमा जिरिङ्ङै काँडा उम्रिए । बुढीआमाले त्यसै किन भन्दीहुन् र । विपरीत पाइला फर्कनुपर्‍यो अब भन्ने लाग्यो तर जिद्दी मनसँग कायल परेँ । ऊ फर्कनै मान्दैन । बरु आफैलाई थामथुम पारेँ, ‘बाघको आहारा त कुकुर भइसक्यो । मलाई पनि किन आहारा बनाउला र ?”

आँखामा टाँगिएको नयाँगाउँसँगैको जमारुको नक्सा उप्किएर खस्यो । त्यसको ठाउँमा नयाँ नक्सा टाँगेँ । जमारु र नयाँगाउँलाई ठुलो जङ्गल र खोल्साखोल्सीले छुट्याएको । जमारुभन्दा निकै निकै टाढा ।

केही बेरको पाइलाको टुकटुकी र मुटुको ढुकढुकी पार गरेर सकुशल जमारु आइपुगेँ । जमारु त निकै पातलो गाउँ पो रहेछ । त्यहाँ दुईवटी महिला देखेपछि सोधेँ, “अब हरले कता पर्छ कति टाढा होला ?”

उनीहरूले जमारुको पुछारको गाउँलाई देखाउँदै भनेः “ऊ त्यही हो हरले । अब आधा घण्टाजति लाग्ला ।”

निकै माथिबाट हरलेको दूरी देखेर सातो गयो । पुछारको गाउँ भेट्टाउन म यति माथि के खान उक्लिएँ त ?

माथिबाट टोड्केले भन्योः “यता पनि आउने पो भन्थिस् त अघि ?”

टोड्के पुग्न पनि यहीँबाट २ घण्टा घटी त लाग्दै लाग्दैन । टोड्के आकाशमा छ हरले पातालमा । मैले नदेखेरै दुवै ठाउँ पुग्ने योजना पो बुनेछु । आफ्नो मूर्खता सम्झेर आफै हाँसेँ । नपुगी स्वर्ग कहाँ देखिँदो रहेछ र ? मेरो पहिलो प्राथमिकता हरले नै थियो र त्यो ओरालोमा भएकोले सहज थियो । अतः तलतिर नै झर्न थालेँ ।

केही समयमै हरले पुगेँ । सानोमा आफै मावली पुगेको अनुभूति भयो । बा पनि आफ्नी आमाको काँध चढेर कति पटक आउनुभयो होला हरलेमा । तर यति टाढा त हम्मेसी पक्कै आउनुभएन होला । मैले मोबाइल क्लिक क्लिक पार्दै हरलेको सानो गाउँको फोटो लिन थालेँ ।

“खै त, मेरो मावलीको फोटो कस्तो खिचिस् ?” बाले मेरो पछाडिबाट मलाई बोलाउनुभयो ।

फर्केर हेरेँ वरिपरि कतै बा भए पो । ३ महिनापहिल्यै स्वर्गै भइसक्नुभएको बा कहाँबाट यहाँ आइपुग्नू । मेरो स्मृतिपटलले छक्काएको रहेछ । म भक्कानिएँ । पहिल्यै आएको भए बा यी तपाईँको मावलीघर भनी कति फोटो देखाउँदो हुँ । फोटोहरू देखेर बा पनि बाल्यकालमा फर्केर कति रमाउनुहुन्थ्यो होला । अनायाश आँखाबाट बगेका आँसु कसैले देख्ला कि भनी झटपट पुछेँ ।

बिचरा मेरो बा ! सानो हुँदा कसरी आइपुग्नुभयो होला यति टाढा ? वा मामाघरको अघोर माया लाग्दालाग्दै पनि निकै टाढा भएकोले मिच मारेर बस्नुभयो होला कि ? वा मेरी बोईले पटकपटक बालाई घरमै छोडेर माइतीमा आउनुभयो होला वा नजिकै पोइल गएको भए दिनको दशचोटि पुग्दो हुँ भनेर बाले आफ्नी आमालाई घोरिरहनु हुन्थ्यो कि ?

गाउँमा पसिसकेपछि त्यहाँ भेटिने गाउँलेहरूलाई सोधेँ, “भन्नुपरे खड्का परिवारको घर कुनचाँहि हो ?”

“यहाँ एक घर पनि खड्काहरू छैनन् । यो गाउँमा त सबै ओलीहरू मात्र बस्छन् । हामीलाई थाहा छैन भन्नुपरे भनेका को हुन् ।”

होइन होला ।

साँच्चिकै हरलेका बाका मावलीहरू सबै देश गइसक्नुभएछ । भाग्यवश् बाकै सानीआमाकी बुहारी भेटिनुभयो । उहाँले जानेबुझेसम्म बताइदिनुभयो । बाका मावलीरूले बेचेका घरहरूले भने अझै उहाँहरूको बिँडो थामेर अझै कुक्रुक्क बसेका रहेछन् । बाका मावलीहरू ३ भाइ कालु खडका, झिम्री खड्का र भन्नुपरे खडकाका घरहरूको फोटो लिएँ । बाका मावलीहरू नभेटाए पनि उहाँहरूले बनाएका घरहरू भेटाएकोले मन आनन्दित भयो । सोध्दै खोज्दै जाँदा बाबाका मामाका एकजना छोरा पत्ता लाग्नुभयो उहाँ हुनुरहेछ अमर खडका । हाल शमशेरगन्ज बाँके बस्नुहुँदो रहेछ । उहाँबाट सम्पूर्ण जानकारी लिने योजनाका बुन्न थालेँ ।

उता मन खुसीले उफ्रिनू, यता तनले भोकले झोक्रिनू । बिहान शेरबहादुर भाइको घरको चियाबाहेक केही पेटमा परेको छैन । उकालीओरालीले जिउ फत्रक्कै गलेको छ । भोकले पेट लथ्रक्कै गलेको छ । बाका मामाहरू यहीँ भैदिएको भए भोकले यसरी लखतरान भएर भान्जालाई किन हिड्न दिँदा हुन् । खाना बनाइदेऊ भनूँ, कसलाई भनूँ ? भन्नेबित्तिकै कसले पो बनाइदेलान् र ? देश जाने मावलीलाई धारे हात लगाउँदै सोलाबाङतिर फर्किने सुरसार कसेँ । भोकै सोलाबाङ कहिले पुगिसक्नू ? आउँदाजस्तै जाँदा पनि ३ घण्टा कम त पक्कै लाग्नेछैन ।

अन्तिम घरको आँगनछेउमा पुगेपछि एकजना अधबैँसे महिलाले बोलाउनुभयोः “ए बाबु कताको साइत हो ?”

“अब घरै जाने ।”

“घर कता हो नि ?”

भोकले सासै बन्द हुन थालेको छ किन अनावश्यक परिचय लेनदेनमा लागूँ अब ?सुन्दै नसुनेझैँ अगाडि बढेँ ।

“सङ्लो पानी खाएर त जानू बाबु ।”

हो त ! पानीले पनि कहिले त भोक भुजाउने काम गर्छ । यस्तो सोचेर म मास्तिर उक्लिएँ ।

“मही खानुहुन्छ त बाबु ? मही पनि छ ।”

भोक लागेको बेला मोही पाए कसले पानी रोजोस् ? भनिहालेँ, “दिनुस् दिनुस् मोही नै दिनुस् !”

“मोहीको सट्टा दही नै खानू न त बाबु । आलो दही पनि छ ।”

“दही त बाको नाममा छोडेको छु ।” म अनकनाएँ ।

“उसोभए अलिकति दालभात पनि बचेको छ । खानुहुन्छ त बाबु ?”

अरे । कस्तो संयोग हो यो ? ढुङ्गा खोज्दा देउता भेटिएजस्तो ! कतै भोकाएको छोराको दारुण अवस्था देखेर स्वर्गबाट बाले पठाइदिएकी सहयोगी त होइनन् यिनी ?

मैले भक्कानिदै सोधेँ, “कसरी चाल पाउनुभयो आमा, म साह्रै भोकाएको छु भनेर ?”

“घरमा दालभात बाँकी नै छ, घरछेउमा आइपुगेका पाहुनाहरूलाई सोध्ने त हाम्रो कर्तव्य नै भैहाल्यो नि ।”

घरमा भात बाँकी छँदा म आफैले नै घरछेउ हिँड्ने कसलाई सोधेको छु र भात खाने हो भनेर ? ख्यालख्यालमै ठुलो पाठ सिकाइन् यी महिलाले मलाई ।

स्थानीय चामलको भात, हरियो लसुनले झानेको कालो सिमीको बाक्लो दाल, केराको तरकारी, अनि त्यसमाथि तीब्र भोक । खानाको स्वादको कुरा गरी साध्य नै छैन । कपाकप भात खाँदैगर्दा परिचयको क्रममा पो थाहा भयो यसरी खाना खुवाउने त चिरपरिचित भाइ गोपाल ओलीकी आमा पो हुनुहुँदो रहेछ । गोपाल भाइको घर हरले हो भन्ने आजतक थाहै पाइनछु मैले । भात खाएको गुण गोपाललाई फोन लगाइदिएर तिरेँ र ती दयालु आमासँग बिदा हुँदै निस्किएँ ।

खोला झरेर नुवाकोट-मुसीकोट सडक भेट्न पाँच मिनेट पनि लागेन । सडकमा बुर्कुसी मार्न थालेको दश मिनेट नपुग्दै नयाँगाउँको पुछार पनि आई त हाल्यो । माथिल्लो बाटो नयाँगाउँको माथिगाउँ, गर्वेटाकुरा र त्यसपछिको जङ्गलको फेरो घुम्दा पो निकै टाढाजस्तो लागेछ नि । खासमा नयाँगाउँसँगै टाँसिएको त रहेछ हरले । ठिकै भनेका रहेछन् भीमदाइले । अनि नयाँगाउँसँगै टाँसिएको सोलाबाङ पुग्न मलाई कति नै बेर लाग्यो र !! बढीमा १५ मिनेट पनि त लागेन ।

सानै छँदा बा पनि यति नजिकको मामाघरमा दिनको एकचोटि त अवश्य नै पुग्नुभयो होला ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *