२०८२ माघ २७, मङ्गलवार, दुवाकोट, भक्तपुर
२०८२ माघ २७ गते, दुवाकोट, भक्तपुर
पृष्ठभूमि
आजबाट फेरि डायरी लेख्ने सुरुवात गर्दै छु । यस बेला डायरी लेख्ने उत्प्रेरणा दिने नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्छ । उहाँको डायरी शैलीको प्रकाशित पुस्तकले मलाई डायरी लेख्न घचघचाउँदै छ । उहाँले डायरी शैलीका एक दर्जनजति कृतिहरू प्रकाशित गर्नुभएको रहेछ । डायरीबाट पछि आवश्यकताअनुसारका विधामा छुट्टै रचना वा कृति तयार गर्न सकिने सम्भावना देखेँ ।
मैले प्रण गरेको छु कि यो डायरी लेखन कार्य अब मेरो जीवनकालभर रोकिनेछैन ।
मैले डायरी लेख्ने सुरुवात एसएलसी दिनेबित्तिकै गरेको हुँ । करिब १५ वर्षसम्म मैले शिक्षण सेवामा रहँदा डायरीका पानाहरू भरेको थिएँ । २०५४ सालमा ती डायरीका पानाहरूलाई रुकुममै छोडेर काठमाडौँ पलायन भएँ । डायरीका अतिरिक्त त्यो अवधिमा कोरेका विभिन्न विधाका रचनाहरू पनि थिए र २०५० सालमा प्रकाशित मेरो खण्डकाव्य दिन फिर्छन् त का विक्री हुन बाँकी कृतिहरूलगायत मैले अध्ययन गरेका अन्य साहित्यिक तथा कोर्सका पुस्तकहरू पनि घरमै थिए । त्यस बेलाको द्वन्द्व उत्कर्षतिर उक्लँदै गरेको बखतमा सुरक्षाकर्मीहरूले घरघरमा खानतलासी लिने गर्दथे । कसैले मेरो बुवालाई ती पुस्तकहरूकै कारणले सुरक्षा खतरा हुनसक्छ तसर्थ घरबाट हटाइदेऊ भनेको हुनसक्छ । पुस्तकको महत्त्वबारे कमै ज्ञान भएका मेरा बुवाले सबै पुस्तकहरू र कापीहरू ढिकमनिको जग्गामा खौलो खनी गाडिदिनुभएछ । ३ वर्षपछि मात्र म रुकुम फर्किएँ र खोज्दा कापि किताबको अवशेष समेत फेला परेन ।
त्यसपछि निजामती सेवामा प्रवेश गरेपछि मैले दैनिकी लेख्ने काम जारी राखेँ । तर त्यसले धेरै अवधिसम्म निरन्तरता पाएन । दिनदिनै उस्तै र एउटै काम गरिरहनुपर्दा दैनिकीको एकरसताले दिक्क तुल्यायो र करिब १ वर्ष जारी राखी दैनिकी लेख्ने काम नै स्थगित गरिदिएँ । तथापि त्यो डायरीमा आफूले निजामती सेवामा काम गर्दा भोग्नुपरेका कठिनाइ र प्राप्त अवसरहरू टिपोट गरेको थिएँ । कथा सङ्ग्रह निकाल्ने क्रममा उक्त दैनिकी काम लाग्न सक्छ भनी खोजतलास गरेँ तर भेटिएन । मलाई लाग्छः त्यो डायरी पुराना कागज सङ्कलन गर्ने मधेशी भाइको हात नपरेको भए अवश्य पनि घरभित्रैका कापीको थुप्रोभित्र परेको होला । खोजी गरे अवश्य भेटिनेछ ।
तत्पश्चात् नेपालमा पनि फेसबुक भित्रिएपछि त्यसको प्रोफाइल खोलेपछि फोटोहरू राख्ने क्रममा क्याप्सनहरू लेखेर प्रायजसो दिनदिनै फेसबुकमा राख्ने गर्दथेँ । सायद ती क्याप्सन सङ्कलन गर्न सकेको भए तिनीहरूले पनि दैनिकीकै काम गर्ने थिए । तर २०२३ को अक्टोबरमा मेरो फेसबुक डिज्याबल भयो र फेसबुकमा राख्ने गरेका फुट्कर रचना विचारहरू फोटोभिडियोहरू र फोटो क्याप्सन सबै रिकभर नहुने गरी डिज्याबल भयो र मेरो लेखनमा अर्को अपुरणीय क्षति पुग्यो ।
आजदेखि सुरुवात गरेको दैनिकी भने डिजिटाइज्ड हुनेछ । मैले दैनन्दिनमा भए गरेका कामहरूलाई टाइप गरेर यसलाई डायरी नाम दिई कम्प्युटरमा फाइल सेभ गर्नेछु । साथसाथै मेरो आफ्नै व्यक्तिगत वेबपेज purnaoli.com.np मा पनि पब्लिस गर्नेछु । मेरो इमेल एड्रेसहरू olipurna@yahoo.com, dorsoaccont@gmail.com र olipurna.lekhankuja@gmail.com मा पनि सेन्ड गर्नेछु । यति गरेँ भने एउटा प्लेटफर्म हराए पनि अर्कोमा सुरक्षित रहनेछ र भविष्यमा मेरो दैनिकी हेर्न खोज्ने जुनसुकै व्यक्तिले यही डायरीको एड्रेसहरू सर्च गरी भेट्टाउन सजिलो पर्ने विश्वास लिएको छु ।
दैनिकी प्रवेशः
मैले लेखनकुन्जको कामहरुमा सहयोग पुर्याउनको निम्ति अध्यक्ष कमल ढकालको अनुरोधमा गत माघ १ गतेदेखि नयाँ जागिरीको सुरुवात गरेको छु । आज मैले लेखनकुन्जमा प्रवेश गरेको २७ दिन पुगिसकेको छ । यस बिचमा जलस्रोत विज्ञ डा डम्बर नेपाली (एसएलसी बोर्डटपर) र निर्माण व्यवसायी हरिप्रसाद पाण्डेको आत्मकथाको पाण्डुलिपीको सम्पादन सकिसकेको छु । गत हप्तादेखि सरिता शर्मा शैलीको कृति सम्पादन गर्दै छु । कमल ढकालजीले मबाट धेरै आशा राख्नुभएको छ । मैले मेरो क्षमताले भ्याएसम्म सहयोग गर्ने वचन पनि दिएको छु । तर आफूले सोचेजस्तो र अरूले अपेक्षा गरेअनुकूल काम गर्न व्यावहारिक रूपमा कठिन नै छ । लेखनकुन्जलाई के गरेमा अझै राम्रो तुल्याउन सकिन्छ भनी आफ्ना सुझावहरू कमल ढकालजीलाई दिने गरेको छु । मैले मुख्यतः २ वटा उल्लेख्य काम गर्न सक्ने सुझाव दिएको छु । पहिलो हो दिनदिन कम्तीमा ५ जना साहित्यकारहरूको परिचय प्रकाशित गर्ने । यसो गर्न सकिएमा एक महिनामा १५० जना साहित्यकारहरूको परिचय प्रकाशित गर्न सकिन्छ । १ वर्षमा १८०० जना साहित्यकारहरूको परिचय कोश तयार गर्न सकिन्छ । ५ वर्षमा ९००० जना नेपाली साहित्यकारहरूको खोजी गर्न सकिन्छ र करिब ३६०० पृष्ठको बृहत परिचय कोश तयार गर्न सकिन्छ । काममा निरन्तरता दिए असम्भव कुरा होइन ।
दोस्रो नेपालका साहित्यकारहरूको साहित्यिक मेला आयोजना गर्ने । पहिलो चरणमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत प्रदेश र स्थानीयस्तरका प्रज्ञा प्रतिष्ठानका कुलपति र पदाधिकारीहरूको भेला आयोजना गर्ने । जसले गर्दा कति स्थानीय तहले प्रज्ञा प्रतिष्ठानहरू गठन गरेका छन् र के के काम गर्न सकेका छन् भन्ने जानकारी प्राप्त हुन्छ भने एउटाको अभ्यास अर्को स्थानीय तहले अपनाउन सहज हुनजान्छ । यसले देशैभरि द्रुतरूपमा प्रज्ञा प्रतिष्ठानहरू स्थापना गराउन समेत मद्दत पुग्नेछ ।
यी २ वटा मुख्य सुझावहरू कार्यान्वयन गर्नको लागि कमलजीले पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीसँग भेट्ने अवसर जुटाउनुभएको थियो । कमलजी र म काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका मुलपानीमा अवस्थित ग्रीनहिल सिटीस्थित घर नं ४४२ मा एकाबिहानै पुग्यौँ । कमलजी गङ्गाप्रसादसँग कति निकटतम् भैसक्नुभएको रहेछ भने उहाँलाई आइपुगेको जानकारी नै नदिएर लगाएको ढोका खोलेर भित्र पस्नुभयो । गङ्गाप्रसाद उप्रेतीका दम्पती तल्लो तलामा नै हुनुहुँदो रहेछ । हाम्रो पूर्वसूचनाबिनाको प्रवेशलाई सहज रूपमा लिइदिनुभयो ।
करिब २ घण्टा हामी उहाँको घरमा गफगाफमा भुल्यौँ । व्यक्तिका कुरा भए । समाजका कुरा भए । राजनीतिका कुरा भए । प्रज्ञा प्रतिष्ठानका विगतदेखि हालसम्मका कुराहरू भए । धर्मका कराहरू भए । आचारका कुराहरू भए । गङ्गा सरकी पत्नीले आफ्नी १०२ वर्षसम्म जीवित रहने आमाको आत्मकथा लेखेको प्रसङ्ग पनि चल्यो । गङ्गा सरको घरमा रहेको करिब २० हजार पुस्तकहरू रहेको विशाल पुस्तकालयको संरक्षणको कुरा भयो । जिम्मेवारीबाट अवकाश लिइरहनुभएका नेपालका ख्यातिप्राप्त साहित्यकारहरूलाई पुनर्मिलन कसरी गराउन सकिन्छ भन्ने सम्बन्धमा विचारविमर्शहरू भए । कमलजीले लेखनकुन्जलाई प्रज्ञा प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने इरादा रहेको पनि बताउनुभयो ।
अत्यन्तै सरल मिलनसार र सकारात्मक सोचका धनी गङ्गाप्रसाद उप्रेतीजीले बिना कुनै हिचकिचाहट आफ्ना अनुभवहरू बताउनुभयो । निकै राम्रा सुझावहरू पनि दिनुभयो ।
अन्तमा विशाल परिचय कोश निर्माण गर्ने र निकट भविष्यमा साहित्यकारहरूको विशाल सम्मेलन आयोजना गर्ने प्रयोजनको लागि कमलजीले मलाई नै ब्रिफिङ गर्न लगाउनुभयो । मैले आफ्नो योजना र कार्यक्रम बताएँ । मलाई डर थियो कतै यो प्रस्ताव हावामा उडाइदिनुहुने त होइन । तर मेरो संशयको विपरीत उहाँले सकारात्मक कुराहरू गर्नुभयो । आफ्नो स्तरबाट सबै सहयोगको कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँसँग बिदाबारी भएपछि हामी ग्रीनहिल सिटीभित्रै रहेको डा अमर शाहको निवासमा छिर्यौँ । अमर सरले धेरै दिन पहिलेदेखि आफ्नो घरमा खाना खान बोलाइरहनुभएको थियो । तर अनुकूल परेको थिएन । आज गङ्गा सरसँग भेट्ने समय पाउँदा अमर सरको घर पनि चिन्ने मौका पाइयो । कमलजी बिहे भोजमा जानुपर्ने भएकोले मलाई अमर सरकै घरमा छोडेर निस्कनुभयो ।
अमर शाहकी पत्नी पुष्पा शाहले भर्खरै तिरीरी बोलको गीत रेकर्ड गराई म्युजिक भिडियो तयार गर्नुभएको थियो । ठुलो टिभीको स्क्रिनमा एकछिन त्यो भिडियोको मनोरञ्जन लियौँ । पुष्पाजीले अरू २ वटा गीतहरू पनि रेकर्ड गरेको जानकारी गराउनुभयो । चियापानपछि अमर शाहसरको स्कुटीमा हामी लाग्यौँ बबरमहलतिर । यात्राभर रुकुम सल्यान र जाजरकोटका साहित्यिक कार्यक्रम एकअर्काले चिन्ने परिवार र आसन्न निर्वाचनको सम्भावनाका कुराहरू भए ।
हामी ठिक ३ बजे बबरमहलस्थित मार्टिन चौतारीमा पुग्यौँ । आज कर्णाली डिस्कोर्स सोसाइटीले नाटकमा कर्णालीका सुइना कार्यक्रमको आयोजना गरेर वरिष्ठ रङ्गकर्मी एवम् नाट्यकर्मी सुनिल पोख्रेललाई विषय विज्ञको रूपमा बोलाइएको रहेछ । तर उहाँले अन्तिम समयमा बिरामी भएको हुँदा कार्यक्रममा आउन नसक्ने बताउनुभएछ ।
सुनिल पोख्रेलका अनुभव सुन्न नपाए पनि सहभागीहरूको अनुभव सुन्ने सुनाउने काम भयो । खस भाषाका शब्दकोश निर्माताले जुम्लाको नाट्य परम्परा र लोक नाटकको बारेमा बताउनुभयो । जुम्लाका षडानन्द बुढथापाले नाटक लेखेकै कारणले निकै लामो समय जेल यातना भोग्नुपरेको अनुभव सुनाउनुभयो र आफूले लेखेर मन्चन गरेका गीती नाटकको बारेमा बताउनुभयो । डा अमर शाहले सल्यान र जाजरकोटमा पढ्दा वा काम गर्दा देखेका नाटकहरूको बिस्तार गर्नुभयो । मैले रुकुममा विद्यालयले साविकमा वार्षिकोत्सवमा नाटक देखाउने प्रचलन भएको र वार्षिकोत्सवलाई नाटक भन्ने गरिएको त्यसको विशेष आकर्षण हुने बताउनुको साथै पछिल्लो समयमा नाटक परम्परा बारे बताएँ । केबि सिम्पलजीले नाटकको आवश्यकता बारे बताउनुभयो । यसै गरी डा कृष्णराज सर्वहारीले थारु नाटक उपेक्षामा परेको कुरा बताउनुभयो । यसै गरी जगत वशिष्ठले पनि विद्यार्थी कालदेखि नै नाट्य विधामा लागी भए गरेका कामहरू बताउनुभयो । भनेको समयमा सुरु नहुने र निकै लामो हुने कार्यक्रमहरूको नेपाली परिप्रेक्ष्यमा कर्णाली डिस्कोर्स कार्यक्रम भने मार्टिन चौतारीमा ठिक ३ बजे सुरू भई ठिक साढे ४ बजे अन्त्य हुने अभ्यास थियो । तर आजका प्रमुख वक्ता सुनिल पोख्रेल नआइदिँदा कार्यक्रम पूर्व निर्धारित समयभन्दा १०मिनेट ढिला सुरु भएको थियो । अनुभव सुनाउनेहरूको उत्साहले साढे ४ बजे अन्त्य हुनुपर्ने कार्यक्रम ५ बजेसम्म लम्बिएको थियो ।
गत हप्ता दिवंगत हुनुभएका सम्धी ताराबहादुर खडकाको मनोहरामा क्रिया बसिरहेका छोराबुहारीलाई भेट्ने कार्यक्रम पनि आजै मिलाएको थिएँ । देवकुमारी ५ बजे मनोहरा पुलमा आइपुग्ने गरी बोलाएको थिएँ । तर ५ बजेसम्म नै बबरमहलकै कार्यक्रममा बस्नुपर्दा देवकुमारी पर्खिँदा पर्खिँदा आत्तिएर फर्कने हुन् कि भन्ने डर थियो । अफिस टाइमको आसपासमा लोकल सवारी साधनले मनोहरा पुर्याउनै निकै समय लगाइदिने भय थियो । तर आफ्नै स्कुटीमा मलाई मनोहरासम्म छोडिदिन अमर शाह सरले मद्दत गर्नुभयो । फलस्वरूप देवकुमारीलाई धेरै बेर पर्खाउनुपरेन ।
हामी मनोहरा खोला र हनुमन्त खोलाको दोभानमा रहेको क्रियापुत्री भवनमा पुग्यौँ । आज सम्धी तारा खडकाको निधन भएको ८ दिन भैसकेको थियो । त्यहाँ क्रिया बसिरहेका भदाहा टेकबहादुर खडका बुहारी सुष्मा खडका बहिनी गङ्गा ओली खडका बिरामीको कारण आजसम्म क्रिया बस्न नसकेका र भोलिदेखि क्रिया बस्ने तयारी गरेका कान्छा छोरा कमल खडकालाई भेट गर्यौँ । क्रियापुत्रीहरूको साथमा सम्धी होमबहादुर खडका । बहिनी सम्धिनी मना खडका भदैनी मन केसी खडका भतिज कृपाराम ओली भतिजी पार्वती ओली खडका भाइ हरि ओली र ज्ञानु ओली आदिसँग पनि भेट्ने अवसर मिल्यो । पारिवारिक खबर आदान प्रदान भयो । राति अबेरतिर दुवाकोटस्थित घरमा आइपुगी आजदेखि दैनिकी लेख्ने कार्यको शुभारम्भ गरियो ।
![]()
Post Comment