२०८२ फागुन ९ गते शनिवार
दुवाकोट भक्तुपर
आज बिहानै देवकुमारी र म केएमसी हस्पिटल दुवाकोटमा पुगेर देवकुमारीको ३ महिने सुगर जाँचको निम्ति रगत दियौँ । देवकुमारी घरतिर फर्किन् म भने देवकुमारीको स्वास्थ्य बिमाको सुविधा म्याद सकिएकोले नवीरकण गराउन चाँगुनारायण नगरपालिकाको वडा नं २ कार्यालयमा पुगेँ । स्वास्थ्य बिमा त मैले र परिक्षितले पनि गरेका थियौँ । तर मैले आजसम्म बिरामी भएर अस्पत्ताल जानै परेको छैन । परिक्षित आफै डाक्टर भएकोले आफ्नै अस्पत्तालको सुविधा लिने भएकोले उसलाई पनि बिमा सुविधा आवश्यक परेको छैन । देवकुमारीको पनि धेरैजसो औषधि बाहिरैबाट किन्नुपरेको हुनाले बिमा सुविधाको लाभ उति लिन सकेकी छैनन् । तैपनि बिचमा आवश्यक पर्यो भने तुरुन्त सुविधा नपाइने भएकोले ३ जनाकै बिमा नवीकरण गर्नुपर्ने भयो । हरेक वर्ष नवीकरण गर्दा ५ जनासम्म परिवारको लागि रु ३५००। लाग्दो रहेछ । फागुनमा निवेदन दिएमा बैशाखदेखि मात्र सुविधा पाइँदो रहेछ ।
नवीकरण गर्दै गर्दा नेपाली सेनाको एक टुकुडीले हामीलाई घेराबन्दी गर्यो । कारण बुझ्न नपाउँदै नेपाल प्रहरीको समूह पनि थपियो । त्यसपछि सशस्त्र प्रहरीको डफ्फा पनि थपियो। हामी रमिते भएर हेरिरह्यौँ । सशस्त्रको डफ्फा पछिपछि चुनावको निम्ति खटिएका म्यादी प्रहरीहरू पनि आइपुगे । उनीहरूले मतदान केन्द्र कता हो भनी सोधे । वडा कार्यालयमा बस्ने प्रहरी भाइहरूले केही पर ओरालोमा नयाँ भवन बन्दै गरेकोले यसपालिको मतदान केन्द्र पनि त्यतै रहेको बताइदिएर सबै सुरक्षाकर्मीहरू एउटै समूहमा बाहिरिए । चुनाव नजिकिएको संकेत थियो यो । जेनजीको आन्दोलनले नेपालको प्रतिनिधिसभा बिघटन भई फागुन २१ गते नयाँ निर्वाचनको मिति तोकिएको छ । जेनजीको सपना नयाँ प्रतिनिधिसभाले पूरा गर्न सक्छ कि सक्दैन आगामी चुनावको नतिजा नआई यसै भन्न सकिने अवस्था छैन ।
बिमा नवीकरणको काम सकेर म पनि सडकमा निस्किएँ । हतियारधारी सुरक्षाकर्मीहरूको लाम निकै परसम्म पुगेको थियो । ३ दशक पहिले सुरक्षाकर्मीको लाम देख्दा असुरक्षाको महसुस हुन्थ्यो तर अहिले भने यो लामले सुरक्षाको महसुस गराइरहेको छ । सुरक्षाकर्मीको लाम हेर्नको निम्ति म सिधा बाटो नझरी फैढोका हुँदै झर्छु । अर्कोपट्टिको गतिविधिहरू हेर्दै पुरानो र नयाँबिचको परिवर्तन आँकलन गर्दै दोब्बर समय लगाएर घरमा पुग्छु ।
आज बस चढ्न नपाएकोले चीरहरणको रहस्यात्क खण्ड पढ्न छुटेकोमा पश्चात्ताप हुन्छ र घरको छतमा घाम ताप्दै चीरहरणलाई जारी राखेँ । द्रौपदीले सहनुपरेका दारुण पीडाहरू दुर्दान्त छन् । उपन्यासको रहस्यले झनै मर्ममा मर्लान्त प्रहार गरेको छ । पढ्दा पढ्दै आँखाबाट घनघोर अश्रुवर्षा हुन थाल्यो । परिक्षित बाहिर आएर हेर्यो । मुन्टो लुकाएँ । देवकुमारी नै बाहिर निस्किइन् । उनका अगाडि आँसु देखाउनु लाजमर्दो हुन्थ्यो । हत्तपत्त चीरहरण बन्द गरेर परिशीलन स्मृति प्रतिष्ठानको वार्षिक साधारण सभा रजिष्टर र कार्य समितिको रजिष्टरमा सही तथा निर्णय छुटेकोलाई चेकजाँच गर्न थालेँ । आँसु झन् थामिएनन् ।
जेठान र दिदी आइपुगेको खबर आयो । मैले निर्णय प्रतिष्ठानको बैठकहरुमा सही छुटेको भन्दै उहाँहरूलाई सही गराउनपट्टि लागेँ । उहाँहरूले भोलि पर्सि नै घर फर्कनुपर्ने कुरा झिक्नुभयो । हामीहरूले पनि घर जाने योजना बनाएको बतायौँ । प्रसङ्ग बदलियो । गहका आँसु सुके ।
निर्णय पुस्तिकामा छुटेका हस्ताक्षर गराउनको लागि परिक्षित र म भान्जी जुनीको घरमा पुग्यौँ । त्यहाँ भान्जा जुवाइँ उत्तम खडका पनि आफ्नो गाडीमा घर जान थालेको पत्तो लाग्यो । हामी पनि तपाईँसँगै जाने है भनेर प्रस्ताव राखेँ ।
त्यसपछि निशाको घरमा गयौँ । निशाको घरमा भतिजी संगीता र बुहारी सुजातासँग पनि भेट भयो। भान्जाहरू उन्नयन र उज्ज्वलसँग भेट भयो । निशाले विभिन्न खाले मसलाका गेडागुडीले स्वागत गरी ।
त्यहाँबाट बहिनी किरणका घरमा पुग्यौँ । किरणले पनि घर जाने तयारी गरेको बताइन् । जुवाइँ डिल्ली डाँगीसँग फोन लगाइदिइन् । रुकुमको चुनावी माहोलको बारेमा बुझ्ने मद्दत पुग्यो । किरणले पनि बयर र स्याउका टुक्राको साथै चियाले स्वागत गरिन् । भर्खरै लन्डनबाट फर्किएकी पुनम बहिनी र सचिन जुवाइँसँग भेट भएन ।
किरणको डेराबाट सुशीलको घरमा पुग्यौँ । चुनावको बारेमा सङ्क्षिप्त कुरा भयो । त्यहाँबाट फर्किएर घरमा आयौँ । रुकुम जाँदा पोखरा हुँदै गइने सम्भावना भएकोले पोखरामा कार्यरत साहित्यकार भेषराज रिजाल सरसँग भिडियो कल गरेर योचोटि भेट हुने प्रबल सम्भावना रहेको बताएँ । उहाँ निकै खुसी हुनुभयो।
बेलुका जाजरकोटी साहित्यकार इन्दिरा शाह म्यामको फोन भिडियो कल आयो । निकट भविष्यमा कर्णालीका १३ जना कविहरूको १३ वटा कवितासङ्ग्रहहरू प्रकाशित हुँदै छ । यसको सम्पादनको जिम्मा लिनुभएको छ जुम्लाका सुप्रसिद्ध साहित्यकार राजबहादुर कुँवर सरले । इन्दिरा म्यामले राजबहादुरबाट प्राप्त सूचनाहरू शेयर गर्नुभयो । खास गरी कवितासङ्ग्रह प्रकाशनको लागत र बजारीकरणको सम्बन्धमा । ती कवितासङ्ग्रहहरूको गृहविमोचन पनि हुने कार्यक्रम रहेछ । खुसी लाग्यो ।
![]()
Post Comment