×

२०८२ फागुन १८ गते सोमवार

२०८२ फागुन १८ गते सोमवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहानै उठेर मर्निङ वाक गर्दै देवकुमारी र म कइनपानीतिर लाग्यौँ । बाटाभरि मर्निङ वाक गर्नेको लर्को लागेको थियो ।

ठुल्दिदीको घरमा गएर दिदीलगायत भगवती बुहारी र नाति नातिनाहरूसँग भेट गर्‍यौँ । प्रदीप भान्जा भने दाङबाट आएका रहेनछन् ।

यसै बिचमा ठुली भाउजू (स्व. मोहलाल दाइकी श्रीमती) प्रदीपकै घर पछाडिपट्टि बस्दै आएकी माइली बुहारीलाई भेट्न भनी आउँदा आँगनमै भेट भयो । ठुल्दाइको माइलो छोरो प्रशान्तले हिजो बेलुका अत्यधिक रक्सी पिएर माइली बुहारीलाई मरनासन्न हुने गरी पिटेको रहेछ । माइली बुहारीको अवस्था कस्तो छ भनी बुझ्न भाउजू उनको घरमा जाँदै हुनुहुँदो रहेछ । प्रशान्त वैदेशिक रोजगारबाट भर्खरै फर्किएको रहेछ । उसले मोबाइलबाट अर्कै केटीलाई फोन गर्दो रहेछ । त्यो थाहा पाएर माइली बुहारीले मोबाइल फालिदिएकी रहिछन् । त्यसै रिसले माइलो छोरा प्रशान्तले श्रीमती कुटेछ ।

दिदीको घरमा चिया खाइसकेपछि हामी तिनै ठुली भाउजूको घरतिर लाग्यौँ । प्रशान्त अझै उठेको रहेनछ । उहाँको जेठो छोरा खुमबहादुर बुहारी नर्मा साइँलो छोरा र नाति नातिनाहरूसँग भेटघाट भयो । कान्छो छोराको बिहे यही फागुन २७ गते गर्न थालेकोले भाउजूले हामीलाई निम्तो दिनुभयो । बुहारी भने भाउजूले खारा निवासी आफ्नै दाइकी नातिनीलाई पहिल्यै ल्याइसक्नुभएको रहेछ । २७ गते बिहेको कार्यक्रम मात्र रहेछ । हामी भाइपट्टिकै नाताले बसाइ लम्ब्याएर भए पनि बिहेमा आउने निधो सुनायौँ ।

त्यसपछि ठुल्दाइ (कर्णबहादुर) घरमा उक्लियौँ । भाउजूले बारीमा काम गर्दै हुनुहुन्थ्यो । ठुल्दाइ भने पूजामा व्यस्त हुनुहुन्थ्यो । मेरो दाइ मानव धर्मको कट्टर अनुयायी हुनुहुन्छ । हाम्रो बोली सुनेर सुमन पनि उठ्यो । पारिवारिक कुराहरू भए । पहिले ठुल्दाइको घरमा काम गर्ने कालुले इन्डियाबाट आएपछि हिमालबाजेको घर पनि २ लाखमा किनेछ र आफ्ना बाबुलाई ल्याएर आफ्नै घरमा बस्न पाएको रहेछ । कालु र कालुका बा भने दाइकै घरमा काममा लागेका रहेछन् ।

ठुल्दाइकै घरबाट तरकारीहरू ल्याएर हामी आफ्नो घरमा झर्‍यौँ । देवकुमारीले खाना पकाउँदै गर्दा मैले करेसाबारीमा पानी चारेँ (सिँचाइ) । हिजै सँगालेको तोरीको जरा काटेर तोरी सुकाएँ । १० बजेतिर सासूआमा पनि आउनुभयो । बजारबाट पार्लेजी बिस्कुट किनेर ल्याएका थियौँ त्यो दिएपछि बिस्कुटका पानाहरू झिकेर मुखमा हुल्न थाल्नुभयो । दुईचार पाना मात्र खानुस् भन्दा अत्यन्तै भोक लागेको छ सबै खान देऊ भन्नुभयो । भात पाकिसक्यो भनेर बाँकी बिस्कुट देवकुमारीले खोसेर राखिदिँदै भनिन् सात सात जना छोराबुहारीहरू छन् तर १० बज्दासम्म पनि कुनै सन्तानले पनि आमालाई बोलाएर खुवाएका रहेनछन् । सम्पत्तिका हकवाला दाइभाइहरूले आफ्ना छोराछोरी र नाति नातिनालाई खुवाउँदा आफ्नै आमालाई एउटा रोटी मात्र दिएको भए के जान्थ्यो ।

देवकुमारीले खाना पकाइसकेपछि तीनजनालाई नै खाना पस्किइन् । आमाको थालीमा पनि आफ्नो भागजति भात तरकारी राखिदिइन् । सासूआमाले बिस्तारै बिस्तारै सबै खाँदै भन्नुभयोः आज धेरै भोक लागेकोले मात्र यति धेरै खाएकी हुँ नत्र त यसको आधा पनि खान सक्दिनथेँ ।

आज फागू पूर्णिमा । सासूआमाले भन्नुभयो पूनीको दिनमा त उहिले छोरीबहिनीको घरमा खाँदैनथ्यौँ । तर अक्कर परे खानै पर्नेरहेछ ।

किताब खोज्दै गर्दा हराएको एउटा विवरण फेला पर्‍यो । मैले आमाबाको सम्झनामा स्मृतिग्रन्थ निकाल्ने तयारी गर्दै थिएँ । त्यसमा आमाबाका नजिकका आफन्तहरूको ६/७ पुस्ताको वंशवृक्ष सङ्कलन गरिरहेको थिएँ । पछिसम्म पनि आफन्तका सन्तानहरूले आफ्ना आफन्त को हुन् र कसरी आफन्त भए भनी जान्न सकून् भन्ने हिसाबले । यसै सिलसिलामा नयाँगाउँ मोख्या ओली र पँधेरा ओलीहरूको सात पुस्ते विवरण तयार गरेँ । यही क्रममा मोहनलाल ओली दाइको प्रसङ्ग आएकोले उहाँलाई फोन गरेर उहाँको परिवारको सबै विवरण टिपोट गरेँ । यसै सिलसिलामा रुकुममा के कस्तो चुनावी माहौल छ भनी सोध्नुभयो । मैले देखेको र अनुमानको भरमा बताएँ । उहाँले लालकिल्ला भनेका ठाउँहरूमा पनि कम्यनिष्टहरूले जित्ने हार्ने कुनै ठेगान नभएको अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । साथै जनार्दनले आफ्नो राजनीति मात्र नभई भविष्यको सम्भावना बोकेका भाइ बहिनी र जुवाइँको समेत राजनीति अनिश्चिततातिर धकेलिदिएको भनी दुःखमनाउ गर्नुभयो ।

दिउँसो देवी, चन्द्रा र बुहारी बनिष्पा होलीले रङ्गिएर घरमा आइपुगे । आफ्नी दिदीलाई रङ्ग लगाइदिए । आमाको गासबासको सुनिश्चित व्यवस्था गर्न बेलुका सबै भाइबहिनी जम्मा हुने कुरा भयो ।

ठुल्दिदीले हाम्रो पाल्नापाखाका अधिकांश रुखहरू काटिएको बताएपछि हामीहरू पाल्नापाखातिर उक्लियौँ । नभन्दै ठुलाठुला रुखहरू कुनै फेदबाट त कुनै टुप्पाबाट गिँडिएको रहेछ । मान्छेकै आमासंहार गरेझैँ आफूले लगाई हुर्काएका रुखहरूको बिनाकारण संहार गरेको देख्दा मन सारै नै रोयो । हाम्रो पाखो सोलाबाङको वनडेरा बस्ने टेकबहादुर पुनले बन्दकी हालेर घाँस काट्दै आएका थिए । उनी अस्ति मात्र भिरबाट लडेर उपचारको क्रममा रहेकोले तत्कालै यो अवस्था किन गरायौ भनी सोध्न उनको घरमा जान सकेनौँ ।

फर्कँदै गर्दा चुनाव चिन्ह आँखाको प्रचारप्रसारमा हिँडेका पुष्कर गौतम, घमण्ड खडका र सम्झना खडकासँग भेट भयो । उनीहरूले सोलाबाङ गाउँलगायत रुकुमको गाउँगाउँमा जनार्दनले राम्रो मत पाउने बताए । धन दिदी र देवकुमारीलाई मत कसरी हाल्ने र मतपत्र कसरी भाँच्ने भन्ने सिकाए । समानुपातिकतर्फ आँखा वा सूर्य चिन्ह जुनमा मत हाले पनि केही फरक नपर्ने बताए । यो प्रचारले म आश्चर्यचकित भएँ ।

उनीहरूबाट बिदा भएपछि ठुलीमाइजू र भाइ स्व दीपक खडकाको परिवारसँग भेट भयो । अनि मोहनको परिवारसँग पनि ।

घरमा फर्कँदा रात परिसकेको थियो । बेलुका छोरी अस्मिता, जुवाइँ प्रविण र ५ वर्षे नाति प्रवीरसँग भिडियोकल भयो । परिक्षित साथीहरूसँग व्यस्त रहेकोले सम्पर्क भएन । भिडियो कलको क्रममा नाति प्रवीरले भोट कसलाई हाल्नुहुन्छ भनी फेरि सोधे । देवकुमारीले आँखामा भनिन् र मैले तारामा हाल्ने बताएँ । नातिले घण्टीमा भोट नहाल्ने मेरो ग्रुपबाट आउट भन्दै बोल्नै छोडिदिए । हामी दुबैजनाले ल ल तिमीले भनेको घण्टी चिन्हमै भोट हालौँला भनी फकाएपछि मात्र उनी हामीसँग बोल्न थाले । दूधे बच्चाहरूलाई समेत प्रभावित पार्ने राजनीतिप्रति म झनै विस्मित भएँ । स्कुलमा समेत नजानिँदो तरिकाले राजनीति सिकाइँदो रहेछ कि भन्ने लाग्यो ।

राति ९ बजेतिर गोपाल शर्मा अनलको फोन आयो । आज निद्रालाई एक दुई घण्टा पर सारेर कइनपानी ठुल्दाइको घरमा आइदिनुस् केही छलफल गर्नुछ भनेर । प्रकाश पनि ठुल्दाइको घरमा आइपुगेको थियो । मैले अनुमान गरेँ आज तारा समर्थक र सम्भावित मतदाताहरूलाई छलफल गर्न बोलाइएको होला । अनुभव र व्यवहारले वर्षौँसम्म परिपक्व भइसकेको हुँदा एक रातको छलफलबाट कुनै नयाँ निश्कर्ष निस्कँदैन भनी मैले आउन नसक्ने र सकारात्मक छलफल भएमा सहमत हुन सकिने मेसेज गरी मोबाइल स्विचअफ गरेँ ।

Loading

Post Comment

You May Have Missed