×

२०८२ फागुन १५ गते शुक्रवार

२०८२ फागुन १५ गते शुक्रवार

सोलाबाङ, रुकुम पश्चिम

बिहान उठ्दा ७ बजिसकेको रहेछ । बाहिर घाम आइसकेका रहेछन् । म जर्पत्ताल उठेर बारीतिर हेर्छु । मंसिरमा छरेको गहुँका बालाहरू लहलह झुलेका छन् । सोलाबाङ गाउँ पूरै हरियो देखिन्छ । बाटोमा यति हरियाली कतै देख्न पाइएको थिएन । आँगनतिर हेर्छुः पत्तरस्याउलाको फोहर थुप्रिएको छ । आँगनको किनारमा लगाइएका फूलका अधिकांश बोटहरू सुकिसकेका रहेछन् । घरको उत्तरपट्टि र पश्चिमपट्टिको करेसामा झारले डमक्कै ढाकेर घरको कम्मरसम्म पुरेका रहेछन् ।

म खरेटो लिएर आँगन बढार्न थाल्छु । करेसामा उम्रिएको झार उखेल्छु । हातमा काँडा बिझ्छ । औँला काटिन्छ । तर कुनै दुक्ख छैन । आफ्नै लागि हो । आफ्नै घरको लागि हो । आफ्नो घर नै स्वर्ग हो । देवकुमारी उठ्नेबित्तिकै घरका भित्री कोठाचोटा सफा गर्न लागेकी छिन् । म आँगनमा धुइरो उडाइरहेको छु । देवकुमारीले घरभित्र धुइरो उडाउँदै छिन् ।

परारसम्म यो घर हेर्ने जिम्मा आमाबालाई थियो । आमाको निधनपछि ८९ वर्षीय बुवाले सकी नसकी घरलाई सम्हाल्नुभयो । पोहोर साल बुवा पनि बित्नुभयो । बुवा बितेपछि अंशबन्डा गर्दा यो घर मेरो भागमा पर्‍यो । यसलाई जतनसाथ सम्हाल्ने जिम्मा मेरो काँधमा छ । तर एउटा छोरा काठमाडौँ छ । छोरी र नाति चितवनतिर छन् । देवकुमारीलाई छोराछोरीकै सन्निकटमा बस्नुपर्छ । उनीहरू आफ्नै खुट्टामा उभिने भइसके पनि देवकुमारीले उनीहरूको स्याहारसुसार नगरी चित्त बुझ्दैन । तसर्थ काठमाडौँमै बस्ने उनको जोडबल रहन्छ । उनी फेरि एक्लै पनि बस्न मान्दिनन् । उनको साथमा म पनि भइरहनुपर्छ । रुकुमतिर आउँदा पनि सँगै आउँछौँ । फर्कँदा पनि सँगै फर्कन्छौँ ।

यसपालि फागुन २१ गतेको चुनावमा आफ्नो मत पनि प्रयोग गर्नुछ । लामो समय छोडिएको घरको पनि हेरहिफाजत गर्नुछ । रुकुमतिरका साथीभाइहरूसँग पनि भेट हुन्छ भनेर समय र फुर्सद मिलाएर रुकुमस्थित घर आइपुगेका छौँ । यता आउँदा यतै प्यारो उता जाँदा उतै प्यारो ।

घरमा खानेपानीको समस्या छ । पहिले बुवा छउन्जेल ठुलदाइको घरबाट पोलिथिन पाइपमार्फत् कइनपानीको पानी ल्याएर खाना पाक्थ्यो । बिचमा विभिन्न घरहरू पर्ने भएकोले पाइप काटेर पानी भाँचिदिन्थे । बुवाले खाना पाकुन्जेल खानेपानीको पाइपको रखबारी गर्नुहुन्थ्यो । बुवा बितेपछि कइनपानीको पानी घरमा आइपुग्दैन । गाउँमा सिस्नेखोलाको पानी पुग्छ घरघरै । तर हाम्रो पाइप गाउँलेहरूले काटेर चोरेर लथालिङ्ग पारिसकेकोले सिस्नेखोलाको पानी आउँदैन । फेरि पाइप हाले फेरि काटिहाल्छन् । कइनपानीकै पानीमा निर्भर भएपछि सिस्नेखोलाको पानी पिउनु हाम्रोलागि अधिकार बाहिरको कुरा भइसकेको छ । चन्द्रबहादुर काकाको घरमा बजारतिरबाट कल्लेको पानी पनि आउँछ । होम सम्धीको घरमा पारिपाखाबाट वैकल्पिक पानी आउँछ । यसै गरी एउटा पानी नहुँदा अर्को पानीको विकल्प पनि गरेका छन् घरघरै । तर हामीहरू भने गाउँमा बास नहुने भएकोले एउटा स्थायी विकल्प पनि बाँकी छैन । वैकल्पिक व्यवस्था गरे पनि घर छोडेर अर्कोचोटि आउँदासम्म त्यो व्यवस्थाको अन्त्य भइसकेको हुन्छ ।

अर्काको घरको पानी ल्याएर खानलाई उनीहरूसँग हात जोड्नुपर्छ । कहिलेकाँही रातिसम्म बसेर खानेपानी आफ्नो घरतिर लगाउनुपर्छ । हामीले पानी चोरेको थाहा पाएपछि भने छिमेकीहरूले पुनः भाँचिहाल्छन् । कहिले होमसम्धीसँग हात जोरेर कहिले कमला बुहारीसँग हात जोरेर त कहिले दलाखेते बाजेका छोराहरूसँग हात जोरेर पानी माग्नुपर्ने हुन्छ । देवकुमारीले खाना पकाउनुपहिले पानीको जोरजुलुम गर्छिन् ।

घर सफा गरेपछि देवकुमारीले खाना पकाउने सुरसार गर्छिन् । ग्यास सितिमिती बल्दैन । चुलोमा आगो बाल्ने जाँगर पनि चल्दैनन् । बल्लतल्ल ग्यास बल्छ । अलिकति चामल पहिलेकै छ । बाहिर उम्रिएको साग टिपेर पकाउँछिन् । कमला बुहारीले उसिनेको साग ल्याइदिएपछि त्यसैलाई झोल हालेर तिहुन बनाउँछौँ । बारीमा पुदिना लमक्कै बढेको रहेछ । पुदिनाको मुन्टो टिपेर नुनसँग थेचथाच पारी चट्नी तयार हुन्छ । अर्गानिक खानाको बेहद स्वादसँग एक एक थाली खाना पेटमा हुल्छौँ ।

खाना खाइनसक्दै चुनाव प्रचारप्रसार समितिको एउटा टोली आँगनमा आइपुग्छ । नेपाली काँग्रेसका कार्यकर्ताहरू रहेछन् । शङ्कर शर्मा, विष्णु शर्मा, भरत ओलीलगायतका सात आठजना व्यक्तिहरूले आँगन भरिएको छ ।

शङ्करले भोट माग्ने क्रममा भन्छन्, ‘यो पटक जनार्दनलाई होइन, युवा व्यक्ति राजु केसीलाई भोट दिनुहोला । उनलाई पनि एकचोटि अवसर दिऔँ । युवालाई अवसर दिइएमा सोलाबाङ गाउँमा विकास बढी हुनेछ ।’

म हाँसो गर्छु तपाईँलाई त यसले जनार्दनलाई नै भोट हाल्नेछ भन्ने विश्वासको साथ आउनुभएको रहेछ । मैले राजु केसीलाई भोट दिएँ भने पनि विश्वास नगर्नुहोला नि फेरि । तर केही छैन हामी समानुपातिक र प्रत्यक्ष गरी हामीसँग चार भोट छ । कम्तीमा एउटा भोट हाम्रोतर्फबाट नेपाली काँग्रेसलाई नै भयो । मेरो कुरामा विश्वास गरेर वा नगरेर टोली आँगनबाट बाहिरिन्छ ।

यो सुनेर देवकुमारी भन्छिन्, ‘कतिजनालाई पुर्‍याउनुहुन्छ तपाईँका भोट ? जनार्दनलाई दिनै पर्‍यो ! आस्थाको आधारमा जागरुक व्यक्ति गोपाल शर्मालाई दिनै पर्‍यो ! आफ्नै जुवाइँ मानबहादुर शाहीलाई दिनै पर्‍यो ! नजिककै जुवाइँ नरेन्द्र केसीलाई दिनै पर्‍यो ! एउटै आन्द्रा गाँसिएका जस्ता निकटतम् साथीहरू गिरिप्रसाद बुढा र सत्यनारायण श्रेष्ठलाई दिनै पर्‍यो । अरू पनि नजिककै होलान् ।’

म हाँस्दै भन्छु सोच्ने सम्झने दिन अझै एक हप्ता छँदै छ । अझै कसले वास्ता गर्छन्, कसले आफ्नो ठान्छन् हेरौँ । नभए चारलाई आधा आधा पारे ८ पुगिहाल्छ ।

देवकुमारीले खाना खाएका भाँडाहरू धुन थाल्दा म आँगनमा किनारामा लगाएका फूलका बोटहरू सुकिसकेकोले गहुँमा उम्रिएको फूललाई फूलबारीमा सार्छु । फूलबारीको झार उखेल्छु । यात्राको क्रममा लगाएका धूलैनाम भएका कपडाहरू धुनै बाँकी छ । खाना पकाउँदा मागेको पानी भाँचिइसकेपछि अर्को पाइपवालालाई अनुरोध गरी फेरि पानी ल्याउँछौँ । म कपडाहरूमा साबुन लगाउन थाल्छु देवकुमारीले पखाल्न थाल्छिन् । आधा कपडाहरू धोइनसक्दै पानी फेरि भाँचिन्छ । अब कपडा धुनको लागि पुनः हात जोड्न जाने कि बेलुकी खाना खानको लागि हात जोड्ने पर्नेभएकोले अहिलेलाई यत्तिकै आधा लुगा नधोएरै छोडिदिने ?

कपडा धुन छोडेर ड्रममा भरिएको अलिअलि पानीले देवकुमारी नुहाउनतिर लाग्छिन् । मैले हिजै जेठानको घरमा नुहाइसकेकोले अहिले पानी नभएको बखत नुहाउनुपर्ने झन्झटै खत्तम ।

सासूआमासँग हिजो साँझ भेट भएको थियो । भोलि तेरो घरमा आउँछु भन्नुभएको थियो देवकुमारीलाई । तर आज नआउँदा र फोन गर्दा फोन नउठाएकोले देवकुमार आत्तिरहेकी छिन् । कता छोड्नु कता भ्याउनु । उनले मलाई पनि माइला दाइको घरमा लान खोज्छिन् । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले हरेक महिनाको १ गते र १५ गते बेलुका साढे ७ बजेदेखि रचना वाचन कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त रचनाउपर विशिष्ट समीक्षकले गहन समीक्षा गर्ने भएकोले यस कार्यक्रम विशेष आकर्षक छ । यसको भर्चुअल मिटिङको होस्टको जिम्मेवारी मैले नै निर्वाह गरिरहेकोले आज म घर छोड्दिनँ भन्छु । मेरो अट्कोले देवकुमारी झन् छट्पटाउँछिन् ।

बेलुका साढे सात बजेबाट सुरु हुने भनेको कार्यक्रम पौने आठ बजेबाट सुरु हुन्छ । कविता वाचक हुनुहुन्छ इच्छुक प्रतिष्ठानका प्रज्ञासभा सदस्य खगेश्वर भण्डारी र समीक्षक हुनुहुन्थ्यो वरिष्ठ कवि एवम् समालोचक डाक्टर कृष्णराज डीसी । प्रमुख अतिथ राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा हुनुहुन्छ । खगेश्वर भण्डारीले छन्द कविता र गद्य कवितालगायत ५ वटा मिठा कविता सुनाउनुभयो भने आफ्नो मिठो छन्दोवद्ध कवितासहित गहन समीक्षा गर्नुभयो ।

कार्यक्रम करिब ९ बजेसम्म चल्यो र थप आधा घण्टा अनौपचारिक छलफल भयो । १० बजेपछि गणेशा कार्कीको भिडियो कल आयो । उहाँले पार्टीको सिद्धान्तप्रति जिम्मेवार भएर आफ्नो मत दिन बारम्बार अनुरोध गर्नुभयो । मैले मेरो विचारप्रति म आफै संवेदनशील छु भनेर प्रतिक्रिया दिएँ । उहाँले लगभग आधा घण्टासम्म सम्झाउनुभयो ।

Loading

Post Comment

You May Have Missed