२०८२ फागुन १४ गते विहीवार
सोलाबाङ, रुकुम पश्चिम
आज जुनसुकै उपायले भए पनि रुकुमतिर हिड्ने भनेर बिहान ४ बजे नै उठेर झोला तयार गरिसकेका थियौँ । ६ बजेतिर भान्जी-जुवाइँ उत्तम खड्काको फोन आउँछ आफू हिजो बेलुका नै पोखरा आइसकेको र अहिले बिहान साढे ७ बजेतिर आफ्नो गाडीमा प्रस्थान गर्ने कार्यक्रम रहेकोले तयार भई बस्नुहोला भनेर । देवकुमारी धेरै खुसी भइन् ।
बिहान ८ बजेतिर उत्तम जुवाइँ, उहाँको दाइ हरि खड्का, सीता दिदीकी छोरी प्रभा र ड्राइभर अर्जुन बुढाथोकीसँग उहाँहरूकै गाडीमा चढ्छौँ देवकुमारी र म । भेषराज सर र छोरीले सन्निकट पारिवारिक सदस्यझैँ हामीलाई बिदाई गर्दा मन कटक्क खान्छ ।
गाडी नागढुङ्गा लखनचोक सिर्जना चोक र ० किमि हुँदै उत्तर पश्चिमतिर बेतोडले कुद्छ । प्रभाले चालकलाई बिस्तारै चलाउन अनुरोध गर्छिन् । उत्तम जुवाइँ भन्नुहुन्छः अरूलाई पोखराबाट मुसीकोट जान ९ घण्टा लाग्छ भने हाम्रा गुरुलाई त ७ घण्टा मात्र लाग्छ । कुश्मा पुगेर पुरी तरकारी खान्छौँ । मनोहर सरले फोन गरेर हाम्रो यात्राबारेमा सोधेपछि फोनमै बताइदिन्छु ।
उत्तम जुवाइँ चुनावकै लागि गाडी लिएर जाँदै हुनुहुन्छ । प्रभाले भन्छिन् चारतारे झन्डा फहराउँदै जाऊँ । उत्तमले मुसीकोट पुगेपछि मात्र गाडीमा झन्डा राख्ने बताउनुहुन्छ ।
प्रभा जनयुद्धकालमा माओवादीबाट हत्या गरिएका टेकबहादुर ओलीकी छोरी हुन् । टेकबहादुरको हत्या हुँदा प्रभा आमाको गर्भमै थिइन् रे । टेकबहादुरका बुवा सर्वजित ओली पञ्चायत कालमा लामो समयसम्म खारा गाउँपञ्चायतका प्रधानपञ्च हुनुभयो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि गोपालजी जङ्ग शाहले नेपाली काँग्रेसको राजनीति सुरु गरेपछि रुकुमका अधिकांश पञ्चहरू पनि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
सर्वजित ओली देवकुमारी ओलीका मामा । मामाका कान्छा छोरा टेकबहादुर ओलीले पनि नेपाली काँग्रेसको सक्रिय राजनीति सुरु गरेका थिए । उनको हत्या हुनुपहिले नै पत्नी सीता ओलीबाट ३ वटा छोराहरू जन्मिसकेका थिए । अहिले ३ भाइ छोराहरू अध्ययन तथा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । सीता दिदीले पनि आफ्नो पतिको पाइला पछ्याउँदै नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आउनुभएको छ । प्रभाले पनि नेपाली काँग्रेसकै भातृ सङ्गठन नेपाल विद्यार्थी संघको कोषाध्यक्षको रूपमा काम गरिरहेकी छिन् । प्रभाले इन्जिनियरिङ पढेकी हुन् र इन्जिनियरिङ विषयमा स्नातक तहमा नेपालभरिबाटै ओलीका छोरा/छोरीमध्ये सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकीले ओली वंश अक्षय कोषले इन्जिनियर परिशीलन ओली स्मृति पुरस्कार प्रदान गरेकोले जेहन्दार विद्यार्थीको रूपमा पनि पहिचान बनाएकी छिन् ।
पोखराबाट यात्रा सुरु भएदेखि नै उत्तम, हरि र प्रभाले काँग्रेसकै विषयमा कुरा गरिरहेका छन् । साथसाथै रुकुमलगायत मुलुकभरको नेपाली काँग्रेसको वर्तमान अवस्थाबारेमा पनि चर्चा परिचर्चा गरिरहेका छन् । केही कुरा जानकारी नै भएको र केही कुरा नयाँ तथ्यहरू पनि सुनाएको हुँदा मैले ध्यान दिएर सुनिरहेको हुन्छु ।
उनीहरूले काँग्रेस इतरका दलका नेताहरूको कमजोरीहरू पनि कोट्याउँदै जान्छन् । चर्चामा जनार्दन नै रहेको र रुकुमबाट काँग्रेसका उम्मेदवारहरूलाई बारम्बार पराजित गरिरहेको हुँदा बढीजसो जनार्दनकै विरुद्धमा आक्रोश पनि पोख्दछन् । जनार्दनले केही विकास गरे पनि गर्नुपर्ने जति नगरेको भन्दै अर्थमन्त्री हुँदा धेरै कमीकमजोरीहरू गरेको भन्दै आलोचना गर्दछन् । यसै गरी मुलुकका अन्य क्षेत्रका अन्य दलहरूका नेताहरूको बारेमा पनि आलोचना गर्दछन् । बालेन र रविप्रति बढी आक्रोश झल्किन्छ ।
मलाई प्रतिक्रिया दिन मन लाग्छ- ‘कुनै पनि सिद्धान्त बुझ्न उनीहरूको निकट रहनुपर्छ । बाहिरबाट हेरेजस्तो अवस्था नहुन सक्छ । तथ्यलाई बङ्ग्याइएको पनि हुनसक्छ । अगेनाले कति ताप दिन्छ भनेर जान्न अगेनाकै छेउमा बसेर आगो तापेको हुनुपर्छ ।’ तर म चुपचाप रहन्छु । सुनि मात्र रहन्छु । बहस गरेर उनीहरूलाई मनाउन सक्ने अवस्था पनि छैन । बहसले झगडाकै रूप लिन सक्छ । उनीहरूकै गाडी चढेर यात्रा गरिरहेको छु ।
देवकुमारी भने पुरी तरकारी खाएदेखि पेट दुखिरहेको कारणले घोप्टो परिरहेकी छिन् । उनलाई गाडी चढ्नै हुन्न वान्ता हुन थालिहाल्छ । तर आज केही समय बान्ता रोक्न कोसिसमा छिन् । उनले यी राजनीतिक गफ उनले उति धेरै बुझ्दिनन् र सायद सुन्न पनि चाहन्नन् । गाडी बिहुँकोट घोरा बान्ने हुँदै भ्युटावरबाट ओरालो झर्न थाल्छ । झाँक्रीथान पुगेपछि देवकुमारीलाई बान्ता र पखाला एकैचोटि चल्न थालेकोले गाडी रोकी कुइनेटाको बुट्यानतिर लाग्छिन् । निजी गाडीमा त यस्तो अवस्था छ भने सार्वजनिक गाडीमा आएको भए के हालत हुँदो हो ।
गलकोट ओर्लिएपछि चार जनाले खाना खान्छौँ । देवकुमारी बेन्चमा हातखुट्टा छाडेर सुत्छिन् । काठमाडौँ फर्कौँ कि त भनी सोध्छु देवकुमारीलाई । उनले केही समयमा कम होला भन्ने आशा राख्छिन् । देवकुमारी र हरिले खाना खाँदैनन् ।
गलकोटबाट अगाडि बढेपछि उत्तमहरूको राजनीतिक बहस योजनागत बहसतिर मोडिन्छ । उत्तमले हाइड्रोपावरमा काम गरिरहेकोले हाइड्रोपावरमा भइरहेको काम विकास र सम्भावनाका कुराहरू गर्दै जान्छन् । हाइड्रोपावरको विकासबाट हुने आर्थिक विकास, देशको आयात निर्यातबिचको असन्तुलन, उत्पादन र बाह्य बजारको हस्तक्षेपका कुराहरू आउँछन् । प्रभाले उत्तमको हरेक तर्कलाई अर्को तर्कले काट्छिन् । मैले सुरुमै केही विचारहरू राखेको थिएँ तर प्रभाले तत्कालै ती तर्कलाई काटेकी थिइन् । आर्थिक विकासको विषयमा मेरा पनि अनुभव छन् । म त झन् अर्थशास्त्रकै विद्यार्थी हुँ । तर मेरो ज्ञानको बारेमा उनीहरू जानकार भए मात्र बहसको अर्थ रहन्छ । उनीहरूले त मलाई एक भावुक साहित्यकारको दृष्टिले मात्र हेरिरहेका छन् । मैले केही कुरा गरे पनि अर्को तर्क गरेर नजानेको प्रमाणित गरिदिन्छन् ।
मलाई कुनै गुनासो छैन । उनीहरूको तर्कले बरु खुसी हुन्छु । टेकबहादुर दाइले एसएलसी मात्र गरेका थिए । छोरीले इन्जिनियर पढेर यसरी तर्क गरेको देख्न पाएको भए गर्वले कति छाती फुलाउँदा हुन् । प्रभाको अनुहार हेर्छु टेकबहादुर दाइकै जस्तो अनुहार छ । उस्तै भावभङ्गी छ । उस्तै जिद्दीपन छ । आफ्नो बाबुको अनुहार देख्न नपाए पनि बाबुको सपना साकार पार्न कटिबद्ध छिन् । नेपालको समग्र विकासको लागि पनि यस्ता दक्ष जनशक्तिको खाँचो छ । नेपाली काँग्रेसले पनि यस्ता दक्ष जनशक्ति कार्यकर्ताको रूपमा पाउँदा गर्व गरेको हुनुपर्छ ।
बुर्तीबाङ पुगेपछि देवकुमारी पुनः गाडीबाट ओर्लिएर भुइँमा लमतन्न सुत्छिन् । म आत्तिन्छु । गर्न सक्ने कुरा पनि केही छैन । अब पोखरातिर फर्कनुभन्दा रुकुम पुग्नै नजिक छ । तिमीलाई केही हुँदैन । गाडीलाई लागेको हो भन्दै उनलाई ढाढस दिन बाहेक अरू केही गर्न सक्दैन ।
पातीहाल्नाका वरिपरिका लेकहरूमा हिउँ परिरहेको देखिन्छ । आहा हिउँ ऊ पारि हेर त भन्दै मैले उनीहरूबिच चलेको बहसलाई प्रकृतितिर मोड्न खोज्छु । गाडीबाट ओर्लिएर हिउँमा लडीबुडी गर्दै फोटो भिडियो लिऊँ भनेर प्रस्ताव राख्छु । तर प्रभाले योभन्दा बाक्लो हिउँमा पहिल्यै फोटो भिडियो खिचिसकेको भन्दै भिडियो देखाउँछिन् । जेठा जेठान लोकबहादुर खडकाले अहिले कहाँ पुग्नुभयो भन्दै बारम्बार जानकारी लिइरहनुभएको छ । खाना खान मेरै घरमा आउनू है खाना पकाइसकेको छ पनि भनिरहनुभएको छ । काठमाडौँबाट ल्याएका पोकापोकीहरू ७ वटा छन् । उहाँको घरनेर ओर्लिएपछि ती पोकाहरू बोकेर हाम्रो घरसम्म १५ मिनेटजति हिड्नुपर्छ । आजलाई घरमै आराम गर्न दिए पनि हुन्थ्यो भन्ने लागिरहेको छ हामीलाई ।
साढे ४ बजेतिर रुकुमकोट पुग्छौँ । साँखको बैरीदहमा एकछिन बिसाएर चिया खान्छौँ । शीतलपोखरीमा पुग्दा ६ बजिसकेकोले संसाँझ भइसकेको छ । प्रभाले अटो चढेर खलङ्गा जाने भन्दै ओर्लिन्छिन् । होइन दिनभरिको यात्रा सँगै गरेर अहिले किन अटोमा चढ्नुपर्यो गाडीले पुर्याइदिइहाल्छ नि आफ्नै गाडी भएझैँ म जान्ने टोपलिन्छु । प्रभालाई छोड्न हामी खलङ्गातिर लाग्छौँ । मुख्य सडक केही चौडा भए पनि बजारभित्र साँघुरो बाटो छ । बाइक मोड्न पनि गाह्रो पर्ने । गाडी मोड्न सजिलो हुन्छ शहिद मैदानअगाडि नै ओर्ल्यौ भन्छु प्रभालाई । यहाँबाट किन हिड्ने म गाडी घरमै पुगिहाल्छ नि भनेर जिद्दी गर्छिन् प्रभा । प्रभालाई उनको खलङ्गास्थित घरको ढोकामै छोडेर हामी गाडी मोड्न बराहटाकुरातिर जान्छौँ । धन्न गाडी मोड्न बजारबजारै बराहटाकुरा जाँदा र आउँदा बाटोमा जाम परेन ।
हामी आधा घण्टाभित्रै सोलाबाङ पुग्छौँ र सिम्ला-रुखनेर ओर्लन्छौँ । यहाँनेरबाट उकालो परे पनि छोटो पर्छ बाटो । बाटो छोटो पर्ने मात्र होइन गाडीबाट झर्दा कसैले नदेख्ने भएकोले ढुक्कको साथ झोला बोकेर घर जान सकिन्छ । बजारवालाहरूको विभिन्न प्रश्नको केरकारमा परिँदैन । उत्तम तथा हरि जुवाइँहरूलाई उहाँहरूको घर खारा जानको लागि बिदा गरेर कुम्लाकथरा बोकेर उकालो चढ्छौँ ।
झोला ओटामै छोडेर जेठान लोकबहादुरको घरतिर खाना खान जान्छौँ । खाना खाउन्जेल जेठान र दिदीसँग सङ्क्षिप्त गफगाफ हुन्छ । जेठान काठमाडौँबाट आइतबार मात्र फर्कनुभएको हो । दिदी काठमाडौँबाट प्लेनमार्फत् आजै घर आइपुग्नुभएको हो । अस्तिसम्म काठमाडौँमै सँगसँगै भएकोले नयाँ कुराहरू धेरै छैनन् पनि ।
खाना खाएपछि आमालाई भेट्ने भन्दै देवकुमारी माइला दाइको घरतिर लाग्छिन् । म उनलाई पछ्याउँछु । माइला जेठानका अधिकांश परिवारसँग मिठो भेटघाट हुन्छ । छोरीलाई भेट्न पाउँदा सासूआमा मख्ख पर्नुहुन्छ । केहीबेर बसेर हामी आफ्नै घर फर्कन्छौँ ।
घर छोडेको ५ महिना बितिसकेकोले लामो समयपछि आफ्नो परिवारलाई भेट्न पाउँदा पुरानो घर पनि खुसी हुन्छ । हामी नहुँदा मुसा पालेर बस्छ हाम्रो घर । मुसाले कोठाकोठामा रजाइँ मच्चाएको हेरिरहन्छौँ । जताततै माटो खोस्रेर फालेको छ । मकै र गहुँका गेडा र सोत्तर स्याउलो जम्मा गरेर निर्धक्क खेल्ने मैदान गराएको रहेछ मुसाले । यात्राको अत्यधिक थकान र सबै सफा गरी साध्य छैन । अलिअलि सफा गरी खाटमा पल्टन्छौँ । पातलो कम्बलले रातभर थरथर कमाइरहन्छ । अरू कम्बलहरू खोज्ने जाँगर नचलेकोले बारम्बार बिउझँदै र निदाउँदै गरिरहन्छौँ रातभर ।
![]()
Post Comment