२०८२ फागुन १३ गते बुधवार
पोखरा, कास्की
आज पनि पोखरामै भेषराज सरको पाहुना भएर बस्नुपर्दा अप्ठ्यारो लागिरहेको छ । भेषराज सरले भने एक हप्ता बसे पनि केही फरक पर्दैन ढुक्कसँग बस्नुस् भनिरहनुभएको छ । हामी भेषराज सरकी छोरी प्रभाको कोठामा बसिरहेका छौँ । उनी हिजो बेलुका बैठक कोठामा सुतिन् । हामी बाहिर सुत्छौँ भन्दा बाबुछोरी दुबैले मान्नुभएन ।
बिहान खाना खाएरै घुम्न जाने योजना बनेको हुँदा देवकुमारीले खाना बनाउन थालिन् भेषराज सर र म सिर्जनाचोकसम्म मर्निङवाक जाने निधो गर्यौँ । बाटोमा सन्निकटको चुनावी प्रतिष्पर्धा र राजनीतिक संस्कृतिको कुरा भयो । मैले भनेँ योचोटि पनि चुनावमा भोट दिन जाँदै छु । केही उम्मेदवारले प्रचारकै लागि आइदे भनेका छन् केहीले भोट मागेका छन् भने केहीले भोट समेत मागेका छैनन् । उनीहरूले भोट नमाग्नु भनेको कुनै अमूक दलको कार्यकर्ताजस्तो ठानेर नै हो । भ्रम छ उनीहरूमा ।
जसलाई भोट दिएर जिताउँदै आइयो उनीहरूको दृष्टिमा पनि सामान्य मतदाताभन्दा बढी कुनै अवसर प्राप्त भएको छैन । मेरो योग्यता र अनुभव कसैलाई काम लागेको छैन । तर मेरो भोटबाट उनीहरूको भर्याङ सोझिएको छ र अझै पनि भोट आवश्यक छ ।
भेषराज सरले भोट त दिनुपर्ने तर चुनावी घोषणापत्र अध्ययन गरेर राम्रो उम्मेदवारलाई भोट दिनुपर्ने मत राख्नुहुन्छ । म भन्छु यहाँ कानुनले बाध्यकारी बनाएको संविधान र ऐन नियम त कार्यान्वयन हुँदैन नैतिक बाध्यता भएको घोषणापत्रलाई के विश्वास गरौँ । यसपालि पनि स्वार्थरहित रूपमा काम गरेर देखाउने खालका खासै नयाँ उम्मेदवारहरू उठेका छैनन् । विगतका घोषणापत्र र उनीहरूले गरेको वा देखाएको व्यवहारको अन्तर सजिलै आँकलन गर्न सकिन्छ । नयाँमा न अनुभव छ त न त हर्क साम्पाङझैँ जनताको काममा आफै उत्रिएका नै छन् ।
हामी सिर्जना चोक पुगेपछि पोखराको एक मात्र आकाशे पुलमा चढ्छौँ । पुलमाथिबाट उत्तरतिरका अन्नपूर्ण माछापुच्छ्रे र लमजुङ हिमाल तुवाँलोले गर्दा घुर्मैलो घुर्मैलो देखिइरहेका छन् तर मोबाइल क्यामेरा तेर्स्याउँदा ढरियाबाट माछा फुत्किएझैँ क्यामेराबाट फुत्किन्छन् । कसै गरी मोबाइल क्यामेरामा कैद हुँदैनन् ।
कोठामा फर्किएपछि खाना खाएर भेषराज सर अफिसतिर लाग्नुहुन्छ छोरी प्रभा आफ्नो स्कुलतिर लाग्छिन् हामी फेवाको किनारै किनार पश्चितमतिर पैदलै हानिन्छौँ । लेकसाइड सकिएपछि फेवाताललाई छेकेर ठडिएका कङ्क्रिट बारहरू सकिन्छन् । पश्चिम सडकबाट करिब करिब फेवा सर्वाङ्ग देखिन्छ । देवकुमारी खुसी हुँदै भन्छिन् फेवा हेर्न त यहाँ आउनुपर्दो रहेछ । हामी सडक किनारमा रहेका फलामे बेन्चमा बसेर फेवा ताल, फेवा तालभित्र तैरिरहेका डुँगाहरू र फेवाको आकाशमा तैरिरहेका अल्ट्रा प्लेनहरू र प्याराग्लाइडरहरूलाई हेरेर मख्ख परिरहेका हुन्छौँ । यसै बेला मेरा आँखा साइँली औँलामा पर्छ । म बरक्क बर्किन्छु ।
“के भयो ?” देवकुमारी पनि उसरी नै तर्सिन्छिन् ।
“हेर न, औँठी कता खसेछ ।”
“काठमाडौँमै छोड्नुभएको थियो कि ?”
“होइन, बिहान कपडा धुँदा औँलाबाट झर्न आँटेको थियो । मैले नल्याएको भए हुनेथियो भनी मनमनै पश्चात्ताप गरेको थिएँ ।”
“बनाउनुभो छ त ! हेर्नु त ७ वर्षपहिले बार हजार परेको औँठी अहिले पचास हजारसम्मको थियो होला ! पोखरा बसेर ठुलो कमाइ गर्नुभयो तपाईँले ! जाऊँ जाऊँ अहिल्यै कोठामा गएर हेरौँ । कतै कोठामै पो खसेको छ कि ? उही बाटो फर्किए कतै ढिकघारि झाडीमा पो अल्झिएको भेटिन्छ कि ? देवकुमारीले थरथरी काम्दै उपायहरू बताइन् ।
“अब कोठामा पुगेर हेरेर पनि के फाइदा ? कोठामा भए त बेलुकासम्म त्यहीँ नै हुनेछ । कोठाबाट भागेर कतै जाने होइन । बाटाको कुरा आउँदा सराङकोट डाँडालाई ताकेर आएकोले यहाँसम्म आइयो अब त फर्कँदा त बसेको ठाउँ वरपरको अग्लो चिज केही देखिँदैन । कुन बाटो आइयो भन्ने हेक्का नै छैन ।” मैले अनिश्चय व्यक्त गरेँ
“तपाईँ हल्का रूपले नलिनू न ! २० हजार जोगाउन हुँदाखाँदाको प्लेन नचढेर सार्वजनिक गाडी चढ्दै यहाँतक आइएको छ । २ महिनाको पेन्सनको रकम हो यो ।”
“बारै महिनाको पेन्सन रकम भए पनि के लाग्यो र ? भेटिए भेटिइहाल्छ । हराएकै भए भेटिँदै भेटिँदैन । चिन्ता गरेर के काम ?”
औँठी हराएकोमा चिन्ता त मलाई पनि थियो । तर दुबैले चिन्ता थपेर काम केही थिएन । देवकुमारीले डेरामै फर्कने जोड गरिन् । मैले उनलाई सम्झाई बुझाई केबलकार भएको ठाउँसम्म तान्दै तान्दै पुर्याएँ । केबलकारको टिकट काट्दा हामीलगायत जम्मा ५ जना मात्र थियौँ । केबलकारबाट फर्कने यात्रु पनि थिएनन् । चढ्ने यात्रु पनि थिएनन् । अर्बौँ लगानी गरेर कसरी चल्छ यो केबल कार । दर्जनौँ त कर्मचारी नै छन् । भिडभाड हुनुपर्ने ठाउँमा सुनसान देखेर अनौठो लाग्यो । देवकुमारी भने औँठीकै चिन्ता गरिरहेकी थिइन् । टिकट काटेर पनि माथि नपुग्दै झरिहालौँ भने के गर्ने होला ? भन्ने अर्को चिन्ता थियो मलाई ।
हामी दुईजना मात्र सिङ्गै केबलकारमा बसेर उक्लिन सुरु गर्यौँ । केबलकारबाट देखिएको फेवाको सर्वाङ्ग दृश्य र पोखराको बजार वारिपारिका डाँडापाखाहरूले देवकुमारी अलि भुलिन् । माथिल्लो स्टेशन पुगेपछि सिफ्टबाट माथिल्लो सडकसम्म पुग्यौँ । थोरै माथि पित्तलको विशाल पञ्चमुखे गणेशको मूर्तिले तान्दै लग्यो । प्रवेशद्वारभित्र पसेपछि सिँगमरमरले बनेको सफा तथा स्निग्ध मन्दिरहरू, १०८ धाराहरू, १०८ वटै शिवलिङ्गहरू, कृत्रिम बगैँचा र आराम गर्ने छाप्राहरू, त्योभन्दा माथि सराङकोट टावर र ७०० वर्ष पुरानो भूमेकाली मन्दिरले देवकुमारीको चिन्ता स्वात्तै बढार्यो । टावर चढेर माथिबाट पोखरा पूरै अवलोकन गर्न पाइयो । पोखराको फलानो ठाउँ हेर्न छुट्यो भन्नै परेन । देवकुमारीले यो ठाउँ आइनपुगेको भए पोखरा बसेको मज्जै हुनेरहेनछ भनेर खुसी व्यक्त गरिन् ।
ओर्लिँदा देवकुमारीले केही टिकटकहरू बनाइन् । फोटो भिडियोहरू खिचियो । अनि केबलकार स्टेशनतिर फर्कन थाल्यौँ । देवकुमारीले फेरि औँठी सम्झिहालिन्, “छिटो जाऊँ कोठामा ! हाम्रो भाग्यले कतै कोठामै पो खसेको छ कि ! भेषराज सरलाई अफिसबाट बोलाइहाल्नुस् । बरु कोठामा पुगेर सुनिश्चित भएपछि फेरि घुम्न जाम्ला !” भन्दै अलाप विलाप गर्न थालिन् । हामीबिच एउटा सम्झौता भयो- ‘औँठी हराएको कुरा भेषराज सरलाई कदापि नभन्ने । भेटिएन भने भेषराज सरको मन दुखाउने काम मात्र हुनेछ ।’
केबलकारबाट ओर्लिएपछि सूचना हेर्दा थाहा भयो कि लेकसाइडबाट केबलकार चढ्ने ठाउँसम्म निशुल्क परिवहनको व्यवस्था रहेछ । सूचना पढ्नेबित्तिकै त्यहाँका सुरक्षाकर्मीलाई सोधेँ निशुल्क लेकसाइड लैजाने गाडी कता छ ?
उनले, ‘भर्खरै यात्रुहरू छोड्न लेकसाइड गएको छ । फर्कनलाई आधा घण्टा लाग्ला ।’ भने
“आइपुग्नेबित्तिकै हामीलाई लिएर जान्छ त ?”
“होइन, गाडी भरिएपछि मात्र जान्छ ।” गार्डको जवाफ थियो ।
हाम्रो धैर्यता बाँध फुट्नै थालेको थियो । देवकुमारीले पर्खन मानिनन् । हामी ओरालोमा कुद्दै मेन सडकमा पुग्यौँ । झर्नेबित्तिकै सभागृहसम्म जाने गाडी पाइयो । सभागृहमा झरेपछि लखनचोक हुँदै नागढुङ्गातिर हामफाल्न थाल्यौँ । बिरौटातिर जने गाडी त लहरै थिए । हामीलाई लाग्यो गाडीभन्दा छिटो हिँडेरै हुनेछ ।
नभन्दै हामी १० मिनेटमै भेषराज सरको डेरामा आइपुग्यौँ । भेषराज सरलाई बाटैबाट खबर गरेकोले उहाँ डेरामा आइसक्नुभएको रहेछ । देवकुमारी हतार हतार ट्वाइलेट छिरिन्, ट्वाइलेट गर्नको निम्ति नभई औँठी खोज्न । भेषराज सरलाई केही नभनी म पनि ट्वाइलेट छिरेँ । जताततै खोज्दा ट्वाइलेटको प्यानपछाडि औँठी भेटियो । हामी दुबैजना खुसीले एकअर्कालाई समातेर हाँस्यौँ । भेषराज सरलाई किन हाँस्यौँ भन्ने पत्तै भएन ।
तत्पश्चात् बाहिर निस्कने योजना पनि रद्द भयो। देवकुमारीले खाना बनाइन् । खाना खाएर देवकुमारीको निम्ति इन्सुलिनको निडिल खोज्न पोखरा बजारतिर निस्कियौँ । बल्लतल्ल एक ठाउँमा निडिल त पाइयो, तर काठमाडौँको भन्दा ५० प्रतिशत बढी मूल्यमा । मूल्य त उति धेरै थिएन । काठमाडौँमा प्रति पिस २० रुपैँयामा पाइने निडिल यहाँ ३० रुपैयाँ पर्ने रहेछ । मूल्यको हिसाबले ५ वटा निडिल किन्दा जम्मा ५० रुपैँया मात्र बढी पर्थ्यो । तर डबल महँगो पर्यो भनेर त्यस ठाउँबाट किनिएन । अन्य मेडिकल खोज्दै हामी राष्ट्रबैँक चोकबाट मुस्ताङ चोक हुँदै जेएमसी कलेजचोकसम्म पुग्यौँ । कतै निडिल पाइएन । फर्केर फेरि राष्ट्रबैँक चोक पनि पुग्न सकिएन ।
बाटोभरि भेषराज सर र मेरा आआफ्ना निजामती सेवाम प्रवेशदेखिका अनुभूतिहरू एकअर्कालाई सुनाउँदै गयौँ । अनुभूतिको शेयरिङको हिसाबले रात्रिकालीन हिँडाइ इभिनिङवाक शतप्रतिशत सफल भयो तर जुन उद्देश्यका साथ निस्किएका थियौँ त्यसमा भने ० प्रतिशत प्रगति हात लगाउँदै कोठा फर्कियौँ ।
![]()
Post Comment