२०८२ फागुन १० गते आइतवार
दुवाकोट भक्तुपर
प्रतिष्ठानको साधारण सभा र कार्य समितिको बैठकमा छुट हस्ताक्षरको निम्ति आज बिहान परिक्षितको बाइकमा नयाँ ठिमी पुगेँ । भाइ युवराजकी पत्नी सपना ओलीलाई त्यहीँ बोलाएको थिएँ । सपना बहिनी र म गङ्गा बहिनीको कोठा गयौँ । गङ्गा आफ्नो भतिजोको बिहेको सिलसिलामा रुकुम जान थालेकी रहिछन् । त्यहाँबाट फर्किएपछि बसमा सल्लाघारीसम्म पुगी पूजा पसल खोज्दै दुवाकोटतिर लागेँ । अरू पसलहरू खुलिसकेपछि पनि कुनै पनि पूजा सामग्री पसल खुलेका थिएनन् । विशेष पर्वको समयमा बाहेक अघिपछि यस्ता पसलहरू बिहान नखुल्दा रहेछन् ।
देवकुमारीले अस्तिदेखि नै सपनामा घरको चारै कुनामा धजा लगाएपछि घर र परिवारको सुरक्षा हुने भएकोले धजा लगाउन अनुरोध गरिरहेकी थिइन् । मैले अलमल गर्दा उनी झन् झन् असन्तुष्ट हुँदै गएकोले आज भने धजा खोजेरै लाइदिने विचार गरेको थिएँ । दुवाकोट हाइटसम्मका कुनै पूजा पसल नखोलेकोले धजा नपाइए तापनि देवकुमारीले भने यस सत्यलाई पनि नपत्याउने भएकोले असमञ्जसमा परेको थिएँ । फर्कँदै गर्दा बारुदचोकनेरको एउटा पूजा पसल खोल्दै रहेछ उसलाई धजा भनेको थाहै रहेनछ । बल्लतल्ल बुझाएपछि धजा लिएर आएँ र घरको चारैतिर धजा लगाइदिएँ ।
अस्ति कर कार्यालयमा काम भएको थिएन । तसर्थ त्यता जानुपर्ने भएकोले कमलजीलाई लेखनकुञ्ज आउँदिन भनिसकेको थिएँ । खाना खाएर भक्तपुर कर कार्यालयतिर लागेँ । अस्ति भनिएअनुसार कर मिलानको निम्ति पुराना कर तिरेका रसिदहरू लिएर १०१ नम्बर कोठामा छिरेँ । कर मिलान शाखामा महिला कर्मचारी थिइन् । उनले मलाई उपेक्षात्मक हिसाबले हेरिन् । अरू सेवाग्राहीहरू पनि आइरहेका थिए । कर तिरेको रसिदको आधारमा कर मिलान शाखाबाट लगत कट्टा गरेपछि मात्र आफ्नो हिसाबको दायित्व हट्दो रहेछ । परार साल लगतकट्टा नगरेकोले यस वर्ष ४००० रुपैँया थप तिर्नुपर्ने देखिएको थियो जुन कर परार साल नै तिरिसकेको थिएँ । १०१ नम्बर कोठा अलि हल्का भएको मौका छोपी केही मैले कर उपसचिव तिलक खडका र दिलिप केसीको नाम लिएँ । उहाँहरू आफ्नो निकटको साथी भएको बताएँ । ती महिलाले एऽऽ मात्र भनिन् । म उनको छेउको कुर्सी खाली भएकोले बसिहालेँ ।
एकछिनपछि उनले आफै कर अधिकृत युवराज खडकाकालाई चिन्नुहुन्छ कि नाइँ भनी सोधिन् । मैले युवराज त मेरो भाइ हो साख्खै मामाको छोरा भनी बताएँ । केही वर्षअघि ती महिला र युवराजले एउटै अफिसमा काम गरेका रहेछन् । त्यो कुरा थाहा पाउनेबित्तिकै युवराजलाई फोन लगाएँ र ती महिलालाई दिइहालेँ । उनको नाम रञ्जना पौडेल रहेछ । फोनमा युवराजले दाइको काम छिटोछरितो गरिदिनुहोला भनेर अनुरोध गरेपछि मेरो फाइलले पहिलो प्राथमकिता पाइहाल्यो ।
काम गराउँदा परिचयले पनि धेरै फरक पार्दछ । प्रतिष्ठानको कर तिर्ने बेला गलत राजस्व शीर्षक उल्लेख भएको रहेछ । त्यसको पनि टिप्पणी उठाएर मिलाइदिइन् र अब १०९ नम्बर शाखाबाट कर चुक्ताको प्रमाणपत्र लिन सकिने बताइन् । सुरुमा लाइन थिएन । अहिले कर चुक्ता लिने कोठामा निकै लामो लाइन भइसकेछ । अडिट रिपोर्टमा उल्लिखित विवरणहरू र अनुसूची १ देखि १३ सम्म भरिएको विवरण ठिक छ छैन भनी एकजना कर्मचारीले चेक गरेर मात्र अगाडि फाइल फरवार्ड गर्दा रहेछन् । अस्ति शुक्रबार मेरो पालो आउँदा पनि यसरी नै उनले हेरेका थिए । अडिटको अडिट गर्ने कुरा छिट्टै हुने कुरा पनि थिएन । तर लाइन लम्बिँदै गरेकोले आज पनि काम सकिन्न होला जस्तो लागिसकेको थियो । मैले अस्तिकै काम हो भन्दै लाइन उछिनेर झ्यालमा पुगेँ र १०१ नम्बर कोठाबाट हिसाब मिलान भइसकेको बताएँ । ती कर्मचारीले सुनेको नसुनेइ गरे मैले पनि झ्यालको अग्र स्थान छोडिन । गर्दै गरेको काम सकेपछि मेरो फाइल खोजी पुनः चेक जाँच गरी अधिकृतकहाँ फाइल पठाइदिए । कर अधिकृतमा पुग्नेबित्तिकै कर चुक्ता प्रमाणपत्र त हात लाग्यो तर यहीँ ३ बजिसकेको थियो । आज वडाको काम सक्न पाए अर्को दिन एउटै दिशामा रहेका नगरपालिका र जिल्ला प्रशासन कार्यालयको काम गर्न सकिन्थ्यो कि भन्ने लाग्यो। पहिले पहिले त वडामा १२ बजेतक ३ बजेपछि सचिव र अध्यक्ष कार्यालयमा भेटिँदैनथे । अहिले यहीँ ३ बजिसकेको छ । भेट के पो होला र भन्ने झिनो आशा राखी दुवाकोटस्थित वडा कार्यालयतिर हानिएँ । दुवाकोट स्थित घरजग्गाको तिरो २ वर्षदेखि तिरेको थिइनँ तिरो पनि तिर्नु थियो । वडा कार्यालयमा पुग्दा करिब ४ बजिसकेको थियो । कर्मचारीहरू सबैजसो थिए तर अध्यक्ष भने थिएनन् । मैले पुरानो तिरोको रसिद र सिफारिसको निवेदन एकैचोटि दर्ता गरेँ । गत वर्षसम्म ३९६ रुपैयाँ पनि तिर्नुपर्ने रकम अहिले १४९५ तिर्नुपर्ने देखियो । गल्ती भयो कि भनी सोध्ने आँट पनि आएन । सिफारिस भने एकछिनमै तयार भइसकेछ । अध्यक्षको हस्ताक्षरबिनाको सिफारिसपत्र मेरो हातमा दिँदै वडा सचिवले अध्यक्षलाई फोन गरी जानकारी लिन सुझाव दिएपछि मैले वडा अध्यक्ष सोम प्रधानलाई फोन लगाइहालेँ । उहाँले केएमसी चोकमा आउनोस् भनी बोलाउनुभयो । उहाँको ठेगामा पुगेपछि उहाँले सिफारिसपत्रमा सही पनि गरिदिनुभयो र मलाई आफ्नै गाडीमा घरसम्मै छोडिदिनुभयो ।
सोम प्रधानजी वडा अध्यक्ष भएदेखि उहाँले कसैको काम रोक्नुभएको थाहा छैन । आफू अफिसमा हुँदा पनि सम्झाइबुझाइ काम सकाइदिनुहुन्छ र आफू बाहिर हुँदा पनि कि त आफ्नो काम गर्ने सदस्यलाई अधिकार दिएर हिड्नुहुन्छ आफैले सक्नुपर्ने कामको लागि बिहान बेलुका राति नभनी अफिसबाहिर पनि काम गरिदिनुहुन्छ । उहाँले जनसेवा नै आफ्नो लक्ष्य भएको बताउनुहुन्छ । उहाँ वडाअध्यक्ष भएदेखि कर्मचारीहरूले पनि उहाँको निर्देशनअनुसार जनताको काम नअड्काई छिटोछरितो गरिदिन्छन् । म ढिलै वडा कार्यालयमा पुगे तापिन छिटै काम सकिएकोमा हर्षले गद्गद् भएँ ।
घर पुगेपछि देवकुमारीले भोलि नै रुकुम जाने तयारी गरेको बताइन् । रुकुम जानको लागि मंशिरदेखिकै तयारी बल्ल पूरा हुन गइरहेको देखी खुसी लाग्यो । देवकुमारीले आफ्नो साथमा लानुपर्ने औषधिहरूको जोहो गर्दा गर्दै १० बजिसकेको छ । भोलि कुन बेला उठेर कुन बेला रुकुमतिर प्रस्थान हुने हो यसै भन्न सकिँदैन ।
![]()
Post Comment