×

साँघु

साँघु

जब तिमीले देख्यौ सुकोमल सुडौल सुन्दरी उनलाई

तिम्रो दिलमा एउटा लालसाको बीजांकुरण भयो

जब उनले देखिन् सुयोग्य सुशिक्षित सुकुमार तिमीलाई

उनको मनमा अर्को कामनाको बीजांकुरण भयो

तिमीले कल्पियौ: ‘आफ्ना मानसिक जोखिमहरु बिसर्जन गरिदिन्छु उनैको थाप्लोमा…..

उनले इच्छाइन्: ‘आफ्ना सामाजिक जोखिमहरु बिसर्जन गरिदिन्छु तिम्रै थाप्लोमा…

….  कि तिमी र उनी जोखिमहरुबाट उन्मुक्त हुनेछौ सँधैसँधैलाई’

यी लालसा र कामनाहरु स्वभावैले आकर्षित हुन खोजे एक अर्कामा

तिमी सरक्क सर्कियौ, उनी फरक्क फर्किइन्

तिमिले सुस्त कदम चाल्यौ उतातिर

उनले हल्का पाइला उठाइन् यतातिर

तिमी अलिकति लम्कियौ, उनी अलि बढी हतारिइन्

तिमीले टाङ लामा पार्दै गयौ, उनी हामफाल्दै आइन्

तिमी बेगियौ, उनी पनि हानिइन्

तिमीहरु एकअर्कोको सन्मुख आइपुग्नुअघि

गहिराईदेखि धेरै माथि उठेका वारिपारिको जमिन जोड्ने सांघुरो सांघु आइपुग्यो

तिमीले दायाँ पाइला राख्यौ सांघुको वल्लो छेउमा, तिमीले गर्नमिल्ने त्यति थियो

उनले देब्रे पाइला राखिदिइन् साँघुमा पल्लो छेउमा, उनले गर्नसक्ने त्यति नै थियो ।

तिमी हच्कियौ र उनी पनि हच्किइन्

तिमीहरु दुवैले सोच्यौ कि, ‘दुवै अगाडि बढ्दा

एकजना अवश्य खस्नेछौ र गुमाउनेछौ अर्कोलाई सँधैलाई’

तिमीले सोच्यौ, ‘हुन्न, हुन्न अगाडि बढ्नलाई’

उनले सोचिन्, ‘कदापि हुन्न अगाडि बढ्नलाई’

समयको यो झिनो अन्तरालमा

तिमीले सोच्यौ: शारीरिक/पारिवारिक/सामाजिक/आर्थिक जोखिमहरु

उनले सोचिन्: मानसिक/मनोवैज्ञानिक/साँस्कृतिक जोखिमहरु

तिमी तर्सियौ, उनी पनि तर्सिइन्

परिणामतः तिमी फरक्क फर्कियौ र उनी पनि फरक्क फर्किइन्

शुरुदेखि देख्नेहरुले ठाने: साँघुको जोखिमको कारणले फर्किए तिनीहरु

कारण अर्कै थियोः

एक्लै मोल्न सकेनौ जोखिमहरु, एक्लै तर्न मानेनौ सांघुरो सा‌ंघु

सदासदाको लागि फर्कियौ तिमीहरु ।

Loading

Post Comment

You May Have Missed