×

सल्यान

सल्यान

ढुङ्गे छानु, चिटिक्कका घरहरु, बाटो सफा सुग्घर

थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर

सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली

मूटू छुन्छ गुराँस, मेल्, मखमली, ती लालुपाते फुली

 

कल्याणार्थ चुसाउँछिन् जल अनाज् यी शारदा यौवना

भेरी पल्तिर बग्दछिन् जलधिको बोकेर सम्भावना

सात्विक्, शुभ्र, तिरस्कृता-पशुबली छत्रेश्वरी पीठ छिन्

खैराबाङ् भुवनेश्वरी भगतका ईच्छा पुरा गर्दछिन् ।

 

सल्यानी व्यवहारमा सरल छन्, कर्तव्यमा छन् हठी

टप्पानाच, सुरम्य संस्कृति कला, लाखे तथा सोरठी

सेरेङ्गे पहिचान बक्छ, खुकुरी सल्यानको सान हो

लाटाकामि, कुशाग्र फक्रिरहने सल्यान उद्यान हो ।

 

थार्मारे, वनगाढ, श्रीनगर औ बाङ्गे, खरीबोटले

खाँचो अक्कर पूर्ति हुन्छ सहजै, लान्ती, कपुर्कोटले

सल्लेरी वनमा रिठा, टिमुर छन्, काफल् र चुत्रा कति

कैले हुन्न समाप्त आलु, अदुवा, छन् सुन्तला, कागती ।

 

शोभाबर्धक, शान्त, कञ्चन सदा मोहक् कुपिण्डे दह

सामुन्ने वनवाटिका कुसुममा मौरी संगाल्छन् मह

भण्डारे गरिजीउला र बरला, दार्मा र मर्मा धनी

वारीपारि अभावको चिनु कतै भेटिन्न खोजे पनि

 

हात्तीझैँ नपत्याइने कदम यो अग्लो, सुँधो चाल छ

राखौँ नाम गजेन्द्रग्राम यसको यो मैत्र-सञ्जाल छ

पाएँ आश्रय स्वर्गतुल्य भुमिमा, सौभाग्य कस्तो अहो !

लोभ्यायो मन यो, सुटुक्क घरबार्, जोडौँ कि जस्तो भयो ।

 

२०७६।०१।०१

खलंगा, सल्यान

Loading

Post Comment

You May Have Missed