सङ्क्रमणकालीन अर्धचन्द्र
असंख्य ताराहरुका सितारा जडित
गगनको नीलो पछ्यौरीले सर्वाङ्ग छोपी
वश् निरावरण शिरको
देब्रे गालामा बगेका गाजलघुलित आँशुका बासी टाटाहरु
दाइने दिप्त गालाको मुर्च्छित हाँसोले दबाएर
घुँक्कघुँक्क स्वर रुद्रघण्टमुनि लुकाएर
सम्साँझै पाइला चाल्छ्यौ पश्चयात्राको सँधै सँधै ।
तिम्रो मनोदशा हेर्न नसकी
जब म मेरै दशऔँलाको माछीकाँडे छेकेबार बनाई
छोप्न खोज्छु मेरा दुवै नयन
तिमी बुर्लुकबुर्लुक उफ्रिन्छ्यौ मेरा औँलाका जोर्नी जोर्नीहरुमा
तिम्रो दाइने गालाको
लालित्य चुहुन्छ मेरो घोप्टे हत्केलामा र पोतिन्छ मेरो दायाँगालामा
र देख्नेछौ औँलाका कापकापबाट मेरो तिम्रैजस्तो रुञ्चे अनुहार
तिम्रो खुइएऽऽ खुइएऽऽ शुष्क सुस्केराको
चिसो सुसेलीले यो छातीभित्र काउकुति लाउँछ कताकता
म छेकारो लाउन पुग्छु आफूलाई पिपलको छातिभित्र
तिमी छिमल्दै पिपलका पातहरु
चोरीचोरी चियाउँछ्यौ मेरा कायर चक्षुहरु
तिम्रो देब्रे गालाबाट डलबल डलबल
अश्रुबुँद चुहिन्छ जब तप्प मेरो गालामा
अनि त्यतै मिसिन्छ मेरो हृदयस्खलित
अर्को बुँदको काव्य रस र एक दोभान देखिन्छ यहाँ ।
मलाई शान्त्वना दिन
बादलका भुल्काहरुमा बाँकटे हान कि
वा हुरीका कालानीला छालहरुमा घरिघरि डुबुल्की मार
वा रेशमकिराको अभिनय गर्दै तिम्रो सितारे पछ्यौरीभरि रेशम भर
म पत्याउँदिन, म पत्याउँदै पत्याउँदिन
कि तिमीले सूर्यलाई आफ्नो पछ्यौरीभित्र लुकाएकी छैनौ भनेर
जब कुनै निहुँ झिकी उनको भोटो प्रदर्शन गर्नेछ्यौ मेरो सामू
त्यही भोटोबाट टाउको निकाल्नेछन् ज्वाज्वल्यमान शिशु सूर्यले
तिमी भने उनको लाजले पग्लिएर
बिलाउनेछ्यौ आफ्नै पछ्यौरीभित्र
अर्को नीरव सन्ध्यासम्म,
र म टोलाइरहनेछु एक्लै एक्लै
त्यो सन्ध्या उस्तै अनुमान लाउँदै
औँसीको अँधेरी रात होस् कि
पूर्णेको उजेली रात ।
२०७२।०१।०७
चाँगुनारायण, भक्तपुर ।