कवितागद्य कविता

लेखककी स्वास्नी

ऊ लेखक हुँ भन्छ
आफ्नो शीर्षकमा मलाई नै चुन्छ ।
घरी अर्धाङ्गिनी भन्छ
घरी अर्थाल्लिई भन्छ ।

म बाहिर हुँदा ऊ भित्र हुन्छ
म भित्र हुँदा ऊ बाहिर हुन्छ
म सुत्दा ऊ उठेको हुन्छ ।
म उठ्दा ऊ सुतिरहेको हुन्छ ।

सधैँ चिसो खाना खान्छ
झुत्रो लुगा लाउँछ ।
थोत्रो जुत्ता लाउँछ ।
मलाई घरमै छोडी कता जान्छ जान्छ
हाँस्दै मुड्कीले छाती हान्छ ।
रुँदै मुड्कीले छाती हान्छ ।

अरुसँग बोल्नै ठीक्क हुन्छ
मसँग बोल्नुपर्दा दिक्क मान्छ
एक्लै हाँस्छ एक्लै रुन्छ ।

मैले उपलब्ध गराइदिएको वातावरणमा
उसले जे पायो त्यही लेख्छ
उसैले स्याबासी थाप्छ|
उसैले तक्मा थाप्छ ।
म उसकी सधैँकी स्रोता ।ं
सधैँ अतिथिको मन्चमा हुन्छ

न हात धुन्छ, न लुगा धुन्छ
न त खुवाएको गुन छ
मलाई भन्न मन छः
लेखककी स्वास्नी हुनुभन्दां
भिखारीकी स्वास्नी हुनु जाती
कम्तीमा भिखारी त सँगसँगै हुन्छ ।
कम्तीमा स्वास्नीका कुरा त सुन्छ ।

२०७७।१२।२१

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *