मेरो बारेमा

मेरो नजरमा पूर्ण ओली

  • चन्द्रसिंह श्रेष्ठ

म जिल्ला हुलाक रुकुममा सहायक कम्प्यूटर अपरेटर पदबाट कार्यरत हुँदा Purna Oli सरको फेसबुक वालमा पोष्ट भएका कथा र कविता प्राय पढ्थेँ र केही जिज्ञासा जागेमा, प्रतिक्रिया दिन मन लागेमा कमेन्टमा लेखिहाल्थेँ । मैले फेसबुकमा चिनेको पूर्ण वली सर त कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुमको कोष नियन्त्रक पो हुनुहुँदो रहेछ भन्ने कुरा पछि थाहा पाएँ ।

फेसबुकमा उहाँसँग कसरी जोडिएँ थाहा छैन । मैले उहाँलाई देखेको सबैभन्दा पहिला जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा हो । टाढेबाट मैले नमस्कार सर भने उहाँले अत्यन्त शालिन, भद्र किसिमले मेरो नमस्कार स्वीकार गरेर फर्काउनुभयो तर चिन्नुभएन । मैले आफ्नो परिचय दिएन बरू छिटो छिटो साइड लागिहालेँ । हाकिम भएर पनि यति सरल, यति नम्र, कति मिजासिलो हुनुहुने रहेछ भन्ने छाप पर्‍यो मेरो मनमा । पछि पछि त मलाई उहाँको फेसबुक प्रोफाइल खोलेर हेर्ने बानी जस्तै बस्न थालेको थियो । चोटिला रसिला सन्देशमूलक कविता, फिल्म हेरेको जस्तै लाग्ने कथा ….. हरेक कथा र कविताले केही न केही सन्देश दिन खोजेका ….. । प्रत्यक्ष भेटेर बोल्न नसके पनि फेसबुक कमेन्टबाटै आफ्नो प्रतिक्रियामार्फत उहाँसँग कथा कविताको सन्देश के हो भनी सोध्थेँ, मैले सोधेकै शैलीमा सहज प्रतिक्रिया दिनुहुन्थ्यो ।

म रुकुममा भएको कुरा सायद सरलाई थाहै थिएन ….. फेसबुक कमेन्ट वार्ता भइरहन्थ्यो । एकदिन एक्कासी उहाँ नै मेरो मेसेन्जरमा मलाई “चन्द्रसर नमस्कार…… रुकुममै हुनुहुन्छ र ?” लेख्नुभयो ….. म हुलाकको टेलिसेन्टरमा बसेर फेसबुक चलाइरहेको बेला मैले नमस्कार भन्नुपर्ने मान्छेले सुरुमै नमस्कार सहित बोलाउँदा खङ्ग्रङ्ग भएँ । उहाँप्रतिको सम्मान र श्रद्धा अझ बढेर गयो । मैले पनि “सर नमस्कार” भनेर शब्दमै अभिभावदन गरेँ र आफू जिल्ला हुलाक कार्यालयमा सहायक कम्प्यूटर अपरेटर पदमा काम गर्दै गरेको जानकारी गराएँ । घर सोध्नुभयो र झुम्लाबाङ घुमाएपछि सोलाबाङ घुमाउने कुरा गर्नुभयो । धेरै पछिसम्म उहाँको जस्तै नाम मात्र सुन्दा, पढ्दा देख्दा पनि एउटा ठूलो पदको दिव्यज्ञानी मान्छेको सरल व्यवहारको रुपमा उहाँको हँसिलो मुहार (जिल्ला प्रशासन कार्यालयको गेटनेर देखेको) र पहिलो म्यासेजको झलझली आइरहन्थ्यो। त्यसपछि त म जिल्ला प्रशासन कार्यालयमा जिवन, गोरख सरलाई भेट्न गएको बेला उहाँ मिटिङबाट बाहिर निस्कँदा जम्काभेट भयो र मैले नमस्कार गरेँ । फेरि एक जना हँसिलो हाकिम (सर)ले ढाडमा सुम्सुम्याउदै “तपाई क्रियटिभ हुनुहुन्छ । गहिराईमा अध्ययन गर्ने बानी रहेछ, लोकसेवा दिँदै गर्नुहोला सफल हुनुहुन्छ भन्नुभयो ।” मेरो फेरि होस् उड्यो । सायद रातो भएँ हुँला जस्तो लाग्छ ।

पहिले पहिले त हामी प्राविधिक धारका मान्छे प्रशासनतिरको अधिकृत हुन सकिन्न जस्तो लाग्थ्यो मलाई पनि । म सरकारी सेवामा प्रवेश गर्नुभन्दा २/३ महिना अघि काम विशेषले जिल्ला प्रशासन कार्यालय रुकुममा जाँदा सहायक प्रमुख जिल्ला अधिकारी (मैले मानेको सिडिओ)को कुर्सीमा बसेको एउटा गोरो, कलिलो, ह्याण्डसम् मान्छे अनि सर म फलानो कामले आएको भनेपछि तुरुन्तै आफ्नो कर्मचारीलाई बोलाएर म मिटिङमा गएँ भने ढिला हुन्छ अहिले नै यो काम गरिदिनुस् र उहाँलाई पठाएर निस्कन्छु भन्ने डेडिकेटेड कर्मचारीको रुपमा चिनेको अर्जुन भण्डारी सरबाट लोभिएको थिएँ । संयोगले पछि जिल्लामा रहँदा “हाम्रो रुकुमः राम्रो रुकुम” अभियानका क्रममा सरकारी सेवाका मेरा श्रद्धेय व्यक्तित्व Bharat Sharma सर र पहिलो भेटमै व्यक्तित्वबाट लोभिएको व्यक्ति Arjun Bhandari सरसँग केही सङ्गत गर्ने मौका पनि पाएको थिएँ । उहाँहरुलाई देखेर मलाई पनि यस्तै हुन पाए हुन्थ्यो, यस्तै गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, Role Model लाग्थ्यो। त्यही कुरालाई साकार पार्ने बाटोमा हिँड्न मेरो अवचेतन मनमा पहिलो पटक बीउ रोप्ने काम Purna Oli सरले गरिदिनुभएको थियो ।

त्यसैले उहाँलाई म गुरु मान्छु । म Section Officer परीक्षामा सफल हुनुमा धेरै अग्रजहरुको विभिन्न सहयोग, भूमिका, योगदान, आसिरवाद र इश्वरको कृपा छ। यद्यपी, मेरो मनमा अफिसर हुन कोसिस गरेपछि भइन्छ कि ? भन्ने भोक जगाइदिने व्यक्ति उहाँ नै हो । उहाँले मेरो ज्ञान मर्न नदिन पटक पटक झस्काइरहनुहुन्थ्यो । आजकाल सम्पर्क भएन, कमेन्ट आएन । कमेन्ट गर्दा पहिलेको जस्तो गहिराई छैन नि भनेर गुनासो पनि गर्नुहुन्थ्यो । त्यसपछि म गहिराईमा पुगेर कमेन्ट गर्दा मैले धेरै दिव्यज्ञान (मलाई लागेको) प्राप्त गर्थेँ । साथीभाई सम्झने वित्तिकै “सुदामा र कृष्णको कथा” सम्झिहाल्थेँ र अझै पनि सम्झिन्छु । केही समयपछि मैले पनि मेरो सपनालाई विपनामा साकार पारेँ । सायद अवचेतन मनमा बसेर हुन सक्छ धेरै मेहनत दुःख नगरेको महसुस हुँदै सपना साकार भयो । त्यसपछि पनि उहाँ मलाई छोड्नु हुन्न । कहिले साहित्यमाला कार्यक्रममा आउनुहोला भन्नुहुन्छ, कहिले घोष्टराइटिङको कक्षा पनि लिनुस् भन्नुहुन्छ । कहिले के पनि गर्नुहोला भन्नुहुन्छ । कहिले के पनि पढ्नुहोला मलाई त मन पर्‍यो भन्नुहुन्छ । जसरी पनि मलाई स्पाट बनाउन खोज्नुहुन्छ अनि बाहिर पनि अलि बढी नै प्रशंसा गरिदिनुहुन्छ । आफू पर्दापछाडिबाट मलाई चाहिँ पर्दामा उतार्न खोज्नुभएको भान भयो भने म जानी-जानी बेखबर, गुमनाम हुन्छु । मलाई लाज लाग्छ ।

एउटा उचो कदका अगाडि पुड्को जस्तो …. तर केही दिनपछि फेरि के निहुँमा झक्झकाउनुहुन्छ । उहाँसँग यो जुनीमा रगतको नाता नभए पनि पूर्वजुनीमा केही थियो कि भन्नेसम्म सोँच्न बाध्य बनाउनुहुन्छ । साहित्य, कला, विज्ञान प्रविधि जस्ता क्षेत्रमा उहाँको बारेमा मैले चर्चा गर्न सक्दैन । मेरो नजरमा बहुमुखी प्रतिभाका धनी आदरणीय पूर्ण वली सरको जन्म दिनको अवसरमा ढिलै भए पनि शुभकामना नदिई र दुई शब्द नखर्चिई बस्न सकिन । जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना सर ! अनि आगामी दिन अझै क्रियाशीलताका साथ सुखद होऊन् ! हजुर एक युग होइन युगौंयुग हो । हजुरका अनुभव, दिव्य रचनाबाट हामी र पछिका पुस्तापुस्तालाई प्रेरक र मार्गदर्शक बनून्! फेरि पनि जन्मदिनको शुभकामना !!!

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *