कवितागद्य कविता

जूनकिरी

खर्लप्प कालो जङ्गल निलेको

निर्लिप्त निस्लोट दुःखी अँध्यारोमा

काँडाको निरन्तर घोचाइ र वनझीँगाको टोकाइको पीडाले

लरखरिरहेका आफ्नै पाइताला खोज्दै

पथविहिन घिस्रिरहेको यो दारुण दृश्य पछ्याएर

गन्तव्य छेक्दै देखा पर्यौ ।

 

पिलपिल पिलपिल तिम्रो पुछारको प्रदीप्तपुञ्जले

पथिकको धेरै भाग अँध्यारो निलिदियो

सपाट सीधा देखियो सम्मुख बाटो

मुलायम देखिए काँडाहरु

सुन्दर देखिए बनझिँगाहरु

प्रष्ट हुँदै थियो

जीवनको अर्को पाटो

तिमी अघिअघि बहिरह्यौ

म पछिपछि लत्रिरहेँ

तिम्रो प्रदीप्त प्रकाश पुञ्जले

यो दिलभित्र

सुन्दर चित्र कोर्दैथियो विलुप्त अनुहारको

 

दोबाटोमा आइपुग्नु अघि

“यता हुँदै..”, भन्यौ, “.. म जान्छु, तिमी उता भएर जाउ !”

मैले भनेँ, “त्यो उज्यालोको अझै खाँचो छ यहाँ”

“हुँदैन, हुँदैन…”, भन्यौ, “… यो मलाई नै पुग्दैन !”

र मेरो उही दृश्यलाई मुख बाएको अँध्यारोको पहिलो गासमा छोडेर

लाग्यौ अर्कोतिर केही बेरमै

अँध्यारोको अर्को गासमा पुगेर निलियौ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *