संस्कृति
पूर्वेलीहरुको संस्कृतिभन्दा पश्चिमेलीहरुको संस्कृतिलाई बढी उदार मानिन्छ । पूर्वेली मुलुकहरुमा हिन्दु धर्मालम्बीहरुको बाहुल्यता भएकोले सोही धर्मले देखाएको बाटोमा यस क्षेत्रका बासिन्दाहरुले अलि अनुदार खालको संस्कृति अवलम्बन गरेको देखिन्छ । उदार, अनुदारको मापदण्ड र दृष्टिकोण पनि आआफ्नो प्रकारको हुन सक्छ ।
तर नेपालमा भने पूर्वतिर विकास लगायत संस्कृतिको उदारता पनि बढी र त्यसपछि क्रमश पश्चिमतिर लाग्दा विकास पनि कम र सामाजिक-सांस्कृतिक उदारता पनि कम हुँदै गएको पाइन्छ । तसर्थ झापामा बस्ने व्यक्ति काठमाण्डौमा आउँदा अनुदार संस्कृतिको अनुभव गर्न सक्छ भने काठमाण्डौ बसिरहेको व्यक्ति रुकुम आउँदा अझ अनुदार संस्कृतिको अनुभव गर्न सक्छ । यो प्रभाव कुनै भूभाग विशेषको नभई विकास र संस्कृतिको उदारताको प्रवृत्ति (Trend) को कारणले गर्दा भएको हो । त्यसो त नेपाल भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक बहुलतामा आधारित समाज हो । पूर्वमा पाइने सेतो गुराँस पश्चिममा पनि पाइनुपर्ने अड्कलबाजी र हिमालमा पाइने हिमचितुवा तराइमा किन पाइएन भनी जिब्रो टोक्नुको पछाडि कुनै तुक देखिँदैन । अर्थात तराइमा किन हिउँ जमेन र हिमालमा किन ४० डिग्री सेल्सियसको तापक्रम पुगेन भनी कल्पना गर्नु आधुनिक वैज्ञानिक जमानामा हास्यास्पद हुन सक्छ । मानिस वातावरणमै हुर्किने प्राणी भएकोले वातावरणका अनेक अवयवले यसको संस्कृतिलाई पनि प्रत्यक्षत प्रभाव नपारी छाड्दैनन् । अत: रुकुमको भौगोलिक, आर्थिक, सामाजिक, प्राकृतिक वातावरणले यहाँको संस्कृतिलाई अन्यत्रको तुलनामा फरक दरमा प्रभाव पार्नु स्वाभाविक नै हो । यस कारणले रुकुमको संस्कृति पाल्पा वा बैतडीको समान हुनुपर्छ भनी सोच्नु हास्यास्पद हुन सक्छ । झापाको संस्कृति झापालीहरुको लागि नै उपयुक्त र पाल्पालीहरुको लागि अनुपयुक्त लाग्न सक्तछ । त्यस्तै पाल्पाको संस्कृति डोल्पालीको लागि अनुपयुक्त हुनसक्छ । कसैको संस्कृति पनि सम्पूर्ण रुपमा सही र गलत भन्ने कुरा हुँदैन । मान्छेको प्रवृत्ति नै आफ्नो भनेपछि सबै राम्रो र पराइको भनेपछि सबै नराम्रो भनी विश्लेषण गर्ने हुन्छ । तसर्थ मान्छेको अर्काको संस्कृति देखेर अवाक् हुने, छेडछाड गर्ने र धज्जी उडाउनेसम्म बानी हुन्छ ।
यसो भन्दैमा असल संस्कृतिको अनुकरण नगरी आम रुपमा खराब देखिएको संस्कृतिकै अवलम्वबन गरिराख्नु पर्छ भन्ने होइन । सामाजिक, आर्थिक, सांस्कृतिक विकास र सकारात्मक परिवर्तनको लागि नै राज्यले निजामती प्रहरी जङ्गी सेवा लगायत विभिन्न सेवा र संरचना निर्माण गरेको छ । यस्ता सेवा र संरचनाको काम खराब संस्कृति देखेर जिब्रो टोक्ने, हस्सी मज्जाक गर्ने वा आफू अनुकुल व्याख्या गर्ने मात्र होइन समाजमा परिवर्तनको आभास दिनु पनि हो ।
विकासको कुरा गर्दा बालकृष्ण समको नियमित आकस्मिकताको सिद्धान्तलाई पनि हेक्का राख्नै पर्दछ । नियमितताको संगसंगै आकस्मिकताको उद्भवले नै संसारमा आमूल परिवर्तन ल्याउने गरेको हुन्छ । विज्ञानमा पनि न्यूट्रन, प्रोटोनलाई सक्रिय तुल्याउने काम न्यूक्लियसले गरिराखेको हुन्छ । जीवकोषको आवरणमा देखिने कोष झिल्ली र केन्द्रमा रहने न्यूक्लियसको काम समान हुँदैन तर न्यूक्लियसले नै जीवन प्रदान गरिरहेको हुन्छ । मानव समाजमा अझै राउटे र कुसुण्डाको अस्तित्व अद्दयापि छ । यस्ता जातिको विकास हुँदा अर्को जातिको संस्कृतिको विकासको अरु बढी वा अझ कम हुन सक्छ ।
मानिसले जान्नै पर्ने कुरा सामान्यीकरण (Generalisation) को सिद्धान्त हो । मैले जुन समय वा परिस्थितिमा कुनै मान्छेको आलोचना गर्दैछु त्यही समय र परिस्थितिमा उसको ठाउँमा म नै भैदिएको भए के गर्थेँ हुँला भनी सोच्ने हो भने कुनै कुरा पनि पूर्ण रुपमा खराब, अनौठा वा असल लाग्ने छैनन् । सामाजिक, सांस्कृतिक तथा आर्थिक भिन्नताले उत्पन्न हुने द्वन्दहरु यही सिद्धान्तले नै अन्त्य गर्न सक्छ भन्ने मलाई लाग्दछ ।
![]()
Post Comment