२०८२ बैशाख ३ गते विहीवार
सोलाबाङ रुकुम
करिब १ घण्टामा गाडी बनेपछि फेरि सुरु भयो रुकुमतिरको यात्रा । अवस्था फेरिने कुरै छैन । बरु राति ३ बजेसम्म पनि यात्रुहरू गाडी कुरेर बाटो छेउमा बसिरहेका देखिन्थे । गाडीले सकेसम्म मान्छे पनि कोच्दै अगाडि बढिरह्यो ।
बाग्लुङ र रुकुमको सीमाना पातीहाल्ना पुगेपछि झुसमुके उज्यालो भयो । बसभित्रको गर्मी पनि पातीहाल्नाको हावाले केही मत्थर पार्यो । तर सामान र यात्रीहरूको अत्यधिक लोड गरेको गाडीले पाइला उँधो सार्नै सकेन । घुँडा खिइएका वृद्धहरूजस्तै ऐया ऐया गर्दै कनीकुथी ओरालो झर्न थाल्यो ।
लुकुम पुग्दा घाम नै लागिसकेका थिए । ७ बजेतिर रुकुमकोट पुग्यो । मसँगका यात्री मुकेश थापा रुकुमकोट ओर्लिए । ठुलै भारी बिसाएजस्तै हलुका भयो । रुकुमकोटमा पुनः गाडीका टायर र पार्टपूर्जाहरू खोलखाल गरिए । यात्रुहरू सबै ओर्लिए । म भने भेषराज रिजालका भेरीका छालहरू पुस्तक पढेर गाडीभित्रै बसिरहेँ । भोक लागेको जस्तो भएपछि घडी हेरेँ साढे ९ बजिसकेछ । देवकुमारी अस्मिता र जुवाइँ प्रविणबाट कहाँ पुग्नुभयो भनी फोन आइरहेको थियो । म भने कतै नपुगी साढे २ घण्टासम्म रुकुमकोटको अटोपार्ट्स मर्मतको ग्यारेजमै थिएँ ।
अस्ति एउटा पत्रिकामा पढेको थिएँ के टिकट काटेपछि गाडीले मान्छे मार्ने लाइसेन्स पनि प्राप्त गर्छ ? त्यस्तो लाइसेन्स त कहिलेकाँही पाउनेहोला । तर यात्रुहरू बाटो पार गर्नको निम्ति मात्र गाडी चढ्दैनन् । गाडीभित्र पसेपछि यात्रुको आफ्नो स्वतन्त्रता भन्नु सबै सकिन्छ । मनलागी कुरा गर्न पाउँदैन मनलागी हेर्न पाउँदैन मनलागी खान पाउँदैन । निश्चित स्थानमा पुगेपछि यो यो काम गर्छु भनेर यात्रा गरिएको हुन्छ त्यो समयमा पुगेर यात्रुले काम गर्न पाउँदैन । यी सबै लाइसेन्स पाएको यातायात व्यवसायीउपर कसैले प्रश्न गर्न पाउँदैन ।
साढे ९ बजेतिर रुकुमकोटबाट गाडी हिँड्यो । रानीकोट खण्डमा बाटो मर्मतको काम भइरहेको रहेछ । मध्यपहाडी लोकमार्गको बाग्लुङ रुकुम खण्डमा पिचको काम सकिएको पनि ५ वर्षभन्दा बढी भइसकेको छ । तर रानीकोट खण्डमा कहिल्यै सकिँदैन । पातीहाल्नाको रुकुमतिरको खण्डमा त झन् काम नै भएको देखिँदैन ।
शीतलपोखरीमा गाडीबाट झरेपछि कालको मुखबाटै फुत्किएको जस्तो उन्मुक्तिको अनुभव हुन्छ । काठमाडौँबाट रुकुमसम्म सुरक्षितसाथ ल्याइदिएको गाडीप्रति आभारी हुनुपर्छ । यात्राका कठिनाइहरू सबै बिर्सन्छु । चालक र सहचालकहरूलाई धन्यवाद दिन्छु । अटो चढेर सोलाबाङतिर लाग्छु । १ महिनाअघि १०० रुपैँया भाडा थियो अहिले १५० पुगिसकेछ । नियमनकारी निकायले आँखा चिम्लिदिएपछि जति भाडा लिए पनि भयो । यो खण्ड भनेको करिब ७ किमि होला । बाटो पूरै पिच र सजिलो छ । यस्तै दुरीमा अन्यत्र २५ रुपैयाँ मात्र भाडा लाग्छ । यहाँ जति लगाए पनि हुन्छ । अटोका चालकहरूसँग चेतिसकेको छु । मुख फोर्नै दिँदैनन् ।
सोलाबाङको घरमा आइपुगेपछि रित्तो घरले स्वागत गर्छ । गहुँ काटेर १ हप्तापहिल्यै खेतमै थुपारिदिएका छन् । पानी नपाएर लगाएका तरकारीहरू सुकिसकेका छन् । झारले पुरेको छ । आँगनभरि छारोधुइरो मात्र छ ।
पहिलो काम गहुँ ढल्याउनुपर्ने भएकोले काटेर थुपारेका गहुँका मुठाहरूलाई केही खेतमै र केही आँगनमा ल्याएर सुकाइदिन्छु । तलपट्टिको गहुँ ओसेपले कालो भइसकेको रहेछ । चिसो उत्तिकै छ । कमला बुहारीले उब्रेको खाना छ यतै खानुहाला भनेकोले खाना बनाउने झन्झटमुक्त हुन्छु ।
मनलाल सरले आज नै राप्ती साहित्य परिषद्को मिटिङ छ भनेकोले अटोमा खलङ्गा उक्लन्छु । राप्ती साहित्य परिषद्का मित्रहरू मनलाल, गिरिप्रसाद, ओम, शशिराम, नारायणलगायतसँग भेट हुन्छ । पर्सिको कार्यक्रमको तयारी बारे छलफल तथा निर्णयहरू गरिन्छन् । कमलमणि देवकोटाकी आमा हिजै दिउँसो बित्नुभएछ । खबर सुनेर साह्रै दुःख लाग्यो । फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गरेँ ।
अटोमै सोलाबाङ झरेँ । आज दिनभरकै अटो भाडा मात्र ६०० रुपैयाँ तिरिसकेको छु । लोकबहादुर जेठानले खाना खान बोलाउनुभएकोले उहाँको घरमा जान्छु । बैशाख १ गतेदेखि बेलुका ७ बजेदेखि सुरु गरिएको शुभजन्मोत्सव शुभकामना शृङ्खलाको दोस्रो भाग चलाउँछु । आज भूपेन्द्रा मल्ल डिल्ली डाँगी केशव शर्मा सिर्जना शर्मा लालसिँह खडकाको मात्र उपस्थिति हुन्छ । अप्रिल १५ मा जन्मदिन परेका विश्व साहित्यकार हेनरी जेम्सको परिचय दिँदै योगदानको परिचर्चा हुन्छ ।
खाना खाएर राति ९ बजे घर फर्कन्छु । अस्तिकै छुटेका दैनिकी लेख्दा लेख्दै रातको १२ बज्छ ।
![]()
Post Comment