×

२०८२ बैशाख २ गते बुधवार

२०८२ बैशाख २ गते बुधवार

मध्यपहाडी लोकमार्ग

बिहानै उठेर देवकुमारीलाई सोधेँ तिमी रुकुम जाने कि नजाने

उनलाई रातभरि बान्ता भएछ । टाउको पनि दुखिरहेको छ भनिन् भैगो तपाईँ मात्रै जानुस् । बरु छिटो आउनुहोला ।

खाना खाएर साढे १० बजेतिर घरबाट निस्किएँ । टिकबसको मान्छेल साढे १२ बजे आइपुग्नू भनेको थियो । अझै २ घण्टा बाँकी नै छ । बसमा गए पनि डेढ घण्टामा पुगिहालिन्छ भनेर दुवाकोट मोडमा पुगेर बस कुर्न थालेँ । आधा घण्टासम्म पनि बस आएन । बल्लतल्ल आएको बस सिट भरिएर आयो । खाली सिट नभएको बसमा उभिएर जानुभन्दा त याङ्गोमा बुक गर्नुपर्‍यो भनेर बुक गरेँ । लोकेसन अफ भएको रहेछ । चालकले उताबाट लोकेसनमा छु भन्छ दुवाकोट मोडबाट म पनि लोकेसनमै छु भनिरहेको छु ।

लोकेसेन एप अफ भएको रहेछ । मेरो लोकेसनमा थापागाउँ देखाइरहेको रहेछ । क्यान्सेल गरेर अर्को बाइक बुक गर्दासम्म साढे ११ नै बज्यो । याङ्गोमा गए त करिब आधा घण्टामै पुगिएला भन्ने लाग्यो । याङ्गोको बाइकले पनि समयमै लिफ्ट दियो । हामी पुरानो बाटो हुइँकियौँ ।

ठिमीमा गाडी मोटरको निकै जाम रहेछ । हामी ओभरटेक गर्दै अगाडि पुग्यौँ । तर आज त ठिमिलेको सिन्दुर जात्रा पो रहेछ । ठिमीको ओरालोमा अबिर हानाहान गर्ने विशाल जात्रा लागिरहेको रहेछ ।

बाइक मोड्न खोज्दा पछाडि गाडीमोटरको जाम अगाडि मान्छेको जाम । अरू १५ मिनेट जाममै फसेपछि रोक्दा रोक्दै नगदेश छिर्‍यौँ । नगदेशबाट सिद्धिकाली हुँदै बल्लतल्ल सानोठिमी ब्यारेकमा पुग्यौँ । पेप्सीकोलाबाट एरपोर्ट पछाडि हुँदै १५ मिनेटमा चाबहिल पुग्यौँ । याङ्गोले चाबहिलसम्म मात्र बुकिङ भएकोले अब अगाडि जान मिल्दैन भन्यो ।

मोबाइलको समय हेरेँ अब आधा घण्टा मात्र बाँकी छ । बसको मान्छेले ३ चोटि फोन गरिसकेछ । उसलाई फोन लगाउँदा भन्यो कि बिस्तारै आए हुन्छ तर साढे १२ भित्रै आइपुग्नुस् । चाबहिलबाट गोँगबु बसपार्क पुग्न जति बिस्तारै गए पनि २० मिनेट पनि लाग्दैन १० मिनेट बच्छ नै भनेर बसमा नै चढेँ । सामाखुसी पुगेपछि हामी चढेको बसलाई ट्राफिक प्रहरीले समात्यो । चालक र ट्राफिकको धेरै बेरसम्म बाझाबाझ पर्‍यो । बसलाई जरिवाना नगरी अगाडि बढ्न नदिएकोले ओर्लिएर पुनः पठाओ लिएर ठिक साढे १२ बजे बसपार्क पुगेँ । बुकिङ गरिदिने व्यक्ति पनि भेटिए र टिकट कटाए । यसअघिको यात्रामा काठमाडौँ रुकुमको लागि १७०० मात्र तिरेको थिएँ । अहिले २५०० पुगिसकेछ । त्यसो त काठमाडौँमा पनि चढ्यो कि २५ रुपैयाँ माग्न थालिसकेका छन् गाडीवालाहरूले ।  सरकारले भने भाडा बढाएको कुनै आधिकारिक सूचना दिएको जस्तो लागेको छैन । बसवालाले इन्धनको मूल्य बढेकोले भाडा बढाइएको हो भन्ने ठाउँ पाएका रहेछन् । भर्खरको नयाँ सरकारले सूचना निकाल्न पनि डराएको हुनुपर्छ । सूचना ननिकालेरै गाडीवालाले भाडा बढाएपछि यात्रुले समर्थन गरेमा किन सूचना निकाल्नुपर्‍यो ।

यस्तै सोच्दै निलो कलरको ठुलो एसी बसमा पसेँ । ए साइडको ६ नम्बर सिट पाएकोले अगाडि परेँ भन्ने मात्र नभई नयाँ देखिने एसि बसको मुलायमदार सिटले पनि निक्कै खुसी तुल्यायो । देवकुमारीलाई फोन लगाइहालेँ राम्रो बसको राम्रो सिट फेला पर्‍यो । सुविधाजनक र सजिलोसँग घर गइने भइयो पटक्कै चिन्ता नलिनू ।

साढे १२ बजे बसपार्कबाट छुट्छ भनेको बस साढे १ बज्दा पनि छुटेन । बल्लतल्ल कछुवा गतिमा २ बजे गाडीले जाँगर नमानी गारोपिरो माने जसरी बसपार्कबाट छुट्टियो र रिङरोडमा घिस्रिन थाल्यो ।

बालाजु नपुग्दै एकजना यात्रीले म बसेको सिटलाई यो सिट मेरो हो तपाईँ उठ्नुस् भन्यो । मैले मेरै हो भनेर टिकट देखाएँ । तर म नै गलत ठहरिएँ । मैले सुरुदेखि नै एक दुई गन्दै बसेको थिएँ । तर अघिल्ला दुई सिटलाई क ख ग घ नम्बर दिइएको रहेछ । बसको क्यारियरमा रङ खुइलिइसकेको सिट नम्बर हेर्दा ६ नम्बर सिट भनेको त लगभग अन्तिम सिट पो रहेछ । चित्त बुझाएर बस्नै पर्‍यो पछि सरिदिएँ । अलि पर पुगेपछि सामानका पोकाहरू बसको प्यासेजभरि कोच्न थाल्यो । छतमा पहिल्यै सामानको चुली लागिसकेको थियो ।

अब अन्तिमतिरको सिट प्यासेजमा राखिएको सामानले गर्दा उठेर निस्कनै नसक्ने बनायो । बसका सिटहरू अग्ला अग्ला थिए । न अगाडि हेर्न मिल्थ्यो न पछाडि । बाहिर हेर्नको लागि पनि उभिनुपर्थ्यो ।

कलङ्कीमै मेरो सिट छेउमा एकजना निकै मोटा यात्रु बसे । नाम मुकेश थापा बताउँथे वतन धनगढि । हाइड्रोपावारको काममा रुकुमको सिस्ने जानुपर्ने बताउँथे । उनको पेलाइले ज्यानबाट तेल निक्लेला झैँ भयो । झन् बसमा उनको निदाइरहने बानी रहेछ हात्तीभन्दा बडेमानको शिर मेरो काँध बोकाउँथे घरी हात चढाउँथे । बेला बेला एकातिर सारिदिन्थेँ तर उठाउनै सके पो ।

कलङ्की कटेपछि माइकको फूल पावरमा गीत घन्काउन थाल्यो । साउन्ड कम गर भनी जति चिच्याए पनि त्यो चिच्याहट चालकसम्म पुग्दै पुगेन । गुर्जुधारा पुग्दा ठुलै बिस्फोटको आवाज सुनियोः हातखुट्टा घलघली कामे । चट्याङ यसैमा परेको हो कि कता पर्‍यो। चट्याङको आवाज आइरहन थाल्यो । अलि अलि बाहिर हेर्दा देखियो कि टन्टलापुर घाम लागेका छन् । आकाशमा एक थोपा बादल छैन । के होला त भनी कान बुजेर ध्यान दिएँ । त्यो त बसको हर्न पो रहेछ । बाब्बा हो यति चर्को हर्न त मैले कहिल्यै सुनेको थिएन । बसको हर्न बज्दा मुटुमै झङ्कृत हुन्थ्यो । गाडी चल्दा अलिअलि हावा भित्र पस्थ्यो । जब गाडीले विश्राम लिन्थ्यो चिसो हावाले पनि विश्राम लिन्थ्यो र बसभित्रकै तातो हावाले लु चलेको अनुभूति दिलाउँथ्यो ।

बाग्लुङ कटेपछि बस बारम्बार रोकिन थाल्यो । घरी टाइर खुस्कने घरी कुन पार्टपूर्जा बिग्रने । समय जतिसुकै बितोस् गाडी रोकिएको बेला माइक र हर्न पनि रोकिने भएकोले केही राहत मिल्थ्यो ।

कालकोठरी भनेको सायद योभन्दा अलि सुविधाजनक हुन्थ्यो होला ।

दमौलीभन्दा अगाडि शौचालयको लागि छेउ लगायो गाडीले । छेउमै शौचालय रहेछ । कुर्सी राखेर पैसा छिराउन मिल्ने कुतुर्के राखिएको थियो । शौचालयको बाहिर दिसाको रु १० र पिसाबको रु ५ लेखेको थियो । तर उठाउने मान्छे थिएन । चलमल गर्न नपाइने लामो यात्रामा कट्टूमै पिसाब चुहिरहेको अवस्थामा बसका यात्रीहरूले शौचालयमा दिसा पिसाब त गरे तर कुतुर्केमा कसैले पैसा हालेनन् । नमागी मान्छेले ५ रुपैयाँ पनि जोगाउन खोज्दा रहेछन् ।

गाडी चढेदेखि नै भेषराज सरलाई फोन लगाइरहेको थिएँ तर उहाँको फोन उठिरहेको थिएन । फागुनको महिना रुकुम जाँदा भेषराज सरको पोखरास्थित कोठामा बास बसेको बेला उहाँको चस्मा समेत लिएर हिँडेछु । फर्काउने अवसर मिलेको थिएन । आज पोखरा हुँदै जाँदा नासो बुझाउनै पर्ने भएकोले फोन गरिरहेको थिएँ । कोत्रेपुगेपछि मात्र उहाँको फोन उठ्यो र चस्मा लिन पृथ्बीचोक आइपुग्नुभयो । मलाई नासो बुझाउँदा निकै हल्का महसुस भयो ।

९ बजेतिर हेम्जाको पश्चिम कुनाको एक होटेलमा खाना खुवायो । आफूले बोकेका यात्रुहरूले आफ्नै होटेलमा मात्र खाजा खाना खाऊन् भन्ने पवित्र उद्देश्य बोकेका हिजोआजका गाडीहरूले यस्तै एक्लो ठाउँमा बनाइएका होटेलमा मात्र खाना खुवाउँछन् । खाना अर्डर गर्ने विभिन्न रङका कुपनहरू बनाइएका छन् । अन्य होटेलमा भेज र ननभेजको दुईथरी रङका कुप्पन देखिन्थे । यहाँ भने खानामा के के थप हुने भन्ने कुराहरूको अड्कल गरी धेरै थरी कुप्पन बनाइएको रहेछ । मैले भेज खानाको कुप्पन मागेँ । भेजकै २८० रुपैयाँ रहेछ ननभेज र अरू आइटम थपे कति होला । पटक पटकको खाजा खाना र बसभाडा जोड्दा त प्लेन भाडा नै पुग्दो रहेछ । तर प्लेन पनि भनेको बेला पाइए पो ।

अर्को रोचक कुरा पनि देखियो । होटेलभित्रै दिसापिसाबको लागि पैँसा उठाउने खुतुर्के राखिएको रहेछ । सायद खाजा खाना नखाने यात्रुको लागि हुनुपर्छ । खाना खाएर पिसाब फेर्न जाँदा पैँसा तिर्नु नपरेपछि हाइसुक्ख भयो । मान्छेले पैसा कमाउन कति जानेका । केबाट पैसा झार्न सकिन्छ भन्ने अनेक युक्ति छन् मान्छेसँग ।

गाडीले दिसापिसाब गर्नुस् है भन्दै बाटो बाटोमा गाडी त रोकिरहेको छ तर सिटबाट उठेर बाहिर निस्कने अवस्था छैन । बाहिर निस्किहाले भित्र छिर्न झनै मुस्किल । त्यसैमाथि १०० केजीभन्दा बढी तौलका मुकेश थापालाई बोकेर लानुछ । अरूले दिसापिसाब गरेको देखेर आफूले हल्का महसुस गर्नुबाहेक अर्को उपाय छैन । कुस्मा पुगेपछि भाते निद्राले छोपेछ एकैचोटि बाग्लुङ कटेर गलकोट पुगेपछि ब्युँझिएँ । यसअघि पनि निद्रा लाग्नेबित्तिकै ठुलै बिस्फोट भएसरहको हर्नले ब्युँझाइहाल्थ्यो ।

यस्तै निद्राको कामना गरिरहेँ तर त्यसपछि निद्रा लागे पो । गलकोटभन्दा केही अगाडि राति ३ बजेतिर गाडी फेरि बिग्रियो । टायर फेर्नुपर्ने भएछ । समय लाग्ने भएकोले सकीनसकी बाहिर निस्किएँ । शान्तिको सास फेर्न पाइयो । यस्तो यात्राभन्दा त हिँडेरै जान पाए हुन्थ्यो जस्तो लाग्यो ।

Loading

Post Comment

You May Have Missed