×

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

दुवाकोट भक्तपुर

समीक्षा बिहानै घर गइन् । राजबहादुर कुँवरलाई कविता सङ्ग्रहको छपाइ भए नभएको बारेमा बारम्बार फोन गर्दा पनि फोन उठाउनुभएन । आज नै हात परेको भए पुस्तक लिएर रुकुम जाने र  पुस्तक प्रकाशित गरेको भए यही बैशाख ५ गते राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको हुने वार्षिक कार्यक्रममा गृह लोकार्पण गराउने सोच थियो । देवकुमारीको पनि घर जाने सम्बन्धमा मन दोधार दोधार भइरहेको छ । १ बजेतिर राजबहादुर कुँवरको फोन त उठ्यो तर छपाइको काम नसकिएकोले पछि पठाइदिउँला भन्नुभयो ।

रुकुमको घरबारीमा गहुँ पाकेर झर्न थालेकोले अस्ति नै बाहुरे लगाएर काट्न लगाएर थुपार्न लगाएका छौँ । खेतमै थुपारेकोले गाउँभरिका मुसाले काटिसकेको भनी छिमेकी कमला बुहारीको खबर आइरहेको छ ।

आमाको स्मृतिमा २ वर्षपहिलेदेखि योगमाया लोकसाहित्य पुरस्कार अक्षय कोषको स्थापना गरी गत २ वर्षदेखि विशेष गरी कर्नालीमा लोकसाहित्यमा योगदान गरेका व्यक्तिहरूलाई पुरस्कार समेत दिँदै आइएको छ । यस पटक राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटालाई प्रदान गर्ने भनी प्रस्ताव गरिएको छ । सो पुरस्कार आफ्नै हातबाट दिनुपर्नेछ । यसै गरी राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले मलाई प्रस्ताव गरेको मुसीकोट नगरप्रमुख पुरस्कार थाप्ने उद्देश्यले पनि रुकुम जानै पर्नेभएको छ ।

कलङ्कीसम्म रुकुमको बसलाई भेट्न जाने कि भन्ने कुरा थियो तर रुकुमको टिकट पनि पाइएन । देवकुमारीले दाङ हुँदै जाँदा बाटो मात्र लामो पर्ने भएकोले झन् सास्ती हुन्छ एकैपटक रुकुम जानुपर्छ भनेकोले अर्को विकल्पको प्रयोग पनि गरिएन । भोलिपल्ट नयाँ वर्ष भएकोले भोलिको सट्टा पर्सि नै रुकुम जाने भन्ने सल्लाह भयो ।

यात्राको योजना बनाउँदै दिनभरि घरमा नै बसियो ।

बालेन सरकारको सम्पत्ति विवरण सार्वजनिक भएको रहेछ । मन्त्रीहरूको सुन र अकुत जग्गाको छेलोखेलो नै देखियो । बालेन सरकार बन्ने बित्तिकै भ्रष्टाचारका फाइलहरू खुल्ने डरले भ्रष्टाचारीहरूको मुटुमा बजिरहेको ढ्याङ्ग्रो यस घटनाले सेलाएको हुनुपर्छ । सुन र सम्पत्तिको श्रोत देखाऊ भन्दै युवाहरू सडकमा उत्रिएका छन् । बालेनले बनाएको गीत गरीबको चमेली सुन्दिने कोइ छैन लाई गरीबको चमेली ‘सुन’ दिने कोइ छैन भन्ने नारा लेखिएका प्लेकार्डले यस सरकारको गहिरो व्यङ्ग्य भएको देखिन्छ ।

Loading

Post Comment

You May Have Missed