×

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

दुवाकोट भक्तपुर

बिहान ३ बजे नै उठेर हिजोको कार्यक्रमको समाचार बनाई कखरा अनलाइनका मनिश खड्कालाई पठाएँ । त्यही समाचारलाई आफ्नो फेसबुक पोस्टमा राख्नको लागि कपि पेस्ट गरेँ तर फोटोहरू अपलोड हुनै मानेनन् । यति गर्दा गर्दै बिहानको ६ बज्यो ।

चिया खाएर ७ बजेतिर हाम्रो टोलीले काठमाडौँको लागि प्रस्थान गर्‍यो । महेश पौड्याल र उहाँका विद्यार्थी नाम्चे पुग्ने योजनासहित आउनुभएको रहेछ हामीसँग बिहानै बिदाबारी भइसक्नुभएको थियो । चन्द्रसिँह श्रेष्ठ सर हामीलाई बिदाई गर्न होटेलमै आइपुग्नुभयो ।

सल्लेरीबाट हिँड्दा आकाश छ्याङ्ङ खुलेको थियो । मोमिला म्यामले राजेश्वर सरलाई ज्योतिष हुनुहुन्छ भन्ने कुरा हिजै फेल खाएकोले आज मुख खोल्नुभएन । पावरहाउस पुगेर उक्लिँदा उक्लिँदै भुइँकुहिरोले हिजैजस्तो डम्म ढाकेकोले बिहानको वातावरण नै सम्साँझजस्तो अँध्यारो बनाइदियो । हामीहरूको योजना पत्ताले पुगेर त्यहाँबाट २ किलोमिटरको दूरीमा रहेको गौरीटापको दृश्यावलोकन गर्ने थियो । गौरीटापबाट गुराँसको राताम्मे जङ्गल र उत्तरतिरका सगरमाथा लगायतका हिमालहरू हेर्न पाइने कुरा थियो । त्यो सबै सपना बाक्लो कुहिरोको आँचलमा लपेटिँदै थियो ।

पत्तालेको नजिकै नजिक आउँदै गर्दा एकजनालाई बस नै उचाल्ने गरी चिच्याए । ऊ ऊ पारि हिमाल देखियो । उनको स्वरले सबै जर्‍याकजुरुक उठ्यौँ र बस रोकेर उत्तरतिर हेर्न थाल्यौँ । हाम्रो वरिपरिको बाक्लो कुहिरो पातलिँदै गइरहेको थियो । पारि झलझलाकार देखिने लुम्बुर हिमाल रहेछ । नामै नसुनेको हिमालको विशालता देखेर छक्क परेँ ।

बस हिमालय होटेले बोर्ड टाँगेको होटेलको छेउमा अडियो । हामी त्यस होटेलको चहुरमा उक्लियौँ । हामीले खाना खाने होटेल यही रहेछ । चिसो सन्कोले मुटु ठिहिर्‍यायो । ठण्डा बताससित मुकाबिला गर्दै लुम्बुर हिमाललाई पृष्ठभूमिमा राखेर फोटोहरू खिच्यौँ । फोटो खिच्दै गर्दा उत्तर पूर्वपट्टि हिमालको लस्करै रहेछ । त्यही बिचको हो सगरमाथा भन्दै हामीसँग आएका वीरन्द्र ग्याबा तामाङले देखाए । उस्तै उचाइ भएका दर्जनौँ चुचुराहरूमध्ये कुन बिचको कुन । त्यही बिचकोमध्ये एउटा होला भनी चित्त बुझायौँ । टाढाबाट सबैभन्दा अग्लोचाँहि भनी बुझ्नु मूर्खता हो भन्ने कुरा आमादब्लम पुगेपछि चाल पाएको थिएँ । सन्मुखको एकतले घर पनि टाढाको लेकभन्दा निकै अग्लो देखिन्छ ।

त्यताबाट गुराँसको बाटिका हेर्न गौरीटापतिर लाग्यौँ । बिमल कोइराला सरका दम्पति र राजेश्वर कार्की सर होटेलमै बस्नुभयो ।

बाटो पुरै कच्ची रहेछ बिचबिचमा खाडलहरू भएको । छोटा खुट्टा भएको टुरिस्ट गाडीलाई उक्लन र घिस्रन हम्मेहम्मे पर्‍यो । खाडल र गहिरो परेको भागमा ढुङ्गाहरू थप्दै केही परसम्म लग्यौँ । तर बल्लतल्ल आधा बाटो मात्र पुग्यो । अगाडि बढ्न सकेन ।

हामीहरू गाडीबाट ओर्लिएर अगाडितिर बढ्यौँ । राताम्मे र सेताम्मे फुलेका लालीगुराँस र चिमालोका झाङहरूले हाम्रा नजरहरू तान्न थाले । धेरैजसो फूलहरू त फुलिसकेर ओइलाउँदै पनि थिए । अगाडि बढिरहेका गोडाहरू थाम्न थाले । मनमस्तिष्कमा नाच्न थाले । हामी जति अघि बढ्थ्यौँ त्यति लालीगुराँसका बोटहरू बढ्दै जान थाले ।

गौरी टापमा लौरेश्वर महादेवको मन्दिरको ठुलो परिसर पनि रहेछ । हामी गौरी टापबाट गोरेटो हुँदै अझै अगाडि बढ्दै गयौँ । उतापट्टिको संसार देखेर हामी चकित पर्‍यौँ । राताम्मे र सेताम्य गुराँसको साम्राज्य नै रहेछ । सौन्दर्यमा लिप्त भएर साथीहरू उफ्रिए यताउता कुदे भुइँमा लडीबुडी गरे रुखमा चढे रुखलाई लगाउनु काउकुती लगाए । तर कसैले पनि एउटा थुङ्गा फूल पनि टिपेन । सुन्दरतालाई जस्ताको तस्तै रहिरहन दिनु हाम्रो पनि कर्तव्य थियो ।

मोमिला म्यामले समय सकिएको जानकारी दिएपछि हामी होटेलमा फर्कियौँ । कुनै मसला र चिल्लो पिरो नराखेको स्वादिलो खाना खाएर पुनः काठमाडौँको यात्रा प्रारम्भ गर्‍यौँ । मेरो छेउमा सिट खाली भएकोले लक्ष्मी रुम्बा आएर बस्नुभयो । कुमारीजी पहिल्यै मेरो पछाडि सरिसक्नुभएको थियो । पछाडि सुवास सजल र बीरेन्द्र तामाङ दुई कुखुरे बैँसका युवाहरू थिए । दोहोरी चल्न थाल्यो । लक्ष्मीले घरीघरी अशेष मल्ल सरलाई फर्माइस गर्न लगाउनुहुन्थ्यो । पुराना नेपाली गीतहरू आधुनिक नेपाली गीतहरू भारतीय गीत र गजलका जुनसुकै टुक्रा दिए पनि उस्तै ओरिजिनल लयमा गाइदिनुहुन्थ्यो ।

मैले सोधेँ तपाईँ त गायक पनि हुनुहुँदो रहेछ । कतिवटा गीति एल्बम निकाल्नुभएको छ

उहाँले भन्नुभयोः होइन । म न गीतकार हुँ न त गायक नै । कविता नै मेरो मूल सौख हो । गाउने त रहर मात्र पूरा गरेकी हुँ ।

म चकित परेँ ।

ओखलढुङ्गा बजार आइपुगेपछि बीरेन्द्र ग्याबा तामाङ झर्नुभयो । हिलेपानी जहाँबाट सोलुखुम्बुतिर जाने र खोटाङतिर जाने बाटो छुट्टिन्थ्यो त्यस दोबाटोमा लक्ष्मीजी झर्नुभयो । झर्दै गर्दा भन्नुभयोः मेरो मन यतै छुटेको छ । चिठ्ठीसहित खामभित्र राखी पठाइदिनुहोला ।

घुर्मीमा मुकुन्द प्रयास र चन्द्र गुरुङ झर्नुभयो । बसको यात्रामा केही बेर सन्नाटा छायो । गाडीको झ्यालनेर सिट ओगटेर बसिरहेका सुन्दर बस्नेत र तुलसीहरि कोइरालाले त अस्तिदेखि नै मौनताको व्रत लिइरहनुभएको थियो ।

तारा सुनुवार र मोमिला म्यामले काठमाडौँबाटै ल्याएका लोकल केरा सुन्तला मिठाई र बिस्कुट बाँड्नुभयो । २२ जना यात्रीलाई जति बाँडे पनि नसिद्धिने व्यवस्थाले छक्क परिरहेको थिएँ ।

गाडीले नेपालथोक पार गरेपछि राजेश्वर कार्कीले फेरि गीत गाउनुभयोः सिन्की झोलैझोल । म त बैरागी जान्छु खोलैखोल ।

उहाँको गीत सकिनेबित्तिकै गाडीले खोलाको यात्रा सुरु गर्‍यो । अब खोलाको यात्रा सकियो कि भन्यो सकिँदैन । अब त छैन होला भन्यो उत्तिकै रहेछ । वरिपरि गत असोजको भेलले आँगन बगाएका घरहरू पहिरोमा झुन्डिरहेका थिए । पुलहरू र सडकको किनारमा लगाइएका सिमेन्टेड पर्खालहरूका सिँगै ढिस्काहरू बगरभरि ढलेका देखिन्थे । अलि माथि त सिँगै पक्की घर खोलामा सुतिरहेको देखियो । मान्छेले केही वर्षअगाडिसम्मको अनुमान गरेर खोला किनारमा बस्ती बसाउँछ तर प्रकृति रिसाएर लछारपछार पार्छिन् ।

खोलाको किनारै किनार फेरि सडकलाई माथि उठाउन ठाउँठाउँमा निर्माण कार्य त भइरहेको छ तर कहिले सकिएला र खै । बनाउनेबित्तिकै भेलले फालिदिने पो हो कि । तर जीवनको लय कुनै पनि चुनौतीले भाग्दैन । सङ्घर्ष नै उसको जीवन हो ।

भकुन्डे बेँसीमा पुगेपछि दरो खाजा खायौँ । त्यस खाजाले सबैको ऊर्जा थपिएछ । रात परिसकेको थियो तथापि रातको नीरवतालाई चिर्न कविता गीत र गजलहरू फेरि घन्किए । लक्ष्मीको अभाव बिर्सायो ।

नमोबुद्ध कटेपछि हाम्रो गाडीले धुलिखेलको सडक छोडेर सानो सडकतिर ओरालो झर्‍यो । बाटो भुल्यो कि भनेको त धुलिखेलको विस्तार हुँदै गरेको जाम छल्न पो यता लागेको रहेछ । केही बेरमा हामी बनेपा पुग्यौँ र फेरि विस्तार हुँदै गरेको सडकमा मिसियौँ । फर्कँदा नालातिर नलागेर साँगा जगाती सूर्यविनायक हुँदै सल्लाघारी पुग्यौँ ।

मेरो झर्ने ठाउँ यही थियो । सबैसँग बिदाबारी भएर झरेँ र ताम्रपत्र खादा र मालाहरू खाँदिएको गह्रुँगो झोला र त्योभन्दा गह्रुँगो मनको भारी बोकेर दुवाकोटमोडतिर लागेँ । पुरानोबाटोको सल्लाघारी खण्डमा पिच गर्नको लागि मेसिनले सडकको धूलो उडाइरहेको रहेछ । मास्क थिएन पूरै धूलो नाकमुखभित्र छिर्‍यो ।

राति ९ बजेतिर घरमा आइपुग्दा देवकुमारी र परीक्षितले खाना नखाएर मलाई पर्खिरहेका रहेछन् । कार्यक्रमको बारेमा वर्णन गर्दै पारिवारिक वातावरणमा खाना खाएँ र आजको दिनलाई विश्राम दिएँ ।

Loading

Post Comment

You May Have Missed