२०८२ चैत्र २७ गते शुक्रवार
सल्लेरी सोलुखुम्बु
बिहान साढे ४ बजेको अलार्म मिलाएर सुतेको थिएँ तर देवकुमारीले साढे २ बजे नै उठाइदिइन् । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको भोलि चैत्र २८ गते हुने कार्यक्रमको निम्ति पौने ६ बजेभित्र बबरमहल पुग्ने उर्दी भएकोले ५ दुवाकोटबाट ५ बजेपहिल्यै नउठे ६ बजे पुग्न गाह्रो छ ।
ठिक पौने ६ बजे बबरमहल पुग्छु । यो यात्रा सुनौलो रहर सुनौलोको गीत गुनगुनाउँदै । बबरमहलस्थित आन्तरिक राजस्व कार्यालयको अगाडि हरियो रङको सानो टुरिस्ट बस उभिएर यात्रीहरू प्रतीक्षा गरिरहेको देखिन्छ । लाग्छ हामीलाई सल्लेरी पुर्याउने बस यही होला । अलि नजिक पुगेपछि राजेश्वर कार्की सर मोमिला म्याडम देखिनुहुन्छ । अरू यात्रीहरू पनि धमाधम आइरहनुभएको छ । यात्रीहरूका झोलाहरू व्यवस्थापन गर्ने र यात्रीलाई सिट तोकिदिने काम गरिरहनुभएको छ ।
लक्ष्मी रुम्बाबाहेक सबै ६ बजेभित्र आइसक्छन् । ५ मिनेट ढिला गरेर लक्ष्मी पनि आइपुगेपछि बबरमहलबाट प्रस्थान गर्छौँ ।
तारा सुनुवार कौशलटारबाट तुल्सीहरि कोइराला गठ्ठाघरबाट र महेश पौड्याल र उहाँका विद्यार्थी नयाँठिमीबाट चढ्छन् ।
सूर्यविनायक बनेपा सडक निर्माणाधीन रहेकोले हामीहरू नाला भएर जान्छौँ । धुलीखेलमा खाजा खान्छौँ । एक एक गरी गाडीभित्र बस्नुपरेकोले अगाडिपछाडि पर्दा चिनजान नभएका साथीहरूसँग खाजा खाँजा चिनजान हुन्छ ।
हामी त्यताबाट
महेश पौड्यालले नीलम कार्की निहारिकालगायत समसामयिक पुस्तकहरूको समीक्षा सुनाउँदै पछिल्लो सिटमा बस्नेहरूको ध्यानाकर्षण गरिरहनुभएको थियो भने बिमल कोइराला र अशेष मल्लले विभिन्न प्रकारका छोटामिठा संस्मरण खिस्सा र पजलहरू सुनाएर अघिल्लो सिटमा बस्नेहरूको ध्यान आकर्षित गरिरहनुभएको थियो ।
राजेश्वर कार्की सरले सिन्की झोलैझोल म त बैरागी जान्छु खोलैखोल भन्ने गीतको गेरो गाउँदै गर्दा गाडीले पिच सडक छोडेर बगरमा घस्रिन थालेको थियो । पिच सडकको वारिपारि कतै नामोनिशान नै थिएन ।
रोशीखोलाले जताततै बाटो ध्वस्त बनाएको । जापानी सहयोग स्वाहा । अब निर्माण गर्न अर्बौँ लाग्ने । सिन्धुलीको मूलकोटका ऐनाहरू हावाले उडाइदिएको । खुरकोटको पाथीभरा होटेलमा खाना खुवाएपछि खुरकोटबाट सिन्धुलीगढी हुँदै तराई जाने मार्ग फाट्छ ।
खुरकोटदेखि मैले कहिल्यै पाइलो नटेकेको मेरो लागि नयाँ संसार सुरु हुन्छ । काठमाडौँदेखि खुरकोटसम्म पाइलापाइलामा बजार रहेको सडक एकातिर लागेपछि अर्को सडक निर्जन र सुनसान देखिन्छ । मलाई कर्णाली करिडरको जाजरकोट डोल्पा सडक खण्डमा आइपुगेजस्तो भान हुन्छ ।
सुनकोशीको तिरैतिर करिब ६० किमि पार गरेपछि उदयपुरको घुर्मी पुग्छौँ । घुर्मी भध्य तराईको कटारी नगरपालिका भित्र पर्दोरहेछ । अच्चम्मित तुल्याउँछ । काठमाडौँका विभिन्न बस स्टेशनमा झुन्डिएका बोर्डहरू र बीपी राजमार्गको छाती ओगटेर गुड्ने सयौँ सानाठुला गाडीमा लेखिएको घुर्मी निकै ठुलो सहर हुनुपर्छ भन्ने मेरो अनुमानले दशबाह्रवटा साना ठुला घरहरू मात्र ठड्यारु बसेको देख्दा मेरो अनुमानले फेल खान्छ ।
घुर्मीबाट सुनकोशीको पुल तरेर पारिपट्टि नदी किनारको सानो फाँटमा हर्कपुर बजारले ओखलढुङ्गा लेखेको प्लेकार्डजस्तो बोर्ड देखाएर सिद्धिचरण श्रेष्ठको जिल्ला सुरु भएको जानकारी गराउँछ । यत्तिकै प्रफुल्लित हुन्छु । त्यसपछि नाङ्गो र ठाडो लेकको पाउ हुँदै निरन्तर उकालै उकालो बस उकालो लाग्छ । बिचमा मानेभञ्ज्याङको बजारसँग साक्षात्कार हुन्छ । मानेभञ्ज्याङको पारिपट्टि बाक्लो गाउँ देखिन्छ ।
सगरमाथाको वास्तविक उचाइ ८८४८ मिटर भए पनि ५३०० मिटरको बेसक्याम्पबाट उचाइबाट सुरु हुन्छ । तर हामी सुनकोशीको करिब ५०० मिटरको उचाइबाट एउटै पहाड उक्लेका उक्लेई छौँ । अलि माथि झ्याम्म परेको घना वनजङ्गल छ ।
आकाशमै पुगेको जस्तो भान भएपछि पारिपट्टि देखियो ठुलो बजार । ओखलढुङ्गाको सदरमुकाम रहेछ । ओखलढुङ्गाको चारैतिर भएको घनावस्तीले नै सिद्धिचरण श्रेष्ठलाई मेरो प्यारो ओखलढुङ्गा रचाएको जस्तो भान । ओखलढुङ्गामा खाजा । दही र चिउरा काठमाडौँबाटै ल्याइएको रहेछ । चिया भने ओखलढुङ्गाकै ।
साढे ४ बजे ओखलढुङ्गाबाट हिड्छौँ । फेरि उकालो । मोडैमोड । घना कुहिरोले केही देखिँदैन । निकै माथि पुगेपछि गुराँसको साम्राज्य सुरु तर । घरीघरी कुहिरोले हतारमा होइन पछि हेरौला भनेझैँ लुकाइरहेको छ । गाडीबाट ओर्लेर फोटो खिच्छौँ । चिसोले र अँध्यारोले सातो खान्छ । अलिकति पर पत्ताले भन्ने बजार आइपुग्छ । झमक्क अँध्यारो भइसकेको छ । निकै पारि देखिन्छ झिलिमिली बत्तीले ढाकेको डाँडो । राजेश्वरले भन्नुहुन्छ त्यही हो सोलुको सल्लेरी ।
बाटो ओरालै ओरालो छ । निकै साँघुरो अर्को गाडी आएको देखेपछि हाम्रो गाडी अलिकति फराकिलो ठाउँमा रोकिन्छ ।
निकै ओरालो झरेपछि खोलाको पुल देखिन्छ । पुलको छेउमै झिलिमिली बत्तीले ढाकेको फराकिलो भवन देखिन्छ । सोलु हाइड्रोपावरको हाउस यही हो भन्नुहुन्छ राजेश्वर कार्की सर । सातै रङका बत्तीहरूको लहर केही माथिसम्म उक्लेको देखिन्छ । अँध्यारोले पुरै खोलो नदेखिए पनि खोलाको छङछङ सुनिइरहेको छ । लाग्छ खोला ठुलै होला । केही माथिसम्म चढुन्जेल बाटो उबडखाबड हुँदा लामो र साना पाङ्गरा भएको टुरिस्ट बसलाई चढ्न सकस हुन्छ ।
केही माथि चढेपछि एउटा बजार आइपुग्छ । सोलुमा जिल्ला समन्वय अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका रुकुमेली मित्र चन्द्रसिँह श्रेष्ठले कहाँ आइपुग्नुभयो भनी सोधिरहनुभएको छ । त्यो बजार आएपछि अझै २ किमि छ भन्नुहुन्छ राजेश्वर सर । अधिकांश यात्रीहरू सोलुको निम्ति नयाँ हुनुहुन्छ । चासो उग्र बढेको छ ।
केही समयपछि अर्को बजार आइपुग्नेबित्तिकै गाडी रोकिन्छ । अगाडि देखिन्छ हिमालयन याक होटेल बोर्ड । हामी गाडीबाट उत्रेर तोकिएका कोठाहरूमा जान्छौँ र फ्रेस हुन्छौँ । खाना खाइवरी आजको दिनलाई बिट मार्छौँ ।
![]()
Post Comment