२०८२ चैत्र २५ गते बुधवार
दुवाकोट भक्तपुर
आज पनि बिहानै लेखनकुञ्जमा जान भनी तयार भएको थिएँ तर परीक्षितको बिदा रहेछ । पाटन अस्पत्तालमा बुधवार बिदा हुने गर्दछ । घरमा बसेको बखत कुन दिन कुन वार हो भनी वास्ता पनि गरिन्न ।
गाडीमै जानुपरे पछि खाना खाएरै जाऊँ न त भनी देवकुमारीलाई खाना पकाउन लगाएँ । मैले हातमुख धोई कपडा फेरेँ । खाना खाई सवा ८ बजेतिर निस्किएँ । आज पनि दुवाकोट मोडमा रत्नपार्कतिर जाने गाडी सितिमिती नआउँदा केही बेर पर्खनुपर्यो । जडीबुटीको जाम आज पनि लामै समयसम्म पर्यो।
लेखनकुञ्जमा पुग्दा साढे ९ बज्यो । कमलजी र विनोदजी पहिल्यै आइसक्नुभएको रहेछ । केही बेर उहाँसँग गफगाफ चल्यो। यसै बेला कमल सरलाई एकजना महिलाको भिडियो कल आयो । कमलजीले आफू पर्सि विराटनगरदेखि तेह्रथुमसम्मको यात्रामा निस्कने बताउनुभयो । ती महिलाबाट उहाँले यात्राको शुभकामना साथै आशीर्वचन पाउनुभयो । अहिले आफू लेखनकुञ्जका साथीहरू विनोद र पूर्ण ओलीसँग कुरा गरिरहेको बताउनुभयो । कुरा गर्दा गर्दै भिडियकल आइरहेको आफ्नो मोबाइल कमलजीले मलाई हस्तान्तरण गर्नुभयो । आशीर्वाद दिँदा नै मैले अड्कल गरिसकेको थिएँ कि उहाँ कमलजीको आमा हुनुपर्छ । मैले अभिवादन गर्दा उहाँले कवितामै आशीर्वाद दिनुभयो । छोराबुहारी र छोरीजुवाइँको परिचय कविताबाटै दिनुभयो । २८ वर्षपहिले आफ्नो पति बितेकोले ५ जना साना बच्चाहरूलाई आफू एक्लैले सम्हालेर यो अवस्थामा पुर्याएको कुरा पनि कविताबाटै सुनाउनुभयो । बुढो सम्झनाले अहिले पनि आँसु झरिरहे पनि छोराछोरीहरूको प्रगतिले आँसु थामिने कुरा पनि कविताबाटै गर्नुभयो । म त चकित परेँ । कमल किन कमलजस्ता छन् भनेको त जन्मदातृका नसानसामा साहित्य नै बग्दोरहेछ भने रगतमा किन साहित्य नबगोस् ।
विनोदजीले नयाँ वर्षको शुभकामनाको भिडियो क्लिप बनाउने उद्देश्यले पोडकास्ट रूममा बोलाउनुभयो । बोल्नै आएन । लेखेर बोल्नु न त भन्नुभयो । करिब २०० शब्दको शुभाकमना मन्तव्य लेखेँ । तर हेरेर बोल्न पाइँदैन भन्नुभयो । लेखेको भरमा बोल्न खोज्दा एउटै आएन । उहाँले १० मिनेटजति समय लगाएर लेखेको कण्ठ गर्नुस् र बोल्नुस् भनेँ । १० मिनेटको समयमा १० पटक कण्ठ गरेँ । तर बोल्दा फेरि पनि कुनै शब्द पनि आएन । उहाँले यसो यसो भन्नुस् भनी मुखैले सिकाउनुभयो । त्यो पनि दिमागले टिपेन । विनोदको ममाथि जुन सम्मानित दृष्टिकोण थियो त्यो भत्कियो । मैले रातो मुख लगाएँ ।
एकताका क्याम्पस पढ्दा कुनै कुरा नआए चिट हेर्नुपर्ला भनि चिट तयार गरिन्थ्यो । तर त्यो चिट लेख्दा लेख्दै कण्ठस्थ हुन्थ्यो परीक्षा हलमा चिट झिक्नै पर्दैनथ्यो । अहिले भने यो अवस्था छ । अझ पछि के कस्तो हुने हो सम्झँदा पनि डर लाग्छ ।
मञ्चविहीनको मञ्चका संस्थापकमध्येकी एकजना प्रमुख महिला गङ्गाजीहरूको समूह पनि आउनुभयो । कमलजीकै कोठामा उहाँहरूको बैठक बस्यो । मैले यस मञ्चलाई चलायमान गराई सकभर दिनदिनै र बाटोघाटो स्कुल पाखा पखेरा नभनी जताततै लैजान सुझाव दिएँ ।
दिनभरि पानी दर्किरह्यो । कमलजीको कोठामा आगन्तुकहरू ओइरिरहनुभयो । तर म भने आफ्नै काम सक्ने ध्याउन्नमा त्यतातिर पसिनँ । डीआर निरौलाको आकाश यात्राको दोस्रो संस्करणको लेखकीय तयार गरिदिएँ । मेघौली जङ्गल सफारीको प्रसङ्गमा आफैले कल्पना भरेर पुरानो संस्मरणसँग तालमेल मिलाइदिएँ । उक्त पुस्तकको सम्बन्धमा खगप्रसाद नेपालले गरेको समीक्षालाई पनि जोडिदिएँ र आज सौरभ नआएकोले सेटिङ भइसकेको पुस्तकमा राख्नुपर्ने कुराहरूको बारेमा अवगत गराएँ ।
दिउँसोतिर आँगन मिडियाकी सञ्चालक लक्ष्मी श्रेष्ठको फोन आयो । उहाँले लेखापाल चक्रबहादुर बिस्टको क्यान्सर रोगले निधन भएको जानकारी गराउनुभयो । यो खबरले निकै दुखित तुल्यायो । पुरातत्त्व विभागमा काम गर्दा चक्रजी मेरो सहायक थिए । जिउडाल मिलेका सुन्दर कायाका धनी चक्र काममा पनि निपुण थिए । सबैसँग मिलनसार व्यवहार गर्नेभएकोले सबैका पृय थिए । तर आर्थिक लोभ भने बढी भएको साथीभाइहरूले सुनाउँथे । मलाई भने लोभ गर्नु पनि थिएन र कुराको पछि लाग्नु पनि थिएन । उनको मृत्युको खबरले एकछिनसम्म स्तब्ध भइरहेँ ।
केपीएनको पुस्तकमा कम्तीमा ५० प्रतिशत काम सकेको देखाउनुपरेकोले त्यसपछि केपीएन पुस्तककै सम्पादनमा लागेँ र ५६००० शब्दको सम्पादन सक्न सफल पनि भएँ । पानीले बिदा लिइसकेको थिएन । बाटोमा पानी जलमग्न भएको थियो । धोबीखोलामा पानीको सतह बढेको थियो । पानी पर्न छोड्नेबित्तिकै सडकमा जाम पनि बढेको थियो । यिनै दृश्यहरू नियाल्दै घरतर्फ लागेँ ।
राति इभिनिङ वाकमा निस्किएपछि आधा दर्जनभन्दा बढी साहित्यिक कृतिका लेखक भेषराज रिजाल सरको फोन आयो । उहाँको सरुवा तराईको गाउँपालिकामा भएको थियो तर काश्कीस्थित सहकारी रजिष्ट्रारको कार्यालयमा सक्रियतापूर्वक काम गरिरहनुभएको थियो । उहाँले निष्पक्ष र इमान्दारितापूर्वक सहकारी डुबाउनेहरूलाई धमाधम कार्वाहीको दायरामा ल्याउँदै हुनुहुन्थ्यो । तर अहिले पुनः तराईमा जान पत्र आएको सुनाउनुभयो । तराईमा जानुभन्दा जागिरी नै छोडिदिने उहाँको मनसाय थियो । यस सरकारले ४५ दिनभित्र संघीय निजामती सेवा ऐन ल्याउँदै गरेकोले केही राहत भइहाल्छ कि अहिल्यै जागिरी नछोड्नुहोस् भनी सुझाव दिएँ ।
![]()
Post Comment