२०८२ चैत्र २४ गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज पनि बिहानै उठेर परीक्षितसँग लेखनकुञ्जतिर लागेँ । कोटेश्वर परीक्षितको बाइकबाट ओर्लिई अनामनगरतिर जाने नेपाल यातायातको गाडीमा चढेँ ।
थापागाउँ ओर्लिएर लेखनकुञ्जको गेटनेरै पुग्दा मान्छे मान्छे एकै हो भन्ने स्वरको सुमधुर गीत माइकबाट घन्किरहेको थियो । माइकतिर ध्यान पुर्याउँदा एकजना किशोरीतिर ध्यान तानियो । मृगौला पीडित बालकलाई सहयोग गरेर ज्यान बचाई कल्याण कमाऔँ भन्ने खालको नारा लेखिएको ब्यानर छातीमा झुन्ड्याएकोले टाउकोबाहेक अरू शरीर केही देखिँदैनथ्यो । अनुहार र नबाटेको कपालले गरीबी झल्काउँथ्यो । पहाडतिरकी किशोरीजस्ती देखिने ती किशोरीको आँखाबाट बलिन्द्रधारा आँसु खसाल्दै मलाई गुहारीः अङ्कल मेरो बच्चा जन्म र मृत्युको दोसाँधमा अस्पत्तालमा छ अलिकति सहयोग गरिदिनुस् ।
राम्रोसँग अनुहार हेरेँ बनावटीपना कतै पनि थिएन । सहयोग गर्नु धर्म हो भनी गोजी छामेँ । गोजीमा आजै बिहान बसभाडाको लागि देवकुमारीले दिएको एक हजारको नोट र हिजोसम्म भाडा तिरेर बाँकी रहेको रु १० को नोट रहेछ । हातले १० को नोट झिक्यो र उसको हातमा थमायो । जाबो १० को नोटले के हुन्थ्यो र मुख अँध्यारिए पनि उसले त्यो नोट इन्कार गरिन । यसैमा म सन्तुष्ट भएँ । कोठामा पसेर ल्यापटप त खोलेँ तर ध्यान एकत्रित भएन । झलझली १० को नोट र त्यही किशोरी आँखामा नाचिरहे । लाग्यो धत्तेरिका हजारको खुजुरा बनाएर कम्तीमा १०० रुपैँया दिएको भए हुन्थ्यो । १० को नोटले मात्र बिरामी बच्चाको के उपचार गर्ली त्यसले ?
१० को नोटले सात आठ वर्षको एउटा घटना सम्झाइदियो । घण्टाघर अगाडि एउटा माग्ने बसेको थियो । उसले जुम्ला हात जोड्दै सहयोगको याचना गर्यो । मैले १० को नोट उसको हात के पारेको थिएँ ऊ जङ्गियो र थुथु गर्दै त्यो नोट सडकमा हुत्त्याइदियो । मलाई तँतँमम समेत पार्दै तथानाम गाली गर्दै, ‘मलाई १० रुपैँयाँले नपुगेर माग्न बसेको ठानेको रहेछस् यी लैजा अर्को १० रुपैयाँ भन्दै’ आफ्नो टोकरीभित्रको १० को नोट मलाई भिडाउन खोज्यो । म भाग्दै बागबजार बसपार्क पुगेँ । धन्न त्यस दिनमा अर्को १० को नोट पनि रहेछ र भक्तपुरसम्म पुगियो ।
बिचरी यसको आँखाबाट बलिन्द्रधारा आँसु नै खसालिरहेकी थिई त्यो भिखारीसँग साँप्न हुँदैन भनी आफैलाई सम्झाएँ ।
आजभन्दा बाइस वर्षको कुरा हो । दुवाकोटमा २ कोठे कच्चीघर बनाएर सपरिवार बसेका थियौँ । शनिवारको एक दिन एकजना महिला घरमै घ्यु बेच्न आई । हामीले घ्यु चाहिएकै छैन भन्यौँ तर उसले अस्पत्तालमा आफ्नो लोग्नेलाई राखेर खर्च जुटाउनको लागि घ्यु बेच्न आएको बताई । हामीले १ किलो मात्र घ्यु लिइदिएर सहयोग गर्ने तत्परता देखायौँ तर उसले भनी कि आफूसँग जम्मा ३ किलो घ्यु छ बरु आधा मात्र मोल दिनुहोस् । बाँकी पछि सम्झेर दिनुहोला अहिल्यै दिनुपर्दैन भनी ।
उधारो पाएपछि काठमाडौँमा घ्यु नराख्ने को होला । उतिबेला बजार बजारमा डेरी पसलहरू राखिएका हुँदैनथे । दूध र दही किन्न हामी दुवाकोटबाट लोकन्थली पुग्थ्यौँ ।
त्यो महिला हतारिँदै गई । खुसी हुँदै हामीले घ्यु भित्र राख्यौँ र भात पाक्नेबित्तिकै भागभागमा घ्यु बाँड्यौँ । देवकुमारीले घ्य त गन्हायो भनिन् । अलिकति तल कोट्याउँदा त बिग्रिसकेको डाल्डा वनस्पति घ्यु पो रहेछ । घ्यु लिँदा नचाखेकोमा र सहजै विश्वास गरेकोमा पछुतायौँ । त्यो महिला बाँकी पैँसा माग्न आउँछे कि भनेको के पो आउँथी । कहिल्यै आइन ।
तर त्यस किसिमकी बदमास त नहुनुपर्छ यो किशोरी । अनुहारमा असीम बेदना झल्किरहेको थियो । तर के भन्न सकिन्छ र माग्नेले गानाबजानासहितको लाउडस्पिकर र ब्यानरसहितको तामझाम गर्नसक्नेले अभिनय पनि त गरेकी हुनसक्छ ।
म लेखनकुञ्ज धाउन थालेको करिब ३ महिना भएको छ । प्रत्येक हप्ता यो गल्लीमा यस्तै लाउडस्पिकर बजिरहन्छन् । अस्ति मात्र २ जना मधेशीजस्ता केटाहरूले पनि लाउडस्पिकर घन्काउँदै मृगौला पीडितलाई सहयोग गर्न आह्वान गरिरहेका थिए । जुन दृश्य हिजोआज रत्नपार्कको आसपासको क्षेत्रमा बाहेक अन्यत्र देख्न छोडेको थिएँ । रत्नपार्कतिरका माग्नेहरू यता बसाइ सरेका पो हुन् कि ?
त्यसोभए अन्य गल्लीहरूमा पनि देखिनुपर्ने । कि यो गल्लीमा बस्नेहरूले माग्नेबित्तिकै पैसा दिनेभएकोले पल्केका पो हुन् कि । वा लाउडस्पिकरमा हल्लीखल्ली मच्चाउँदा पनि कसैले प्रतिवाद नगर्ने भएकोले पो यिनीहरू सजिलोको लागि यो गल्लीमा छिर्न सहज मान्छन् कि ।
आँतमा नपसी कसैले केही भन्न सक्दैन । तर धेरै कुराहरू सम्झँदा १० रुपैयाँको नोटको सन्ताप सेलाएर गयो र अफिसको काम गर्न थालेँ ।
११ बजेतिर राजबहादुर कुँवरको फोन आयो । उहाँले १२ बजेभित्र आफ्नो अफिसमा आउनुहोला भन्नुभयो । आज कवितासङ्ग्रहको कभरको फाइनल गर्नुपर्छ भनेर बल्ल समय दिनुभएको हो । यो पुस्तक प्रकाशनको लागि उहाँले असोजमै जिम्मा लिनुभएको थियो । दशैँ र तिहारको बिचमा नै प्रकाशन गर्ने कुरा थियो । तर भोलि भोलि भन्दा भन्दै अब मुद्रण भई हातमा पर्न २०८३ साल पर्खनुपर्ला जस्तो छ ।
कर्णालीका १३ जना कविहरूको काव्यकृति एकैचोटि निकाल्ने भन्ने कुरा सोचेको जस्तो सजिलो पनि नहोला त्यसैमा उहाँले हात हालेका क्षेत्रहरू कति हो कति । लोकवार्ता परिषद्को पुस्तक निकाल्न १०० जना लेखकहरुको अनुसन्धानत्मक लेखहरूको सम्पादन र प्रकाशनको जिम्मा पनि उहाँले नै लिनुभएको सुनेको थिएँ ।
उहाँको कार्यालयको काम हेर्न आफ्नो कामको प्रगति हेर्न र अन्य विषयमा पनि कुराकानी हुन्छ भनी म लेखनकुञ्जबाट उहाँको कार्यालयतिर जान थापागाउँ सडकमा निस्किएँ । नयाँवानेश्वरतिरबाट रत्नपार्क जाने टेम्पोहरू सबै भरिएर आइरहेकोले हनुमानथानसम्म हिड्नुपर्यो । नेपाल यातायातका गाडीहरू बारम्बार आइरहेका थिए तर यी गाडीहरू त नक्सालतिर लाग्छन् भनेर चढिन । एक सिट खाली भएको टेम्पो आएपछि चढेँ । कालिकास्थान हुँदै हिँडेर जानको न्युप्लाजामा ओर्लिएँ । त्यहाँ पनि नेपाल यातायातका गाडीहरूको ओहोरदोहोर गरिरहेको देखेँ । आफ्नो मूर्खता सम्झेर हाँसो उठ्यो । यही ठाउँमा ओर्लनुथियो भने त थापागाउँमै नेपाल यातायातको गाडी चढेको भए हनुमानथानसम्म गोडा दुखाउनुपर्थेन र छिटो पनि हुन्थ्यो ।
भनेकै समयमा राजबहादुर कुँवर सरको कार्यालयमा पुगेँ । उहाँलाई काम गराउनको लागि मान्छेको लाइन थियो । तर उहाँले मलाई नै प्राथमिकता दिनुभयो । अग्नि सरको सहयोगमा कविता सङ्ग्रहका केही परिच्छेद अदलबदल गरियो । उहाँले पठाउनुभएको कभरचित्रको सट्टा अर्को छानेँ । खाना उतै खुवाउनुभयो ।
त्यताको काम सकेर क्याप्टेन डीआर निरौलाको बत्तीसपुतलीस्थित घरमा गएँ । उहाँको आकाश यात्रा पुस्तकको दोस्रो संस्करण प्रकाशन गर्ने कुरा चलिरहेको छ । बत्तीसपुतलीस्थित उहाँको भव्य घरमा पुगेँ । आउँदै छु भनेर डिल्लीबजारबाट हिँड्दा नै जानकारी गराएको थिएँ । आफै गेट खोलेँ र भव्य कम्पाउन्डभित्र छिरेँ । अस्ति आउँदा कुकुर गेटसम्मै आएर तर्साएको बिर्सेछु बल्ल पो सम्झिएँ । डर लाग्यो । भित्र छिरिसकेपछि बाहिर निस्कनु पनि भएन । आइपुगेको जानकारी गराएँ । उहाँले माथि नै आउन भन्नुभयो । जीवनको उत्तरावस्थामा उहाँको स्वास्थ्य पनि नाजुक हुँदै गएको छ । पार्किन्सन रोगले न हिँडाइमा सन्तुलन छ, न भर्खरै भनेको कुरा सम्झनसक्नुहुन्छ । अतः उहाँलाई तल दुक्ख दिन पनि मन लागेन । तर अनौठो लाग्यो कि गेटमा पनि ताल्चा थिएन र गेटपालेहरू पनि कोही देखिएनन् । फूलहरूले ढकमक्क गमलाहरूले भरिएको आँगन सुनसान थियो ।
भित्रको बैठक कोठा पुगेपछि थाहा भयो कि बाहिरको गतिविधि त सीसीक्यामेराको माध्यमबाट ठुलै स्क्रिनमा देखिइरहेको रहेछ । कोही आयो भने गतिविधि हेरेरै पालेहरू बाहिर निस्कँदा रहेछन् ।
क्याप्टेनसाबसँग पुस्तकमा रहेका कमीकमजोरीहरूको बारेमा छलफल गर्न लागियो । उहाँको पुस्तक मैले सबै पढिसकेकोले उहाँको बाल्यकाल यौवनकाल र प्रौढावस्थाको बारेमा सबै जानकार नै छु । जीवनका सबै अवस्थाहरू झल्कने फोटोहरू विशाल बैठक कक्षमा राखिएका छन् । घरी घरी तिनै फोटोहरूले नजर तानिरहेका छन् । क्याप्टेनसाबको श्रीमती बिना म्यामको बारेमा पुस्तकमै भए पनि उहाँ यस घरमा हुनुहुन्छ हुनुहुन्न होला भन्ने जिज्ञासा यसभन्दा अगाडि आउँदा पनि उठेको थियो। लेखनकुञ्जका साथीहरूलाई सोध्दा बितेको भनेजस्तो लागेकोले क्याप्टेनसाबलाई सोध्न सकेको छैन ।
क्याप्टेनसँग कुरा गर्दै गर्दा सामान्य म्याक्सीमा एकजना महिला बैठक कोठामा प्रवेश गरिन् र मलाई के खानुहुन्छ भनी सोधिन् । मैले तातो पानी मात्र मागेँ । उनले किन तातोपानी मात्र नि तातोपानीमा सख्खर हाले स्वास्थ्यलाई फाइदा गर्छ भन्दै बाहिरिइन् । मलाई लाग्यो कामदार होलिन् ।
उनी पानी ल्याएर तुरुन्तै आइन् । हामी कुरा गर्दै थियौँ । कुरा के गर्नु र क्याप्टेनसाबले कुरा गर्दा गर्दै भर्खरै भनेको बिर्सनुहुन्थ्यो । एकपटक अमेरिकन पूर्व प्रथम महिला हिलारी क्लिन्टन र उनकी छोरी चेल्सीलाई लिएर मेघौली पुग्नुभएको ५ वाक्यको प्रसङ्ग पनि उहाँको पुस्तकमा परेको छ । त्यसलाई छुट्टै शीर्षककमा राख्न आवश्यक नदेखिएकोले रोयल फेमिली शीर्षकमा राखिदिएको थिएँ । त्यो कुरा उहाँलाई चित्त नबुझी छुट्टै शीर्षकमै राख्नुपर्ने तर त्यसमा उहिलेका प्रसङ्गहरू थप्नुपर्ने अनुरोध गरिरहनुभएको थियो ।
मैले तपाईँ भन्नुस् म रेकर्ड गर्छु भनेर मोबाइलको रेकर्डर अन गरेँ । तर उहाँले म मेघौली पुगे अनि अनि अनि म कहाँ पुगेँ रे भनी मैलाई नै सोध्नुभयो । मैले हिलारीलाई लिएर मेघौली पुग्नुभएको थियो भनेँ । हो हो अनि अनि हामी कुन लजमा पुग्यौँ रे भनी मलाई नै सोध्नुभयो र मैले पुस्तक हेरेर टाइगर टप्स होटेलमा पुग्नुभएको थियो भनेँ ।
उहाँले हो हो भन्नुभयो र लामो समयसम्म सम्झन प्रयास गरेर अनि हामी जङ्गल सफारीमा निस्कियौँ तर मलाई बिचबाटै फर्काइयो भन्नुभयो ।
किन फर्काइयो भनी मैले सोधेँ । तर उहाँ निकै अलमलिनुभयो ।
तातो पानी ल्याइदिने महिला फेरि बैठक कोठामा पसेपछि क्याप्टेनसाबले ती महिलालाई भन्नुभयो बिना तिमी भनिदेऊ त उहाँलाई मेरा विगतका कुराहरू । म त सम्झनै नसक्ने भएँ ।
मलाई खुसी लाग्यो कति सामान्य हुनुहुँदोरहेछ बिना म्याडम भनेर । ढिलै गरी नमस्कार टक्र्याएँ । लाग्यो यस्तै जीवनसाथी पाएर पो खुसी हुनुहुँदोरहेछ क्याप्टेनसाब् ।
उहाँले पुस्तक नै कण्ठ पारेझैँ फररर विगतका कुराहरू भन्न थाल्नुभयो ।
तर मैले भनेँ अहिले प्रसङ्ग त हिलारी लिएर मेघौली पुगेको चलेको छ । अरूमा खासै थपघट गर्नुपर्ने छैन भन्नुभएको छ क्याप्टेन साबले भनेँ । उहाँले भन्नुभयोः त्यहाँको कुरा त मलाई के थाहा । सँग लिएको भए पो चाल पाउनु ।
म वाल्ल परेँ ।
बल्ल भन्नुभयोः मलाई त्यस बेला लामो खोकी लागेको थियो । जङ्गलको रुख रुखमा जनावरको आलो मासु झुन्ड्याएको थियो । मासु खान बाघहरू आउँदा रहेछन् । खोकीले बाघ भाग्ने भएकोले मलाई फर्काइयो ।
यसरी उहाँले धेरै कुरा सम्झन थालेकोले खुसी लाग्यो । तर उहाँ फेरि रोकिनुभयो। अब यसैलाई मिलाएर थपथाप गरेर आफै लेखिदिनुहोला । म झन् झन् विस्मृतिमा गइरहेको छु । अब मेरो रोग सन्चो हुँदैन । छिटोभन्दा छिटो प्रकाशन गरिदिनुहोला दोस्रो संस्करण भन्नुभयो ।
मैले स्वीकृति जनाउँदै बिदाबारी भएर फेरि लेखनकुञ्ज फर्किएँ । यतैबाट घर फर्किए पनि हुनेथियो तर अफिसको काम पनि गर्न सकिन्छ भन्ने मन लाग्यो । त्योभन्दा पनि खास कुरा त अस्ति गाडीको खलासीले भाडामा ५ रुपैयाँ बढी लिएर उल्टै आफूलाई ठग सम्झेको रिस बाँकी नै थियो ।
लेखनकुञ्जबाट बेलुका घर फर्कँदा फेरि पनि ८ बज्यो ।
![]()
Post Comment