२०८२ चैत्र २२ गते सोमवार
दुवाकोट भक्तपुर
आज धारामा पानी आएको सुनी देवकुमारी बिहानै तल झरिछन् । धेरै दिनदेखि रोकिएको पानी आउन थालेको देखी उनको खुसीको सीमा नै थिएन । निद्रामा मस्त मलाई झकझक्याएर उठाइन् । के भयो भनी तर्सेको त पानी आएको खबर सुनाउनलाई पो रहेछ ।
बिहान उज्यालोको किरण धरतीमा छरिँदै गरेको बेला उठेपछि फेरि सुत्नु पनि भएन । परीक्षितसँग अफिसतिर हिँडेँ ।
आज विवशले बिहान खाना खानुभएको छ छैन भनी पहिलोचोटि सोधे । मैले खाएर आएको बताएँ । उनलाई ढुक्क भयो । कमलजीले विवशलाई भन्नुभएछ भन्ने लाग्यो ।
आज कमलजी अफिसमा आउनुभएन । बिहान केपीएनकै पुस्तक सम्पादनमा लागेँ । दिउँसोतिर मोहम्मद रमजान अलि मियाँ आएर कमलजीकै कोठामा बसिरहनुभयो । मेरो कोठातिर नपसेको हुँदा मलाई काममा अवरोध भएन । तर पछि शोभाकर नामका व्यक्ति आएकोले उहाँसँग छलफलमा जानू रे भनी सौरभले भनेपछि म कमलजीको कोठामा पुगेँ । एकजना वयोवृद्ध व्यक्ति पर्खिरहनुभएको रहेछ । मैले अभिवादन टक्र्याएर कामको बारेमा सोधेपछि उहाँले आफ्नो भिजिटिङ कार्ड देखाउँदै २०८० सालपछिका आफ्ना लेखहरूको सङ्ग्रह प्रकाशन गर्ने उद्देश्यले आएको बताउनुभयो ।
नाम डाक्टर शोभाकर पराजुली रहेछ । नाम सुनेसुनेको जस्तो लाग्यो । नेपाली काँग्रेसको तर्फबाट पूर्व सभासद पनि हुनुहुँदो रहेछ । उहाँले आफ्ना प्रकाशित लेखहरूको दर्जनौँ स्रोत बताउनथालेपछि म चकित परेँ । उहाँका लेखहरू गोरखापत्र, कान्तिपुर, अन्नपूर्णपोस्ट, नयाँपत्रिकालगायत दर्जनौँ नाम चलेका समाचार संस्थाबाट प्रकाशित भइरहेका रहेछन् । मैले त नेपालका एक स्थापित लेखकलाई आजसम्म चिनेकै रहेनछु । लाज लाग्यो । सायद उहाँले ठान्नुभयो होला आफ्नो पार्टीको व्यक्ति नभएकोले आफूलाई नचिनेको होला । जागिरमा रहुन्जेल कार्यालयकै काममा व्यस्त । जो सम्पर्कमा आउनुभयो उहाँहरूलाई चिनियो । साहित्यिक विधाहरूमा नाम चलेका केही साहित्यकारहरूलाई चिनियो तर वैचारिक हिसाबले लेखिरहेका कसैसँग पनि चिनजान भएन ।
श्यामललाई नामबाट चिनिरहेको थिएँ । अस्ति लालबहादुर खत्रीको छोराको बिहेभोजमा आउनुभएको रहेछ । मैले चिनेनछु । आफ्नै बगलमा बसेर मनोहर र समीर सरसँग अन्तरङ्ग कुरा गरिरहेका व्यक्ति को हुन् भनी मनोहर सरलाई सोधेँ । मनोहर सरले भन्नुभयो आजभन्दा ४० वर्षपहिलेदेखि निरन्तर रूपमा लेखकको रूपमा क्रियाशील श्यामललाई नै नचिन्नेले अरू लेखक कसलाई चिन्नुहोला त ? मलाई त्यस बेला पनि लाज लागेको थियो । साक्षात्कार नभई मान्छे चिन्न गाह्रै हुँदोरहेछ ।
शोभाकर सरलाई आफूले जानेको जति बताइदिएँ । अलि मियाँ सँगै हुनुहुन्थ्यो तर आफ्नै ध्यानमा मस्त हुनुहुन्थ्यो । लेखनकुञ्जमा आएकै दिनदेखि भन्न थालेको थिएँ कि यो संस्था नयाँ पुराना लेखकहरूले भिजिट गरिरहने स्थान हो । आगन्तुक पुस्तक बनाऊँ र आउनेहरूको बारेमा अभिलेख राखौँ । कमलजीले हुन्छ बनाऊँ त भन्नुभयो तर यहाँको आर्थिक हिसाबकिताब हेरिरहेका भाइबहिनीहरूलाई एउटा रजिष्टर ल्याइदिनुस् भनेको ३ महिनासम्म पनि आएन । बारम्बार कराइरहेपछि एक हप्ताअघि बल्ल रजिष्टर आइपुग्यो र त्यसमा आगन्तुकले भर्नुपर्ने विवरणहरु टाँसेर कमल सरको कोठामा राखियो । त्यस दिनपछि पनि धेरै आगन्तुकहरू आए तर कसैले भरेको देखिएन ।
आज भने शोभाकर पराजुलीलाई आगन्तुक पुस्तिकामा आफ्नो विवरण भरिदिन अनुरोध गरेँ । उहाँले विवरण भरिदिएर मेरो योजनाको शुभारम्भ पनि गरिदिनुभयो । खुसी लाग्यो ।
शोभाकर सरलाई उहाँका लेखहरू भेटिएजति डाउनलोड गरेर राखिदिने र तीमध्ये राम्रा र सान्दर्भिक लेखहरूको सम्पादन गरी पुस्तक प्रकाशित गरिदिन सकिने वचन दिएँ । हाम्रो कुरा चल्दै गर्दा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का अध्यक्ष समीर शाह पनि आइपुग्नुभयो । उहाँलाई पनि लेखनकुञ्जको बारेमा बताइदिएँ र अफिसको कोठा कोठा घुमाएर देखाएँ । नाटककुञ्जको बारेमा पनि बताएँ । आगन्तुक पुस्तिकामा विवरण भर्न लगाएँ । उहाँले भरेपछि अलि मियाँलाई पनि भर्न लगाएँ ।
उहाँहरू फर्किएपछि सौरभ र म फेरि क्यालेन्डरको काममा नै व्यस्त भयौँ । पहिलेको फर्म्याटका केही ब्ल्कहरूमा इडिट गर्न नमिलेकोले नगेन्द्र लामासँग अर्को नयाँ फर्म्याट मगाई काम गर्यौँ । पुरानो फर्म्याटमा हिजो अस्ति काम गरेको मिहिनेत सबै खेर गयो । काम सक्दा लेखनकुञ्जमै बेलुका ६ बजिसकेको थियो ।
बागबजार हुँदै दुवाकोटमोड स्थित घरमा पुग्दा बेलुकाको आठ बजिसकेको थियो । खाना खाएर देवकुमारी र म सल्लाघारीको सैनिक स्कुलसम्म इभिनिङवाक गर्दै पुग्यौँ । इभिनिङवाकले दिनभरको तनावलाई घटाइदियो र फर्केपछि मस्तसँग निद्रा लाग्यो ।
![]()
Post Comment