बढुवा
‘हे, भगवान ! ऊ केही गरी पनि यहाँ नआइदिए हुन्थ्यो’ मैले मनमनै कामना गरिरहेको थिएँ । एकाबिहानै एकजना मेरो साथीले ऊ टुप्लुक्क आइपुगेको खबर दियो । म डरले खङ्ग्रङ्गै भएँ । जे नहोओस् भनी सोचेको थिएँ, त्यही भैदियो । अब के गर्ने होला ? ऊ यहाँ भैदियो भने मैले प्राप्त गर्न थालेको बढुवा मेरो हातमा किमार्थ पर्न दिनेछैन भन्ने कुरामा म ढुक्क छु । करिबकरिब मेरो हातमा परिसकेको सफलता अब देख्दादेख्दै हातैबाट खोसिने भो !
अझै मैले कामना गरेँ, ‘आइपुग्यो भनिएको त्यो व्यक्ति मैले नचाहेको व्यक्ति नभै अर्कै व्यक्ति होओस् ।’ मेरो चिटचिट पसिना आउनथाल्यो । अहिलेसम्मको सपना सबै चकनाचुर हुनेभो । मेरो उर्लिरहेको उमंग हराएर गयो । हातखुट्टा लल्याकलुलुक भए । मलाई भेट्न अर्को साथी आयो । उसले भन्न खोजेको कुरा थाहा पाइहालेँ । मैले नै प्रश्न गरेँ, “त्यो व्यक्ति साँच्चिकै उही हो त ?” उसले भन्यो, “हो भन्या, गज्जवको भेषमा पो आएको छ त । दाह्रीजुंगा पालेको । आँखा राताराता । धेरै महिनादेखि ननुहाएको जस्तो । ओहो ! त्यो मान्छे देख्दै मलाई डर लागेर आयो ।”
अब मेरो बचेखुचेको आशा पनि मरेर गयो । मलाई डरले अझै च्याप्यो । मनमनै कल्पेँ । ओहो, उसले त्यस्तो भयानक रुप लिएर किन आयो होला ? के मसंग भिड्नै खोजेको होला त, त्यो मान्छेले ? वाक् युद्धमा जितिएला, तर मल्लयुद्ध नै पर्यो भने त मलाई कर्याककुरुक पारी एकै गाँस पारिदिनेछ । ममाथि नै आक्रमण गर्न ऊ यहाँ आएको हुनुपर्छ भनी मैले निश्कर्ष निकालेँ । हे, भेगवान् ! मैले मेरो बचावट अब कसरी गर्ने ?
उसले त्यस्तो रुप पनि ग्रहण किन नगरोस् ! बढुवामा मेरो कुनै प्रतिस्पर्धी नहोओस् भनी विभिन्न पहुँचवाला नेताहरुलाई हारगुहार गरी मैले नै मेरा प्रतिद्वन्दीहरुलाई कसैलाई कता, कसैलाई कता सरुवा गराएर हुर्रयाएको थिएँ । यस सरुवाको घानमा उ पनि परेकै थियो, उसलाई त झन् बिकट दुर्गम क्षेत्रमा सरुवा गराएको थिएँ । यो चतुर्याँइ उसले बुझेकै थियो ।
यसैबेला अर्को मेरो समर्थक साथी आइपुग्यो र आउँदा नआउँदै घटना बेलिबिस्तार लाउन थाल्यो, “यसले त बित्याँसै पार्ने भो । खुब क्रान्तिकारी भएर पो आएको छ त । आइमाइ मान्छेसंग हात मिलाउँछ । प्रतिष्ठित मान्छेहरुलाई नमस्कार गर्नु त कता हो कता धाप मार्दै हिड्छ । एकजना उसको विरोधी व्यक्तिलाई त बजारमै झड्याम्मै हान्दिएछ । बजारमा मादल खोज्दै हिड्छ । बिनाकारण हाँस्दै गाउँदै नाच्दै सबैलाई हात हल्लाउँदै हिँडिरहेको छ । उसको चर्तिकला केही बुझ्न सकिन मैले त !”
ऊ कुनै भयानक उद्देश्य लिएर यहाँ आएको हुनुपर्छ र त्यस भयानक रौद्रताको पहिलो शिकार आफै हुनेछु भन्ने सुनिश्चित हुन यसले झनै मद्दत पुर्यायो । साथीहरुको यस्ता अफवाहप्रति झनक्कै रिस उठ्यो, कन्सिरी तातिएर आयो, “होइन, तिमीहरुको अरु कुरा केही छैन ? जो आयो, त्यसैको मात्र कुरा गर्ने ? मलाई कति कमजोर ठानेका छौ, तिमीहरुले ? मैले पनि उसको दोहलो मेट्न जानेको छु ।
उनीहरुले एकै स्वरमा भने, “हामीले आफ्नै साथीको मर्का बुझेर बेलैमा सचेत तुल्याउनलाई भनेको हो । तँलाई मतलब छैन भने जेसुकै गर ।”
म चट्टारिएँ, “जाऊ तिमीहरु, सब जाऊ । जाऊ, तुरुन्तै निस्केर गैहाल । मेरो बचावट म आँफै गर्छु ।” मेरो यस हप्काइले सबै साथीहरु चुप्प रहे र एकएक गरेर मेरो निवासबाट बाहिरिए । उनीहरु मेरै शुभचिन्तक थिए । उनीहरु गइसकेपछि म झनै एक्लो हुनपुगेँ । मलाई झन् डर लागेर आयो । ऊ अब यहीँ आउन सक्छ र कोही नभएको मौका छोपेर मसंग प्रतिशोध लिन सक्छ । कम्तीमा साथीहरुलाई ननिकालेको भए उनीहरुको मद्दतबाट प्रतिरोध त गर्न सकिन्थ्यो । हे, भगवान ! म अब के गरुँ ?
झ्वाट्ट म मा सुद्धि पलायो । हो, मेरो सुरक्षा गर्न सुरक्षाकर्मी नै प्रयाप्त छन् । मैले अब जीउज्यानको सुरक्षाको लागि सुरक्षा निकायमा उजुरी गर्नुपर्छ र समस्याको हल नहोउन्जेल त्यतै आश्रय लिनुपर्छ । घटमा यति कुरा आउने बित्तिकै म त्यतातिर दौडिएँ । दौडँदै थिएँ, फेरि कल्पना गरेँ, ‘होइन मैले कहिलेसम्म सुरक्षाको घेरामा बस्नसक्छु ? मैले मेरो जागिरी खानुपर्दैन ? मेरो परिवारलाई भेट्नु पर्दैन ? यसबाट दीर्घकालीन समस्याको हल हुँदैन । अब मैंले अर्कै उपाय सोच्नुपर्छ । एकछिन घोरिएपछि अर्को उपाय निकालेँ, ‘म घरमै बस्छु । यति निर्णय गरी म घरतिर कुदेँ । हस्याङफस्याङ गर्दै घर पुगेको देखी घरपरिवार बेसरी आत्तिए । उनीहरुलाई आफ्नो ज्यानको खतरा भएको कुरा सुनाएँ र ‘जो आए पनि छैनन् भनिदिनू’ भनी कोठा थुनेर बसेँ । घरपरिवारको रुवाबासी नै चल्यो । घरमा पनि नितान्त एक्लो महशुश हुन थाल्यो । त्यहीँ खोज्दै त्यो मान्छे आयो भने के गर्ने ? जहान परिवारलाई अह्राएँ, ‘खुकुरी, बन्चरा, हँसिया ठ्याक्कै भेट्ने ठाउँमा तयारी हालतमा राख्नू । घर छोडेर कतै ननिस्किनू । त्यो मान्छे आइपुग्यो भने जाइलागे पनि हुन्छ ।’
तीनचार दिन यसरी नै कोठामै लुकेर दिन बित्यो । म दिनरात निदाउन सकिन । जीउ गलिरहेको थियो । खाना पनि खान सकिरहेको थिइन । झण्डै एकहप्तासम्म नुहाउने, दाह्री काट्नु त के हातमुख समेत धुन सकेको थिइन ।
पाँचौँ दिनको दिउँसोतिर घरबाहिर ठूलो हल्लाखल्ला भयो, “ल, आयो ! आयो !” “अघि नबढ्” “ल, ल सिध्याइहाल्नुपर्छ ।” ढोकाको कापबाट बाहिर नियालेँ । मेरो परिवारका सबै सदस्य हातमा एकएकवटा घरेलु हतियार उठाएर खबरदारी गरिरहेका थिए । मेरो मुटु ढक्क फुलेर आयो श्वास बढेर आयो । सोचेँ, ल.. यहीँ आइपुगेछ । ऊ होइन कि भनी फेरि टाढासम्म नियालेँ । मेरै एकजना साथी अलमल्ल परेर टाढै उभिइरहेको देखेँ । अब कुनै दुर्घटना निम्तिने पक्का थियो । तसर्थ ढोका खोलेर ‘त्यो मान्छे होइन’ भन्दै अगाडि बढेँ र आतंकित परिवारलाई रोक्न पनि भ्याएँ । त्यो साथीसंग भेट हुँदा ठूलो राहतको अनुभूति भयो । उसले मेरो हविगत बुझिसकेको थियो । अनि उसले ‘अब डराउनु पर्दैन, ऊ सदरमुकामबाट अलप भइसक्यो’ भन्ने जानकारी दियो । यस खबरले मलाई ठूलो कालबाट जोगिएको अनुभूति भयो । यत्तिकैमा अर्को साथी पनि आइपुग्यो । उसले पनि दुईचार दिनदेखि ऊ पनि हराएको र आफू पनि हराएकोमा अपहरण वा अन्य अनिष्ट हुन पुग्यो कि भन्ने डरले घरमै आइपुगेको बतायो । मलाई अझै हल्का महशुश भयो ।
एकछिन पछि फेरि हामी बीच छलफल भयो ।
“अझै ढुक्क हुने अवस्था भने छैन ।”
“ऊ त एकदम खतरनाक मान्छे हो । गाउँमा घट्ने अपराधका घटनाहरुको प्रमुख योजनाकार ऊ नै हुनुपर्छ । सायद कतै योजना बुनेर बसिरहेको होला ।”
“कतै अपराधीहरुसंग मिटिङ पो गर्दै छ कि ? अझै सजग हुनैपर्छ ।” आदि आदि विषयमा ।
फेरि मेरो डर बढेर गयो, मुटु फुल्यो, श्वास बढ्यो । चक्कर लागेजस्तो भयो । त्यसपछि के भयो मैले केही थाहा पाइन ।
म झल्याँस्स ब्यूझिएँ । ब्यूझँदा मेरा हातखुट्टा चलेनन् । हाततिर ध्यान दिएँ । मलाई हातखुट्टा बाँधेर एउटा जिपमा राखिएको रहेछ । वरिपरि हेरेँ । मैले चिनेको कोही मान्छे देखिन । मेरा हातखुट्टा किन बाँधियो, त्यो पनि पत्तो पाइन । यसभन्दा अगाडिको घटना केही सुझिरहेको थिएन । अगाडि हेरेँ ठूलो ऐना रहेछ । ऐनामा आफूलाई खोजेँ कतै देखिन । बरु दुईजना एकै रुपका डरलाग्दा मान्छेहरु देखिए । दुवैको दाह्रीजुंगा लामालामा थिए । दुवैको मैलो र च्यातिएको लुगा लगाएको भेष थियो । दुवैका आँखा राताराता डरलाग्दा थिए । एकजना मान्छेलाई अझै नियालेर हेर्ने प्रयास गरेँ । हेर्दै गएँ, हेर्दै गएँ । चिने चिने जस्तो लाग्दै गयो । बल्ल पूरै चिनेँ । ओहो, त्यो डरलाग्दो भेष भएको एकजना मान्छे त म नै पो रहेछु !
अर्कोलाई नियालेँ अझै राम्रोसंग नियाल्दै गएँ । हेर्दै गएँ, हेर्दै गएँ । चिने चिने जस्तो लाग्दै गयो । बल्ल पूरै चिनेँ । त्यो मान्छे जोसंग डराएर म आजसम्म भागिरहेको थिएँ, त्यो त्यही मेरै प्रतिद्वन्दी थियो । मलाई पहिलेका घटना सबै याद भएर आयो र म डरको मारवश् उफ्रिएँ, चिच्याएँ, “मलाई बचाउ ! मलाई बचाउ !!” भन्दै ।
मलाई थामथुम पारियो । केही छिनपछि मैले सबैं कुरा फेरि भुल्दै गएँ । पछाडितिर मधुरो स्वरमा गाइँगुइँ आवाज निक्लेको अलिअलि बुझेँ । उनीहरुले भन्दै थिए, “यी दुवैजना पागलहरु हुन् । यिनीहरुलाई मानसिक अस्पत्तालतिर लगिँदैछ ।” यो कुरा मैले बुझेँ । अनि ऊतिर फर्केर हेरेँ । ऊ रोइरहेको थियो । मैले उससंग हात मिलाएँ । ऊ अझै क्वाँ क्वाँ रुन थाल्यो । मेरो होश् खुल्दै आयो । म पनि क्वाँ क्वाँ रुन थालेँ ।
अहिले ऊ बेसरी हाँसिरहेको थियो । म भने रोइरहेको थिएँ । दुवैजना हामी पागल नै थियौँ, फरक के थियो भने ऊ प्रतिस्पर्धाबाट हारेर पागल बनेको थियो, म प्रतिस्पर्धामा जितेर पागल बनिरहेको थिएँ । ऊ उसको भोलाभालापनले पागल बन्यो, म मेरो फटाइँले पागल बन्न पुगेँ ।
तर बढुवा न उसले हुन पायो, न मैले नै हुन पाएँ । यो अवसर अर्कैले उछिट्याइदियो ।
आजभोलि लाग्छ, मैले किन उसलाई अनावश्यक शंका गरेँ हुँला ? मेरा निकृष्ट क्रियाकलापले गर्दा ऊ मभन्दा पहिले नै पागल बनिसकेछ । यदि ऊ मैले सोचेको जस्तो अपराधीको योजनाकार र खतरनाक मान्छे भएको भए किन प्रतिस्पर्धाबाट हरेश खाइ पागल बन्नुपर्थ्यो होला र ?
![]()
Post Comment