×

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप बाह्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप बाह्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – बाह्र

भक्तियोग

 

अर्जुन उवाच

एववं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।

ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ॥१॥

(एकथरी मानिसहरू हजुरकै भक्तिमा निरन्तर निमग्न हुन्छन् र अर्काथरी अव्यक्त निराकार ब्रह्मको उपासना गर्दछन् भने यी दुईमा कुनचाँहिलाई बढी पूर्ण वा सिद्ध मान्ने हो ?)

 

श्रीभगवानुवाच

मय्यावेश्य मनो य मां नित्ययुक्ता उपासते ।

श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः ॥२॥

(भगवान भन्नुहुन्छ – मेरा सगुण साकार स्वरूपमा मन स्थिर गरेर सधैँभरि अत्यन्त श्रद्धापूर्वक मेरै उपासनामा लागिरहने व्यक्तिलाई म परमसिद्ध योगी मान्दछु ।)

 

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।

सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम् ॥३॥

सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।

ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः ॥४॥

(तर जसले आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राखेर सबैप्रति समानभाव राख्दै र भगवान् निराकार हुनुहुन्छ भन्ने कल्पना गर्दै इन्द्रियका अनुभूतिभन्दा पर रहनुभएका सर्वव्यापक, अचिन्त्य, अपरिवर्तनीय, स्थिर तथा अचल अव्यक्त परमात्माको उपासना गर्दछन्, सबैको कल्याण कार्यमा संलग्न रहने त्यस्ता व्यक्तिले अन्तमा मलाई नै प्राप्त गर्दछन् ।)

 

क्लेशोधिकतरस्तेषामव्यक्तासक्तचेतसाम् ।

अव्यक्ता हि गतिर्दुःखं देहवद्‍भिरवाप्यते ॥५॥

(परमेश्वरको अव्यक्त तथा निराकार रूपप्रति आसक्त हुनेहरूलाई अध्यात्ममा प्रगति गर्न निकै गार्‍हो हुन्छ । देहधारीहरूका लागि त्यस किसिमको अनुशासनमा रहेर प्रगित गर्न सधैँ कठिन हुन्छ ।)

 

ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्पराः ।

अनन्येनैव योगेन मां ध्यायन्त उपासते ॥६॥

तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात् ।

भवामि न चिरात् पार्थ मय्यावेशितचेतसाम् ॥७॥

(हे पार्थ, आफ्ना जीवनका सम्पूर्ण क्रियाकलाप मैमा समर्पित गरेर अविचल भावले भक्ति सेवामा संलग्न रहेर, चित्तलाई मैमा स्थिर गरिरहेर र मैमा ध्यान लगाएर सधैँ मेरो उपासना गर्ने व्यक्तिलाई म यो जन्ममृत्युको सागरबाट तुरुन्त उद्धार गरिदिन्छु ।)

 

मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।

निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशय ॥८॥

(आफ्नो मनलाई ममा स्थिर गराऊ र सम्पूर्ण बुद्धि मैमा लगाऊ । यसो गर्नाले तिमी निसन्देह सदैव मैमा निवास गर्नेछौ ।)

 

अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।

अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनञ्‍जय ॥९॥

(प्रिय अर्जुन, हे धननञ्‍जय, यदि तिमी अविचल भावले ममा आफ्नो मन स्थिर गर्न सक्दैनौ भने भक्तियोगका विधि-नियमहरूको पालना गर । यसरी तिमीले मलाई प्राप्त गर्ने इच्छाको विकास गर ।)

 

अभ्यासेप्यसमर्थोसि मत्कर्मपरमो भव ।

मदर्थमपि कर्माणि कुर्वन् सिद्धिमवाप्स्यसि ॥१०॥

(भक्तियोगका विधि नियमहरूको अभ्यास पनि गर्न सक्दैनौ भने मेरा लागि कर्म गर्ने प्रयत्‍न गर, किनभने मेरा निमित्त कर्म गर्नाले पनि तिमीले पूर्णता प्राप्त गर्नेछौ, सिद्धि पाउनेछौ ।)

 

अथैतदप्यशक्तोसि कर्तुं मद्योगमाश्रितः ।

सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ॥११॥

(यदि कृष्णभावनामा रहेर कर्म गर्न सक्दैनौ भने तिमी सम्पूर्ण कर्मफललाई त्यागेर आत्मस्थ हुने प्रयत्‍न गर ।)

 

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्‍ध्यानं विशिष्यते ।

ध्यानात्कर्मफलत्यागसत्यागाच्छान्तिरनन्तरम् ॥१२॥

(यदि तिमी यो अभ्यास पनि गर्न सक्दैनौ भने ज्ञानको अनुशीलनमा लाग, तर ज्ञानभन्दा ध्यान श्रेष्ठ हो र ध्यानभन्दा कर्मफलको त्याग झन् श्रेष्ठ हो किनभने यस प्रकारको त्यागबाट मानिसले मानसिक शान्ति प्राप्त गर्न सक्छ ।)

 

अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।

निर्ममो निरहंकारः समदुःखसुख क्षमी ॥१३॥

संतुष्टः सततं योगी यतात्मा दृढनिश्‍चयः ।

मय्यर्पितमनबुद्धिर्यो मद्भक्तः स मे प्रियः ॥१४॥

(जो कसैसँग द्वेष गर्दैन र सबै जीवात्माको दयालु मित्र छ, जो आफूलाई कुनै कुराको स्वामी मान्दैन र मिथ्या अहंकारबाट मुक्त छ, जो सुख र दुःखमा समान रहन्छ र सहनशील छ, जो सधैँ सन्तुष्ट रहन्छ, आत्मसंयमी छ, र संकल्प सहित भगवद्‍भक्तिमा संलग्न छ, जसको मन र बुद्धि ममा स्थिर छ, त्यस्तो व्यक्ति मलाई सार्‍है प्रिय लाग्छ ।)

 

यसमान्नोद्विजते लोको लोकान्नोद्विजते च यः ।

हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मे प्रियः ॥१५॥

(जसबाट अरु कसैलाई कुनै कष्ट पुग्दैन र जो अरु कसैबाट पनि विचलित हुँदैन र जो सुख र दुःख, डर र त्रासमा पनि समान रहन्छ त्यो व्यक्ति मलाई अति प्रियः लाग्छ ।)

 

अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः ।

सर्वारम्भपरित्यागी यो मद्‍भक्तः स मे प्रियः ॥१६॥

(सामान्य कार्यकारणप्रति आश्रित नहुने, शुद्ध, कुशल, चिन्तारहित, समस्त दुःखबाट मुक्त र कुनै फल पाउनको लागि प्रयत्‍न नगर्ने मेरो भक्त मलाई अति प्रिय लाग्छ ।)

 

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।

शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ॥१७॥

(जो न कहिल्यै हर्षित हुन्छ, न शोक सुर्ता गर्छ, न चिन्ता गर्छ न इच्छा गर्दछ तथा जसले शुभ र अशुभ दुवै प्रकारका वस्तुहरूको परित्याग गर्छ, त्यस्ता भक्त मलाई अति प्यारो लाग्छ ।)

 

समः शत्रौ च मित्रे च तथा मानापमानयोः ।

शीतोष्ण सुखदुःखेषु समः संगविवर्जितः ॥१८॥

तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।

अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ॥१९॥

(जसले मित्र र शत्रुमा भेद गर्दैन, जो मान र अपमानमा, जाडो र गर्मीमा, सुख र दुःखमा, निन्दा र प्रशंसामा समान भाव राख्दछ, खराब सङ्गतबाट जो सधैँ मुक्त छ, जो सधैँ मौन रहन्छ र जे पायो त्यसैमा सन्तुष्ट रहन्छ, जसलाई कुनै प्रकारको घरबारसंग सरोकार छैन, जो ज्ञानमा दृढ छ र जो भगवद्‍भक्तिमा लागेको छ, त्यस्तो व्यक्ति मलाई अति प्यारो लाग्छ ।)

 

ये तु धर्मामृतमिदं यथोक्तं पर्युपासते ।

श्रद्दधानां मत्परमा भक्तास्तेकतीव मे प्रियाः ॥२०॥

(मलाई परमलक्ष्य बनाएर श्रद्धापूर्वक भक्तिका अविनाशी मार्गमा आफूलाई पूर्णतया संलग्न राख्‍ने मानिसहरू मेरा लागि अत्यन्त प्रिय हुन्छन् ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत भक्तियोग शीर्षक बार्‍हौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

Loading

Post Comment

You May Have Missed