×

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप आठौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप आठौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – आठ

भगवतप्राप्ति

 

अर्जुन उवाच

किं तद्‍ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम ।

अधिभूतं च किं प्रोक्तर्माधदैवै किमुच्यते ॥१॥

(अर्जुनले सोधे, हे भगवान्, हे पुरुषोत्तम्, ब्रह्म के हो ? आत्मा के हो ? सकाम कर्म के हो ? यो भौतिक जगत के हो ? देवता भनेको के हो ? मलाई सम्झाउने कृपा गर्नुहोस् ।)

 

अधियज्ञः कथं कोत्र देहेस्मिन्मधुसूदन ।

प्रयाणकाले च कथं ज्ञेयोसि नियतात्मभि ॥२॥

(हे मधुसूदन, यज्ञको स्वामी को हो ? र शरीरको अङ्गमा त्यो कसरी रहन्छ ? अनि भक्तिमा लागिरहेका व्यक्तिहरूले मृत्यूकालमा कसरी तपाईँलाई चिन्न सक्दछन् ?)

 

श्रीभगवानुवाच

अक्षरं ब्रह्म परमं स्वभावोध्यात्मुच्यते ।

भूतभावद्भवकरो विसर्गः कर्मसंज्ञितः ॥३॥

(भगवानले भन्नुभयो – अविनाशी एवं दिव्य जीवलाई ब्रह्म भनिन्छ र उसको सनातन स्वभावलाई अध्यात्म वा आत्मा भनिन्छ । भौतिक शरीरको विकाससँग सम्बन्धित क्रियाकलापलाई कर्म वा सकाम कर्म भनिन्छ ।)4

 

अधिभूतं क्षरोभावः पुरुषश्चाधिदैवतम् ।

अधियज्ञोहमेवात्र देहे देहभूतां वर ॥४॥

(हे देहधारीहरूमा श्रेष्ठ, निरन्तर परिवर्तनशील यो भौतिक प्रकृति नै अधिभूत हो । सूर्य, चन्द्र लगायत सम्पूर्ण देवताहरूसहितको भगवानको विराट स्वरूपलाई अधिदैव भनिन्छ र प्रत्येक देहधारीका हृदयमा परमात्मा रूपले निवास गर्ने म परमेश्वर नै अधियज्ञ वा यज्ञको स्वामी हुँ ।)

 

अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।

यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ॥५॥

(जीवनका अन्तमा जसले केवल मेरो सम्झना गर्दै शरीर त्याद गर्दछ त्यसले तत्काल मेरो स्वभावलाई प्राप्त गर्दछ । यसमा कुनै सन्देह छैन ।)

 

यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।

तं तमेवैति कौन्तेय सदा तद्भावभावितः ॥६॥

(हे कुन्तीपुत्र, शरी त्याग गर्ने बेलामा मानिसले जुन जुन अवस्थाको स्मरण गर्दछ, त्यसले निश्चित रूपमा मरेपछि त्यही स्थिति प्राप्त गर्दछ ।)

 

तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च ।

मय्यर्पितमनोबुद्धिर्मामेवैषयस्यसंशय ॥७॥

(त्यसैकारण हे अर्जुन, तिमीले सधैँ कृष्ण रूपमा मेरो चिन्तन गर्नुपर्दछ र साथै युद्ध गर्ने आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्दछ । आफ्ना कर्महरू मलाई सुम्पेर मन र बुद्धिलाई मैमा अर्पण गर्‍यौ भने तिमीले निश्चय नै मलाई प्राप्त गर्नेछौ ।)

 

अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना ।

परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ॥८॥

(हे पार्थ जो मानिस आफ्नो मनले निरन्तर मेरो स्मरण गरिरहन्छ अविचलित भावले भगवानका रूपमा मेरो ध्यान गर्दछ त्यो निश्चित रूपले मैमा प्राप्त हुनजान्छ ।)

 

कविं पुराणमनुशासितार –

मणोरणीयांसमनुस्मरेद्यः ।

सर्वस्य धातारमचिन्त्यरूप –

मादित्यवर्णं तमसः परस्तात् ॥९॥

(जो सर्वज्ञ हुनुहुन्छ, प्राचीनतम् हुनुहुन्छ, नियन्ता हुनुहुन्छ, सानोभन्दा सानो अणु हुनुहुन्छ, सबैका पालनकर्ता हुनुहुन्छ, जो समस्त भौतिक अवधारणाभन्दा पर हुनुहुन्छ, जो अचिन्त्य हुनुहुन्छ, जो सधैँ एउटा पुरुषका रूपमा हुनुहुन्छ, जो सूर्यसमान प्रकाशवान हुनुहुन्छ र यो भौतिक प्रकृतिभन्दा पर दिव्य स्वरूपका हुनुहुन्छ, उनै परमपुरुषको ध्यान मानिसले गर्नुपर्दछ ।)

 

प्रयाणकाले मनसाचलेन

भक्त्या युक्तो योगबलेन चैव ।

भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक्

सतं परं पुरुषमुपैति दिव्यम् ॥१०॥

(जसले मर्ने बेलामा दुवै आँखीभौँका बीचमा प्राण स्थिर गरेर योगशक्तिद्वारा मनलाई अविचलित बनाई पूर्ण भक्तिसहित आफूलाई परमेश्वरको स्मरणमा लगाउँदछ, त्यसले निश्चित रूपमा भगवानलाई प्राप्त गर्दछ ।)

 

यदक्षरं वेदविदो वदन्ति

विशन्ति यद्यतयो वीतरागाः ।

यदिच्छिन्तो ब्रह्मचर्य चरन्ति

तत्ते पदं संग्रहेण प्रवक्ष्ये ॥११॥

(जो वेदका ज्ञाता छन्, जो ओंकारको जप गर्दछन् र जो ठूला ठूला संन्यासी ऋषि छन्, तिनीहरू ब्रह्ममा प्रवेश गर्दछन् । यस्तो सिद्धिको इच्छा गर्नेहरू ब्रह्मचर्यव्रतको अभ्यास गर्दछन् । अब म तिमीलाई संक्षेपमा त्यो विधि बताउँदछु जसद्वारा मानिसले मुक्ति लाभ गर्न सक्दछ ।)

 

सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।

मूर्ध्न्याधायात्मनः प्राणमस्थितो योगधारणाम् ॥१२॥

(इन्द्रियका समस्त क्रियाकलापबाट अनासक्त रहनु नै यौगिक अवस्था हो । इन्द्रियका सबै द्वारहरू बन्द गरेर मनलाई हृदयमा र प्राणवायुलाई शिरको उच्च भागमा केन्द्रित गरेर मानिसले आफूलाई योगमा स्थापित गर्दछ ।)

 

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मानुस्मरन् ।

यः प्रयाति त्यजन्देहं स याति परमांगतिम् ॥१३॥

(जसले योगाभ्यासमा स्थित रहेर, अक्षरहरूको परमसंयोग ॐकारको उच्चारण गर्दै भगवानको चिन्तन् गर्दछ र आफ्नो शरीर त्याग गर्दछ, त्यसले निश्चित रुपमा आध्यात्मिक लोक प्राप्त गर्दछ ।)

 

अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।

तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः ॥१४॥

(हे अर्जुन, हे पृथापुत्र, मेरै भक्तिमा तल्लीन रहने र अनन्य भावले निरन्तर मेरो स्मरण गरिरहने योगीका निमित्त म सधैँ सुलभ हुन्छु ।)

 

मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम् ।

नाप्नुवन्ति महात्मानः संसिद्धि परमां गताः ॥१५॥

(मलाई प्राप्त गर्ने भक्तियोगी महापुरुषहरू दुःखै दुःखले पूर्ण यो अनित्य जगतमा फेरि कहिल्यै आउँदैनन् । किनभने तिनीहरूले परमसिद्धि प्राप्त गरिसकेका हुन्छन् ।)

 

आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोर्जुन ।

मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते ॥१६॥

(ब्रह्मलोकदेखि भूलोकसम्मका सबै लोकहरू दुःखकै घर हुन् । यहाँ जन्ममृत्यूको चक्र चलिरहन्छ । तर हे कुन्तीपुत्र, जो मेरो धाममा पुग्दछ उसलाई भने फेरि कहिल्यै जन्मनु र मर्नु पर्दैन ।)

 

सहस्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदुः ।

रात्रिं युगसहस्रान्तां तेहोरात्रविदो जनाः ॥१७॥

(मानवीय गणना अनुसार एक हजार युग मिलेर ब्रह्माको एक दिन हुन्छ तथा त्यति नै समयको ब्रह्माको एक रात्रि हुन्छ ।)

 

अव्यक्ताद्व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे ।

रात्र्यागमे प्रलीयन्ति तत्रैवाव्यक्तसंज्ञके ॥१८॥

(ब्रह्माका दिनको शुभारम्भ हुँदा सबै जीवहरू अव्यक्त अवस्थाबाट व्यक्त हुने गर्दछन्, अनि जब ब्रह्माको रात शुरु हुन्छ, असहाय बनेर ती जीवहरू फेरि अव्यक्तमै विलीन हुन पुग्दछन् ।)

 

भूतग्रामः स एवां भूत्वा प्रलीयते ।

रात्र्यागमेवशः पार्थ प्रभवत्यहरागमे ॥१९॥

(जब जब ब्रह्माको दिन उदय हुन्छ, सबै जीवहरू बारम्बार प्रकट हुन्छन् र ब्रह्मको रातको आगमनसँगै ती जीवात्माहरू निराश्रय भएर विलीन हुन्छन् ।)

 

परस्तास्मात्तु भावोन्योव्यक्तोव्यक्तात्सनातनः ।

यः स सर्वेषु नश्यत्सु न विनश्यति ॥२०॥

(यसबाहेक एउटा अर्को अव्यक्त प्रकृति छ, जुन यो व्यक्त र अव्यक्त पदार्थभन्दा शाश्वत र दिव्य छ । त्यो कहिले पनि नाश नहुने परा शक्ति हो । संसारका सबै वस्तु नष्ट हुँदा पनि त्यो यथावत् रहिरहन्छ ।)

 

अव्यक्तोक्षर इत्युक्तस्तमाहुः परमां गतिम् ।

यं प्राप्य न निवर्तन्त्य तद्धाम परमं मम ॥२१॥

(वेदान्तीहरू जसलाई अव्यक्त र अविनाशी भन्दछन्, जो सबैको गन्तव्य पनि हो र जसलाई प्राप्त गरेपछि कोही पनि फर्केर आउँदै, त्यही नै मेरो परमधाम हो ।)

 

पुरुषः स परः पार्थ भक्त्या लभ्यस्त्वनन्यया ।

यस्यान्तःस्थानी भूतानि येन सर्वमिदं ततम् ॥२२॥

(भगवान सबैभन्दा महान हुनुहुन्छ । उहाँलाई अनन्य भक्तिद्वारा मात्र प्राप्त गर्न सकिन्छ । उहाँ आफ्नो धाममा विराजमान भएर पनि सर्वव्यापि हुनुहुन्छ र उहाँमै सबै वस्तु अवस्थित छन् ।)

 

यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः ।

प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ॥२३॥

(हे भरतश्रेष्ठ, म अब तिमीलाई एक पटक संसारबाट प्रयाण गरिसकेको योगी फेरि फर्केर आउँछ वा आउँदैन भन्नेबारे विभिन्न समयको वर्णन गर्दछु ।)

 

अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।

तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ॥२४॥

(अग्निदेवताका प्रभावमा, उज्यालो प्रकाशमा, दिनको शुभक्षणमा, शुक्लपक्षमा र सूर्य उत्तरायण भएको छ महिनामा शरीर त्याग गर्ने ब्रह्मज्ञानीहरूले ब्रह्मलाई प्राप्त गर्दछन् ।)

 

धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।

तत्र चान्द्रमासं ज्योतिर्योगी प्राप्य निवर्तते ॥२५॥

(धुवाँ, रात्रि, कृष्णपक्ष वा सूर्य दक्षिणायन भएको बेला शरीर त्याग्ने योगी चन्द्रलोकसम्म पुगेर फेरि पृथ्वीमै फर्केर आउँछ ।)

 

शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते ।

एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः ॥२६॥

(वैदिक मतानुसार यो संसारबाट प्रयाण (प्रस्थान) गर्ने दुईवटा मार्गहरू छन्, पहिलो हो प्रकाश मार्ग र दोस्रो हो अन्धकार मार्ग । प्रकाश मार्गबाट जाने व्यक्ति फर्केर आउँदैन तर कृष्णमार्ग वा अन्धकार पथबाट जाने व्यक्ति भने फेरि पृथ्वीमा फर्किन्छ ।)

 

नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन ।

तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन ॥२७॥

(भक्तहरू यी दुवै मार्गबाट परिचित हुने हुँदा कहिल्ये पनि मोहग्रस्त हुँदैनन् । तसर्थ हे अर्जुन, तिमी सधैँ भक्तिमा स्थिर होऊ ।)

वेदेषु यज्ञेषु तपःसु चैव

दानेषु यत्पुण्यफलं प्रदिष्टम् ।

अन्येति तत्सर्वमिदं विदित्वा

योगी परं स्थानमुपैति चाद्यम् ॥२८॥

(जसले भक्तिमार्ग स्वीकार गरेको छ, उसलाई वेदाध्ययन, तपस्या, दान, दार्शनिक चिन्तन, तथा सकाम कर्म गर्दा प्राप्त हुने फलबाट वञ्चित हुनुपर्दैन । केवल भक्तिले मात्र पनि उसले यी सबै फलहरू प्राप्त गर्दछ र अन्त्यमा ऊ परमनित्यधाममा पुग्दछ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत भगवत्प्राप्ति शीर्षक आठौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

Loading

Post Comment

You May Have Missed