श्रीमद्‍भागवतगीता सार

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप सातौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

 

अध्याय – सात

परम-ज्ञान

 

श्रीभगवानुवाच

मय्यासक्तमनाः पार्थ योगं युञ्‍जन्मदाश्रयः ।

असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ॥१॥

(भगवानले भन्नुभयो, हे पार्थ, आफ्नो मनलाई ममा आसक्त बनाएर, मेरै भावनाले पूर्ण भएर चेतनापूर्वक योगाभ्यासमा लागेको व्यक्तिले सन्देहरहित भई कसरी मलाई जान्न सक्छ, त्यो सुन ।)

 

ज्ञानं तेहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।

याज्ज्ञात्वा नेह भूयोन्यज्ज्ञातव्यमवशिष्यते ॥२॥

(म अब तिमीलाई पूर्ण रुपमा व्यावहारिक तथा दिव्य ज्ञानको वर्णन गर्दछु, जसलाई जानेपछि तिमीले जान्नुपर्ने अरु कुनै कुरा बाँकी रहँदैन ।)

 

मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।

यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः॥३॥

(मानिसहरू विभिन्न स्तरका हुन्छन्, ती हजारौँ मानिसहरूमध्ये एकदुई मात्र आत्मासाक्षात्कारप्रति बढी रुची राख्ने हुन्छन् ।)

 

भूमिरापोनलो वायुः खं मनो बुद्धिरेव च ।

अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ॥४॥

(पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार यी आठ मेरै विभिन्न भौतिक शक्तिहरू (प्रकृति) हुन् ।)

 

अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।

जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ॥५॥

(हे महाबाहु अर्जुन, यसबाहेक मेरो एउटा परा शक्ति पनि छ जसले भौतिक वा अपरा शक्तिका साधनहरूलाई दोहन गर्ने जीवात्मालाई धारण गरिराखेको छ ।)

 

 

एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।

अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ॥६॥

(समस्त प्राणीहरूका उद्‍गम स्रोत मेरा यिनै दुई शक्ति वा प्रकृतिहरू हुन् । यो जगतमा भएका सम्पूर्ण भौतिकता र आध्यात्मिकता एवं तिनको उत्पत्ति र प्रलय दुवै अवस्थाका कारण मलाई नै जान ।)

 

मत्तः परतरं न्यान्यत्किञ्चिदस्ति धनञ्जय ।

मयि सर्वमिदं प्रोतं सूत्र मणिगणा इव ॥७॥

(हे धनञ्जय, मभन्दा ठूलो कुनै सत्य छैन । जसरी मोतीका दाना धागामा उनिएका हुन्छन् त्यसरी सबै कुरा ममाथि नै आश्रित छन् ।)

 

रसोहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।

प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ॥८॥

(हे कुन्तीपुत्र, म जलको स्वाद हुँ, सूर्यचन्द्रको प्रकाश हुँ, वैदिक मन्त्रमा ॐकार हुँ, म आकाशमा ध्वनि हुँ र मानिसमा शक्ति र सामर्थ्य हुँ ।)

 

पुण्योगन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।

जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु ॥९॥

(म पृथ्वीको मूल सुगन्ध हुँ, अग्निको ताप वा उष्मा हुँ, म समस्त जीवहरूको जीवन तथा सम्पूर्ण तपस्विहरूको तप हुँ ।)

 

बीजं मां सरव भूतानां  विद्धि पार्थ सनातनम् ।

बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ॥।१०॥

(हे पृथापुत्र, म नै सम्पूर्ण अस्तित्वको मूल बीज हुँ । बुद्धिमानहरूको बुद्धि र सबै शक्तिमान पुरुषहरूको तेज पनि मै हुँ ।)

 

बलं बलवतां चाहं काम रागविवर्जितम् ।

धर्माविरुद्धो भूतेषु कामोस्मि भरतर्षभ ॥११॥

(हे भरतश्रेष्ठ अर्जुन, म कामोत्तेजना र तिर्सना नभएका बलवानहरूको बल हुँ र धार्मिक सिद्धान्तहरूको अविरोधी कामवासना हुँ ।)

 

ये चैव सात्त्विका भावा राजसास्तामसाश्‍च ये ।

मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ॥१२॥

(यी सबै सत्त्वगुण, रजोगुण र तमोगुणका अवस्थाहरू मेरै शक्तिबाट प्रकट हुन्छन् भन्ने जान । म एक अर्थमा सबै थोक हुँ तर म स्वतन्त्र छु । म प्रकृतिका गुणहरूको अधीनमा छैन, बरु तिनीहरू मेरा अधीनमा छन्, मभित्र छन् ।)

 

त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।

मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ॥१३॥

(सत्त्व, रज र तम यी तीन गुणले मोहग्रस्त भएको यो सारा संसार गुणातीत र अविनाशी रुप मलाई चिन्न असमर्थ छ ।)

 

दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।

मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ॥१४॥

(प्रकृतिका तीन गुणले युक्त मेरो दैवीशक्तिबाट पार पाउनु अत्यन्त कठिन छ । तर जो मेरो शरणमा पर्दछन् तिनीहरू भने यसलाई सजिलैसँग पार गर्दछन् ।)

 

न मां दुष्टकृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।

माययापहृत ज्ञाना आसुरं भावमाश्रिताः ॥१५॥

(जो नितान् मूर्ख छन्, जो मानिसहरूमा अधम छन्, जसको ज्ञान मोहग्रस्त छ, र जो असुरको जस्तो नास्तिक स्वभावका छन्, त्यस्ता दुष्टहरू मेरो शरणमा आउँदैनन् ।)

 

चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोर्जुन ।

आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ॥१६॥

(हे भरतश्रेष्ठ, विपत्तिमा परेका, ज्ञानको चाहना भएका, धनको चाहना भएका र ब्रह्मज्ञानको खोजीमा लागेका यी चार प्रकारका पुण्यात्माहरूले मेरो सेवा गर्दछन् ।)

 

तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते ।

प्रियो हि ज्ञानिनोत्यर्थमहं स च मम प्रियः ॥१७॥

(यिनीहरूमध्ये पनि जो परमज्ञानी छ र शुद्धभक्तिमा लागिरहेको छ, त्यही सर्वश्रेष्ठ हो किनभने म उसका लागि अत्यन्त प्रिय छु र ऊ मेरा लागि पनि अत्यन्त प्रिय छ ।)

 

उदाराः सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।

आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ॥१८॥

(यी सबै भक्तहरू निसन्देह उदार आत्मा हुन्, तथापि जो मेरै ज्ञानमा अवस्थित छन् तिनीहरूलाई म आफै समान ठान्दछु । मेरै दिव्य सेवामा संलग्न रहेर उसले सर्वोच्च तथा पूर्ण लक्ष्यका रुपमा मलाई नै प्राप्त गर्नेछ ।)

 

बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते ।

वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ॥१९॥

(अनेकौँ जन्मजन्मान्तरपछि वास्तविक ज्ञानी भक्त मलाई नै समग्र कारणहरूका पनि कारण ठानेर मेरै शरणमा आइपुग्छ । यस्तो महात्मा अत्यन्त दुर्लभ हुन्छ ।)

 

कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेन्यदेवता ।

तं तं नियममास्थाय प्रकृत्या नियता स्वया ॥२०॥

(भौतिक आसक्तिद्वारा जसको बुद्धि अपहरण भएको छ, तिनीहरू देवताहरूकै शरणमा जान्छन् र आफ्नो-आफ्नो स्वभाव अनुसार पूजा उपासनाका विशेष विशेष विधि विधानहरूको पालन गर्न थाल्दछन् ।)

 

यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।

तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ॥२१॥

(म प्रत्येक जीवका हृदयमा परमात्मास्वरुपले रहेको छु । यदि कसैले कुनै देवताको पूजा गर्ने इच्छा राख्दछ भने उसले ती विशेष देवताको भक्ति गर्न सकोस् भनी म त्यही देवतामा उसको श्रद्धा स्थिर गरिदिन्छु ।)

 

स तया श्रद्धया युक्तस्तस्याराधनमीहते ।

लभते च ततः कामान्मयैव विहितान्हि तान् ॥२२॥

(यस प्रकारको श्रद्धाले पूर्ण भएर उसले देवता विशेषको पूजा गर्ने प्रयत्‍न गर्दछ र आफ्नो इच्छा पूर्ति गर्दछ । तर वास्तवमा यी सबै लाभहरू मैले नै प्रदान गर्दछु ।)

 

अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।

देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ॥२३॥

(अल्पबुद्धिका मानिसहरू देवताहरूको पूजा गर्दछन् र सीमित तथा क्षणिक सुख पाउँछन् । आखिरमा देवताको पूजा गर्नेहरू देवलोकमा जान्छन् र मेरा भक्तहरू मेरै परमधाममा आइपुग्दछन् ।)

 

अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।

परं भावमजानन्तो ममाव्ययमनुत्तमम् ॥२४॥

(मलाई राम्रोसँग नचिन्ने बुद्धिहीन मानिसहरू म परमपुरुष कृष्णलाई पहिले निराकार भएको र अहिले साकार रुप धारण गरेर आएको भन्ने ठान्दछन् । अल्पज्ञानी भएका कारणले तिनीहरू मेरो परमअविनाशी र सर्वोच्च प्रकृतिलाई बुझ्न सक्दैनन् ।)

 

नाहं प्रकाशः सर्वस्य योगमाया समावृतः ।

मूढोयं नाभिजानाति लोको मामजमव्ययम् ॥२५॥

(मूर्ख तथा अल्पज्ञानीहरूका लागि म सधैँ अदृश्य रहन्छु । तिनीहरूका लागि म आफ्नो योगमायाद्वारा आच्छादित छु तसर्थ म अजन्मा र अविनाशी हुँ भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन ।)

 

वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।

भविष्याणि च भूतानि मां तु वेद न कश्‍चन ॥२६॥

(हे अर्जुन, म भगवान भएको नाताले भूतकालमा घटेका, वर्तमान कालमा घटिरहेका र भविष्यमा घटित हुने सबै कुराहरू जान्दछु । म सबै जीवहरूलाई जान्दछु तर मलाई कसैले पनि जान्दैन ।)

 

इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।

सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्तप ॥२७॥

(हे भरतवंशी, हे शत्रुविजेता, सबै जीवहरू मोहित स्थितिमा जन्म लिन्छन् र इच्छा, द्वेषबाट उत्पन्न द्वन्द्वमा परेर अल्मलिन्छन् ।)

 

येषां त्वन्तगतं पापं जनानां पुण्यककर्मणाम् ।

ते द्वन्द्वमोह निर्मुक्ता भजन्ते मां दृढव्रताः ॥२८॥

जसले पूर्व जन्ममा र यो जन्ममा पनि पुण्यकर्म गरेका छन् र जसका पापहरू पूर्ण रुपले निर्मूल भएका हुन्छन्, तिनीहरू नै द्वन्द्वबाट मुक्त हुन्छन् र दृढतापूर्वक मेरो सेवामा तत्पर भइरहन्छन् ।

 

जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।

ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्मचाखिलम् ॥२९॥

(बुढ्याँइ र मृत्यूबाट मुक्ति प्राप्त गर्न प्रयत्‍नशील रहने बुद्धिमान व्यक्तिहरू भक्तिपूर्वक मेरै शरणमा पर्दछन्, दिव्य कर्मका विषयमा तिनीहरूलाई पूरा ज्ञान रहने हुँदा वास्तवमा तिनीहरू ब्रह्म नै हुन् ।)

 

साधिभूताधिदैवं मां साधियज्ञं च ये विदुः ।

प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः ॥३०॥

(जसले मलाई परमेश्वर भनेर चिनेको छ र मलाई नै भौतिक सृष्टिको नियामक मानेको छ र जसले मलाई देवताहरूका नियन्त्रक तथा सबै यज्ञहरूका विधायक ठानेको छ, त्यस्तो एकाग्र चित्त भएको व्यक्तिले मृत्यूकालमा मलाई जान्न र बुझ्न सक्दछ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत ‘परमज्ञान’ शीर्षक सातौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *