श्रीमद्‍भागवतगीता सार

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप पाँचौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – पाँच

कर्मयोग

(कृष्णभावनामय कर्म)

 

अर्जुन उवाच

संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि

यच्छ्रेय एतयोरेकं तन्मे ब्रुहि सुनिश्‍चितम् ॥१॥

(अर्जुनले भने – हे कृष्ण, मलाई हजुरले पहिले कर्म त्याग गर भन्नुभयो, अहिले भक्तिपूर्वक कर्म गर्ने आदेश दिँदै हुनुहुन्छ, अब निश्‍चय गरेर यी दुई मार्गमध्ये मेरा लागि जुन चाँहि आवश्यक छ कृपया त्यही मार्गको उपदेश दिनुहोस् ।)

 

श्रीभगवानुवाच

संन्यासं कर्मयोगश्‍च निःश्रेयसकरावुभौ ।

तयोस्तु कर्मसंन्यासात् कर्मयोगी विशिष्यते ॥२॥

(श्रीभगवानले उत्तर दिनुभयो – मुक्तिका लागि त कर्मको त्याग तथा भक्तिमय कर्म दुवै उत्तम छन् । तर यी दुईमध्ये कर्मको परित्यागभन्दा भक्तियुक्त कर्म नै श्रेष्ठ छ ।)

 

ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति ।

निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ॥३॥

(कर्मफललाई घृणा पनि नगर्ने र कर्मफलको इच्छा पनि नराख्ने व्यक्तिलाई नित्यसंन्यासी भन्नुपर्दछ । हे महाबाहु अर्जुन, यस्तो मानिसले समस्त द्वन्द्वबाट रहेर भवबन्धनलाई सजिलैसँग पार गर्दछ र यसबाट पूर्णतया मुक्त पनि हुन्छ ।)

 

सांख्ययोगौ पृथग्वालाः प्रवदन्ति न पण्डिताः ।

एक मप्यास्थितः सम्यगुमयोर्विन्दते फलम् ॥४॥

(अज्ञानीहरू मात्र भक्ति (कर्मयोग) लाई भौतिक जगतको विश्लेषणात्मक अध्ययन (साङ्ख्य) भन्दा भिन्दै ठान्दछन् । तर जो वास्तवमा ज्ञानी छन् तिनीहरूको भनाइअनुसार त यी दुईमध्ये कुनै एउटा बाटामा राम्रोसँग लाग्ने व्यक्तिले दुवै प्रकारको फल प्राप्त गर्दछ ।)

 

यत्सांख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते ।

एकं सांख्यं च योगं च यः पश्यति स पश्यति ॥५॥

(साङ्ख्ययोगद्वारा जुन अवस्थालाई प्राप्त गर्न सकिन्छ त्यही अवस्था भक्तिमय कर्मद्वारा पनि प्राप्त गर्न सकिन्छ । अतः जसले यो साङ्ख्य र भक्ति योग दुवै मार्गलाई एउटै देख्दछ, त्यही व्यक्ति यथार्थ द्रष्टा हो ।)

 

संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः ।

योगयुक्तो मुनिब्रह्म न चिरेणाधिगच्छति ॥६॥

(भगवानको भक्ति नगरी केवल कर्मको परित्याग मात्र गरेर कोही पनि सुखी हुन सक्दै, तर भक्तिपूर्ण कर्ममा लागेको विचारवान् व्यक्तिले भने परमेश्‍वरलाई चाँडै प्राप्त गर्न सक्दछ ।)

 

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।

सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ॥७॥

(जो भक्तिभावले कर्म गर्दछ, जसको आत्मा शुद्ध भएको छ र जसले आफ्नो मन तथा इन्द्रियहरू वशमा राखेको छ, त्यो सबैको प्रियपात्र हुन्छ र प्रत्येक व्यक्ति उसका लागि प्रिय हुन्छ । यस्तो व्यक्ति सधैँ कर्म गरिरहे पनि कर्ममा बाँधिदैन ।)

 

नैव किञ्चित्करोमीति युक्तो मन्येत तत्त्ववित् ।

पश्यञ्श्रृण्वन्स्पृशञ्जिघ्रन्‍नश्‍नन्गच्छन्स्वपन्श्‍वसन् ॥८॥

प्रलपन्विसृजनगृह्‍णन्‍नुन्मिषन्‍निमिषन्‍नपि ।

इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इतिधारयन् ॥९॥

(दिव्य चेतनाले युक्त भएको मानिस त हेर्दा, छुँदा, सुँघ्दा, खाँदा, हिँड्दा, सुत्दा, सास फेर्दा पनि मैले केही गरिरहेकै छैन भन्ने विचार गरिरहेको हुन्छ । त्यसै गरी कुराकानी गर्दा, विसर्जन गर्दा, ग्रहण गर्दा, आँखा उघार्दा, वा चिम्लँदासम्म पनि भौतिक इन्द्रियहरू आफ्ना-आफ्ना विषयमा लागिरहेका छन् तर म यी सबैबाट अलग छु भन्ने विचार उसले गर्दछ ।)

ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्त्वा करोति यः ।

लिप्यते न स पापेन पद्मपत्रमिवाम्भसा ॥१०॥

(जसले कर्मको फल परमेश्‍वरलाई समर्पित गरेर आसक्ति रहित हुँदै कर्म गर्दछ, पापले उसलाई त्यसरी छुन सक्दैन जसरी कमलको पातलाई पानीले भिजाउँदैन ।)

 

कायेन मनसा बुद्ध्या केवलैरिन्द्रियैरपि ।

योगिनः कर्मकुर्वन्ति सङ्गं त्यक्त्वात्मशुद्धेय ॥११॥

(योगीजनहरू आसक्तिरहित भएर शरीर, मन, बुद्धि तथा इन्द्रियद्वारा पनि केवल आत्मशुद्धिको लागि कर्म गर्दछन् ।)

 

युक्तः कर्मफलं त्यक्त्वा शान्तिमाप्नोति नैष्ठिकीम् ।

अयुक्तः कामकारेण फले सक्तो निबध्यते ॥१२॥

(निष्ठावान भक्तले आफ्ना सबै कर्मफलहरू मलाई अर्पण गरेर विशुद्ध शान्ति प्राप्त गर्दछ भने कृष्णभावाना रहित व्यक्ति आफ्ना कर्मको फलमा आसक्त रहने हुनाले बन्धनमा पर्छ ।)

 

सर्वकर्माणि मनसा सन्यस्यास्ते सुखं वशी ।

नवद्वारे परे देही नैव कुर्बन्नकारयन् ॥१३॥

(देहधारी जीवात्मा आफ्नो प्रकृतिलाई वशमा राखेर मनले समस्त कर्महरूको परित्याग गर्दै आफूले पनि केही नगरी र अरुलाई पनि केही नगराई नौ ढोका भएको भौतिक शरीररुपी नगरीमा सुखपूर्वक निवास गर्दछ ।)

 

न कर्तृत्व न कर्माणि लोकस्य सृजति प्रभुः ।

न कर्मफल संयोगं स्वभावस्तु प्रवर्तते ॥१४॥

(शरीररुपी नगरका स्वामी देहधारी जीवात्माले न त कर्मको सृजना गर्दछ, न कसैलाई कर्म गर्नका लागि प्रेरित गर्दछ, न त कर्मफलको रचना नै गर्दछ । यी सबै कुरा प्रकृतिका गुणहरूद्वारा सम्पन्न हुन्छन् ।)

 

नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः ।

अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तवः ॥१५॥

(परमेश्वरले न त कसैको पाप स्वीकार गर्नुहुन्छ न पुण्य नै ।तर सबै देहधारी जीवहरू अज्ञानले गर्दा मोहग्रस्त हुन्छन् र त्यही मोहले गर्दा तिनीहरूको वास्तविक ज्ञान आच्छादित हुन्छ ।)

 

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।

तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ॥१६॥

(जब कुनै व्यक्ति अविद्यालाई विनाश गर्ने ज्ञानबाट प्रबुद्ध हुन्छ त्यस अवस्थामा उसको त्यस ज्ञानद्वारा दिनमा सूर्यका किरणले सारा चिजहरू प्रकाशित भए झैँ हरेक वस्तु उद्‍घाटित हुन्छ ।)

 

तद्‍बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः ।

गच्छन्तयपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः ॥१७॥

(जब मानिसको बुद्धि, मन, श्रद्धा तथा आश्रय सबै कुरा भगवानमा स्थिर हुन्छ, अनि मात्र पूर्ण ज्ञानद्वारा ऊ समस्त कल्मषबाट शुद्ध हुन्छ, त्यसपछि नै ऊ मुक्तिका सीधा बाटामा अग्रसर हुन थाल्दछ ।)

 

विद्याविनयसंपन्ने ब्राह्मणे गवि हस्तिनि ।

शुनि चैव श्‍वपाके च पण्डिताः समदर्शिनः ॥१८॥

(विनम्र साधु पुरुष आफ्नो वास्तविक ज्ञानबाट प्राप्त गुणका कारणले एउटा विद्वान् तथा विनीत ब्राह्मणलाई र गाई, हात्ती, कुकुर तथा चाण्डाललाई पनि समान दृष्टिले हेर्दछन् ।)

 

इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः ।

निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः ॥१९॥

(आफ्नो मनलाई समता र एकत्वमा स्थापित गरेका व्यक्तिहरूले आफ्नो जन्म र मृत्यूको अवस्थालाई पहिल्यै जितिसकेका हुन्छन् । तिनीहरू ब्रह्म जस्तै निर्दोष हुन्छन् र यसरी सधैँ ब्रह्ममै स्थित हुन्छन् ।)

 

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।

स्थिर बुद्धिरसंमूढो ब्रह्मविद् ब्रह्मणि स्थितः ॥२०॥

(जो प्रिय वस्तु पाएर हर्षित हुँदैन र अप्रिय वस्तु पाउँदा पनि विचलित हुँदैन, जसको बुद्धि स्थिर छ, जो मोहरहित छ र जसले भगवत् विद्यालाई जानेको छ, त्यो व्यक्तिलाई पहिलेदेखि नै ब्रह्ममा स्थित रहेको मान्नुपर्दछ ।)

 

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम् ।

स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्‍नुते ॥२१॥

(यस्तो मुक्त पुरुष भौतिक इन्द्रिय-सुखतिर आकृष्ट नभई सदैव समाधिमा रहेर आफैभित्र आनन्दको अनुभव गर्दछ । यसरी आत्मासाक्षात्कार गरेको व्यक्ति परब्रह्ममा एकाग्र-चित्त रहने हुँदा असीम सुखको भोग गर्दछ ।)

 

ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते ।

आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः ॥२२॥

(भौतिक इन्द्रियहरूको संस्पर्शबाट उत्पन्न हुने दुःखको स्रोतमा बुद्धिमान मनुष्य रमाउँदैन । हे कुन्तीपुत्र, यस्ता भोगहरूको आदि र अन्त्य हुनेहुँदा त्यस्ता विषयमा बुद्धिमानहरू रुचि राख्दैनन् ।)

 

शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात् ।

कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः ॥२३॥

(यो शरीर त्याग गर्नुभन्दा पहिले इन्द्रियको वेग रोक्न र इच्छा एवं क्रोधको वेग सहन गर्न सक्ने मानिस नै संसारमा सुखी रहन सक्दछ ।)

 

योन्तःसुखोन्तरारामस्तथान्तज्योर्तिरेव यः ।

स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोधिगच्छति ॥२४॥

(जो अन्तःकरणमा सुखको अनुभव गर्दछ, जो कर्मठ छ र अन्तःकरण मै रमण गर्दछ, अनि जसको लक्ष्य अन्तर्मुखी छ, त्यो साँच्चैको पूर्ण योगी हो । त्यो ब्रह्ममुक्त हो र त्यसले अन्तमा ब्रह्मलाई नै प्राप्त गर्दछ ।)

 

लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणल्मषाः ।

छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः ॥२५॥

(जो संशयबाट उत्पन्न हुने द्वैतभावभन्दा पर छन्, जसको मन आत्मसाक्षात्कारमा लीन भएको छ, जो समस्त जीवहरूको कल्याण गर्नमा सदैव व्यस्त रहन्छन् र जो समस्त पापले रहित छन् तिनीहरू नै ब्रह्म निर्वाण प्राप्त गर्दछन् ।)

 

कामक्रोधविमुक्तानां यतीनां यतचेतसाम् ।

अभितो ब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम् ज्॥२६॥

(जो समस्त भौतिक इच्छा तथा क्रोधबाट मुक्त छन्, जो स्वरुपसिद्ध छन्, जो आत्मसंयमी छन् र पूर्णताका लागि निरन्तर प्रयत्नशील छन्, निकट भविष्यमै तिनीहरूको मुक्ति सुनिश्चित छ ।)

 

स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवोः ।

प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ ॥२७॥

यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः ।

विगतेच्छाभयक्रोधो यः सदा मुक्त एव सः ॥२८॥

(समग्र इन्द्रियका विषयहरूलाई पन्छाएर, दृष्टिलाई आँखीभौँको माझमा केन्द्रित गरेर, प्राण तथा अपानवायुलाई नाकभित्रै रोकेर, अनि मन, इन्द्रिय तथा बुद्धिलाई वशमा राख्दै मोक्षलाई लक्ष्य बनाएको योगी, इच्छा, भय तथा क्रोधबाट मुक्त हुन्छ । जो सधैँ यस्तो अवस्थामा रहन्छ त्यो निश्चय नै जीवनमुक्त हो ।)

 

भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम् ।

सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तमृच्छति ॥२९॥

(मलाई नै समस्त यज्ञ र तपस्याका परमभोक्ता जानेर, मलाई नै सबै लोकहरू र देवताहरूका परमस्वामी मान्ने र मलाई नै सम्पूर्ण प्राणीका उपकारी तथा हितैषी ठान्ने मेरै भावनाले पूर्ण भएको व्यक्तिले भौतिक कष्टहरूको पीडाबाट शान्ति प्राप्त गर्दछ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत कर्मयोग – कृष्णभावनामय कर्म शीर्षक पाँचौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

 

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *