×

 २०८२ माघ २९ गते, विहीवार,

 २०८२ माघ २९ गते, विहीवार,

दुवाकोट, भक्तपुर

जडीबुटीमा आज धेरै जाम नपरेकोले १० बज्नुभन्दा पहिले नै लेखनकुञ्ज पुगेँ र सरिता शर्माको कृतिको पाण्डुलिपीको सम्पादन गर्न थाल्छु । केही समयपछि चाहना श्रेष्ठ, सिर्जना शर्मा, सौरभ सापकोटा, मोहित चन्द पालैपालो आउँछन् र खुरुखुरु काम गर्न थाल्छन् । कसैले काम अह्राउनु आवश्यक छैन र निरीक्षणको पनि दरकार छैन । केही दिनको दौडधूपले गर्दा मलाई जिम्मा दिइएको सम्पादन कार्यमा केही ढिलाइ हुन गएको छ । आज बिहानैदेखि निरन्तर लागिरहेर एकै दिनमा करिब ७००० शब्दको सम्पादन गरिसकेपश्चात् सिए दिलमानजीले आफ्नो कार्यालयमा बोलाएको हुँदा धोवीखोलाको छेउमै रहेको उहाँको कार्यालयतिर लाग्छु ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट इन्जिनियर परिशीलन ओली प्रतिष्ठानको आव ०८०/८१ र ०८१/८२ नवीकरण गर्न बाँकी छ । गत वर्ष रुकुमको जागिरीले गर्दा रुकुम पुगेको हुँदा समय दिएर नवीकरण गर्न सकिएन । यस वर्ष पनि बैँक स्टेटमेन्ट लिनै ३ दिन लाग्यो । स्टेटमेन्ट लिन पनि कार्य समितिको बैठको निर्णय र कोषाध्यक्ष र अध्यक्षको अनिवार्य दस्तखत भएको निवेदन चाहिन्छ । कार्य समितिको बैठक राख्न प्रतिष्ठानका सदस्यहरूको उपस्थितिको समय मिलाउनै धौधौ हुन्छ । बैँक स्टेटमेन्टबाहेक अन्य कारोबार कुनै पनि नहुँदा पनि अडिटकै काम झन्डै २ महिना लागिसकेको छ । अडिटको काम सकिएपछि कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिनु छ । त्यसपछि वडा कार्यालयबाट सिफारिस लिनुपर्छ । वडा कार्यालयमा कि त सिफारिस दिने मान्छे भेटिँदैनन् भेटिए पनि भन्नेबित्तिकै काम हुँदैन । वडापछि नगरपालिकाबाट सिफारिस गराउनुपर्छ त्यता उत्तिकै ढिला हुन्छ । नगरपालिकापछि जिल्ला समन्वय समितिबाट सिफारिस गराउनुपर्छ । अनि मात्र जिल्ला प्रशासन कार्यालयमा फाइलहरू पुग्छन् । त्यहाँ पनि विभिन्न कागजात मिलाउँदैमा हप्ता दिन लाग्छ । संस्था दर्ता गर्न बरु सजिलो छ यसको नवीकरण प्रक्रिया निकै झन्झटिलो हुन्छ । त्यसैले वर्ष वर्षमा नवीकरण गराउन दौडधूप गर्न सकिँदैन र नवीकरण छुट भई महिनैपिच्छेको गुणोत्तर विधिले जरिवानामा परिन्छ ।

आजै हात्तीवनस्थित हाउजिङमा घर लिएका चेला खिमबहादुर ओलीको घरपूजाको निम्तो आएको थियो । प्रतिष्ठानको अडिटकै काममा व्यस्त भएकोले निम्तोमा जाने भ्याइएको छैन । आफन्तहरू, काम गर्ने ठाउँका कर्मचारीहरू र आफूलाई चिनेका मान्छेहरूको जमघट हुने ठाउँमा निम्तो आए पनि ममा जाने इच्छा र तत्परता हुँदैन । नचिनेको मान्छेहरूले खासै परवाह गर्दैनन् तर चिनेकै मान्छेहरूले मेरो होचो, ख्याउटे तथा नमिलेको शारीरिक संरचना देख्नेबित्तिकै मुख छोपी छोपी हाँस्न थाल्छन् । मुन्टा भाँचीभाँची हाँस्न थाल्दछन् । यस्ता जमघटमा उपस्थित हुनु भनेको हाँसोको पात्र बन्नु हो । तर तिनै मान्छे एक्लै भेट हुँदा भने मेरो शरीर देखेर हाँस्ने हिम्मत गर्दैनन् ।

हाँसोको पात्र बन्नुजत्तिको अव्यक्त पीडा मलाई अरू हुँदैन । अङ्गभङ्ग भएका, होचापुड्का, जिउमा थाङ्ना भिरेका मान्छेहरू पनि सडकमा थुप्रै भेटिन्छन् । सडकमा हिड्ने पागलहरूले अनर्गल कुरा गर्दा र हाँसउठ्दो व्यवहार देखाउँदा पनि मान्छेहरूले परवाह गर्दैनन् । तिनीहरूलाई देखेर मान्छे हाँस्दैनन् । तर मेरो शारीरिक संरचना देखेर मान्छे किन हाँस्न थाल्छन्, मैले बुझ्न सकेको छैन ।

निम्तोमा नजाने हो भने फलानो आएन भन्ने टीकाटिप्पणी हुन्छ तर जाने हो भने हाँसोमा उडाइएर सहनुपरेको अपमानले अत्यन्तै ग्लानि महसुस हुन्छ । यो पीडाले मुटुमा निकै गहिरो घाउ बनाउँछ र धेरै दिनसम्म थला पार्दछ । मान्छेहरू अचानो थापेर किन बस्छन् र अचानोबाट भाग्न खोज्दा पनि किन आलोचना गर्छन् भन्ने कुराले मन सारै दुख्ने गर्दछ । मेरो सार्वजनिक प्रस्तुतिमा यही असहजताको कारण बाधा पुगिरहेको छ । न म बोल्न सक्छु न कसैसँग कुरा गर्न सक्छु । हाँसोको पात्र भइने मनोविज्ञानले मेरो प्रतिभा लुकिरहन्छ । प्रस्फुटन हुन सक्दैन ।

तथापि आफैले आयोजना गरेका साहित्यिक कार्यक्रमहरूमा भने नगई पनि हुँदैन । मान्छेको हाँसोको अपमानको तुलनामा त्यहाँ आफ्नो कार्य सम्पादनको सम्मान केही बढी हुँदा क्षतिपूर्ति भएझैँ लाग्दछ । त्यही सम्मान नै अपमानको मलहम बन्दो रहेछ । तसर्थ कतैबाट पनि सामाजिक कार्यक्रमको निम्तो नआए हुन्थ्यो भनेर कामना गरी बस्दछु । निम्तो आइहाले पनि नजानको लागि कुनै न कुनै बहाना बनाउनु बाध्यता हुन्छ मेरो लागि ।

आज राजबहादुर कुँवरजीले नयाँवानेश्वरमा जुम्लाकै एकजना साथीले कलाघर खोलेकोले त्यहाँ नाटक देखाउने कार्यक्रम गर्न सकिन्छ कि छलफल गरौँला भनी बोलाउनुभएको छ । मैले उहाँलाई हिजै कुरा राखेको थिएँ कि कर्णालीका साहित्यकारहरूले धेरै नाटकहरू पनि लेख्नुभएको होला । वा अन्य आख्यानका कृतिहरूबाट पनि नाटकमा रुपान्तरण गरी देखाउने काम गरेमा मनोरञ्जनको माध्यमबाट श्रष्टाको विचार वा सन्देश पाठक वा दर्शकसम्म पुर्‍याउन सकिन्छ । निशुल्क वा कमै पारिश्रमिक लिने कलाकारहरू खोजौँ । नाटक तयार गरौँ । दर्शक जुटाऔँ र नाटक देखाऔँ । यसले कला र कलाकारको पनि प्रवर्द्धन हुनसक्छ ।

 लेखनकुञ्जबाट मोहित भाइलाई पनि लिएर म नयाँवानेश्वरमा पुग्छु । राजबहादुरजी भेटिएपछि शङ्खमूलस्थित नयाँ खोलिएको कलाघरतिर लाग्छौँ । स्थलमा पुग्दा मर्मतको कामहरू भइरहेको रहेछ । चारपाँच जना जुम्ली भेषभूषाका केटाहरू यताउता गरेको देखिन्छ । भित्ताहरूमा खस भाषाका गीतका टुक्काहरू लेखिएको छ । विभिन्न सानासाना कोठाहरूलाई ‘मइडो’ (मैरो) भन्ने नामाकरण गरिएको छ । जताततै फोहर थुप्रिएको खुल्ला ठाउँमा बेतका सानासाना टुलहरू राखिएका छन् । छेउमा ओछ्याएको जुट कार्पेट पनि मैलिएको र बटारिएकोले भद्दा देखिन्छ । पकाउने र वितरण गर्ने भाँडाकुँडा कामचलाउ मात्र देखिन्छन् । व्यवस्थित हल तयार भएको रहेनछ । हल बनाउँदै गरेको कुरा सञ्चालकले हामीलाई बताउँछन् । तर व्यवस्थापनमा धेरै कमीकमजोरीहरू देखिन्छन् । सञ्चालकले नाटक तयार गर्न नै ५ लाखभन्दा बढी लाग्ने र भाडा नाट्यसामग्री खर्च जोड्दा १० लाख हाराहारी बजेट आवश्यक पर्ने बताउँछन् । उनका कुरा सुनेर थप छलफल गर्ने जाँगर चल्दैन र बिदाबारी भएर म सानोठिमीतिर लाग्छु ।

प्रतिष्ठानका पदाधिकारीहरू सचिव सुशील, कोषाध्यक्ष निशा, सदस्य किरण, लगायत अन्य सदस्यहरू पनि सानोठिमीमै रहने भएकोले रिपोर्टमा धेरैको हस्ताक्षर गराउन सकिन्छ भन्ने लागेको छ । तर घरघरै धाउँदा पनि निशा बाहेक अरूसँग भेट हुन सक्दैन र आजको काम पनि यत्तिकै रहन्छ र म निराश भएर दुवाकोटस्थित घरतिर फर्कन्छु जहाँ देवकुमारीले खाना पकाएर अघिदेखि नै पर्खिरहेकी छिन् ।

Loading

Post Comment

You May Have Missed