२०८२ माघ २८ गते, बुधवार,
दुवाकोट, भक्तपुर
झापामा आयोजित अर्थोपेडिक्स चिकित्सकहरूको राष्ट्रिय भेलामा सहभागी हुन परीक्षित बिहान ६ बजे नै एरपोर्टतिर लाग्यो ।
कमल ढकालजीले आज बिहानै १० बजे नै अफिस आइपुग्नू हरिप्रसाद पाण्डेलाई भेट्न जाउँला भन्नुभएको थियो । देवकुमारीले बिहानै तयार गरेको खाना खाएर म घरबाट ९ बजे नै निस्किए पनि थापागाउँस्थित लेखनकुन्जको कार्यालयमा पुग्दा सवा १० बजिसकेको थियो । साढे १० बजेतिर कमलजीको गाडीमा हरि पाण्डेलाई भेट्न कुलेश्वरस्थित उहाँको कार्यालयतिर लाग्यौँ । यात्राभरि कमलजीले लेखनकुन्जलाई प्रज्ञा प्रतिष्ठानको रूपमा सञ्चालन गर्नको लागि तपाईँकै मुख्य हात रहनेछ भनेर फेरि प्रशंसा गर्न थाल्नुभयो । सधैँझैँ मैले सकेको सहयोग गर्नेछु भनेर वचनबद्धता जाहेर गरेँ । तर प्रतिष्ठान स्थापना गर्न मेरो कस्तो भूमिका रहने हो म आफै अनभिज्ञ छु । मेरो आर्थिक अवस्था कमलजीलाई थाहै छ । उहाँले आर्थिक हिसाबबाट पनि मेरो सहयोग खोज्नुभएको होइन । म त सामान्य कर्मचारीको रूपमा उहाँलाई सहयोग गर्ने प्रण गरेर यहाँ भित्रिएको हुँ । १ महिना पुग्न थाल्दा पनि अपेक्षाकृत सहयोग पुर्याएको जस्तो लाग्दैन । कर्मचारी रहुन्जेल मेरो योग्यताको मूल्याङ्कन कतैबाट पनि भएन । बरु निम्नस्तरको कर्मचारीबाट फाइल बढुवा हुँदै आएको जस्तो हिसाबले मलाई हेरियो । आफ्नै दर्जाका साथीहरूलाई महत्त्वपूर्ण कार्यालयहरूको जिम्मेवारी दिँदा मलाई भने फाल्तु कार्यालयहरूमा फाल्ने मात्र काम भयो ।
मान्छेलाई उत्साहित गरिरहेपछि मान्छेमा आफै ऊर्जा प्रकट हुँदै जाँदो रहेछ । लेखनकुन्जमा काम त उति छैन तर काम गर्न जाँगर भने उम्लिरहन्छ । म मात्र होइन यहाँका करिब १ दर्जन कर्मचारीहरू स्वतस्फूर्त रूपमा दिनभर काम गर्छन् । यो काम यति समयमा सक्नपर्छ भन्ने कुनै बाध्यता पनि छैन । सजिलरी काम हुन्छ । आफूले गरेको कामको विवरण भने सोही दिन बेलुका प्रस्तुत गर्नुपर्छ । त्यो प्रगतिले कामको गति बढ्ने त होइन तर प्रगति पेस गर्नुछ भनेर पनि काम गर्ने जाँगर आफै उम्लँदो रहेछ ।
कमलजी यात्राभरि साहित्यकारहरूको मञ्चलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा नै विचार जान्न चाहनुहुन्छ । म भन्छुः उत्पादनका साधनहरूमा जमिन पूँजी श्रमका व्यावसायिकताको अतिरिक्त जोखिम पनि हो । जोखिम नलिई कुनै पनि ठुला कामहरू गर्न सकिँदैन । औपचारिक शिक्षाको सुरुवात संसारमा भर्खरै मात्र भएको हो । मान्छेले कुनै काम गर्ने कल्पना गर्यो । त्यसको लागि आँट गर्यो। त्यसलाई सफल तुल्याउनको लागि बाँकी उत्पादनका साधनहरूको जोहो गर्नेतिर लाग्यो अनि असम्भव ठानिएका कामहरू पनि सम्पन्न हुन पुगे ।
हरि पाण्डे आफू अशिक्षित नै हुन् । काभ्रेको दुर्गम ठाउँबाट ८ कक्षा मात्र पास गरेका । उनी मुग्लान जाने उद्देश्यले गाउँबाट हिँडे तर काठमाडौँमै फस्न पुगे । काठमाडौँका प्रयागराजको घरमा लुगा धुँदा धुँदै उनीसँग काम गर्न सिके । उहिल्यै नेपाल आदर्श निर्माण कम्पनी नामको संस्था खोल्ने लहड चल्यो । खोले । काम इमान्दारितापूर्वक गर्दै गए । काम पाउँदै गए । काठमाडौँका अधिकांश शहरी पूर्वाधार तयार गर्ने ठेक्का पाए । कामले अनुभव र सिप बढ्दै गयो । उनको आँटले नै निर्माण कम्पनी स्थापित पनि भयो र छोराछोरीलगायत सयौँले रोजगारीको अवसर भेट्टाए ।
हामीहरू ती हरि पाण्डे व्यक्तिलाई भेट्न जाँदै छौँ । उनको आत्मकथा मैले नै सम्पादन गर्दै छु । पुस्तकमा राखिएका कुराहरूमा थप स्पष्ट हुन र थप कुराहरू पुस्तकमा राख्नको लागि उहाँहरूसँग छलफल गर्नुछ ।
कार्यालयमा पुगेपछि सुरुमा उहाँका छोरा वीरेन्द्र पाण्डेसँग भेट भयो । अनि भान्जा महेश थपलियासँग पनि भेट भयो । हरि पाण्डे बाहिर रहनुभएकोले उहाँसँग भेट हुनसकेन । पुनः भेट गर्ने गरी हामी फर्कियौँ ।
बाटोमा पुनः लेखनकुन्जको स्तरोन्नति गर्ने सम्बन्धमा नै कुरा भयो । खर्चको कुरा भयो । लेखनकुन्जका रेगुलर कर्मचारी नै आठ नौ जना छन् । कामको जिम्माको आधारमा पारिश्रमिक पाउने अरू पाँच छ जना परामर्शदाता छन् । सबैलाई महिनामा नै चार पाँच लाख पारिश्रमिक दिनुपर्छ । जग्गा भाडा नै महिनामा एक लाखभन्दा धेरै तिर्नुपर्छ । मर्मत खर्च र कर्मचारीहरूलाई खाजाखर्चमा त्यत्तिकै खर्च हुन्छ । मसलन्द र व्यवस्थापन खर्च पनि गर्नुपर्छ । यी सबै खर्च जुटाउन सजिलो छैन । कमलजी भन्नुहुन्छ मलाई एक रुपैयाँ चाहिँदैन । धेरै कामको सिर्जना गरौँ आउने आम्दानीबाट धेरै सुविधाहरू पनि तपाईँहरू नै लिनुहोस् ।
अफिसबाट १ जना पाहुनाले पर्खिरहेको खबर आउँछ । नागाबाबा रहेछन् । कमलजीले ती नागाबाबालाई खर्चपर्च माग्नको लागि पर्खिएको बताउनुहुन्छ । मैले जोगीहरूले समाजको लागि केही योगदान वा कल्याणकारी काम गरेका छन् भने मात्र उनीहरूलाई मद्दत गर्न सकिने हैनभने समाजलाई ठग्दै हिँडेका छन् भने किन उल्टै प्रोत्साहित गर्ने भनेर कमलजीलाई भन्छु तर उहाँले चार पाँ हजार दिँदैमा म कङ्गाल हुँदैन । उसको काम हामीले नदेखेर हो समाजको लागि काम गरेकै पो छ कि भन्ने तर्क गर्नुहुन्छ । अफिस पुगेपछि नागाबाबासँग कुरा गर्नुहुन्छ । कमलजीले उसलाई दिन छुट्याएको ५ हजार लिन मान्दैन ११ हजार चाहिन्छ भन्छ । अर्का १ जना पाहुनबाट समेत १ हजार फुत्क्याउन सफल हुन्छ । म भने जोगीहरूबाट पटक पटक ठगिएकोले उसको नजिकै पर्दैन ।
कर्णाली डिस्कोर्स सोसाइटीले हिजो आयोजना गरेको नाटकमा कर्णालीका सुइना कार्यक्रमको बारेमा जगत वशिष्ठसँग फोनमा विचार आदान प्रदान हुन्छ । यसै गरी उक्त सोसाइटीका उपाध्यक्ष राजबहादुर कुँवरसँग कर्णालीका नाटकहरुलाई काठमाडौँमै प्रदर्शन गर्नको लागि फोनमा नै छलफल हुन्छ । आगामी फागुन १ गते राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले आयोजना गर्ने पाँचौँ भर्चुअल रचना वाचन कार्यक्रमको समीक्षाको सम्बन्धमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मधुसूदन गिरीसँग फोनमा नै छलफल हुन्छ ।
दिनभरि सरिता शर्माको कृतिको सम्पादनमा लाग्दछु । सम्पादनको कुनै पूर्वनिर्धारित प्रगतिको मापदण्ड हुँदैन । वाक्य संरचना धेरै बिग्रिएको र टाइप गर्दा शाब्दिक त्रुटिहरू धेरै परे भने १ घण्टामा २०० शब्दको सम्पादन गर्न पनि कठिन हुन्छ । तर वाक्य संरचना मिलेका र टाइप गर्दा कमै गल्ती भएमा १ घण्टामा हजार बाह्र सय शब्द पनि सम्पादन गर्न सकिन्छ । हरेक पृष्ठमा एउटै मापदण्ड लागू हुन्छ भन्न पनि सकिँदैन । लगातार सम्पादनमै जोतिन पनि कठिन नै हुन्छ । बाँकी रहेको ४ घण्टामा करिब ३००० शब्दजति सम्पादनको काम सकेर म ४ नबज्दै लेखनकुन्जबाट बिदा हुन्छु । नेपाली साहित्य समाजले साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दन ग्रन्थ तयार गरेकोले त्यसमा लेख परेका लेखकहरूलाई पुस्तक बाँड्दै साहित्य समाजका थापाजी लेखनकुन्ज आउनुभएको र कथाकार शर्मिला खडकाको ठेगाना फेला नपरेकोले मलाई नै बुझाउने जिम्मा दिइएकोले आज उक्त पुस्तक शर्मिलाजीलाई बुझाउने काम बाँकी नै छ । उहाँको घर थापागाउँको पाठशाला नेपालको नजिकै रहेको पत्ता लगाएर उहाँ घरबाहिर रहनुभएकोले तरकारी पसलमा पुस्तक छोडेर टेम्पो चढी बागबजारतिर लाग्दछु । बागबजार बस स्टपमा पुगेपछि ढिलो हुने भए तापनि खाली सिटमा बसी आरामसँग दुवाकोटसम्म आउन सकिने भएकोले मैले २ वटा बस फेरेर आउनेजाने गरिरहेको छु । सिटमा बस्नुको फाइदा अर्को के छ भने बसमा बसेको बखत नै मेरो अध्ययन कार्य चल्छ । करिब १ हप्ताअघिदेखि नीलम कार्की निहारिकाको चीरहरण उपन्यास पढ्दै छु । महाभारतलाई गद्यमा परिवर्तन गरी औपन्यासिक शैलीमा ढालिएकोले इतिहास र साहित्य सँगसँगै पढ्ने मौका दिनुभएको रहेछ उपन्यासकारले ।
घरमा आइपुगेपछि लोकबहादुर खडका जेठान र दिदीसँग भेट हुन्छ । घरायसी कुराहरू हुन्छन् ।
आज बिहान जितबहादुर शाहको ध्यानाकर्षण लघुकथा सङ्ग्रहको समीक्षाको मस्यौदा तयार गरेर लेखकलाई हेर्नको लागि पठाइदिएको थिएँ । मेल आएन भनेर दिउँसो खबर गर्नुभयो । बेलुका पुनः पठाइदिन्छु भनेको थिएँ तर ल्यापटपको चार्जर अफिसबाट ल्याउनै बिर्सिएछु । पठाउने तयारी गर्दा गर्दै ल्यापटपकको चार्ज सकिएकोले भिडियोकलबाट शाह सरसंँग अन्य कुराकानीहरू भए । त्रिवेणी गाउँपालिकाको स्थानीय तहको पाठ्यक्रम लगायत पश्चिमतिर स्थानीय पाठ्यक्रम बनाउन शाह सर लागिरहनुभएको छ । सोही विषयमा छलफल भयो । समय भए एउटा च्याप्टर तयार गर्न सुझाव दिनुभयो ।
गर्नुपर्ने काम थुप्रै छन् । जितौरी र यालमाया कथा सङ्ग्रहका पहिलो संस्करणका सबै प्रति सकिइसकेकोले पहिलो संस्करणका त्रुटिहरू हटाई दोस्रो संस्करण निकाल्ने काम बाँकी नै छ । गद्य कविता सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा भए पनि सम्पादक राजबहादुर कुँवर सरले डमी उपलब्ध गराउन बाँकी नै छ । छन्द कविता गीत र गजल प्रकाशनको तयारी पनि अगाडि बढेको छैन । छन्द कविताको लागि जगत प्रेक्षित सरलाई तथा गीत र गजलको पाटो हेरिदिन सन्तोष श्रेष्ठलाई अनुरोध गरेको हुंँ । उहाँहरूबाट सुझाव प्राप्त भइसकेको छैन । २०७६ सालमै तयार गरेको ‘टिप्न खोज्दा पोखिएका अक्षरहरू’ संस्मरण सङ्ग्रह यत्तिकै थन्किएको छ । मध्यपश्चिमेली ठाडी भाका सम्बन्धी झन्डै ५०० पृष्ठको पान्डुलिपी तयार गरेर पनि काम अघि बढेको छैन । मेरो पहिलो खण्डकाव्य ‘दिन फिर्छन्’ को सुधार गरी दोस्रो संस्करण निकाल्ने सपना पनि यत्तिकै छ । सोलाबाङका सबै परिवार र सम्बन्ध गाँसिएका अन्य ठाउँका परिवारको वंश वृक्षको काम अन्तिम चरणमा पुगेको छ तर त्यसको थप काम पनि हुनसकेको छैन । पुराना तमसुकहरू र वंशवृक्ष राखी यही असारभित्र आमाबाको स्मृति ग्रन्थः कइनपानीको मइन खामो प्रकाशित गर्ने लक्ष्य थप सामग्रीहरू सङ्कलन गर्न नसक्दा यत्तिकै थन्किएको छ । सेवा निवृत्त जीवनमा टुङ्ग्याउनुपर्ने कामहरू थुप्रै छन् । हेरौँ कति सकिन्छन् कामहरू यही जीवनमा ।
सम्धी बद्री कार्की र चितवनमा डिएम पढिरहेकी छोरी अस्मिता र नाति प्रवीरसँग भिडियोकलमा खबर आदानप्रदान गरी आजको दिनलाई बिट मार्दछु ।
![]()
Post Comment