×

२०८२ फागुन ८ गते शुक्रवार

२०८२ फागुन ८ गते शुक्रवार

दुवाकोट भक्तुपर

आज दिवंगत परिशीलनको नाममा स्थापना गरिएको इन्जिनियर परिशीलन ओली स्मृति प्रतिष्ठानको करचुक्ता प्रमाणपत्र लिन आन्तरिक राजस्व कार्यालय भक्तपुरतिर जानुपर्ने थियो । बिहान चन्द एण्ड एशोसियट्सले दिएको लेखापरीक्षण प्रतिवेदन र करका फर्महरू डाउनलोड गरी प्रिन्ट गरेँ र याङ्गोको बाइक बोलाएँ । म्यापमा पिकअप प्वाइन्ट गलत देखाउँदो रहेछ कि क्या हो बाइकले लोकेसनमै छु भन्ने र मैले पनि लोकेसनमै छु भन्ने जुहारी चल्दा चल्दै समय त्यत्तिकै गयो । त्यसपछि नेबिल बैँकनेर आऊ भनेर म पनि हिँड्दै नेबिल बैँकसम्म पुगेँ । बाइक भेटिएपछि जगातीतिर लाग्यौँ । सूर्यविनायकबाट जगातीसम्मको बिचको बाटो बनाउँदै रहेछ । साइड साइडबाट बाटो त बनाइएको थियो तर सूर्यविनायकभन्दा अगाडि जान निकै जाम परेकोले बाइकवालालाई पनि ढिला र मलाई पनि ढिला भइरहेको थियो । अतः सूर्यविनायकको केही अगाडिबाट जगातीसम्मकै भाडा तिरेर बाइकवालालाई फर्काएँ र म हिँड्दै जगातीतिर लागेँ । बाटो बनाउँदै गरेकोले धूलोले बादल लागेसरि भएको थियो। बिचमा निकै ठुलो खाडल र छेउछेउमा सडकको पर्खाल बनाइएकोले वारिबाट पारि जानै निकै सकस भयो। बल्लतल्ल जगातीस्थित आन्तरिक राजस्व कार्यालयमा पुगियो ।

जे माग्छ त्यो दिने गरी मैले सबै फाइलहरू बोकेर गएको थिएँ । कर चुक्ता शाखाबाट निवेदनको फर्म्याट लिएँ र भरेँ । फाइल आफै तयार गर्नुपर्दो रहेछ । फोटोकपी गर्न र फाइल लिन नजिकैको बजारतिर लागेँ । फोटोकपि पसलहरूमा जताततै मान्छेको भिड थियो। अलि कम भिड भएको पसलमा पुगेँ । फोटोकपि गर्ने बल्लतल्ल पालो त आयो तर पुरानो मोडेलको फोटोकपि मेसिन रहेछ । एक पाना फोटोकपि गर्न पनि ५ मिनेट लाग्ने । मेरो १५ पाना फोटोकपि गर्नु थियो । झन्डै १ घण्टा लाग्यो । फाइल र टिकट समेत किनी कार्यालयमा छिरेँ । तोक लगाउनुपर्दो रहेछ १०५ नम्बर कोठामा । कोठामा सेवाग्राहीहरूले घेरिएकी लेडिज कर अधिकृत थिइन् । उनलाई काम गर्नु नै भ्याइ नभ्याइ थियो । कम्प्युटरमा विवरण चेक गर्दै सेवाग्राहीलाई पठाउँदै गरिरहेकी थिइन् । आधा घण्टा कुरेपछि बल्ल मेरो पालो आयो।

करचुक्ता शाखामा धेरै लामो लाइन त थिएन तर एउटैको डकुमेन्ट चेक गर्न पनि निकै समय लाग्दो रहेछ । बल्लतल्ल मेरो पालो आएको थियो पुरानै हिसाब मिलान नगरेकोले ४ हजार जति कर थप्नुपर्ने कर्मचारीले बताए । कर तिरेपछि लगतकट्टा गरेपछि मात्र कर चुक्ता प्रमाणपत्र पाइँदोरहेछ । अस्ति मात्र अडिटरमार्फत् १२३० रुपैँया तिरेको थिएँ । पुरानो कर तिरेको रसिद नहुँदा काम भएन ।

घरमा पुगेर कर तिरेको पुरानो रसिद लिई आऊँ भने आज शुक्रवार भएकोले नभ्याइएला भन्ने डर थियो । यसै बेला लेखनकुञ्जबाट कमलजीको फोन आइसकेको थियो । उहाँले एकछिन अफिस आउनुहोस् अनि जानुहोला भन्नुभयो । काम नसकिँदै अफिस जान पनि मन लागेको थिएन ।

रोडमा निस्किएपछि रोडछेउमै रोकिइरहेका एकजना बाइकवालाले मलाई बोलाए । पुरातत्त्व विभागमा काम गर्दाकै समयका एकजना ठेकेदार रहेछन् । कता जाने हो भनी सोधे मैले अफिस जाऊँ कि घर जाऊँ दुविधा भएको छ भनेँ । अफिस कता हो भनी सोध्दा नयाँवानेश्वर हो भनेँ । म पनि नयाँवानेश्वरतिरै जाने हो आउनुस् म पुर्‍याइदिन्छु भनेकोले बाइकमा बसिहालेँ । घर पुगेर पुरानो राजस्व तिरेको रसिद ल्याई लगत कट्टा गर्ने काम त्यत्तिकै रह्यो ।

कमलजी र सरिताजीले पर्खिरहनुभएको रहेछ । सरिताजीको पुस्तकको सेटिङको काम सौरभले गर्दै थिए । सिर्जना, चाहना र मोहित आआफ्नै काममा व्यस्त थिए । सरिता शर्माको पहिलो प्रेम उपर कमलजीले तयार गरेको प्रकाशकीयमा सम्पादनको काम गरेँ । क्यालेन्डरमा बिदाहरूको थप्ने काम पनि भयो । यसै बेला कमलजीलाई भेट्न नाटककार टङ्क चौलागाई आउनुभयो । नाटक लेखन र अभिनयमा आआफूले गरेको कामको सम्बन्धमा केही आदान प्रदान गर्‍यौँ । हामीबिच सहजकर्ताको भूमिका कमलजीले निभाइदिनुभयो ।

सवा ४ बजेतिर थापागाउँको अटो चढी भक्तपुरको गाडी चढ्न बागबजार पुगेँ । बागबजारमा पुरानो बाटो हुँदै बसको खाली सिट ओगटेर चीरहरण उपन्यास छिचोल्दै भक्तपुरतिर लागेँ । चीरहरणको पहिलो भाग परिचयात्मक थियो । दोस्रो भाग निकै मार्मिक थियो । तेस्रो भाग आक्रोशपूर्ण थियो भने पढ्दै गरेको चौथो भागमा पाण्डवहरूको वनवासको अवस्था र गुप्तवासको बारेमा द्रौपदीले बताउँदै गरेकोले निकै रहस्यात्मक र सनसनीपूर्ण लागिरहेको छ । द्रौपदीको खुल्ला कपालले प्रतिशोध पर्खिरहेको छ ।

सेवा निवृत्त जीवन निकै व्यस्ततासँग बितिरहेको छ । भन्ने हो भने १ मिनेट पनि फुर्सदमा बसेको छैन । एकपछि अर्को काम सम्पन्न गरिरहेको जस्तो लाग्छ । अति व्यस्तताले आयु बढाउने हो कि घटाउने हो भविष्यले ने निर्धारण गर्ला ।

घरमा आइपुग्दा परिक्षित आइसकेको रहेछ । खाना खाएर आराम गर्नतिर लागियो ।

Loading

Post Comment

You May Have Missed