२०८२ फागुन ६ गते, बुधवार
दुवाकोट, भक्तपुर
आज अलिकति छिटो लेखनकुञ्ज पुगेँ । आधा घण्टाजति जितौरी कथासङ्ग्रहभित्रको माछेआँखोलाई पुनर्लेखन गरेँ । लेखकुञ्जको आफ्नै क्यालेन्डर प्रकाशन गर्नको लागि रूपरेखा तयार गरेँ । सरिता शर्मा आइपुगेपछि उहाँको पुस्तकको बारेमा छलफल गरियो । पुस्तकको नामका विकल्पहरू दिएँ । उहाँले अक्षर- पहिलो प्रेम नाम राख्न उपयुक्त ठहर्याउनुभयो । कमलजीले भने पहिलो प्रेम मात्र राख्न सुझाव दिनुभयो । पहिलो प्रेमको निम्ति कभर चित्रको नमुना देखाएँ । कभर चित्र बनाउने काम सौरभ सापकोटाले गर्नेछन् । पछिल्लो समयमा लेखनकुञ्जबाट प्रकाशित हुने पुस्तकको कभर चित्र र भित्री डिजाइनको काम सौरभजीले नै गर्दै आएका छन् ।
नाति प्रवीरको बर्थडेको सिलसिलामा दुई हप्ताअघि भाटभटेनी गएको बखत श्रीटेल नामको संस्थाले कुपन भराएको थियो । कुपनको चिट्ठा परेको भनी फोनमार्फत् सम्पर्क गर्न बोलाइरहेकोले बुझ्नको लागि देवकुमारी आउँदै थिइन् । देवकुमारी र म थापागाउँस्थित श्रीटेलको कार्यालयमा पुग्यौँ । निशुल्क विदेश भ्रमणको लागि चिट्ठा पर्यो भनिदिएपछि कसलाई जिज्ञासा नहोस् । सित्तैमा विदेश सयर गर्ने लोभ कसलाई नहोस् । बुझ्न आउने मान्छेको खचाखच भिड थियो । एउटा हलभित्र करिब १० वटा राउन्ड टेबलमा जिज्ञासुहरूलाई राखेर कर्मचारीहरूबाट विदेश स्किमको बारेमा बताइँदो रहेछ । स्किम अन्तर्गतः विदेशमा ३ दिनको बास र ब्रेकफास्ट फ्री १७५ देशका ४००० ठाउँहरूमध्ये रोजेको ठाउँमा जान पाइने । बुढाबुढीलाई र २ जनासम्म बालकलाई उक्त स्किममा सहभागी गराइने । स्किम ५ वर्षसम्म लागू हुने र ४१ दिनसम्म जुनसुकै वर्षमा पनि जान मिल्ने। आफू जान नसक्ने भए नजिकका आफन्त वा साथीभाइलाई पठाउन पाइने । भ्रमणका अतिरिक्त नेपालमै बच्चाहरूको निम्ति विभिन्न इनडोर आउटडोर गेम फ्री । अरूको निम्ति कसरत, योगा, जुम्बा डान्स फ्री कूल १५ लाखमध्ये आजै बुक गरे ६ लाख ९० हजार मात्र खर्च लाग्ने । उक्त रकममध्ये ४० प्रतिशत रकम बुकिङकै समयमा बुझाउनुपर्ने । बाहिर भ्रमण गएका व्यक्तिहरूको फोटो भिडियो न्युरोडको चोक चोकमा टाँसिने आदि स्किम सुनाउँदा यो स्क्याम मात्र नभई ठगी धन्धा पनि हो कि भन्ने झझल्को आयो । फलानाले अहिले नै बुकिङ गरिसके भन्दै परामर्श दिँदै गरेका व्यक्तिहरूलाई बधाई दिने र बाँकी जिज्ञासुहरूलाई ताली बजाउन लगाइन्थ्यो । हिजोआजको मान्छेले के चाहन्छ र उसको आवश्यकतालाई कमजोरीको रूपमा लिई कसरी सजिलै रकम थुत्न सकिन्छ भन्ने चलाकीपूर्ण प्रचारप्रसारले हामीलाई आकर्षण होइन त्यस स्किमप्रति विकर्षण उत्पन्न गराएकोले यस विषयमा पारिवारिक छलफल गर्नुपर्ने भन्दै हामी त्यहाँबाट हतार हतार निस्कियौँ ।
त्यताबाट दुबैजना न्युरोडतिर लाग्यौँ । घरको बिग्रिएको ल्यापटप मर्मत गर्नु थियो । डिस्प्ले फेर्न नै ८ हजार ५ सय लाग्नेभयो । घरमा ल्यापटप नभई नहुने भएको हुँदा मर्मतको विकल्प रहेन । डिस्प्ले फेर्दा नै न्युरोडमै रात पर्यो । बसपार्कमा बसहरू भेटिएनन् । बागबजारको बस स्टपमा पुग्दा बोडे जाने बस भेटियो । देवकुमारीले भक्तपुर जाने बस नै पर्खने जिद्दी गर्दा गर्दै म बोडेको बसमा सिट पाएकोले पछिल्लो सिटमा गएर बसेँ । यो अन्तिम बस भएकोले प्रत्येक बस स्टमा अन्तिम यात्रुलाई पर्खँदा पर्खँदै बसले गठ्ठाघर पुग्नै डेढ घण्टा लगाइदियो । हामी भक्तपुर जाने बस चढ्नुपर्ने भएकोले गठ्ठाघरमै ओर्लियौँ । गठ्ठाघरमा बस कुर्दा कुर्दा पनि एउटा बस आएन । आज नयाँबाटोमा चढ्ने अन्तिम बस नै यही रहेछ भन्ठानी अब कसरी सल्लाघारीसम्म पुग्ने भनी आत्तियौँ । केही समयपछि बनेपा जाने बस यात्रुले खचाखच भरिएर आयो । बसमा कोच्चिनुको विकल्प थिएन । सल्लाघारी ओर्लिएपछि बल्ल घर पुगिने भन्ने पक्का भयो ।
घरमा परिक्षितले तयार गरेको खाना खाई अत्यधिक थकानका कारण बिछ्यौनामा लमतन्न भई सुतेँ ।
![]()
Post Comment