×

२०८२ फागुन ४ गते, सोमवार

२०८२ फागुन ४ गते, सोमवार

दुवाकोट, भक्तपुर

बिहानै खाना खाई अफिसतिर लागियो । सल्लाघारीसम्म जान १० मिनेट मात्र लाग्ने र नयाँ बाटोबाट जाँदा छिटो पनि हुने र जडीबुटीमा जाम नपर्ने भएकोले दुवाकोट मोडमा पुगेपछि पुरानै बाटोको बस पर्खौँ कि सल्लाघारी जाऊँ भन्ने द्विविधा भइरहन्छ । पुरानो बाटोको बस पर्खिँदा एउटा फाइदा सिट पाइने सम्भावना प्रबल हुन्छ भने अर्को झन् महत्त्वपूर्ण फाइदा भनेको सिटमा बसी पुस्तक अध्ययन गर्ने अवसर पाइन्छ । सल्लाघारी पुग्दा खाली सिट वाला बस भेट्ने सम्भावना कमै हुन्छ र उभिएर यात्रा गर्नुपर्‍यो भने निकै सकस हुन्छ । झर्ने बेलासम्म पिठ्युँ र हात गलेर फतक्कै भएका हुन्छन् । दश पन्ध्र मिनेट छिटो पुग्न खोज्नुभन्दा पुरानै बाटोको गाडी उत्तम लाग्दछ । यसै यात्राको फाइदा उठाई माधवीजस्तो ठुलो र जटिल उपन्यास महिना दिनभित्र पढ्ने अवसर पाएँ र अहिले चीरहरण उपन्यास पनि आधाआधी छिचोल्न पाएको छु । मान्छेले धैर्य गर्ने हो भने आँटेको काम सजिलै फत्ते गर्न सक्छ भन्ने एउटा उदाहरण हो यो ।

सवा १० बजेतिर अफिस पुग्दा कमलजी आइसक्नुभएको हुन्छ । उहाँले एकछिन छलफल गर्न मलाई आफ्नो कार्यकक्षमा बोलाउनुहुन्छ तर मैले सरिता शर्माको पुस्तकको सम्पादन आजै सक्नुपर्नेभएकोले छलफल पछि गरौँला भनेर आफूलाई सुम्पिएको कामतिर लाग्दछ । । उहाँलाई फस्ट आवरमै अफिसमा बोलाएको छु । सरिताजीले पढ्नको लागि बाल्यकालमा गरेका सङ्घर्ष र त्यस सङ्घर्षले पारिवारिक विभाजन ल्याएको सम्बन्धमा सरस शैलीमा पुस्तक तयार गर्नुभएको छ । उहाँलाई यही पीडाले नेपालबाट धकेलेर कहिले लन्डन त कहिले भियतनामको साइगोन सिटीमा पुर्‍याउँछ । बाहिरी देशमा नेपालीको बसाइ कस्तो हुन्छ भन्ने कुरा अन्य देश जस्तै जापान, अष्ट्रेलिया, अमेरिका, बेलायत र युरोपियन देशहरूको कथाव्यथा लेख र पुस्तकाकारमा आइरहने भए पनि भियतनामका कथाहरू मैले सुन्न पढ्न पाएको थिएन । सरिताजीको पुस्तक सम्पादनको निहुँले भियतनामको बारेमा पनि बुझ्न मद्दत गरेको छ ।

सरिताजी आइपुगेपछि उहाँका लेखहरूको बारेमा एकछिन छलफल गर्छौँ । व्याकरणिक आधार केलाई लिने भन्ने सम्बन्धमा पनि छलफल हुन्छ । हामीले सानैदेखि लेख्ने गरेका केही शब्दहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा शब्दकोशले परिवर्तनहरू गरेको छ । मैले सामान्यतया प्रज्ञा शब्दकोशलाई नै आधार लिएको छु । तर केही भाषाविद्हरूले भने उक्त शब्दकोशका शब्दहरूलाई शुद्ध मान्दैनन् र परम्परागत नियमअनुसार नै लेखिरहेका छन् । मैले व्यक्तिगत भन्दा संस्थागत नियमलाई मान्नुपर्ने बताउँदै केही शब्दहरूको शुद्धाशुद्धिमा परिमार्जन गर्नुपर्ने बताउँछु । सरिताजीले यही पुस्तक प्रकाशनकै लागि नेपालमा अड्किरहेको हुँदा छिटो प्रकाशित हुने व्यवस्था मिलाउन अत्याउनुभएको छ । तर म भन्छु एक दुई हप्ता बसाइ लम्ब्याएर भए पनि स्तरीय पुस्तक प्रकाशित गर्नुहोस् ।

आज नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले कला पुरस्कार समर्पण कार्यक्रममा फोनबाटै निमन्त्रणा गर्नुभएको छ । मोमिला जोशीजीले निमन्त्रणा कार्ड पनि पठाउनुभएको छ । त्यहाँ नगइभएको छैन । कमलजीबाट अनुमति मागूँ भने उहाँले दिने सुझाव भनेकै पूर्ण ओली पूर्ण ओलीजस्तो हुनुपर्छ, आफ्नो पहिचान आफै बनाउनुपर्छ, जता बोलायो त्यतै पुगेर आफ्नो कद घटाउनुहुँदैन भन्ने नै सुझाव दिने पक्का छ । तर उपाध्यक्ष राजेश्वर कार्कीजीले दिनदिनैजसो फोन गरेर निमन्त्रणाको बारेमा सम्झाइरहनुभएको छ । निमन्त्रणामा म सम्बोधित हुँदा भने साहित्यकार नभनी समाजसेवी भनिएको हुन्छ । समाजसेवी सम्बोधनले म लज्जित हुन्छु । मैले कुनै त्यस्तो समाजसेवा गरेको छैन जसले समाजसेवी कहलिऔँ । कलासाहित्यजस्तो देशकै अग्रणी संस्थाले मलाई साहित्यकारको दर्जा दिनुभन्दा समाजसेवी भनिदिएमा कसैको आपत्ति रहँदैन भन्ने हिसाबले पनि होला । जिल्लामा भने साथीहरूले मलाई वरिष्ठ साहित्यकार भनेर आकाशमै पुर्‍याउनुहुन्छ । यो सम्बोधनले पनि म लज्जित नै हुन्छु ।

कलासाहित्यको कार्यक्रममा गएर दर्शक दीर्घामै बसे पनि कुनै बेफाइदा हुँदैन भन्ने मेरो ठम्याई हो । छोरा नभई बाबु बनिँदैन, विद्यार्थी नभई शिक्षक बनिँदैन, पाठक नभई लेखक बनिँदैन र स्रोता नभई अतिथी बनिँदैन भन्ने कुरा म आफै जान्दछु । यस्ता कार्यक्रममा नेपाली साहित्यका मूर्धन्य व्यक्तिहरू उक्त कार्यक्रममा आउने भएकोले उनीहरूका कुरा सुन्न पाइन्छ । अनुहारहरू झझल्क्याउन पाइन्छ भन्ने पनि हो । पहिले पहिलेका कार्यक्रमहरूमा उक्त कार्यक्रमका आमन्त्रित व्यक्तिहरू मनोहर लामिछाने, अमर शाह, दिलिप शाह, उत्तरकुमार खत्री आदि बाहेक अरूलाई चिन्दैनथेँ । बारम्बार निमन्त्रणाहरूमा पुग्दा अतिथि दीर्घामा बस्ने १० प्रतिशतलाई चिन्न सफल भएको छु । त्यस्तै दर्शक दीर्घाका साहित्यकारहरू पनि बिस्तारै परिचित हुँदै गएका छन् । उनीहरूलाई चिन्नु भनेको उनीहरूले पनि आफूलाई चिन्नु हो । चिनिनु हो ।

मान्छेको जातको चिनिने लहड पनि कम्ताको हुन्न । कसैले नेताको रूपमा कसैले शिक्षकको रूपमा कसैले उच्च ओहदाको रूपमा त कसैले साहित्यकारको रूपमा चिनाउन अनेकौँ प्रयत्न गरिरहेका हुन्छन् । यो संसार छोड्ने अन्तिम दिनसम्म यौ भागदौड मच्चिरहन्छ । कसैका खुट्टा तानेर हुन्छ कि, कसैलाई उछिनेर हुन्छ कि, कसैलाई लडाएर हुन्छ कि ! जब संसारबाट अस्ताउँछ उसले सोचेको जस्तो परिचय बाँकी रहन पनि सक्छ, नरहन पनि सक्छ ।

आजै ओपेन्द्र दाइले मलाई रुकुम छिटो आऊ भनेर २ चोटि फोन गरिसक्नुभएको छ । जनार्दन दाइले पनि छिटो रुकुम पुग्न फोन गर्नुभयो । यसै गरी अनल र वसन्त शर्माको पनि फोन आएको छ । हिजै मिठ्ठू मल्ल भाउजूले फोन गर्नुभएको थियो । प्रेम बोहरा भान्जा र गिरिप्रसाद बुढाले पनि भोटको लागि फोन गरिरहनुभएको छ । म भने दुविधामा रहेको बताउँछु । तर तिमीलाई म भोट दिन्न भन्न सक्दिनँ । सबैलाई शक्ति चाहिएको छ शासन चाहिएको छ सान चाहिएको छ परिचय चाहिएको छ । त्यसको लागि मेरो भोटको पनि अर्थ छ । तर मेरो व्यथा फरक छ । जुन पदबाट सेवामा प्रवेश गरेको थिएँ त्यही पदबाट सेवा निवृत्त हुन बाध्य भएँ । यसो हुनुमा मैले खुल्ला परीक्षामा उत्तीर्ण हुन नसक्नु एउटा कारण होला तर प्रमुख कारणचाँहि समयमा निजामती सेवा ऐन आउन नसक्नु नै हो । ६४ सालपछि केही वर्षसम्म सबै कर्मचारीहरूलाई निश्चित समय काम गरेकालाई स्वतः बढुवा गरियो । यसले बढुवा हुने माथिल्लो पद साँघुरिन पुग्यो । तर त्यो नियम केही भाग्यमानीहरूलाई लागू भयो र बन्द भयो । त्यसको समाधान संघीय निजामती सेवा ऐन ल्याएर गर्नुपर्थ्यो । तर नयाँ ऐन राजनीतिक दलका नेताहरूकै बार्गेनिङको विषय बन्यो । एउटाले ल्याउन खोज्दा अर्को बाधक बन्यो । गत असारमा आइसकेको ऐन विभिन्न कोचलो झिकी छानबिन आयोगको नाटक गरी तुहाइहाले । राजनीतिक कारणले नै मेरो वृत्ति विकास रोकियो । मेरो पहिचान रोकियो ।

अरू सबैलाई वृत्ति विकास चाहिने । सो वृत्ति विकासको लागि मेरो भोट चाहिने, तर म आफू भने त्यही भोटबाट सधैँ अवसरबाट वञ्चितीकरणमा मात्रै पर्ने हो भने आइन्दा मैले केको लागि कसलाई भोट दिने ?  यो कुरा फोनमा गरेर साध्य पनि छैन र अरूको वृत्तिको बारेमा उनीहरू बुझ्न पनि बुझ्दैनन् ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रम स्थलमा साहित्यकार भागवत खनाल र शशिराम कार्की पनि भेटिनुभयो । हामी हलमा सँगसँगै एउटै लहरमा बस्यौँ । रुकुममा कसले जित्छ भन्ने कुरामा कार्यक्रम हलमै बहस पनि भयो । शशिराम सरले तारामै भोट हाल्नुपर्छ अरू वाहियात हुन् भन्ने कुरा पनि गर्नुभयो । उहाँले केही मान्छेहरूले प्रत्येक चुनावमा मत फेर्छन् भनेर व्यङ्ग्य पनि कस्नुभयो । मैले भनेँ- समय नै परिवर्तनशील छ । भनिन्छ परिवर्तन शब्दबाहेक सबथोक परिवर्तनशील छ । हामीले क्षण क्षण बिताउँदै गर्दा भोगेको क्षण उत्तिखेरै विगत भइसकेको छ । तसर्थ परिवर्तन चाहनु अन्यथा होइन ।

तर शशिराम कार्की सर सहमत हुनुभएन । जनार्दनको विरोधमा पनि बोल्नुभयो । मैले भनेँ रुकुमको हकमा जनार्दन जतिको काम कसैले गरेकै छैन । उहाँले भन्नुभयो उसोभए जनार्दनले तपाईँको पनि बुद्धि भुटिसकेछन् ।

उहाँले भन्नुभयो यसपालि जनार्दनको पार्टीले कतैबाट चुनाव जित्दैन । म सहमत हुँदै सोधेँ ताराले पनि त यसअघिको जित हासिल गर्दैन होला । उहाँले भन्नुभयोः होइन तारा त पहिलो वा दोस्रो पार्टी हुनसक्ने आँकलन छ । मैले भनेँ अल्गोरिदमको बारेमा मलाई भन्दा बढी तपाईँलाई नै थाहा छ । सामाजिक सञ्जालमा हामीले जे कुरालाई क्लिक गर्दछौँ त्यही कुरा नै प्राथमिकतामा पर्दछ । कुनै व्यक्तिको जुन विचार छ त्यस्तै विचारका व्यक्तिहरू नै सामाजिक सञ्जालका फ्रेन्ड्स वा फ्लोवर्स हुन्छन् । तिनीहरूले अर्को पार्टीमा के भइरहेको छ बुझ्नै सक्दैनन् । तसर्थ हरेक पार्टीका कार्यकर्ताहरूले आफ्नै पार्टीको जित मात्र सुनिश्चित देख्छन् । यसको नतिजा त चुनाव नभई भन्न सकिँदैन । उहाँले भन्नुभयो तत्कालीन माओवादीबाट तपाईँले पनि लाभका पदहरू पाउनुभएको होला । यदि जनार्दनतिर लाग्नुभयो त्यो पद कायम नरहन सक्छ र अर्को पद पाउन पनि कठिन पर्न सक्छ । मैले भनेँ मेरो जागिरी अवधिभर र अहिलेसम्म पनि प्रत्यक्ष वा परोक्षरूपमा कुनै पनि लाभका पदहरू कुनै राजनीतिक दलले उपलब्ध गराएको छैन । जगजाहेर नै छ ।

मलाई ताजुब लाग्छः गणित र विज्ञानका धुरन्धर शिक्षक शशिराम कार्की पनि राजनैतिक विचारको हकमा किन यति रूढ छन् ? परिवर्तनको नियम त बढी कार्की सरलाई नै थाहा हुनुपर्ने होइन र ? मसँगको सवाल जवाफमा उहाँले मलाई जनार्दनकै भक्त भएको निर्क्यौल गर्नुभयो जबकि उहाँले आफै विरोधी व्यक्तिको उदाहरणको जनार्दनलाई पेस गर्नुभयो र मैले त्यसैको मात्र खण्डन गरेको हुँ ।

मेरो जीवनभर काम नलाग्ने कुनै पनि व्यक्तिहरू अब जीवन अस्ताउन आँटेको बेला काम आउलान् भन्ने आशा मलाई पटक्कै छैन र यो पटक भोट नै नहाल्ने कुरा बताउँदा पनि शशिराम सर पत्याउन तयार हुनुभएन ।

ढिलै सुरु भएको कार्यक्रम ४ बजेतिर सकियो । कार्यक्रम हल खचाखच भरिएको थियो । केही आमन्त्रितहरू उभिनुपनि पर्‍यो । कलासाहित्य डटकमको कार्यक्रम बाहेक अन्य साहित्यिक कार्यक्रममा उपस्थिति कमै हुन्छ । प्रतिष्ठानका पदाधिकारीहरू प्रत्येकलाई यति जना उपस्थित गराउने भनी जिम्मा दिइँदो रहेछ । अतः आमन्त्रितलाई उपस्थित गराउन बारम्बार फोन गरिन्छ । कसैले आफू असमर्थ भएको बताएमा अर्को व्यक्ति आमन्त्रित गरिन्छ । सिट सङ्ख्याबाहेक बढी पनि आमन्त्रित गरिँदैन । तसर्थ यो कार्यक्रम व्यवस्थित पनि देखिन्छ । अध्यक्ष मोमिला जोशीले व्यवस्थापनको पक्षलाई विशेष रूपमा जोड दिने भएकोले पनि कार्यक्रम भनेजस्तै सफल हुन्छ । कार्यक्रममा दार्जिलिङका मनबहादुरले राष्ट्रिय कलासाहित्य पुरस्कारबाट सम्मानित भए भने श्री ओम श्रेष्ठ रोदन राजेश खनाललगायतका ६ जना व्यक्तिहरू विभिन्न पुरस्कारबाट सम्मानित भए ।

कार्यक्रम सकिएपछि शशिराम सर र मसँग बाहिरिन्छौँ । बसको यात्रामा पनि राजनीतिक बहसले ठाउँ लिने होला भन्ठानी म कम्प्युटर मर्मत गर्नुपरेको बहाना बनाई शशिराम सरसँग छुट्टिन्छु ।

Loading

Post Comment

You May Have Missed