×

२०८२ फागुन २ गते, शनिवार

२०८२ फागुन २ गते, शनिवार

दुवाकोट, भक्तपुर

आज स्वर्गीय परिशीलनको तिथि परेकोले नुवाइधुवाइ गरी बिहानै पशुपति जाने तयारी गर्छु । आजभन्दा ठिक १० वर्षपहिले महाशिवरात्री पर्वको अघिल्लो दिन परिशीलनको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । अरूहरूले महाशिवरात्रि पर्व धुमधाम मनाइरहँदा हामी भने परिशीलनको पार्थिव शरीर लिएर पशुपति आर्यघाटमा पुगेका थियौँ र आफ्नो पृय सन्तानलाई चितामा जलाएर कहिल्यै नओभाउने अश्रुपूरित नजरको उपहार लिएर फर्किएका थियौँ ।

परिशीलनले अघिल्लो दिन मात्र इन्जिनियरको लोकसेवा आयोगको परीक्षा दिइसकेको थियो । १० वर्षपहिले अर्थात् २०७२ साल फागुन २३ गते बिहान ठिमीस्थित सुप्रिम एकेडेमी नामको स्कुलको बसले पुरानो ठिमीको बाटोमा पर्ने राधेराधे भन्ने ठाउँमा परिशीलनलाई ठक्कर दिएर ढलेपछि ब्याकगरी शिर नै ताकेर हानेको थियो । चालक त्यसै दिन फेरिएको रहेछ जसले रक्सी खाएको प्रमाणित भएको मेडिकल रिपोर्ट थियो भने लाइसेन्स नै नलिएको प्रमाणित भएको थियो । चालकलाई थोरै समय मात्र नजरबन्दमा नराखी छुटाइएको थियो । यो कसैको योजनावद्ध दुर्घटनाजस्तो लागे तापनि बिरानो ठाउँमा आफ्नो पृय सन्तान चरामुसासरि मारियो । यो घामजत्तिकै छर्लङ्ग भएको अन्यायमा यतातिरका कसैले साथ दिएनन् । परिशीलनले दिएको लोकसेवाको परीक्षाको रिजल्ट हुँदा परीक्षा दिएजति सबै समूहमा उत्तीर्ण गरेको थियो । उसको सफलताको खुसी अपार दुखमा परिवर्तन भयो ।

परिशीलनकै नाममा इन्जिनियर परिशीलन ओली स्मृति प्रतिष्ठान नामको सामाजिक संस्था विधिवत् दर्ता भएको छ । उसको स्मृति स्वरूप संस्था निर्माण भए पनि अपेक्षित रूपमा कामहरू अगाडि बढाउन सकिएको छैन । ब्लडमनीको रूपमा प्राप्त पैसा जुन मुद्दती खातामा राखिएको थियो अहिले त्यही पैसा र मेरो सञ्चय कोषको पैसाले बुङमतीमा ६ आना जग्गा किनिएको छ । परिशीलनकै नामबाट उसको जन्मजयन्तीको दिनमा सोलाबाङका विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरिँदै आएको छ । यसै गरी ओली वंश अक्षय कोषमा राखिएको रु २ लाखको कोषबाट हरेक वर्ष इन्जिनियरिङ स्नातक तहमा ओलीका छोराछोरीमध्ये सर्वोत्कृष्ट विद्यार्थीलाई रु १० हजारको पुरस्कार र सम्मानपत्र दिइन्छ ।

फागुन महिनाले बियोगका दिनहरूलाई बेसरी झझल्क्याइदिन्छ र मन भारी भइरहन्छ । जसलाई पर्छ उसैलाई थाहा हुन्छ सन्तान वियोगको असीम पीडा । यही पीडाले अघिल्ला केही वर्षदेखि मनाउँदै आएको र आज परेको भ्यालेन्टाइन डेको उपलक्ष्यमा फोटो र फेसबुक पोस्ट राख्ने काम पनि स्थगित गर्नुपरेको छ ।

तिथिको लागि पशुपतिमा जाने तयारी गर्दै गर्दा पण्डित शिवहरि कोइरालाले फोन गरेर घरमै तिथि गर्नको लागि आफू आउने बताएपछि पशुपति जाने कार्यक्रम स्थगित गरेर उहाँलाई नै पर्खन्छौँ । उहाँ आएपश्चात् सिदादानको काम सम्पन्न गर्छौँ ।

दिउँसोतिर जेठान लोकबहादुर खडका र दिदी (उहाँकी पत्नी) आउनुहुन्छ । उहाँले भक्तपुरतिरै जग्गा लिने इच्छा देखाएकोले देवकुमारीसहित पैदलै ब्यासी हुँदै झौखेल पुग्छौँ । झौखेलमा ३ फिटे बाटोमा रहेका २ टुक्रा जग्गाहरू हेर्नुहुन्छ । जग्गाको मूल्य प्रति आना १२ देखि १६ सम्म रहेको बताइन्छ । यति टाढा आएर बाटो नै नभएको जग्गालाई यति महँगो नहाल्न अनुरोध गर्छु । तर जेठानलाई यो ठाउँ मन परेको छ । नजिकै उहाँका घनिष्ठतम मित्र भिम बुढाथोकीको जग्गा छ । दुवाकोट मोडमा मेरो घर छ । उहाँले आफ्नो साथी र जुवाइँको घर यहीँ नजिकै छ भने कसरी यस ठाउँलाई टाढा मानूँ भनेर तर्क गर्नुहुन्छ । पृथ्बीको केन्द्र कहाँ पर्छ भनेझैँ मान्छेको केन्द्र पनि आफन्त नै हुँदा रहेछन् । उहाँलाई यही जग्गा मन परेको छ ।

हामी झौखेलबाट पैदलै दुवाकोटको न्यौपाने गाउँ निस्कन्छौँ । बाटोमा परिवारका कुराहरू हुन्छन् । जेठानले पारिवारिक असन्तुष्टि पोख्नुहुन्छ । हामीले सम्झाउने प्रयत्न गर्छौँ । बेलुका हाम्रो घरमा नपसेर उहाँहरू सानोठिमीस्थित आफ्नो घरतिर लाग्नुहुन्छ ।

घरमा आइपुगेपछि रुकुमबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवारी दिनुभएको गोपाल शर्माले सम्झेको छु भनेर फोन गर्नुहुन्छ ।  प्रलोपाबाट उठेका जनार्दन दाइ विद्यार्थीकालदेखिकै साथी हुनुहुन्छ र केही काम पर्दा सहयोग लिने व्यक्ति पनि हुनुहुन्छ । नाताले उहाँ दाइ पर्नुहुन्छ । रास्वपाबाट उठेका मानबहादुर शाही आफ्ना साख्खै बहिनीजुवाइँ हुनुहुन्छ । नाताको हिसाबले नेपाली काँग्रेसबाट उठेका राजु केसी पनि जुवाइँ नै पर्नुहुन्छ । उज्यालो नेपाल पार्टीबाट उठेका नरेन्द्र केसी देवकोटा पनि सोलाबाङकै चेली बिनाका लोग्ने भएकोले जुवाइँ नै पर्नुहुन्छ । राष्ट्रिय जनमोर्चाबाट समानुपातिकतर्फबाट उम्मेदवारी दिनुभएका गिरिप्रसाद बुढा पनि मेरो घनिष्ठ मित्र हुनुहुन्छ । उहाँसँगको साहित्यिक यात्रा मेरोलागि सबैभन्दा नजिक छ । यसै गरी अन्य पार्टीका उम्मेदवारहरू पनि नाता र वैचारिक हिसाबले पनि टाढाका हुनुहुन्न । म के गरूँ भनेर गोपाल शर्मालाई नै प्रतिप्रश्न गर्छु ।

उहाँले तपाईँ आफै बौद्धिक मान्छे हुनुहुन्छ । तपाईँलाई भनिराख्नै पर्दैन । तर्क र विवेक चाहिने यस्तै बेला हो ।  विवेकको प्रयोग गर्नुहोस् भनेर सुझाव दिनुहुन्छ । गोपाल शर्माजी अत्यन्तै सरल सहज व्यक्ति हुनुका साथै नेतामा हुनुपर्ने गुणहरू पनि थुप्रै छन् । यस्तै कुराहरू भएपछि उहाँसँग बिदा लिन्छु ।

चितवनमा रहेका छोरी अस्मिता र नाति प्रवीर तथा झापामा अर्थोपेडिक्स चिकित्सकको राष्ट्रिय भेलामा गएको परिक्षितसँग भिडियोकलमा सन्चोबिसन्चोको सोधपुछपछि आजको दिन बिट मार्दछु ।

Loading

Post Comment

You May Have Missed