२०८२ फागुन २९ गते शुक्रवार
तुल्सीपुर, दाङ
आज कान्छो छोरा परीक्षितको जन्मदिन । बिहानै उठेर शुभकामना दिएँ । त्यसपछि लमही नगरपालिकाको ओ एण्ड एम सर्भेको निम्ति डाटा कलेक्सन गर्नुपर्ने जिम्मेवारी पाएकोले निराको घरबाट हिँडेँ । तुल्सीपुको वीरेन्द्र चोकमा प्युठानको गाडी लागेको रहेछ त्यसमै चढेँ । तर त्यसले ढिला गरेकोले बुटवल भनेको सुनी अघिल्लो बसमा चढेँ । त्यसले तुल्सीपुरबाट अगाडि बढ्न झनै ढिला गर्यो । कतिवटा बस फेर्नु भनी चुप लागेँ । तुल्सीपुरबाट चलेपछि प्रत्येक बस स्टपमा गाडी रोकिने क्रम बढ्दै गयो । भाडा उठाउने आएपछि थाहा भयो यो बस त घोराहीसम्मको लागि मात्र रहेछ ।
घोराही पुग्न नै डेढ घण्टा लगाइदियो । घोराहीबाट अर्को बसमा चढेँ । लमही पुग्दा ९ बज्यो। लमहीदेखि आधा किलोमिटर दक्षिणतिर कोइलाबास रोडको छेउमा रहेछ नगरपालिकाको कार्यालय । भर्खरै सवा ९ बजेकोले कर्मचारीहरू आइपुगेका थिएनन् । म खुल्ला अफिसमा भित्रतिर अवलोकन गर्दै माथिल्लो तलासम्म पुगेँ । भवनको भव्यता फर्निचरको व्यवस्थापन र भोलिको काम आजै आजको काम अहिल्यै गर्छौँ भन्ने नाराहरूले कार्यालयले सुशासनको अक्षरशः कार्यान्वयन गरेको बुझिन्थ्यो । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई फोन लगाएँ । उहाँ मिटिङमा हुनुहुँदो रहेछ ।
प्रशासन शाखा हेर्ने गायत्री थापा भने बिहानै आइसक्नुभएको रहेछ । आफ्नो प्रयोजन बताएपछि दम्भले ढक्क फुलेर बोल्दै नबोलेर पनि उहाँले सकेसम्मको सान्दर्भिक डाटा दिन सहयोग गर्नुभयो । मलाई बोली चाहिएको थिएन काम चाहिएको थियो । काम भइहालेकोले कर्मचारी बोलून् नबोलून् केही मतलब थिएन ।
यस कामको जिम्मा लगाउने अमर बुढासँग निरन्तर सम्पर्क भइरहेको थियो । काममा सहज होस् भन्ने हेतुले नेबबहादुर ओली भाइलाई पनि फोन गरेँ । कार्यकारी अधिकृतलाई भेटेरै फर्कनुपर्ने भएकोले उहाँलाई कुर्दा कुर्दै १२ बज्यो ।
हाकिमलाई कुरेर बसिरहनुभएका अर्को एकजनासँग सामान्य परिचय भयो । तर उहाँ हुनुहुँदोरहेछ । असामान्य व्यक्तिः रमेशचन्द्र अधिकारी । सीतायण महाकाव्यका काव्यकार । उहाँको भनाइअनुसार संस्कृत विश्व विद्यालयबाट पहिलो विद्यावारिधीवाला र २३ वटा अन्य पुस्तकका लेखक पनि । उहाँले आफ्नो परिचय दिँदा गजक्क फुल्नुभएको थियो । मैले पनि ६ वटा कृतिको लेखक हुँ भनेर उहाँको कदसम्म अग्लिने प्रयास गरेँ र ४ गुणा बढी पुस्तक निकालिसकेकोले सम्मान गर्न लायक मान्छे हुन् भन्ठानी नमस्कार टक्र्याएँ ।
प्रमुख प्रशासकीय अधिकृत आइपुगेपछि हामी दुबैजना भित्र छिर्यौँ । एक एकलाई उहाँले काम सोधिरहनुभएको थियो । तर निकै कम शब्दहरू प्रयोग गरेर । अनुहारले निकै थाकेको बताउँथ्यो । अरूहरूले काम बताएपछि सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न भन्दै पठाउनुभयो । मेरो पालो आएपछि गायत्री म्याडमलाई भेट्नुहोस् भन्नुभयो । मैले गायत्रीलाई भेटिसकेकोले कुरा प्रष्ट नपारी उठ्ने कुरा थिएन । पालो रमेशचन्द्र सरको मा पुग्यो । उहाँले निवेदन दिँदै मलाई दिएजसरी पहिलो विद्यावारिधीवाला र दर्जनौँ पुस्तकका लेखक भनेर आफ्नो परिचय दिनुभयो । मलाई लागेको थियो गेहेन्द्र सरले परिचय सुनेर नम्रतापूर्वक व्यवहार गर्नुहुनेछ । तर उहाँको अनुहार झन अँध्यारियो ।
उहाँलाई निवेदन सच्याउन पठाउनुभयो र तोक लगाउन नगर प्रमुखलकहाँ जानुपर्ने कुरा गर्नुभयो । रमेश सरले भने माथि नजाने भन्दै अड्डी कस्न खोज्नुभयो । कुरा प्रष्ट हुँदै गयो कि रमेश सर नगरपालिकामा आफ्ना किताब बेच्न आउनुभएको रहेछ । दुबैजनाको मुखबाट पटक पटक अठ्ठाइस् भन्ने शब्द प्रकट भइरहेकोले मैले अनुमान गरेँ कि २८ वटा पुस्तकको कुरा हुनुपर्छ कि २८ हजार रकमको कुरा हुनुपर्छ ।
यही मौकामा मैले रमेश सरसँग अनुरोध गरिहालेँ, सर मलाई सीतायण दिनुहोला पुस्तकको पैँसा म तिर्छु । तर उहाँ अन्कनाउनुभयो । तोक लगाउन उठ्दै गर्दा भन्नुभयो यी पुस्तकहरू नगरपालिकाको निम्ति ल्याएको हुँ । मेरो सीतायण पुस्तक पसलहरूमा पाइन्छ । त्यहीँबाट लिनुहोला ।
मलाई ताजुब लाग्यो । एक प्रति मलाई दिएको भए मैले पढ्थेँ र समीक्षा लेखिदिन्थेँ । पढिसकेपछि अरू पाठकहरूलाई पनि बाँडिदिन्थेँ । उनीहरूले पनि पढ्न पाउँथे । तर पुस्तकालयमा थन्किएका पुस्तकहरू पढ्ने जाँगर कसलाई पो चल्छ र ? यहाँ मलाई पुग्दैन भन्नुको अर्थ पक्का पनि संस्थागत मूल्य होला रु १ हजार । मैले संस्थागत मूल्य तिर्न सक्दैनथेँ । यही ठानेर उहाँले मलाई पुस्तक नबेचेको हुनुपर्छ ।
गेहेन्द्र सर न मदेखि नरम हुनुभयो न रमेश सरदेखि । गेहेन्द्र सरको नजरमा रमेश सर र म बराबर । दुबै सेवाग्राही थिएनौँ । रमेश सर मुस्किलले उठ्दै गर्दा मनमनै ठिक्क पर्यो भनेँ ।
मलाई रमेशराज पौडेल सरले डाटा कलेक्सनको जिम्मेवारी दिनुभएको हो । अमर बुढालाई प्रस्ट चिन्दिनँ । उहाँले यही मौकामा इलेक्ट्रोनिक्स सामानहरू आपूर्तिकर्ताको सूची दर्ता पनि मबाटै गराउन खोज्नुभएको रहेछ । यही कारणले मलाई नगरपालिकाका कर्मचारीहरूले काम लिन खोज्ने एक औसत व्यापारी ठानेकोले मप्रति उपेक्षाभाव राखिएको हो भन्ने बुझिसकेको थिएँ । मैले मेरो काम सकेर फर्किनै थाल्दा भाइ शिव ओलीले आफ्नो बाइकमा मलाई लमही बसपार्कमा छोडिदिनुभयो ।
भोलि यही बाटो नै काठमाडौँतिर लाग्नुपर्ने भए तापनि देवकुमारी तुल्सीपुरमा नै बसेकोले म तुल्सीपुरमै फर्किएँ । मलाई ९४ किमिको यात्रा फ्वाँसे खर्च गर्नुपर्यो ।
निराको घरमा ४ बजेतिर पुगेपछि देवकुमारीलाई खाना बनाउन पठाएँ । फ्वाँसे खर्चबाट जोगिन दिनभरि केही खाएको थिइनँ । खाना खाएपछि मन दिदीलाई भेट्न तुल्सीपुरको बेलवातिर लाग्यौँ । बिचमै पूर्व सहकर्मी मनबहादुर केसीको फोन आएकोले दिदीकै घरको नजिक रहेको उहाँको घरमा पुग्यौँ । मनबहादुर केसीकी श्रीमती कविता ओली सिम्रुतु स्कुलकी मेरी चेली पनि हुन् । हामीले केही साथीभाइको बारेमा केही परिवारको बारेमा र केही पछिल्लो राजनीतिक अवस्थाको बारेमा कुरा गरेर मन दिदीकहाँ खाना खायौँ । त्यहाँबाट पैदलै निराको घरमा फर्कियौँ । १० बज्न थालिकसकेकोले तुल्सीपुर बजार सुनसान भइसकेको थियो ।
![]()
Post Comment