×

२०८२ फागुन २० गते बुधवार

२०८२ फागुन २० गते बुधवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहान टिम्मुरका झ्याल्टाहरू सबै आगो लगाइयो । हिजो मात्र काटेकोले बल्दैनन् कि भन्ने डर थियो तर टिम्मुरका काँचा हाङ्गाबिङ्गा पनि ह्वार्ह्वार्ती बले । आज शालिग्राम भाइ घरबाट सिधै पाल्नापाखा जाने कुरा थियो तसर्थ म पनि साँधी देखाउनको लागि पाल्नापाखातिर उक्लिएँ । म पुग्नुपहिल्यै शालिग्राम पुगिसकेछन् । ढालिएको कपुरको रुखलाई उनले बन्चरोले गिँडका टुक्राहरू पार्दै थिए । पहिल्यै गिँडिएर फालिएको साजको गिँड लिएर म घरतिर ओर्लिएँ ।

प्रकाश, होम सम्धी र वीरबहादुर (बाग्दुले) भाइ म घरमा पुग्नेबित्तिकै आइपुगे । प्रकाशले हिजोजस्तै तारामै अडान कायम राख्यो । सम्धीले आँखाको पक्ष लिनुभयो भने वीरबहादुर भाइले भने पुराना पार्टी र व्यक्तिको सट्टा नयाँ पार्टीको वकालत गरे । कुराकानीले बहसकै रूप लियो । त्यसै वेला प्रकाशलाई पालैपालो ओपेन्द्र, भरत शर्मा, प्रकाशकै ससुरा धर्मराज केसी र अन्त्यमा जनार्दन दाइको फोन आयो ।

सम्धी र प्रकाश सेरीगाउँतिर लागे । म घसेटाहरू खेरखार पारी आँगनमा पस्ने गेट बनाउनतिर लागेँ । प्लास्टिकको सुतली र घसेटाहरू जोडजाड पारी कच्ची गेट तयार भयो । काम र घामले अत्यधिक पसिना आएको हुँदा आफ्ना लुगा धोएर नुहाइधुवाइ गरेँ । यसै बेला जेठा जेठानले रोटी खान आउनोस् चुनावको बारेमा पनि छलफल गरौँला भनी फोन गर्नुभयो । देवकुमारी नुहाउँदै थिइन् । उनलाई जेठानले खाना बोलाएको खबर गरेँ । उनी खुसी भइन् । दिनभरको कामको थकानले उनलाई खाना बनाउन अल्छी लागेको थियो होला । अर्को कुरा माइतीघर जाँदा आमालाई भेट्ने अवसर पनि पाउँथिन् । सासूआमा यता आउन गाह्रो हुनेभएकोले आमाछोरीको भेट नभएको २ दिन भइसकेको थियो । तर माइतीघरमा गएर आमालाई भेट्दा पनि दाइहरूले राम्रो नमान्ने भएकोले देवकुमारी आफ्नै आमालाई भेट्न पनि डराउनुपर्ने अवस्था छ । जेठानले आज खलङ्गा पुगेर आएको भन्नुभएकोले खलङ्गातिरको नयाँ खबर सुन्न पाइने आशाले मलाई पनि ससुरालीतिर जाने सकसक लाग्यो ।

देवकुमारीले रोटी खान आउँछौँ भनेर दाइलाई खबर गर्नुहोस् भनेपछि जेठानलाई फोन लगाएँ । जेठानले तपाईँकी दिदी भान्छामा ताल्चा लगाएर कता हिँडिसकिछन् भन्ने जवाफ दिनुभयो । देवकुमारीले भाउजू जता गएको भए पनि राति त आइहाल्नुहुन्छ भन्दै माइतीतिर जान खुट्टा उचालिहालिन् । मैले देवकुमारीलाई पछ्याएँ ।

जेठा जेठानको घरमा पुग्नेबित्तिकै देवकुमारी झोला बिसाएर आमालाई भेट्छु भन्दै आमा बसिरहेको माइला दाइको घरतिर दौडिन् । जेठा जेठानले हकार्दै भन्नुभयोः ‘ए, नानी पख् पख् । कुरा त सुन् पहिले !’ दिदी (जेठानकी पत्नी) कोठाभित्र चिन्तित अवस्थामा हुनुहुन्थ्यो ।

देवकुमारी हच्किइन् । जेठानले देवकुमारीलाई भन्नुभयोः ‘अगाडि आमाले तेरी भाउजूलाई धकेल्दै यो घरबाट छिटो निस्की, यो घर तेरो होइन, यो घरमा तेरो हक लाग्दैन !’ भनेर बेसरी गाली गर्नुभयो । तेरी भाउजू रुँदै बजारतिर निस्किहाली । मैले बल्लतल्ल खोजेर फकाएर ल्याएँ । तसर्थ अहिले आमालाई भेट्ने काम गरिस् भने फेरि रडाको मच्चिनेछ ।’

देवकुमारी मुख बिगार्दै फर्किइन् र भाउजूसँग कुरा गर्न थालिन् । नन्दभाउजूको पनि सोही विषयमा कुरा भयो । चुनावको बारेमा छलफल गरौँला भनेर हामीलाई बोलाएको भए पनि जेठान नैराश्यतामा डुबिरहनुभयो । सासूआमाको बुढ्याइँले गर्दा स्मृति ह्रास हुँदै गएको छ । अल्जाइमरले पनि छोइसकेको हुनुपर्छ । विभिन्न पारिवारिक तनावले पनि होला । झन् झन् बुढिँदै आफ्नै सन्तानसँग बिनसित्ति जाँदा झन् झन् निहुँ खोज्दै जानुभएको छ । यसले उहाँकै गासबासमा झन् झन् समस्या बढ्दै गएको छ ।

प्रसङ्ग बदल्ने हिसाबले मैले नै भनेँ, ‘खलङ्गातिर जान्छु भन्नुभएको थियो खलङ्गाको हालखबर के के छ । भोट कता हाल्ने हो ।

‘प्रकाश जुवाइँले फेरि अत्यधिक रक्सी पिउन थाल्नुभएछ । माइला भाइले त तारालाई हाल्ने लक्षण छ केरे । म त अर्कै विकल्प सोचेको छु ।’ जेठानले मेरो कुरालाई टुङ्ग्याउन खोज्नुभयो ।

प्रकाशले फेरि रक्सी खान थालेको खबरले म चिन्तित भएँ । परिवारबाट टाढा रहनेबित्तिकै उसले फेरि पिउन थालेछ । अरूले भनेको उसले मान्दैन, बुहारी राधालाई खबर गरिदिन्छु भन्ने लागेर राधालाई फोन लगाएँ । उनको फोन उठ्दै उठेन र कलब्याक पनि आएन ।

भोलि बिहानै सँगै भोट हाल्ने सल्लाह गरेर जेठानको घरमा रोटी खाएपछि देवकुमारी र म घर फर्कियौँ । बाटोमा देवकुमारीले गुनासो पोख्दै गइन्, ‘काठमाडौँबाट असक्त आमालाई भेट्ने मुख्य उद्देश्य लिएर यहाँ आइयो । आमालाई राम्रोसँग बसोबासको व्यवस्थापन गर्ने सपना थियो । तर अहिले आमा माइलादाइको घरमा हुनुहुन्छ । म केही बोलूँ भने दाइले मलाई जवाफ लाउन बेर लाउनुहुन्न । साइँलो भाइ डम्बरले आमा राम्रोसँग माइलादाइको घरमा बसेकी छिन् अहिले यताउता नपारौँ भन्यो । माइला दाइका सबै परिवार माथिल्लो तलामा गफगाफ गरेर बसेको हुन्छ तर आमा भने तल्लो तलामा एक्लै बस्नुहुन्छ । हिजो कान्छा भाइको घरमा जाँदा कान्छी बुहारीले काम भए ढोका खोलिदिन्छु भनिन् । देवी रिस उठाइरहन्छे । एउटा कुरा गर्‍यो अर्को कुराले छेडछाड गर्छे । निरा दाङमा छे चिन्ता त लिन्छे तर उसलाई मात्र कति दुक्ख दिने । आमा नभइदिएको भए म त रुकुम पनि आउने थिइनँ ।’ भन्दै देवकुमारीले आँसु पुछिन् ।

मैले, ‘सबैको घरमा यस्तै हो । नयाँ सन्तान आउँदै गर्दा पुरानो पिँढीले निकासको बाटो खोज्नुपर्छ’ भन्दै देवकुमारीलाई सम्झाएँ ।

घरमा पुगेपछि हेटौँडा अस्मिताको घरमा फोन लगाएर सम्धिनीसँग कुरा भयो । प्रवीर नाति आज भाइ नक्षत्रसँगै भाइको मावली गएका रहेछन् । जुवाइँ प्रवीण र सम्धी बद्री पाठक मतदान अधिकृतको जिम्मेवारी लिई मतदानकेन्द्रमा बास बस्न गइसक्नुभएको रहेछ । परिक्षितले खाना खाएर सुतिसकेर होला फोन उठाएन । देवकुमारीले आफ्नी भदैनी छोरी समीक्षासँग गुनासो पोख्दै लामो पारिवारिक कुरा गरिन् ।

Loading

Post Comment

You May Have Missed