×

२०८२ फागुन १७ गते आइतवार

२०८२ फागुन १७ गते आइतवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहान बारीमा केही फूलका बेर्नाहरू थपेपछि बेसारका गानाहरूको चाना काट्न थालेँ । देवकुमारी भने आमालाई नुहाइदिने काम जनाउँदै माइतीतिर हिँडिन् । बेसार काटेर सुकाइसकेपछि बारीमा फलेको कफीको गेडाहरू टिपेर सुकाइदिएँ ।

हिजै भरतकुमार शर्माले भोलि सोलाबाङ झर्ने र प्रलोपाको प्रचारप्रसार गर्नुपर्ने भएकोले आफूलाई साथ दिनुपर्ने बताउनुभयो । मैले भोलि नै भेटौँला भनेको थिएँ । यसपालिको चुनावमा सकभर सबै दलबाट स्वतन्त्र रहने मेरो प्रणले फेल खान्छ कि भन्ने डर लागिरहेको थियो । आफ्नो मत दिने कुरा आफ्नो ठाउँमा छँदै छ तर कसैको पनि प्रचारप्रसारमा लाग्दैन भनेर स्पष्ट पार्नुपर्ला भन्ने सोचिरहेको थिएँ । तर १० बजे नै झर्ने भनेका भरत सरले २ बज्न थाल्दा पनि कुनै खबर गर्नुभएन ।

जग्गाको मालपोत नतिरेको २ वर्ष भइसकेको थियो । यसपालि रुकुम आएको मौकामा जग्गाको मालपोत तिर्ने पनि प्रमुख उद्देश्य थियो । जग्गाको मालपोत नतिरेको २ वर्ष भइसकेकोले मालपतोको जरिवाना बढिरहेको थियो । मालपोत तिर्नको लागि लालपूर्जा पुराना रसिदहरू र नागरिकता आवश्यक पर्ने भनेर ४ नं वडा कार्यालयकी वडा सचिव तथा बहिनी अनिता ओलीले बिहानै खबर गरेकी थिइन् ।

लालपूर्जा र पुराना मालपोत रसिदहरू प्रिन्टको लागि साला डम्बर खड्काको घरमा पुगेँ । प्रिन्टरमा टोनर सकिएको रहेछ । कागज मात्र चौपट पार्‍यो तर शिर भाग मात्र प्रिन्ट हुने बाँकी मसी लतपतिएर आयो ।

यसै क्रममा चन्द्रालाई त्रिवेणीतिरको चुनावी माहोलको बारेमा सोधेँ । बहिनी चन्द्रा ओली त्रिवेणी स्थित सिम्रुतु क्याम्पसकी पूर्व क्याम्पस प्रमुख पनि हुन् र तत्कालीन माओवादी संगठनमा झुकाव भएकी नारी पात्र हुन् ।

उनले स्पष्ट नभने तापनि त्रिवेणीमा २ वडा अध्यक्षबाहेक सबै तारातिरै लागेको बताइन् । अफिस बन्द हुने समय हुन थालेकोले म चाँपास्थित ४ नं वडा कार्यालयतिर लाग्न एउटा अटोमा चढेँ । अटोका चालक हिजो दयालेक जानको लागि छिबाङ दोपाईसम्म अटो बुक गरेका व्यक्ति परेछन् । उनले मलाई सोधिहालेः ‘हिजो छिबाङ दोपाई जानुभयो त सर । दोपाईबाट कहाँ जान खोज्नुभएको थियो ।’

मैले भनेँ, ‘त्यहाँबाट टोड्के लेक नजिक पर्ने भएकोले दोपाईसम्म अटोमा जान खोजेका थियौँ । टोड्केबाट दयालेक जाने हाम्रो कार्यक्रम थियो । तर साथीहरूले हिजो बिहानैदेखि अत्यधिक तुवाँलो लागेको र तुवाँलोमा वारिपारिको दृश्य राम्रोसँग देख्न नपाइनेभएकोले कार्यक्रम स्थगित भएको थियो ।’

उनले थप जिज्ञासा राखे, ‘सर त रुकुमका सबै लेक चढिसक्नुभएको होला होइन सर ?’

मैले भनेँ, ‘रुकुम पूर्वका धेरै लेकहरू चढ्न बाँकी छन् । सिस्नेदेखिको धौलागिरी हिम शृङ्खला तर्ने बुता पनि छैनन् । तर रुकुम पश्चिमको हकमा भने दयालेक चढेँ भने सम्भवतः सबै लेकको आरोहण सम्पन्न हुनेथियो ।’

मेरो कुरा सुनिरहेकी अटोमा बसेकी एकजना महिला यात्रुले सोधिन्, ‘सर, हजुरले पहिले कोलेनिकामा काम गर्नुहुन्थ्यो हैन ?’

‘हो । तर म गत असोजदेखि सेवा निवृत्त भइसकेँ । कसरी चिन्नुभयो म्याडम् । मैले त तपाईँलाई कहिल्यै देखेजस्तो लाग्दैन ।’

‘हो सर । रुकुमका सबै लेक चढ्ने पूर्ण ओलीबाहेक अरू हुन सक्दैन भनेर लख काटेँ । मैले पनि हजुरलाई प्रत्यक्ष कहिल्यै देखेकी थिइनँ । विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुने हजुरका लेखहरू म पढिरहन्छु । फेसबुक पोस्टमा हजुरको फोटो पनि देखेकी थिएँ ।’

‘तपाईँको नाम के हो त ? निजामती कर्मचारीको ड्रेसमा हुनुहुन्छ । कहाँ काम गर्नुहुन्छ ?’ म आश्चर्यचकित भएर ती महिलालाई सोध्छु ।

‘म मुसीकोट नगरपालिकाकै ४ नं वडा कार्यालयको जन स्वास्थ्य शाखामा काम गर्छु । मेरो नाम सुमित्रा रोकाय हो । आज सोलाबाङमा खोप कार्यक्रम सकेर अफिस फर्कँदै छु । सरले मलाई चिन्नको लागि मेरो श्रीमानको नाम बताए पुग्छ । म लेखापाल नरसिँह बुढामगरकी श्रीमती हुँ सर ।’

लेखापाल नरसिँह भन्नेबित्तिकै उनको सबै पृष्ठभूमि स्मरण भयो । मैले चुनावी माहौलको बारेमा जिज्ञासा राखिहालेँ । तर उनले प्रष्ट भन्न सकिनन् ।

मैले भनेँ, ‘तपाईँ त जनयुद्धकी मुक्ति योद्धा पनि हुनुहुन्छ भन्ने सुनेको थिएँ । तपाईँ युद्धमा होमिनुको उद्देश्य, पछिल्लो समयको परिस्थिति र यो चुनावलाई कसरी हेर्नुभएको छ । के जनयुद्धको उद्देश्य पूरा भएको जस्तो लाग्छ ?’

उनले प्रत्यक्ष रूपमा देखिने परिवर्तन नभए पनि भावनात्मक र जनताको चेतनामा आमूल परिवर्तन आएको बताइन् । मान्छेमा लोभ स्वाभाविक रूपमा हुन्छ । केही व्यक्तिमा स्वार्थप्रेरित हुने भएकोले सिँगो पार्टीलाई हानि भइरहेको बताइन् ।

मैले भनेँ, ‘व्यक्तिमा मात्र यस्तो प्रवृत्ति भए त हो । यहाँ त मुख्य मुख्य नेताहरूमै स्वार्थ र लोभ प्रष्ट रूपमा देखियो त ?’ भनी राखेको संशयमा उनी बोल्न चाहिनन् ।

चाँफास्थित वडा कार्यालय पुगेपछि अटो रोकेर म झर्न थालेँ उनी भने आजको काज सम्पन्न भएकोले सेरीगाउँ डेरामा फर्किने जनाइन् । अनि मलाई थप प्रस्ताव राखिन्, ‘सर, हजुरको लेखन शैली मलाई मन पर्छ । मसँग युद्ध लड्दाका अनेकौँ अनुभूतिहरू छन् । तिनीहरूलाई लेखेर शेयर गरौँ भन्ने लाग्छ तर लेख्न सकेकी छैन । म सम्झेजतिका अनुभूतिहरू सुनाउँला । हजुरले लेख्न सहयोग गरिदिनुहोला ।’

‘अवश्य सहयोग गरौँला म्याडम् । पहिले तपाईँले समय मिलाउनुहोस् र सबै कुरा सम्झँदै जानुहोस् । म फुर्सदमै छु ।’ भन्दै म वडा कार्यालयतिर लागेँ उनी चढेको अटो सेरीगाउँतिर लाग्यो ।

वडा कार्यालयमा पुग्नेबित्तिकै मेरा गुरु डिल्लीबहादुर मल्लसँग भेट भयो । उहाँले आफूलाई लगाएको गुणबारे स्मरण गराएँ । उहाँ खुसी हुनुभयो । मैले तिरो तिर्न आएको बताएपछि उहाँले सचिव त निस्किसक्नुभयो भन्नुभयो । मैले आज तिरो तिर्न आउँदै छु भनेर सचिव अनितालाई बिहानै भनेको थिएँ । ५ नबज्दै किन निस्कइहोलिन् त भन्ने शङ्का गर्दै थिएँ । अनिता आइपुगिहालिन् ।

मेरो लालपूर्जाहरू र रसिदको आधारमा उनले अनलाइन फर्म भर्दै गइन् । पहिलोचोटि भएकोले फर्म भर्न नै समय लाग्दोरहेछ । करिब आधा घण्टाभन्दा बढी नै समय लाग्नेभयो । फर्म इन्ट्री गर्दा उनको मोबाइल सिपियुमा अड्याएकी थिइन् । त्यहाँ एक पुरुषको फोटो देखियो । मैले ठानेँ आफ्ना श्रीमानको फोटो वालपेपरमा राखेकी होलिन् । तर त्यो फोटो चल्न थाल्यो । दोहोरो संवाद थिएन । तर घरी घरी अनिताले ती पुरुषलाई एक आँखाले झुलुक्क हेर्थिन् र अर्को आँखा भने कम्प्युटरमा फर्म भर्न व्यस्त देखिन्थ्यो ।

मलाई सोधूँ कि नसोधूँ भन्ने अप्ठ्यारो भइरह्यो । बाध्य भएर सोधेँ, ‘अनिता, जुवाइँ कहाँ हुनुहुन्छ ?’

उनले निर्धक्क भनिन्, ‘युएसमा हुनुहुन्छ । युएस गएको ३ वर्षजति भयो ।’

‘ए हो र ? मलाई त थाहै थिएन ।’ म अलमलिएँ ।

‘कुरा गर्ने भए गर्नुस् न दाइ । जुवाइँ त अनलाइनमै हुनुहुन्छ ।’ भनेर मलाई मोबाइल दिइन् ।

जुवाइँले मलाई नमस्कार गरे । मैले अनितालाई सोधेकै कुराहरू उनलाई पनि सोधेँ । उनका बुवा खड्कबहादुर रावल निकट साथी भएको र अहिले पनि उत्तिकै निकट रहेको बताएँ । उनले निद लागेसरी घरी घरी आँखा चिम्लिरहन्थे ।

‘त्यहाँ मध्यरात होला । निद्रा लागेको होला जुवाइँ आरामसँग सुत्नुहोस् !’ भनेर मोबाइल अनितालाई दिएँ । अनिताले उसैगरी आफूतिर फर्काएर मोबाइल ठड्याइरहिन् । जुवाइँले अनितालाई हेरिरहे । न त अनिताले लाइन कट गरिन् न जुवाइँले ।

अनितासँग जुवाइँ मानबहादुर शाहीको चुनावी तयारीको बारेमा कुराकानी भयो । अनिताले भिनाजुलाई सहयोग गर्नुहोला दाइ भनेर अनुरोध गरिन् । मैले सबै परिवारले सहयोग गर्नुपर्छ तसर्थ जेठा भिनाजु डिल्ली डाँगीलाई पनि अनुरोध गर्नू भनेँ ।

अनिताले रसिद प्रिन्ट गरेर दिइन् । मैले रसिदको तिरो तिरेँ । ९० रुपैयाँ पनि नलाग्ने तिरो एकीकृत सम्पत्ति कर प्रणाली लागू भएपछि ९०० तिर्नुपर्‍यो । अनिताको मोबाइलमा जुवाइँ उस्तै गरी हेरिरहेका थिए । भिडियो कलको लाइन अझै कटेको थिएन ।

वडा कार्यालयबाट पैदल फर्कने विचार गरेँ । भरत सरको फोन नआएकोले अनौठो मान्दै आफै फोन गरेँ । उहाँले मलाई सम्पर्क गर्न खोजेको तर सम्पर्क हुन नसकेको बताउनुभयो । उहाँहरू अझै सोलाबाङमै हुनुहुँदोरहेछ । उहाँले प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । मैले प्रलोपाको प्रचारसामग्री र घोषणापत्रको बारेमा जिज्ञासा राखेँ ।

उहाँले अस्ति नै मलाई ह्वाट्सएप गरिसकेको बताउनुभयो । मैले ह्वाट्सएप हेरेकै रहेनछु । झटपट खोलेर हेरेँ । जनार्दनको फोटोसहित लेखिएको थियोः

‘उज्यालो रुकुम हुँदै उज्यालो नेपाल बनाउन गरेको योगदानका लागि जनसमुदायको आवश्यकता अनुसार सडकसञ्जाल खानेपानी, विद्यालय, स्वास्थ्य एवं सरकारी भवनमा भएको प्रगति सम्झेर, चाहे कोरोनाको महामारीको बेला होस् वा भूकम्पबाट भएको जनधनको क्षतिको अवस्था, दुर्घटनाका बेला उद्धारमा होस् वा बिरामी पर्दा सहजीकरण गरेर सहयोग गर्दा हरदम तपाईंको सेवामा रहेको स्मरण गर्दै अधुरा अपूरा योजनाहरु पूरा गर्दै आजको आवश्यकता अनुसार पूर्वाधारको स्तरोन्नति गर्न, विकासको स्पष्ट परिभाषा रुकुममा विद्यमान २३.८८ प्रतिशतको गरिबी, बेरोजगारको मनन गर्दै राज्य भ्रष्टाचार, दलितहरु माथि भइरहेको जातीय विभेद र महिला हिंसा एवं विभेदहरू विरुद्ध लड्दै, घाइते योद्धाहरूको सम्मान र सहिदका सपनाहरूलाई साकार गर्ने प्रतिबद्धता पूरा गर्न, स्वास्थ्य, शिक्षा, रोजगार जस्ता जनताका समस्याहरू समाधानका लागि उपलब्ध साधन स्रोत र प्रविधिको प्रयोग सहित समाधान गर्न, समृद्ध र समतामूलक रुकुम निर्माणका लागि नीति योजना र कार्यान्वयनमा जनता र समुदायको भूमिका सुनिश्चित गर्न, विगतझैं जनताको सुख दुःखको साथी बनेर राष्ट्रको संकट समाधानमा योगदान गर्ने पुनः अवसर दिनका लागि खुलेको एकल आँखा चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’

मैले मोबाइल स्विचअफ गरेर सालीबिसौनाको बाटो समातेँ । पाल्नापाखा पुगेपछि आफ्नो नामको अर्कैले कमाइरहेको बाँझो जग्गा हेर्न मन लाग्यो । पोहोर साल मेरै जग्गाको वरपर खारेर देशारुले ट्वाइलेट बनाएका थिए । अहिले त्योभन्दा वरैसम्म पाटो समेत तयार गरी गहुँ पनि लगाएछन् । मेरै जग्गाभित्र हुनुपर्छ दाउरा राख्ने गोठसमेत थपिसकेछन् । पोहोर साल नै सचेत गराएको थिएँ मेरो जग्गा मिचिएजस्तो छ । अर्काको जग्गा मिच्नु पाप हो । यस्तो नगर्नुहोला । देशारुका छोराले भनेका थिएः नापी ल्याएर नपाए भइहाल्यो नि । तत्पश्चात् नापीमा सोध्न जाँदा नापी खर्च १० हजार लाग्ने बुझेपछि यत्तिकै स्थगित भएको थियो । अहिले झनै उनको साँधी वर सरिसकेछ । आफू दुईचार दिन बसेर फर्कनुपर्ने होला। अर्को पटक आउँदा कति जग्गा मिचिने हो अझै । फेरि भन्नुपर्‍यो भनेर घरमा पुगेर बोलाएँ । कोही पनि बोलेनन् । म यत्तिकै तल झरेँ ।

बाटोमा नै ठुली माइजूको घर पर्छ । एक मात्र छोरा दीपकको गत कात्तिकमा असामयिक निधन भएपछि माइजूमा पीडाको आलो घाउ छ । भेट गर्न उपयुक्त ठानी उहाँको घरमा पुग्छु । माइजू र दीपकको छोरासँग भेट हुन्छ । पहिलेजस्तो धेरै कुरा हुँदैन । मौन पीडा साटफेर गरेर भाइ मोहनको घरमा जान्छु । मोहनको कपाल उनकी श्रीमतीले खौरिरहेकी छिन् । किन कपाल खौरिएको भन्दा भोलि श्राद्धे छ भन्छन्। कसको भनी सोध्दा वर्तमान राजनीतिको भनेर कटाक्ष गर्छन् मोहन ।

कसलाई भोट हाल्छौ त भाइ भनी सोध्दा कसैलाई नदिने भन्छन् । तर उनकी श्रीमतीले हामी त तारालाई भोट हाल्ने हो भनेर स्पष्ट बताउँछिन् । म केही प्रतिक्रिया जनाउँदैन । मोहनले नै भन्छन्, ‘ताराका समानुपातिक उम्मेदवार झक्कुप्रसाद मेरी बुढीका मामा हुन् त अन्त कता भोट हाल्ने ?’

बेलुका जेठी जेठान्नी दिदीको स्वास्थ्य अवस्था बुझ्न जेठानको घरमा पुग्छौँ। आज दिदीलाई लिएर स्वास्थ्य जाँच गराउन सल्ले अस्पत्ताल पुगेको बताउनुभएको थियो जेठानले । रिपोर्टहरू सामान्य नै आएको बताउनुभयो । आमालाई व्यवस्थित रूपमा छुट्टै कोठामा राखिदिन सबै भाइपट्टि लाग्न सुझाव दिन्छिन् देवकुमारी । देवीले खान बोलाएकीले त्यताबाट उनको घरमा पुग्छौँ । दुई बहिनीले आमाको चेत हराउँदै गएकोले छोराछोरीलाई बिनसित्ति हप्काउने, कुरा काट्ने र नराम्रा गालीहरू समेत गर्ने गरेको कुराहरू गर्छिन् ।

त्यताबाट घर फर्कन्छौँ । अन्तर्राष्ट्रिय समाचारमा इजरायल र अमेरिकाको बमबारीबाट इरानका प्रमुख नेता आयोतोल्ला खामेनीको सपरिवार मारिएको खबर छ । यसै गरी अरबमा १ जना नेपाली पनि मारिएको खबरले मन चरक्क चिर्दछ ।

Loading

Post Comment

You May Have Missed