×

२०८२ फागुन १६ गते शनिवार

२०८२ फागुन १६ गते शनिवार

सोलाबाङ, रुकुम पश्चिम

मनलाल ओली र खगेश्वर भण्डारी सरहरूसँग आज चौरजहारी, मुसीकोट र त्रिवेणी पालिकाहरूको सीमानामा रहेको दयालेकमा जाने कार्यक्रम बनेको थियो । तर घरमा तोरी सँगाल्ने काम बाँकी नै रहेकोले काम सकिएपछि मात्र घुम्ने भनेर गृहमन्त्रीको निर्देशन आएपछि घुम्ने योजना रद्द गर्नुपर्‍यो ।

बिहान घरको सरसफाइपछि गोलभेडा किन्न वनडेरातिर लागेँ । बाटोमै कमला बुढा बहिनीको घर भएकोले बहिनीसँग भेट भयो । उहाँहरू निर्मल पुन भञ्ज्याङलगायत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माको चुनावी प्रचारमा निस्कन थालेकी रहिछन् । म आइपुगेको विषयमा कुरा भएपछि बहिनी आफैले भन्न थालिन्: ‘तारालाई जसरी पनि जिताउनको लागि लागिपरेका छौँ । जित पनि सुनिश्चित छ । पार्टीले महिला तथा आदिवासीको विशेषाधिकार प्रदान गरेको छ तर व्यवहारमा त्यो हुन सकेन । तैपनि ती विशेषाधिकारहरू र समानता एवम् समाजवादको निम्ति नेपाली कम्युनिष्ट पार्टीलाई नै जिताउनुपर्छ । गोपाल शर्माले जित्नुभएन भने काँग्रेस वा स्वतन्त्र पार्टीले नै जितोस् । आँखाले कदापि नजितोस् । अहिलेका प्रतिक्रियावादीका मुख्य प्रतिनिधि जनार्दन नै हुन् । उनले हार्नैपर्छ ।’

बहिनी भाषण गरेझैँ हाउभाउसहित ठुलो स्वरमा बगिरहिन् । मासमा बोल्दा बोल्दा उनको वाकपटुता पनि माझिँदै गएको छ । तर्क गर्नसक्ने क्षमता पनि छ । तर सुन्नेले सुनिरहनुपर्छ । मसँग समय नभएको हुँदा उनको धाराप्रवाहलाई रोक्दै सोधेँ, ‘प्रचारप्रसारमा दिनहुँ हिँडिरहनुभएको होला । गाउँमा के भन्छन् ? माहौल कस्तो छ ?’

कमलाले भनिन्: ‘प्रचारप्रसार पहिलेको जस्तो सजिलो छैन, दाइ । मान्छेहरू दलको नाम सुन्नै चाहँदैनन् । आफूलाई सम्झाउन खोज्दा उल्टै आफैलाई सम्झाएर पठाइदिन्छन् । घण्टीको प्रचार उति नदेखिए पनि यसपालि पुरानालाई होइन घण्टीलाई नै भोट जान्छ भन्छन् । हामी प्रचारमा गएकाहरूले पनि सकभर तारामै भोट हाल्नुहोस् नत्र घण्टीमै भोट हाल्नोस् भन्छौँ ।’

देवकुमारीको ताकेता आइसकेको हुँदा म कमला बहिनीलाई शुभकामना दिँदै बिदा हुन्छु । घरघरमै गोलभेडा खेती गर्ने सोलाबाङका किसानले यसपालि गोलभेडा खेती गरेकै रहेनछन् । बारीका बारी आलुखेती देखिन्छ । टेकबहादुर पुनको घरमा मात्र गोलभेडा खेती गरिएको तर उनी हिजो भिरबाट लडेर घाइते भएकोले घरका दुबैजना अस्पत्तालमा छन्, घरमा कोही छैनन् भन्ने कुरा बाटोमा भेटिएका गाउँलेहरू बताउँछन् । म घरतिर फर्कन थाल्दा धर्मराज पुनकी श्रीमती (मिलवालेकी कान्छी) सँग भेट हुन्छ । उहाँहरूसँग भेट नभएको वर्षौँ भइसकेको थियो । पहिले आमा र मिलवाली कान्छी जता गए पनि सँगै जानुहुन्थ्यो । कहिले त बेलुका खाना पनि एकै ठाउँमा हुन्थ्यो । आमाकी निकट साथी भएकीले मेरो संवेदना यो परिवारसँग जोडिएको छ । म माइजू सम्बोधनले बोलाउँछु । पहिलेदेखि अहिलेसम्मका लामो कुरापश्चात् मैले गोलभेडा किन्न आएको तर कतै नपाएकोले फर्कन थालेको बताउँछु । माइजू भन्नुहुन्छः टेकबहादुर पुनको सालाको घर सँगै छ । टेकबहादुर नभए पनि सालाले गोलभेडा दिनसक्छन् ।

फेरि फर्किएर टेकबहादुरको घर नजिकै उनका सालाको घरमा जान्छु । उनले २ किलो गोलभेडा टिपेर दिएपछि घरमा फर्कन्छु ।

घरमा सासूआमा आउनुहुन्छ । उमेरले ८० वर्षकी । थाइराइडको समस्याले खुट्टाहरू सुन्निएकोले हिड्डुल गर्न गाह्रो छ उहाँलाई । तैपनि सकी नसकी छोरीको घरमा आइपुग्नुभएको छ । उहाँसँग स्वास्थ्य र पारिवारिक विषयमा कुरा हुन्छन् । उहाँका ७ जना सन्तानहरू छन् । सबै सन्तानलाई दुखजिलो गरी हुर्काई बढाई लेखाई पढाई गरिदिएकोले देवकुमारीबाहेक सबै जागिरे छन् र सम्पन्न छन् । गाउँमा अग्र स्थानको शिक्षित परिवारमध्ये पर्दछन् । तर आमा भने दिनैपिच्छे पालो गरेर एकपछि अर्को सन्तानको घरमा धाउनुपर्ने बाध्यता छ ।

खाना खाएपछि देवकुमारीले तोरी सँगाल्न थाल्छिन् म भने करेसाबारीको बेसार खन्न थाल्छु । लगभग एक पाथी बेसारका गाना पनि पाइन्छन् । करेसामा पनि गोडमेलको काम हुन्छ । त्यसपछि आँगनमा छरिएको गिट्टीको व्यवस्थापन गर्छु । सङ्कलन गरिएको तोरीको जरा काटेर सुकाउँछु । बेलुकातिर देवकुमारीले घरमा खाना पकाउनुभन्दा दाइको घरमा गएर खाना खाएर आऊँ भन्ने प्रस्ताव राख्छिन् । जेठा जेठानले पनि खाना खान आऊ भनेर बोलाइरहनुभएकोले हामी उहाँको घरमा जान्छौँ । गहुँका नरम रोटीसँग घिउ र आलुसागको तरकारीले पेट भरेर घरमा फर्कन्छौँ ।

बेलुका सुमिता ओली बहिनीको फोन आउँछ । सुमिताका श्रीमान् मानबहादुर शाहीले यस जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी दिनुभएको छ । घण्टीको प्रचार कमै भए पनि चर्चामा भने यो जिल्ला पनि अगाडि नै छ । सुमिता भन्छिन् खै निकटतम् परिवारका व्यक्तिहरू पनि अन्य दलको प्रचारमा हुनुहुन्छ । डिल्ली डाँगी भिनाजु काँग्रेसको प्रचारमा लाग्नुभएको छ । आफ्नै साढुभाइको प्रचारप्रसार गरिदिनुस् भन्छु तर प्रत्यक्ष रूपमा काँग्रेसकै प्रचार गर्नुपर्ने बाध्यता भए पनि अप्रत्यक्ष रूपमा साढुभाइलाई नै सहयोग गरिरहेको छु भन्नुहुन्छ । प्रत्यक्ष रूपमा अन्तै लागेपछि अप्रत्यक्ष सहयोग कस्तो हुने हो केही बुझ्न सकेकी छैन दाइ ।

म भन्छुः मानबहादुर जुवाइँको जितको सम्भावना छ । देशभरि नै स्वतन्त्रपार्टीको माहौल राम्रो भएकोले यस जिल्लामा पनि प्रभाव परेकै छ । जितको लागि शुभकामना छ । भन्दै सुमिता बहिनीसँग बिदा हुन्छु ।

यसै बेला हर्कसिँह केसी भाइको मेसेन्जरमा मेसेज आउँछ र दुईतर्फी संवाद चल्छः

हर्कः माथिबाट चुनाबमा आउनु पर्‍यो भन्छन ! हजुरहरु आउनुहुन्छ कि क्यार्नुहुन्छ सर ?

मः आउन त रुकुम आइपुगेँ भाइ । के गर्ने कसो गर्ने भनेर म त बकटक्क पो परेको छु ।

हर्कः सिधै तारालाई भोट हालेर जिताउने । अरुलाई पनि हाल्न लगाउने। हाम्रो मन परेको या नतागोता भए भनेर स्वार्थ, अधैर्य, असहिष्णु ,बिग्रह, प्रतिशोध, इतिहासको अवमूल्यन गर्ने प्रवृतिलाई बोक्न सकिँदैन । जिताउनुहुँदैन । एकपटक चेत आउने गरी हराउनु जरुरी छ । उनले हार्ने त हार्छन् नै तर उनको मोह मान्दा काङ्ग्रेसले जित्ने खतरा चाहिँ बलियो छ । त्यसैले पनि भोट तारामा हाल्नै पर्छ । आफू मात्र हैन अरुलाई पनि यी कारण स्पस्ट पार्न जरुरी छ सर !

मः हर्कलाई पढाएका गुरु ओपेन्द्रले यो तर्क सुने भने नराम्रो मान्लान् नि । ओपेन्द्र दाइले त हर्कले मेरो फोनै उठाउँदैन । हर्क आनन्द आदिलाई जसरी पनि कन्भिन्स गर् भनेर मलाई फोन गरेका गरेई छन् ओपेन्द्र दाइले ।

हर्कः मैले सुरुमै भन्देको ओपेन्द्र सरलाई, म टुटफुट र विखण्डनको सख्त विरोधी हुँ सर भनेर । म सिधै भन्न सक्छु गलतलाई गलत हो भनेर ।

मः हुन त हो भाइ । जनार्दन निस्कनु वा निकास्नु दुबै निर्णय गलत हो ।

हर्कः बरु अझै हाम्रो नेता फिर्ता आएको देख्न मन छ । बुद्धी छ भने फर्किनुस् । नत्र बेकारमा भोट काटेर गोपाल शर्मा अनललाई नहराउनुस् । अनलले तपाईँका लागि धेरै कुर्वानी गरेका छन् । सहिद, घाइते, अपाङ्ग, बेपत्ता परिवारले तपाईँको आदर्श हेरेर आफ्नो जीवन बलिदान गरे तर आज तपाईँले गर्दा तिनका मन छिन्नभिन्न भए । प्रचण्डसँग बदला लिनका लागि लालकिल्ला मानिएको रुकुमको एकता छिन्न भिन्न पारिदिएर रुकुमले आफ्नो इतिहास बलिदान गर्नु परे ?

मः ओपेन्द्र दाइलाई म के भनिदिऊँ त हर्कभाइ ?

हर्कः उसलाई कन्भेन्स गर्छु भनेर फोन गरेको उल्टै मलाई कन्भिन्स गर्‍यो । तपाईँलाई पनि तारामा हाल्ने बनाउँछ भनिदिनुस् ओपेन्द्र सरलाई ।

हर्कको तर्कदेखि म कायल परेँ । सुत्ने समय घर्किसकेको थियो ।

मुलुकभर चुनावको माहौल कस्तो छ भनी जान्ने इच्छाले अनलाइन खबरहरू हेर्न थालेँ । राष्ट्रियभन्दा पनि अन्तर्राष्ट्रिय तातो समाचारले पत्रिकाहरू रङ्गिएका थिए । इरानले अरबियन राष्ट्रहरू युएई, बहराइन, कतार, जोर्डन र कुवेतको भूमिमा मिसाइल आक्रमण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिन्ता र चासो बढाइरहेको रहेछ ।

Loading

Post Comment

You May Have Missed