२०८२ फागुन १२ गते मङ्गवार
पोखरा कास्की
बिहान ६ बजे उठेर भेषराज सरसहित काहुँडाँडा पुगियो । पोखराको बाटो पचासौँचोटि हिँड्दा पनि काहुँडाँडासँग हेराहेर मात्र हुन्थ्यो । काहुँडाँडाको माथमा टेक्ने इरादा हुँदाहुँदै पनि समय र साधनले साथ दिएको थिएन । यसपालि काहुँडाँडाको माथ चुमियो । काहुँडाँडाले पनि हामीहरूलाई आफ्नो अधरसम्म पुर्याएर चुम्बन गरिन् । हामी खुसीले मखलेल भयौँ । काहुँबाट पारितिरको विशाल पहाडी शृङ्खलाको मनग्गे दृश्यपान गर्यौँ । पोखरा उपत्यकाको विशाल फाँटलाई एकै नजरमा हुल्न सफल भयौँ । अपितु बाक्लो तुवाँलोको कारणले न पोखरा उपत्यका प्रष्टसँग दृश्यपान भयो न त पहाडीशृङ्खलाको माथमा ढल्किएका सेता शिरपोषलाई कोट्याई कोट्याई हेर्न पायौँ । प्राकृतिक अवसरहरू जस्तो रूपमा उपलब्ध हुन्छ त्यस्तै रूपमा स्वीकार्नुको विकल्प छैन । हामीले चित्त बुझाएर वापस फर्कियौँ । देवकुमारी र मेरो योजना यतैबाट विन्द्यवासिनी मन्दिर र महेन्द्रगुफा हेर्दै तालबाराही पुग्ने थियो तर भेषराज सरले मान्नुभएन । सरको कोठामा पुगेर खाना खायौँ र उहाँले आफ्नो गाडीमा विन्द्यवासिनी मन्दिर छोडिदिनुभयो ।
विन्द्यवासिनी मन्दिरको परिक्रमा र दर्शनपछि हामी बगर पुग्यौँ । त्यहाँबाट महेन्द्रगुफा पुग्यौँ । महेन्द्रगुफाको बाहिरपट्टि विशाल बगैँचाको साथै विभिन्न पार्कहरूको निर्माण गरिएको रहेछ । तर न पार्कको सरसफाइ गरेको देखिन्थ्यो न त महेन्द्रगुफा हेर्ने पर्यटकहरूले त्यस पार्कलाई महत्त्व दिएर बगैँचामा अलमलिएको देखिन्थ्यो । खासमा भैँसी देख्दा जोगी तर्सने र जोगी देख्दा भैँसी तर्सने उखान यस बगैँचामा चरितार्थ भएको देखिन्थ्यो । महेन्द्र गुफा नछिरेको वर्षौँ भइसकेको थियो । देवकुमारी गुफाभित्रको संरचना देख्न पाएर मख्ख परिन् ।
त्यताबाट हामीहरू लेकसाइड जाने बसमा चढ्यौँ । त्यो बस बगर नदीपुर महेन्द्र पुल पृथ्वीचोक लखनचोक नागढुङ्गा विरौटा हुँदै राष्ट्रबैँक चोक फर्केर लेकसाइड पुग्दो रहेछ । बसयात्रामै हाम्रो डेढ घण्टा गयो । लेकसाइडमा ओर्लेर डुङ्गाको सयर गर्दै तालबाराहीमा पुग्यौँ । मन्दिर भने निर्माणाधीन भएकोले खासै अरू चिज दर्शनयोग्य देखिएन । हामी लेकसाइडमा फर्कियौँ । यसपछिको योजना लेकसाइडबाट पश्चिमोत्तर गई केबल कार चढेर साराङकोट पुग्ने थियो । तर अकस्मात् कालो बादलले आकाश ढाकेर हुरी बतासको लक्षण देखिएकोले हामी कोठामा फर्किन बाध्य हुनुपर्यो ।
काठमाडौँबाड हिँड्दाको योजना हाम्रो भोलि उत्तम जुवाइँको गाडीमा रुकुम फर्कने थियो । तर उहाँलाई बारम्बार फोन गर्दा पनि फोन नउठेको हुँदा शङ्का उत्पन्न हुन गयो । फलस्वरूप रुकुम जाने गाडीहरूको खोजी गर्न थालेँ । रुकुम जाने गाडीहरूका कन्डक्टरहरूको फोन पनि प्राप्त भयो तर रातिको यात्रा गर्नुपर्ने र सिट पनि भनेबमोजिमको नपाइने भएको हुँदा चिन्ता थपियो । अन्तिम विकल्प भनेको पोखराबाट जिपमा बुर्तीबाङसम्मको यात्रा सम्पन्न गर्नु थियो । बुर्तीबाङबाट त फेरि काठमाडौँ-मुसीकोट नाइट बसमै चढ्नुपर्थ्यो । मुसीकोटबाट वा रुकुमकोटबाट दिवासेवाका बसहरू चलाए पनि दूरी धेरै टाढा होइन । आफूलाई खाँचो परेर मात्र भएन यातायात व्यवसायीले आफ्नो फाइदा हेर्छन् होला । नचल्ने भएर त होला ।
भेषराज सर र म जिपको काउन्टर खोज्दै नागढुङ्गाबाट करिब १ घण्टा पैदल दूरीको पश्चिमोत्तरमा रहेको जिरोकिमि भन्ने ठाउँसम्म पुग्यौँ। जिप काउन्टरहरू बन्द भइसकेका रहेछन् । बोर्डमा राखेको नम्बर टिपेर कोठातिर फर्कियौँ । फर्किँदै गर्दा उत्तम जुवाइँको फोन आयो । उहाँले काम नसकिएकोले भोलिको सट्टा पर्सि मात्र पोखरा आइपुगिने बताउनुभयो । देवकुमारीलाई सोही खबर दिँदा लोकल गाडीहरूमा जानुभन्दा उत्तम जुवाइँकै गाडी पर्खने उपयुक्त ठहर्याइन् ।
![]()
Post Comment