×

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

दुवाकोट भक्तपुर

करिब एक हप्ता अघिदेखि नै देवकुमारीले दाँत दुख्यो भनेर आलसतालस गरिरहेकी थिइन् । हेर्दा दाँत कालो भएको थियो र बिचको भाग खोबिल्टो परेको थियो ।यस्तो अवस्थामा पुग्नुलाई दाँत किराले खाएको भन्ने गरिन्छ ।बच्चैदेखि उम्रेका दाँतहरू उमेर ढल्किँदै जाँदा क्षति हुँदै जान्छन् । जीवको  शरीर अनौठो छ । जन्मँदा मासुको डल्लोको रूपमा जन्मिए पनि त्यसै डल्लोमा मजबुत हाडहरू बन्छन् । दाँतहरू बन्छन् ।जीवनभर बाँच्नको लागि सङ्घर्ष गर्दा चाहिने हरथोक त्यही मासुको डल्लोमा विकास हुँदै जान्छन् । निधनपछि मासु त गलेर जान्छ तर हड्डी र दाँतहरू भने वर्षौँ वर्ष जस्ताको तस्तै रहन्छन् । जीवको  विकास प्रक्रियामा सहयोग पुग्ने हजारौँ वर्षपहिलेका जीवहरूको दाँत र हड्डीहरू हजारौँ वर्षपछिसम्म पनि भेटिन्छन् । हिन्दूहरूले मान्छे मरेपछि घाटमा लगेर सबै खरानी तुल्याउँछन् । जीवांश केही बाँकी नराखेर । शरीरलाई खरानी तुल्याउने यो विधि मानवको विकास प्रकियाको अनुसन्धानको निम्ति बाधक रहेको जस्तो लाग्दछ ।

आज देवकुमारीको दुखिरहेको दाँत फाल्नको निम्ति घरनजिकै रहेको केएमसी अस्पत्तालमा बिहानै जानु थियो । छिटोछिटो खाना पकाई खाई अस्पत्तालमा पुग्यौँ ।टिकट लिएर चौथो तल्लामा पुग्यौँ । यो शिक्षण अस्पत्ताल पनि भएकोले चौथो तलामा दाँतको उपचार र प्रशिक्षणको लागि आवश्यक पर्ने सबै स्रोत साधन सम्पन्न देखिन्छन् । प्रत्येक कोठाहरू डेन्टल चेयरले खचाखच छन् । दन्त विशेषज्ञ र विद्यार्थीहरूको ओहोरदोहोर पनि बाक्लै छ । दन्तकक्षा पनि चलेको देखिन्छ तर दाँतका बिरामीहरू भने देखिँदैनन् । यो अस्पत्ताल चालु भएको पनि १० वर्षभन्दा बढी भइसक्यो । पहिले दुवाकोटवासीहरूलाई २५ प्रतिशत छुट थियो । त्यसको लागि नागरिकता देखाउनुपर्थ्यो । पछि ठेगाना भने पनि यो छुट पाइन थाल्यो । अहिले ठेगाना पनि सोधिँदैन तर छुट पाइँदो रहेछ । अन्त एउटा दाँत निकाल्न १००० लाग्छ भने यहाँ रु ७५० मात्र लाग्दो रहेछ । त्यसो त रगत जाँच गर्दा पनि २ चोटिको ११० रुपैँया मात्र लाग्छ ।

 प्राइभेट क्लिनिक र अन्य सानातिना अस्पत्तालहरू भन्दा यसमा स्रोत साधन पनि मजबुत हुनुको साथै स्तरीय हुनु स्वाभाविकै हो ।अस्पत्ताल नदेखिने ठाउँमा छैन । ९ तले विशाल बिल्डिङ भएकोले भक्तपुरको जुनसुकै स्थानबाट पनि स्पष्ट देखिन्छ । तर यो अस्पत्ताल नजिकका बिरामीहरू भने अस्पत्ताल नगई मेडकलहरूमा थुप्रिएका देखिन्छन् । ताजुब लाग्छ मलाई । देवकुमारीले पनि अस्तिसम्म प्राइभेट क्लिनिकमा गए भइहाल्छ भन्दै थिइन् । मैले मानिन । अस्पत्ताल भनेको अस्पत्ताल नै हो । मेडिकलहरूमा साधनस्रोत राम्रो हुँदैन । डाक्टर राम्रा हुँदैनन् । फाइदामुखी मात्र हुन्छन् । अनावश्यक औषधिहरू पनि सिफारिस गर्छन् । तसर्थ नजिकै सामुदायिक अस्पत्ताल छँदाछँदै अन्त किन जाने ? आजभोलि अस्पत्ताल जानैपर्ने परिस्थितिमा हामीहरू यही अस्पत्तालमा जानेका गरेका छौँ ।

यहाँ बिरामी नै नभएकोले लाइन कुर्नुपर्दैन । जानेबित्तिकै पालो आइहाल्छ । देवकुमारीलाई एक हुल डेन्टिस्टहरूले सोधपुछ गर्छन् र जाँच गर्न थाल्छन् । उनलाई एउटा डेन्टल चेयरमा सुताइन्छ र गिँजामा दुखाइ घटाउने सुइ लगाइन्छ ।औषधिले काम गर्न थालेपछि एक टोकरी दाँत झिक्ने सामानहरूबाट एउटा एउटा सामान झिक्दै दाँत हल्लाउन थालिन्छ । अलि कडा नै दाँत रहेछ  सितिमिती  हल्लिँदैन । त्यसपछि सुइराहरूले गिँजा कोट्याउन थालिन्छ । गिँजाबाट ह्वाल्ह्वाल्ती  रगत बग्छ । औषधिले पूर्णरूपमा दुखाइ नघटाएकोले  देवकुमारी पीडाले घरीघरी बर्किरहेकी छिन् ।वन तरुल खनेझैँ गिँजाहरूलाई फट्टाउँदै तलैसम्म खनीखोर्सन गर्न थालिन्छ । म हेर्न नसकेर कोठा बाहिर निस्कन्छु ।

अब त दाँत झिकियो होला भन्ठानेर म केही समयपछि फर्केर आउँछु । देवकुमारी चेयरमै छिन् । डेन्टिस्टले अझै दाँत कोट्याउँदै रहिछन् ।देवकुमारीको दुखाइको प्रतिक्रिया अलि घटेको रहेछ । दाँतको वरिपरि कोट्याएर दाँत हल्लाउँदा हल्लाउँदा बल्ल हल्लिन थाल्छ । डेन्टिस्टले जरा गाडिएको बेर्ना उखेलेझैँ उखेल्न प्रयत्न गर्छन् । तर दाँत निस्कँदैन । धेरै पटकको प्रयासपछि दाँत निस्कन्छ ।तर सबै दाँत आएको रहेनछ । किराले खाएर दाँत झिराझिरा परेको रहेछ ।अरू चोइटाहरू निकाल्नको निम्ति पुनः डेन्टिस्टले पहिलेकै प्रक्रिया अपनाउँछन् । बल्लतल्ल अरू २ टुक्रा भाँचिएका दाँतहरू निकाल्छन् । देवकुमारीलाई कति दुख्यो होला भनी  मेरो जिउ नै पीडाले सिरिङ्ग हुन्छ ।

दाँत झिकिसकेपछि देवकुमारी आरामले उठ्छिन् । सुईको करामतले उनलाई धेरै दुखाइको फिलिङ्स नै भएनछ । म अनौठो मान्छु । प्राइभेट क्लिनिकमा भइदिएको भए अझ कति दुखाइन्थ्यो होला ।दुखाइ कम गर्ने औषधि लिएर हामी घरतिर फर्किन्छौँ ।केही समयपछि औषधिले काम गर्न छोडेपछि त दाँत र गिँजाहरू अत्यन्तै दुख्न सुरु गर्नेहोला । म अफिस नजाऊँ  कि लाग्छ । तर देवकुमारीले दुखाइ केही छैन । दुख्न थाल्यो भने औषधि खाइहाल्छु भनेपछि समस्या आए खबर गर्नु है त भन्दै म लेखनकुन्जको अफिसतिर लाग्छु । बस यात्रामा सुविन भट्टराईको कथाकी पात्र शीर्षकको कथाहरू सबै पढिसिध्याउँछु । लेखन शैली मिठो त छ तर दुई तीनवटा कथाहरू राम्रै भए पनि अरू भने युवाहरूको जमातलाई आकर्षित गर्नको लागि मात्र कथा बनाइएको जस्तो लाग्छ ।

लेखनकुञ्ज पुगेपछि साथीहरूले जानकारी गराउनुहुन्छ कि आज मेरै प्रमुख आतिथ्यतामा  लक्ष्मी लामिछानेद्वारा लिखित पुस्तक हराएका रहरहरू लोकार्पण कार्यक्रम रहेको बताउनुहुन्छ ।लक्ष्मीजीले एक महिनाअघि कविताहरूको हस्तलिखित पाण्डुलिपी देखाउन आउनुभएको थियो । लेखनकुञ्जका कमल ढकालले प्रकाशनयोग्य छ भनेपछि उहाँले सो पाण्डुलिपी  मलाई  बुझाउनुभएको  थियो । तर मेरो रुकुम जाने काम परेकोले मैले सिर्जनाजीलाई काम सारेको थिएँ । उक्त कृतिको टङ्कण सम्पादन र सेटिङ भइसकेर आज लोकार्पण पनि भयो । मैले प्रमुख आतिथ्यको मन्तव्यको सिलसिलामा लेखनकुञ्जका कमल ढकाललगायत सबै साथीहरूको कामको  प्रशंसा गर्दै बधाई दिएँ ।

मनोहर लामिछाने सरले आज लालबहादुर खत्रीको छोराको बिहेभोजको निम्ति सँगै जाउँला भनी तारन्तार फोन गरिरहनुभएको थियो । लोकार्पण कार्यक्रम समापन भएपछि म मनोहर सरलाई भेट्न माइतीघर मण्डलातिर कुदेँ । आकाशमा कालो बादल मडारिइरहेको थियो । समाचारहरूले आज हावाहुरी सहितको ठुलो वर्षा हुनेभएकोले बाहिर ननिस्कन सूचित गरिरहेका थिए । तर त्योभन्दा ठुलो हाम्रोलागि साथीको छोराको भोज थियो । म पानीले भिज्दै मनोहर सरको ल फर्म रहेको अफिसमा पुगेँ । पानी झनै दर्किन थालेकोले एकछिन साहित्यिक र अन्तरङ्ग गफ गरेर बस्यौँ । अलि पानी कम हुनेबित्तिकै उहाँकै बाइकमा साढे दुईबजेतिर बिहेभोजस्थल बुद्धनगरमा पुग्यौँ ।त्यहाँ बेहुलाका बुबा लालबहादुर खत्री सर र मध्यपश्चिमाञ्चल साहित्य परिषदका अध्यक्ष समिर शाह सरबाहेक कोही आइपुगेका थिएनन् । त्यहाँ पुग्नेबित्तिकै आकाशमा मडारिइरहेको बादलले दिउँसै रात पार्‍यो । एकछिन पनि हावाहुरी सहितको वर्षाद् भयो ।  उता लेखनकुञ्जमा आजै रुकुमेली वाङ्मय अधिष्ठानको कार्य समितिको बैठक पनि राखिएको थियो । साथीहरू आइपुग्दै गरेको खबर आयो । तर यता भने दुलाहादुलही आइपुगेकै थिएनन् ।

रमेश सुवेदी  सरजस्तो कोही पाहुना आएको देखेर मैले त रमेश सुवेदी नै आइपुग्नुभएछ भनी राप्ती साहित्य परिषद् रुकुम शाखाको भवनको बजेट हालिदिएकोमा धन्यवाद दिएँ । सम्बन्धित साथीहरूको तर्फबाट पनि आभारी प्रकट गरेँ । तर उहाँले भने बुझ्दै बुझ्नुभएन । बल्ल चाल पाएँ यिनी रमेश सुवेदी होइनन् । आफैलाई लाज लाग्यो । पछि ती मान्छेलाई चिनेँ कि उनी त लोकनाथ सुवेदी पो हुन् । रमेश सुवेदीकै भाइ पो हुन् कि ।

हामीहरू पार्टी प्यालेसका सजिएका कुर्सी टेबुलमा बसेर कुरा गर्दै दुलाहादुलहीलाई पर्खिरहेका थियौँ । पाहुनाहरू थपिँदे थिए । तर मौसम प्रतिकूल भएकोले जति आउनुपर्ने हो त्यति आइरहेका देखिँदैनथे । यस्तैमा एकजना खुला स्वभावकी बकबक गरिरहनुपर्ने महिला आइपुगिन् । उनले आफूलाई साहित्यमा रुचि राख्ने एमालेको कार्यकर्ता भएको बताइन् ।मनोहर सरले मैले लेख्दै गरेको  भोट केमा आँखामा भोज केमा तारामा शीर्षकको संस्मरणको सम्बन्धमा अड्कलबाजी गर्दै साथीहरूलाई सुनाइरहनुभएको थियो । ती महिलाले अनुमान गरिहालिन् कि त्यहाँ बसेका हामीहरू सबै ताराका समर्थक एवम् कार्यकर्ता रहेछौँ भनेर । हामी  जिल्ल पर्‍यौँ । मान्छेले कुरै नबुझी अरूको सम्बन्धमा कति छिटो दृष्टिकोण बनाउँछन् । त्यहाँ बस्ने हामीहरू सबै फरकफरक विचारका नजिक थियौँ । खासमा सक्रिय राजनीतिप्रति कसैको चासो थिएन र सक्रिय राजनीतिका आलोचकहरू नै थियौँ । उनले के हिसाबले नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता ठानिन् अलमल्ल पर्‍यौँ । उनीप्रतिको सुरुको सद्भाव बिग्रियो र उनका कुरै सुन्न छोड्यौँ हामीहरूले ।उनी लज्जित भएर अर्को टेबुलतिर सरिन् ।

यस्तैमा श्यामल सरका दम्पती पनि आउनुभयो । कुरोको चुरो बदलियो । पाहुनाहरू थपिँदै गए । हाम्रो टेबुलका बेन्चहरू पनि भरिँदै गए र कुराका प्रसङ्गहरू पनि फेरिँदै गए । मान्छे यसै परिवर्तनशील हो । तर जड विचारलाई भने अपरिवर्तनशील ठान्नेको जमात पनि छ ।

यसै बेला दुलाहा दुलहीहरू भित्र छिरे ।उनीहरूको प्रवेशसँगै भोजको नास्ताका परिकारहरूका ढक्कन पनि खुले । पहिले दुलाहादुलहीलाई भेट्न भन्दा नास्ता नै गरौँ भनेर चाखेजस्तो गर्‍‍यौँ । बाहिरको वातावरण त्रासदीपूर्ण थियो ।दिउँसोक साढे चार बज्दा पनि बेलुकाको साढे सात बज्दाको जस्तो अँध्यारो थियो । पानी दर्किरहेको थियो । हावाहुरी चलिरहेको थियो ।हतार हतारमा नास्ता सकेर समीर मनोहर र म दुलाहादुलही भेट्न गयौँ । मुख्य काम सकिएपछि पठाओ बोलाएर म लेखनकुञ्जतिर लागेँ । डबल रेनकोट भए पनि १० मिनेटको बाइक यात्रामा पूरै जिउ निथ्रुक्कै भिजिसकेको थियो । धोबीखोला मात्र होइन सडकमा खहरेहरू उर्लिरहेका थिए ।

लेखनकुञ्जमा वाङमयका अध्यक्ष भूपेन्द्रा मल्ल, सिर्जना र मनु बाँठालगायतका साथीहरूले कुरिरहनुभएको रहेछ । बाहिर निस्कन सकेको भए पो निस्कनु । म पुगेपछि औपचारिक बैठक राखियो । सिँगारु पुस्तक प्रकाशन र वार्षिक कार्यक्रम आयोजना गर्ने निर्णयहरू भए । साथीहरू निस्किएपछि म पनि घर जाने अबेला भएकोले पानीमा  भिज्दै निस्किएँ ।नेपाल यातायातको ढोकैसम्म बुजा लागेका यात्रीहरू थिए । गाडी चढ्ने सकिएन । रत्नपार्कतिर जाने टेम्पोमा सिट पाइएकोले म उल्टो बाटो समातेँ । बागबजार पुगेपछि पुरानो बाटो हुँदै दुवाकोट मोडतिर जाने बस पर्खिएँ तर सितिमिती आएन । रात पनि पर्न आँटिसकेको थियो ।अतः नयाँबाटो हुँदै भक्तपुर जाने ब्यासीको गाडीमा छिरेँ । सिट त पाइयो तर भिजेका यात्रुहरूको पेलापेलले सिटमा बसेको आनन्द अनुभूति भएन ।

बागबजारबाट गाडी त चल्यो तर रत्नपार्क अगाडिदेखि नै जाम थियो । भद्रकाली पुग्नै १५ मिनेटभन्दा बढी लाग्यो । सिँहदरबारमा त झन् आधा घण्टा नै जाम पर्‍यो । सडक जम्मै जलाम्मे थियो।

मलाई अनौठो लाग्यो कि काठमाडौँमा चल्ने गाडीहरू उनै हुन् । सडक उनै हुन् । यात्रीहरू उनै हुन् । तर जब हावाहुरी चल्छ वा पानी पर्छ वा अन्य वातावरणीय वा मावकृत सङ्कटहरू उत्पन्न हुन्छन्, कहाँबाट यतिविधि गाडीहरू सडकमा खनिएर घण्टौँ जाम पर्छ ? किन गाडीहरू शङ्खेकिराको गतिको सिको गर्छन् ? कहाँबाट यात्रीहरू ओइरिएर गाडीमा खुट्टै टेक्ने ठाउँ हुँदैन ? सामान्य मौसममा त यतिविधि हुँदैन त ।

साढे पाँच बजे बागबजारबाट गाडी चढेर आठ बजे मात्र घरमा आइपुगेँ । परीक्षित पनि अस्पत्तालबाट आइसकेछ । ढिला गरेकोमा देवकुमारीले कुनै गुनासो गरिनन् । खाना पकाएर आमाछोराले खाइसकेका रहेछन् । खाना चिसो भइसकेछ ।तताएर खाएँ । यसै त ठण्डीले सताएर लस्त थिएँ झन् आज त दिनभरि नै भिजियो । जिउ तातिँदै गयो । ज्वरो चढ्दै गयो ।राति अबेरसम्म निद्रा लागेन ।

Loading

Post Comment

You May Have Missed