२०८२ चैत्र ३ गते मङ्गलवार
दुवाकोट भक्तपुर
आज बिहानै उठेर देवकुमारीलाई खाना पकाउन सहयोग गरी लेखनकुन्ज अफिसतिर लागेँ । बाटोबाटै भूपेन्द्रा मल्ल राजेश्वर कार्की र मनोहर लामिछाने सरहरूलाई आफू काठमाडौँ आइपुगेको जानकारी गराएँ । बिहान गाडी जाम नपरेकोले साढे नौ बजे नै अफिस पुगियो। अफिस खुला थियो तर कोही कर्मचारी आइपुगेका थिएनन् । पहिले बिग्रेको ल्यापटप बनाएर टेबुलमा राखिएको रहेछ । लेखनकुन्जको ल्यापटपमा भएका फाइलहरू इमेलमा हालेर अर्को ल्यापटपबाट खोलेँ ।
कमल ढकाल सरले बेलायतबाट आएको एउटा डकुमेन्टको सम्पादन गरिदिने जिम्मा दिनुभएको थियो । विनय पाण्डेबाट फर्वार्ड गरिएका ४ वटा फाइलहरू रहेछन् । २०५ पृष्ठको र लगभग १ लाख १० हजार शब्दजतिको । कमल सरले पचास साठी हजार शब्दमा झार्ने भन्नुभएको थियो । तर सर्सर्ती हेर्दा लेखन शैली स्तरीय देखिएकोले शब्द सङ्ख्या घटाउनु नपर्ने सुझाव दिएँ ।
लेखनकुन्जको आफ्नै क्यालेन्डर बनाउन आवश्यक देखी सोको लागि केही सूचनाहरू सङ्कलन पनि गरिसकेको थिएँ । तर कमल सरले काम अघि बढाउने नबढाउने सन्दर्भमा कुनै निर्णय नदिनुभएको हुँदा आफै लेखनकुन्जको प्रिन्टिङको काम गरिरहेका नगेन्द्र लामालाई बोलाई छलफल गरेँ । प्रति क्यालेन्डर करिब १६० रुपैँया पर्ने बताइएकोले १० वटा क्यालेन्डरको मूल्य आफैले बेहोर्ने निर्णय गरी क्यालेन्डरको फर्म्याट ल्याउन अह्राएँ ।
राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले सञ्चालन गर्दै आएको पाक्षिक भर्चुअल रचना वाचन कार्यक्रमको सातौँ श्रृङ्खला अस्ति चैत्र १ गते हुनुपर्नेमा रुकुममा हावाहुरीको कारण बिजुली बत्ती अवरुद्ध भएको हुँदा रोकिएको थियो । सो कार्यक्रम आज गर्ने निर्णय भएअनुसार सूचना बनाएर फेसबुकमा पोस्ट गरिदिएँ र केही साथीहरूलाई शेयर पनि गरिदिएँ ।
सवा ४ बजेतिर अफिसबाट निस्किएँ र रत्नपार्क जाने टेम्पोमा चढी बागबजार पुगी पुरानो बाटो भक्तपुरको गाडीमा चढेँ । यात्रामा सुविन भट्टराईको कथा सङ्ग्रह पढ्दै दुवाकोटमा पुगेँ ।
बेलुका साढे ७ बजेदेखि राप्ती साहित्य परिषद् रुकुम पश्चिम शाखाले सञ्चालन गर्दै आएको पाक्षिक गुगल मिटबाट रचना वाचन कार्यक्रमको सातौँ श्रृङ्खला प्रारम्भ भयो। अध्यक्षता मनलाल ओलीले गर्नुभयो। मैले स्वागत मन्तव्य राखेँ । गणेशा कार्कीले रचना वाचन गर्नुभयो। कमप्रसाद देवकोटाले उक्त रचनाहरू उपर गहन समीक्षा प्रस्तुत गर्नुभयो । विशेष अतिथि भरतकुमार शर्मा र प्रमुख अतिथि समीर शाहले आआफ्नो मन्तव्यहरू राख्नुभयो। कार्यक्रममा मेगराज खडका सिर्जना शर्मा पुष्पा आचार्य तुलसी केसीसमेतको उपस्थिति रह्यो।
थकानको साथै हिजोदेखि चिसोले सताइरहेकोले जिउ भब्बाइरहेको थियो। हातगोडा फत्राकफुत्रुक गलेका थिए । डोलोपार खाएर आराम गरेँ ।
![]()
Post Comment