×

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

दुवाकोट, भक्तपुर

हिजो राति नाति प्रवीर आमाबुवासँग सुत्छु भनेर हामीसँगै सुते । चितवन आएदेखि एकछिन पनि छोडेका छैनन् । हामीलाई अब चितवनमै बस्नुपर्छ भनेर फकाइरहेका छन् । तर हाम्रो बाध्यता छ । चितवन बस्न सक्दैनौँ । काठमाडौँमा पनि काम छ । यो कुरा ६ वर्षको बच्चालाई कसरी बुझाउनु । राति पनि हामीसँग छुट्टिएको सपना देखेछन् । आमा बुवा भन्दै सपनैमा रोई कराई गरे ।

उनी नउठ्दै आज काठमाडौँतिरको यात्रा गर्नुपर्नेछ । मन भारी भइरहेको छ । उनले चाल नपाउने गरी बिस्तारै खाटबाट झर्छौँ । बत्ती पनि नबाली अर्को कोठामा पुग्छौँ र झोलाहरू हतार हतार तयार गर्छौँ । जुवाइँले सामानको गुन्टागुन्टी र हामी दईजनालाई स्कुटीमा राखेर नारायणगढको पुलचोकमा पुर्‍याइदिनुहुन्छ । सुर्खेततिरबाट आएको काठमाडौँ जाने डिलक्स बसमा चढेर काठमाडौँको यात्रा सुरु हुन्छ । केही पर पुगेपछि थाहा हुन्छ कि हतारमा देवकुमारीले मोबाइल छुटाइछन् । मैल बाटोमा पढ्दै आएको आरब्ध पुस्तक छुटाएछु । कोठाबाट निस्कँदा ७ वटा पोकापन्तरा जस्तो लागेको थियो तर गाडीमा राख्दा ६ वटा मात्र देखिएकोले कुन पोका छुट्यो भनी चिन्ता लाग्छ ।

हिजो देवकुमारीलाई वान्ता भएको थिएन तर आज भने बसमा बस्नेबित्तिकै बान्ता हुन सुरु गरेको छ । ६ वटा पोलिथिन ब्यागमा बान्ता गर्दै फाल्दै गरिसकेकी छिन् । मुटु फर्कियो  आन्द्राभुँडी नै मुखबाट निस्कियो मरेँ बाबा । गाडी रोक भन्दै देवकुमारी कराइरहन्छिन् । मैले थामथुम गर्नुबाहेक अरू केही गर्न सक्दिनँ । देवकुमारीलाई गाडी चढ्यो कि अक्सर गरेर बान्ता भइहाल्छ । सधैँ यस्तै हो भनी चित्त बुझाउँछु ।

बान्ता अलि कम भएको बखत देवकुमारीले घरी घरी अस्मितालाई फोन गरेर बाबु उठेर रोए कि भनी सोधिरहन्छिन् ।

यसभन्दा अघिल्ला आठ दश वर्षका काठमाडौँतिरका यात्राहरू अझै हृदयविदारक हुन्थे । छोरा परिशीलनले हामीलाई लिन कलङ्कीसम्म आइपुग्थ्यो । यस्तो सम्झना ताजा हुँदा देवकुमारी झनै छटपटाउँथिन् । छाती पिटी पिटी रुन्थिन् । भैगो म काठमाडौँ जाँदिनँ भनेर गाडीबाट झर्न खोज्थिन् । समयक्रमले त्यो पीडा बिस्तारै भुलाउँदै गएको छ । चटक्कै बिर्सन सकिने कुरा त होइन । नागढुङ्गा उक्लँदै गर्दा परिशीलनको सम्झना त आइहाल्छ । तर मन मिचेर सहन्छौँ । भरसक् आँखाबाट आँसु खस्न दिँदैनौँ ।

त्यसो त रुकुमको घरमा पुग्दै गर्दा पनि बुवाआमाको याद आइहाल्छ । काठमाडौँबाट हिँडेदेखि आमाले कहाँ आइपुग्यौ भनी घण्टा घण्टामा फोन गर्नुहुन्थ्यो । खाना घरमै पकाइसकेकी छु अन्त नखानू है भन्दै सम्झाउनुहुन्थ्यो । हामी सोलाबाङमा झरेको थाहा पाउनेबित्तिकै आमा कुद्दै बजारमै पुग्नुहुन्थ्यो । बुवा भने हामी पुग्ने भनेको दिनमा दिउँसोदेखि बस पर्खेर बजारमै कुरिरहनुहुन्थ्यो । तर उहाँहरू बितेपछि भने हामीलाई आए गएको सोध्ने परिवारमा कोही छैन । उहाँहरूको चिर स्मृतिको लागि पनि केही गर्न सकिएको छैन । आमाले बैँकमा राखेको पैसा पनि किरिया गर्दा र बरखी गर्द सबै सकियो । मैले त भनेको हुँ उहाँहरूको सम्झनाको लागि सोलाबाङ स्कुलमा पनि अक्षय कोष राखिदिऊँ र आमालाई लोकसाहित्यमा विशेष रुचि भएको कारणले उहाँको नाममा लोकसाहित्य पुरस्कारको घोषणा पनि भयो तर कोष राख्दा दाजुभाइले मानेनन् । सानोतिनो रकम मेरै भागबाट राखिदिएको छु । यस वर्ष रुकममा लोकसाहित्यमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिँदै आएको छ र यस वर्ष तेस्रो पुरस्कार प्रदान गर्नुपर्ने भएको छ । व्यक्ति छनौट गर्न बाँकी नै छ ।

धार्केसम्म रफ्तारमा चलेको गाडी धार्के खाजा खुवाइसकेपछि नागढुङ्गाको उकालोमा बिस्तारै चल्छ । लोड गरिएका अधिकांश ट्रकहरू यही उकालोमा भेटिन्छन् । बाटो अलि साँगुरो भएकोले ओभरटेक गर्न पनि मिल्दैन । मानव जीवनको उत्तरावस्थामा पनि वृद्धहरू कनीकुथी जीवनको उकालो चढिरहेका भेटिन्छन् । सक्नेहरू अगाडि लाग्छन् नसक्नेहरू पछि पछि पर्दै जान्छन् र नसक्नेहरूकै लामले पछाडिको पुस्ताको जीवनचक्रमा जाम पर्दछ ।

यो गाडीमा प्लेनको जस्तै माइकबाट यात्रीहरूलाई बेलाबखत सूचना जारी गरिँदै आएको थियो । खाजा खाँदा कतै जाममा पर्दा कुनै कामले रोकिनुपर्दा कारण खुलाउँदा यात्रुहरू अनिश्चितताको भयबाट मुक्त हुँदा रहेछन् । यो व्यवस्थाले खुसी लाग्यो । नागढुङ्गा कट्नेबित्तिकै माइकबाट सन्देश जारी भइहाल्योः हामी नेपालको राजधानी काठमाडौँ उपत्यकामा प्रवेश गरिसकेका छौँ अब केही बेरमा हाम्रो यात्रा टुङ्गिँदै छ । यहाँहरूको यात्रा आनन्ददायक र सफल भयो होला भन्ने ठानेका छौँ । फेरि पनि हामीलाई सेवा गर्ने मौका दिनुहोला ।

बिच बिचमा पनि सन्देशहरू जारी भए होलान् । लाग्यो सुर्खेतबाटै चढेको भए धेरै कुराको जानकारी पाइन्थ्यो होला ।

देवकुमारीलाई बान्ताले गर्दा निकै कमजोर तुल्याएकोले कलङ्कीमा ओर्लिएपछि एउटा होटेलमा पुगेर चिया खाने निहुँले केही बेर बिसायौँ । अलि सहज भएपछि मैले ट्याक्सी लिन खोजेको थिएँ तर देवकुमारीले मानिनन् । भनिन् मलाई ट्याक्सीमा झन् गाह्रो हुन्छ । बसमै जाम् ।

पैसा पनि जोगिने काठमाडौँको पछिल्लो परिवर्तन पनि मनग्गे हेर्दै जान पाइने । हामी बसमा चढ्यौँ । कलङ्कीबाट सल्लाघारीमा पुग्न हामीलाई २ घण्टा लाग्यो ।

२२ दिनपछि काठमाडौँको घरसँग भेटघाट हुँदा मन सारै रमायो । घरभित्र खासै फोहर जमेको रहेनछ । इनडोर प्लान्टहरू मुर्झाउन पाएका थिएनन् । गमलामा फूलहरू फुलिरहेका थिए । अङ्गुरमा मुनाहरू पलाउनुको साथै फल लाग्ने सङ्केत पनि देखियो । ड्रागनफ्रुटका लहराले पनि टाउको तन्काउन थालेछन् । यसपालि परीक्षितले कौशीबारीमा निरन्तर पानी हालिरहेको रहेछ । कौशीको हरियाली देखेर मख्ख पर्‍यौँ ।

नुहाईधुवाई पछि आफूले साथमा ल्याएको मटर र आलुको तरकारी बनाएर भात पकाएर खायौँ । आजसम्म तुवाँलोले ढाकेको काठमाडौँ उपत्यकामा बादल लाग्नुको साथै एकछिन हावाहुरी पनि चल्यो र अलि अलि छिटा पनि बर्सिए । हप्तौँ धुम्मिएको वातावरण सिनित्त सफा भयो । आकाश पनि खुला भयो । बेलुका पाँच बजेतिर परीक्षित पनि ड्युटीबाट घरमा आइपुग्यो । कौशी खेतीमा घुम्दै पारिवारिक खबरहरू आदानप्रदान गर्दै रमायौँ ।

बेलुका राप्ती साहित्य परिषद्को सातौँ भर्चुअल रचना वाचन कार्यक्रम थियो तर रुकुममा भीषण पानीको कारण बत्ती नहुँदा उताका साथीहरू जोडिन नसकेकोले उक्त कार्यक्रम स्थगित गर्नुपर्‍यो ।

Loading

Post Comment

You May Have Missed