हेमन्त प्रकाश ओली
हेमन्त प्रकाश अाेली सुदर्शन विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । रुकुमको त्रिवेणी गाउँपालिका घर भएका ओली नेकपाभित्र एक वैचारिक नेताको रुपमा स्थापित मानिन्छन् ।
विद्यार्थी कालदेखि राजनीति शुरू गरेका सुदर्शन जनयुद्धकालदेखि नै तत्कालीन नेकपा माओवादीको उच्च तहमा पुगिसकेकाे नेता हुन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा चासो राख्न थालेका उनी २०३७ सालमा अनेरास्ववियूको सदस्य, २०३९ सालमा रुकुम जिल्ला सदस्य, २०४० मा तत्कालीन प्रतिबन्धित नेकपा मशालको सदस्य, २०४४–०४८ सालमा अनेरास्ववियूको केन्द्रीय सदस्य, विद्यार्थी नेता र पार्टी एरिया सदस्यको हैसियतामा जनआन्दोलनमा सहभागीहुँदै २०४८ सालमा नेकपा एकताकेन्द्रको जिल्ला सदस्य, २०५१ सालमा रुकुम जिल्ला सेक्रेटरी भएका थिए ।
२०५२ साल फागुन १ गते जनयुद्धको शुरुवात गर्दा उनी रुकुमको राडी प्रहरी चौकी आक्रमणको कमिसार थिए भने २०५४ सालमा भारतको हरियानामा भएको बैठककबाट नेकपा माओवादीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
एक बर्षपछि बझाङ र बाजुराम कार्यक्षेत्र भएको बेला जेल परेका ओली रिहा भएपछि पुनः २०५५ को गोवा बैठकबाट केन्द्रीय समितिमा सामेल भएर जनयुद्धकालमा कमिसार र राज्यको इञ्चार्जको रुपमा सक्रिय भएका थिए।
०६९ मा पार्टी विभाजनपछि लामो समयसम्म प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीहुँदै नेकपा माओवादी केन्द्रमा रहेका नेता सुदर्शनले माअाेवादी केन्द्र छाेडेका थिए ।
त्यसपछि उनले छुट्टै नेकपा न्यूक्लियस गठन गरेका थिए। त्यसपछि उनी विप्लव नेतृत्वको नेकपासँगकाे ध्रुवीकरणमा प्रवेश गरेका थिए ।
उनी विप्लव नेकपामा वैचारिक, राजनीतिकसहित साहित्यिक क्षेत्रमा समेत सशक्त कलम चलाउने नेताकाे रूपमा चिनिन्छन् ।
शान्ति प्रक्रियापछि कुनै पनि राजनीतिक लाभको पदमा नपुगेका सुदर्शन माओवादी आन्दोलनकै माथिल्लो तहका नेतामध्ये इमान्दार र अध्ययनशील नेताको रुपमा चिनिन्छन् ।
उनी लामो जेल जीवन बिताउने नेतामध्ये एक हुन् । यसअघि जनयुद्धको क्रममा उहाँ २०५५ साल माघ २८ गते बाजुरामा पक्राउ परेर उनी २०५८ असार २१ गते रिहा भएका थिए।
शान्ति प्रक्रियापछि तत्कालीन राप्ती ब्यूरो इञ्चार्ज हुँदा जनएकता तथा रुपान्तरण अभियानको अगुवाइ गरेका ओली लामो समय मगरात्त् राज्य समिति इञ्चार्जको जिम्मेबारी लिएका थिए ।