लेख/आलेख

हजुरलाई पनि स्वस्थ लभको कामना !!!

म आज खुशीले ज्यादै आल्हादित छु । यतिखेर मलाई केही हप्ताअघिदेखि अचानक देखा परेको गम्भीर स्वास्थ्य समस्याबाट छुट्कारा पाएको अनुभूत भइरहेको छ । यो मुक्त अनुभूतिको कारक हजुरहरु नै हुनुहुन्छ । मलाई त लागेको छ हजुरहरुकै शुभआशिष र शुभकामनाले गलाउँदै लगेको अपरिचित बिरामीबाट म बँचेको हुँ । यो बँचाइ तीता ओखतिका गोलीहरु सकीनसकी निलेर बाँच्नुको भन्दा नितान्त फरक र सहज छ ।

मैले आफू बिरामी परेको कुरा सामाजिक सञ्जालमा नराख्न भरिसक्के प्रयास नगरेको होइन । यस्ता झिनामसिना कुरा पनि किन फेसबुक वालमा टाँसेर चर्चाको विषय बन्नू भनी अनलाइनबाटै टाढै रहन आफूलाई सम्झाइरहेँ । मेरो परिवारको ईच्छा पनि दुरुस्त यही नै थियो । तर दिनहुँजसो केही न केही चाहिँदानचाहिँदा कुराहरु फेसबुकमा राखेर प्रतिक्रिया हेर्ने बानीलाई मेरो यो अनौठो रोगले ठाडै चुनौती दियो । फलस्वरुप धेरै समयसम्म फेसबुक सञ्जालबाट गायब हुनुपर्ने अवस्था आइदियो । तर यो गायबी मेरो लागि घोर पीडादायी भैदियो तसर्थ यस रोगको बिरोधमा भए पनि नलेखी हुन्न भनी सुटुक्क फेसबुक वालमा चिप्काइहालेँ- “करिब तीन हप्तादेखि गम्भीर स्वास्थ्य समस्यासंग मुकाबिला गर्दै ।”

पीडादायी भन्नुको मतलब रोग पनि कस्तो भने फोन रिसिभ गर्दा वा कल गर्दा (कानको रोग भएकोले) रिङटोनले समस्यालाई बल्झाइदिने । तसर्थ फोनलाई स्वीचअफ गर्नैपर्ने बाध्यता थियो मेरो । झन् परिवारको कडा सुरक्षा घेराको बीचमा बस्दा मेरो अर्को विकल्प पनि थिएन । घरबाहिरतिर घुमफिर गर्न, साथीभाइसंग कुरा गर्न, गाडी चढ्न, कडा कम्प्युटर खोल्न वा अनलाइन हुन कडा बन्देज थियो । यही कडा सुरक्षा घेरालाई तोडेर नै मैले उक्त स्टाटस पोष्ट गरी स्टाटसकै माध्यमबाट हजुरको एकदमै समीपमा आइपुग्न सफल भएको हुँ ।
टाउकोको MRI गराउनुपूर्व मेरो दिमागमै सिरियस प्रोब्लम हुन सक्ने सम्भावना देखाइदिनुभएको थियो न्यूरोसर्जन ध्रुव अधिकारीले । सिरियस प्रोब्लम भन्नेबित्तिकै ब्रेन ट्युमर वा दिमागसंग जोडिएको नशा चुँडिएको वा गम्भीर घाउ लागेको हुनसक्ने सम्भावना थियो । यसको सोझो अर्थ हुन्थ्यो बाँच्नका लागि अब मेरा अत्यन्तै कम दिन मात्र उपलब्ध छन् । यो आशंकाले उब्जाइदिएको मुटुको लाचार तिब्र धड्कन छाम्न सक्ने कोही पनि थिएन मेरो सामू । यो समाचार मेरा मित्रहरुलाई सुसूचित गराउनै पर्थ्यो मैले अतः कुनै सुन्दर मौकामा उक्त स्टाटस नलेखी भाथेन । छोराछोरी आफ्नो काममा हाङ्ताबाङ्ता लागेको बेला र श्रीमतीजी कपडा धुन बाथरुम छिरेको मौका पारी सामाजिक सञ्जालको धोक्रोमा एक पस्यो स्टाटस खुसुक्क छिराइदिईहालेँ ।

र तुरुन्तै मेरो स्टाटसले काम गर्न पनि थालिहाल्यो । बिरामीको खबर सुन्नेबित्तिकै सदाशयताको लागि प्रतिक्रियामा लाइक र कमेन्टका फोहोरा छुट्नु स्वाभाविकै थियो र हजुरहरुबाट त्यही नै भयो पनि । मलाई हजुरहरुको सदाशयताले निकै हल्का अनुभूति दिलाइदियो ।

स्टाटसमुनिको कमेन्टमा केही कुरा लेख्नेलाई त केही थिएन । अरुले लेखेकैलाई सेकेण्डमै कपी पेष्ट गर्नु सूचनाप्रबिधीको अमूल्य उपहार थियो र हजुरहरुमध्ये धेरैले त्यही गर्नुभयो होला किनकि म पनि त्यही गर्छु । अरुले लेखेको अशुद्ध नै होओस् जानजानी दुई अक्षर लेख्न कष्ट गर्नुभन्दा कपिपेष्ट गरिहाल्ने मेरो बानी छ । सम्बन्धित व्यक्तिले गर्ने त्यसको बोध वा मर्म भने गुणात्मक हुन्छ कपी पेष्टसरि हुँदैन । मलाई पनि त्यही भयो । मैले मौका पर्ने बित्तिकै मेरो पीडाको घाउमा ककसले मलहम लगाउँदैछन् भनी उधिनीउधिनी कमेन्टकर्ताको फेहरिस्त हेर्थेँ र संगसंगै ‘शिघ्रस्वास्थ्य लाभको कामना’ र ‘टेक केयर’का मायालु कपास जस्ता हलुका शब्दहरु हृदयमा उन्दै जान्थेँ । यी शब्दहरु मैले जति हृदयमा भर्थेँ उति हृदय खाली हुन्थ्यो उति हृदय हलुको हुन्थ्यो । उति उति थपिँदै जान्थे ‘शिघ्रस्वास्थ्य लाभको कामना’ र ‘टेक केयर’का मायालु कपास जस्ता हलुका शब्दहरु ।

मलाई बर्णमालाका क, त, थ, न, भ, म, ल, श, स अक्षरहरु अरु अक्षरभन्दा मुलायम लाग्छन् सुन्दर लाग्छन् । म यी अक्षरहरुलाई अलि बढी नै खेलाउने गर्छु । झन् आफ्नो शुभचिन्तनका लागि यिनै अक्षरहरुलाई मिलाएर बुनिएका सुस्वास्थ्यको शुभकामनाका शब्दहरु पाउँदा त के चाहियो र अरु ! मैले कुनै बच्चाले खोजेकै पुतली पाएझैँ मैले यी शब्दहरुलाई जतनले छातिमा टाँस्थेँ । काखमा राख्थेँ । दगुराउँथेँ । उडाउँथेँ । थुप्रो लगाउँथेँ । यिनै अक्षरहरुसंग लडीबुडी खेल्थेँ । चाङ मिलाएर बिछ्यौना बनाउँथेँ । त्यसैमा लेटिदिन्थेँ । लेटेको बेला एकदुई शब्दहरु मेरो हातमा बाँकी रहन्थे । मैले तिनैलाई ओल्टाइपल्टाइ हेर्थेँ । साँच्चिकै अक्षर उनै छन् । उति नै अक्षरले बनेका शब्द दुरुस्तै उस्तै छन् । तर यी ‘शुभकामना’ का दुई समस्त शब्द किन झनै मुलायम लाग्दै छन् मलाई ? किन भिन्न लाग्दैछन् मलाई ? म छक्क पर्थेँ । र बचेखुचेका शब्दलाई लिएर गालामा मुसार्थेँ । यिनै अक्षरले बिरामी पारेका पनि हुनसक्छन् । तर मैले व्यक्त गर्नसकेको छुइन । अव्यक्त भावना इतिहासकै गर्तमा छिपोस् । मैले अक्षर खेलाइरहेको छु । आज हाइसञ्चो गराएका छन् यिनै अक्षरहरुले ।

कुनै साथीका ‘विज्ञापन मात्र गर्ने कि, उपचार पनि गर्ने ?’ भन्ने शब्दले अलि सतर्क गराउँथ्यो । म भावुकतामा हराइरहेको यस स्वर्णिम अवसरमा सतर्क गराउने शुभचिन्तकहरुको वर्गीकरण गर्नु कुनै हालतमा ठीक होइन । तर वर्गीकरण गर्नैपर्ने मेरा लयालुमायालु शुभचिन्तकहरु पनि छन् । जसलाई बखतबखतमा सम्झिरहन्छु मैले वर्गीकरण नगरे उहाँहरुप्रति अन्याय हुने ठान्छु म ।

अनि सम्झन्छु वाणिज्यमा गोविन्दप्रसाद सुवेदी, परीक्षामा खगेन्द्रप्रसाद नेपाल, लोकसेवामा रोम न्यौपाने, सूचनामा गौलोचन सैँजू, रुकुममा हेमन्त रावल, निर्वाचनमा बाबुराम श्रेष्ठको एकै प्रकारको स्वभाव, एकै प्रकारको सुझावः ‘ओलीजी आफ्नो आत्मबललाई पनि दरो पार्नुस् । आत्मबल दरो पार्नुभएमा धेरैजसो रोग आफै सन्चो हुन्छ ।’

हो उहाँहरुले मेरो आत्मबल कमजोर देख्नुहुन्छ । र आत्मबल कमजोर बनाउने कुरा प्रबल रहेको भन्ने कुरा भने छिपाइदिनुहुन्छ । ती प्रबलताको लक्षणले अझै मेरो आत्मा कमजोर भई अज्ञात मानसिक रोगको शिकार नहोओस् ‘ओली’ भन्ने कति सुन्दर सदाशयता ! म त्यति आत्मबल कमजोर भएको मनुवा त होइन ब्यारे ! हुँदै हाइन नि ! मेरो आत्मबल कति दरो छ भन्ने कुरा उहाँहरुले मेरै धरातलमा उभिएर सोचिदिनुपर्छ !

यी अहिले मैले बाँचेर देखाइदिएँ उहाँहरुलाई । उहाँहरुलाई मात्र हो र हजुरलगायत सैयौँ शुभकामनादाताहरुलाई । उहाँहरुको मात्र शुभकामना पाएको भए काठको खाटमा पातलो तन्ना मात्र बन्थ्यो मैले बिछ्याउनलाई । त्यसले मलाई बिझाइराख्थ्यो दुखाइराख्थ्यो । तर मैले हजुरहरुको धेरैभन्दा धेरै शुभकामना पाएर अहिले शुभकामनाको ओछ्यानको गद्दा नै बनाएको छु । जसमा म बुद्रुकबुद्रुक उफ्रन सक्छु । केही शुभकामनाका शब्दले सिरानी बनाएको छु । जसमा म मजासंग लेटिदिन्छु । आनन्दपूर्वक सुतिदिन्छु । मीठामीठा सपना देखिदिन्छु ।

अँ, सुत्नलाई त चाहियो नि सिरक पनि । हो त्यही न्यानो सिरकको काम गरेका छन्: ‘ओखति खानुभो ? वश् आराम मात्र गर्ने, यताउता जाने र नानाथरी कुरा सोच्ने होइन नि फेरि’ भनेर झिज्याई हरघडी सुरक्षा घेरा दिने मेरो प्यारो परिवारले ।

मलाई हजुरहरुको यही सदाशयताले नै थप बाँच्न प्रेरणा दिएको छ । नत्र त भन्न सकिन्थेन । तसर्थ यी ‘शिघ्रस्वास्थ्य लाभको शुकामना’ र ‘टेक केयर’ का मायालु कपासजस्ता हलुका शब्दहरुले जीवनभर ऋणी रहने गरी गुण लगाएका छन् मलाई । यसको बदला के दिऊँ हजुरहरुलाई म ?

हजुरहरुले मलाई दिएका शुभकामनाका शब्दका अक्षरहरु नै बदलामा मैले हजुरहरुलाई दिने बिचार गरेको छु । तर सप्पै अक्षर भने म फिर्ता दिँदैन नि फेरि । मलाई पनि हजुरहरुको सदाशयताको अलिकति कमिशन चाहिन्छ । अतः हजुरहरुले मलाई दिएको ‘शिघ्रस्वास्थ्य लाभको शुभकामना’ शब्दबाट केही शब्द र अक्षरका केही मात्रा मेरै भागमा राखेर बाँकि रहेका अक्षर दिन चाहेको छु । ती अक्षर हुन् ‘स्वस्थ लभको कामना’ । म हजुरहरुलाई ‘स्वस्थ लभको कामना’ टक्राउँदछु, स्कारिदिनुस् है ? प्लिज, स्वीकारिदिनू न ।

यहाँसम्म मेरो भावनामा बहकिएर आइपुग्ने हजुरहरुमध्ये थोरै हजुरलाई धेरै अलमल्याउँदिन अब । मैले भन्दै थिएँ मेरो समस्या खासमा लेब्रिन्थाइटिस (Labyrinthitis) भनिने भित्री कान सुन्निएर दुख्ने एक प्रकारको रोगको लक्षणसंग मिल्दोजुल्दो देखियो । विभिन्न अस्पत्तालहरुको दौडधुपबाट यही नै रोग लागेको हुनसक्ने न्यूरोसर्जरबाट जानकारी पनि भयो । हिड्दै गर्दा वा काम गर्दै गर्दा अकस्मात रिङ्टा लागी ५/६ घण्टासम्म ढलाउने र ननस्टप बान्ता हुने रोग । गाडी चढ्दा गतिशिल वातावरणसंग आँखाले सन्तुलन मिलाउन नसकिने । कानको श्रवणशक्ति बन्द हुने । जुनसुकै सानो ठूलो ध्वनिले श्रवणमा चिडचिडाहट (Irritate) उत्पन्न गरिदिने । सानासाना सोचाइहरु घनीभूत भई उपस्थित भइदिने । पूर्णरुपमा सञ्चो हुन दुईतीन महिना लाग्ने ।
दीर्घ तनाव टाउकोको चोटपटक लामो समयसम्मको रुघाखोकी कानमा गम्भीर चोट आदिका कारणले लाग्नसक्ने यो रोगको औषधि भने रोग विशेषको नभई रिङ्टा कम गर्ने र छातिको धड्कन कम गर्ने Stemetil, Strugeon, Menil आदि मात्र हुँदो रहेछ भने फिजियोथेरापी र लामो विश्राम आवश्यक पर्दोरहेछ । यस्तो प्रकारको रोगको शिकार भएको रहेछु म । अहिले हजुरहरुकै शब्दको ओखतिले स्वास्थ्यलाभ गरिरहेको छु ।

रोग जेसुकै भए पनि यस्तो बखतमा प्राप्त हुने सहानुभूतिले रुग्ण व्यक्तिलाई परिपूरक ओखतिको काम गर्दछ । यस बखतका हजुरका सहानुभूतिका शब्दले हजुरलाई हेर्ने दृष्टिकोण नै बदलिदिन्छ । अतः अरुको दुःख र वेदनामा पनि यस्तै शुभकामनाका लयालु शब्दहरु प्रकट गर्ने बानीलाई कायम राखिदिन अनुरोध गर्दै हजुरहरुलाई पनि ‘स्वस्थ लभको कामना’ गर्दछु ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *