सिंगारु गीत
पुरुषः शहर राम्रो मलेशिया धन राम्रो कोरिया
जान्छु अब विदेशतिरै खन्दैन खोरिया
महिलाः घर छाडी परदेश जाने दैव केले बनाई
विधुवाझैँ बस्नु पर्यो, सीन्दुर छँदै मलाई !
पुरुषः दुईचार वर्ष कमाइ गरी सम्पत्ति जोरौँला
पिँजराकी सुवालाई सुनैले मोरौँला ।
महिलाः सुख्ख मिल्ला ज्यान् त बन्ला बाजको मन रुन्न कि
बिग्रे भने जहानबच्चा सिंगारी हुन्न कि
पुरुषः शिरैको शिरफूलदेखि पाउमा लाउने पाउजू
जस्तो भन्छ्यौ त्यै पठाउँला फर्की छिट्टै आउँछु ।
महिलाः सडक पुग्यो घरघरमा गाउँगाउँमा बजार
खोजेपछि यतै मिल्छ रोजगारी हज्जार ।
पुरुषः फोन गरौँला दिनदिनै एसएमएस छिनछिनै
परदेशका वर्षदिन त बित्नेछन् एकछिनै
महिलाः बिजुली छ नेट यहीँ छ मोबाइल हातहातै
किन चाहियो टाढैको सन्देश भएमा साथसाथै ।
पुरुषः शहरको रहनसहन रमाउने सुर्तै हो
नसोचेको खाने भोग्ने देखिने उतै हो ।
महिलाः तातो हावा कानकिरा खाने बाज घुम्ने ठाउँमै छ ।
चीसो पानी शितल हावा आनन्द गाउँमै छ ।
पुरुषः धैर्य गर चारपाँचै वर्ष त्यो इच्छा पुर्याउँला
नोकर राखी हुकुम चलाउने रानीझैँ तुल्याउँला
महिलाः पाटामा तरकारी लाउँला गाईलाई वन धपाउँला
मेलापात संगै जाउँला गिट्टी कुटी खाउँला
पुरुषः साहुको ऋण छिमेकको भाका महिनामै तिरौँला
जे चाहियो खबर गर्नू आइएमइ गरौँला
महिलाः होटल चल्छन् झारपातै बिक्छ यहीँ हुन्छ उत्पति
हुन्न कमाई गाउँमै बसी बोइलर पाल्ने जत्ति
पुरुषः अस्थिरता र अशान्तिले पाएन निकास
उद्योगधन्धा केही चल्दैनन् बिनासै बिनास
महिलाः राजनीति र संविधानले पाउँदैछ निकास
उहिलेको नेपाल हो र हुँदैछ विकास
पुरुषः आफ्नै घर आफ्नै जग्गा आफ्नै छन् बलबुता
तिम्ले गर्दा दोमन भयो यता जाउँ कि उता
महिलाः घर परिवार छँदाछँदै कंगालीका भेष,
साँच्चै मन विग्रेइको भए गैजाउ परदेश ।
पुरुषः नजान्नेले उइलाई भन्छु कंगालीका भेष,
साँच्चै मन सुध्रिगो मेरो जान्न परदेश।