सम्पूर्णता प्राप्त गर्ने युक्ति
- ब्रह्माकुमार जगदीश चन्द्र
धेरैजसो मान्छेहरु प्रायजसो भन्छन् कि हामीलाई बाबाको निरन्तर याद रहँदैन । ईश्वरीय जीवनमा यादको ठूलो महत्त्व छ । चल्दा, फिर्दा, उठदा, बस्दा शिव बाबाको यादमा रहनुपर्छ । यादको यात्रा कहिल्यै रोक्नु हुँदैन । तब त गन्तव्यमा (मंजिलमा) पुगिन्छ । जस्तो भक्तिमार्गमा भनिन्छ कि मन यताउता लागिरहन्छ । हामी त ज्ञानमार्गमा छौँ, हामीले यसो भन्नु हुँदैन । बाबाले भन्नुहुन्छ, यादको लागि आधार स्मृति हो । स्मृतिको सम्बन्ध संगतसंग हुन्छ । कसरी ? जो जस्तो कार्य गर्दछ, जसको संगतमा छ उसलाई उसैको याद आउँछ । एक उदाहरण दिने गरिन्छ, एउटा व्यक्ति कपडा दोकान गर्ने गर्थ्यो । उसको नाम लल्लु लाल थियो । रातको निद्रामा सपना देख्यो कि कुनै ग्राहक आइरहेको छ । उसले ग्राहकलाई विभिन्न प्रकारको कपडा देखाउँदैछ । तिनीहरुमध्ये ग्राहकलाई एउटा कपडा मन परेकोले चार मिटर माग्यो । लल्लुले कपडाको भाउ मिलायो र उसले जुन च्यादर ओढेको थियो, उसैलाई च्यातेर दिन थाल्यो । संगैको खाटमा उसकी आमा सुतेकी थिइन्, उनले यो कुरा देखिन् र भनिन्, ‘लल्लु, तैँले यो के गर्दैछस् ? च्यादर किन च्यातिरहेको छस् ?’ लल्लुले आधा निदमै भन्न थाल्योः ‘आमा मेरा ग्राहक आएका छन्, उनलाई कपडा दिइरहेको छु । मेरो काममा बाधा नगर्नुस् आमा ।’ सारा दिन कपडा बेच्ने, ग्राहकलाई कपडा देखाउने, भाउ मिलाउने, कपडा च्यात्दै दिँदै गर्ने – उसको नित्य कर्म थियो । यसै कुरा उसले सपनामा पनि गरिरहेको थियो । जागृत अवस्थाको त कुरै छोड्दिनोस्, सपनामा पनि यही सोच्थ्यो, यही बोल्थ्यो र यही गर्थ्यो । त्यो व्यक्तिमा यही धुन सवार हुन्थ्यो कि धेरै भन्दा धेरै कपडा बेचूँ, धेरै भन्दा धेरै कमाइ गरुँ, ऊ सँधै यही लगनमा रहन्छ । जसको जुन लगन छ, जो धन्धा छ, जो सम्पर्क छ, जो लक्ष्य छ त्यही नै उसको स्मृतिमा आउँछ । यस प्रकार स्मृति यिनै चार कुरामा आधारित हुन्छ । जता लगन हुन्छ, उतै मन हुन्छ । लगनमा मग्न हुनु नै योग हो । बाबा भन्नुहुन्छः हाम्रो लक्ष्य हो बाबाको लगनमा मग्न हुनु ।
बाबा भन्नुहुन्छः बच्चाहरु हो, तिमीहरु ब्राह्मण हौ । ब्राह्मणको लक्ष्य के हो ? सम्पूर्णताको प्राप्त गर्ने । हरेक ब्राह्मणको लक्ष्य हो सूर्यवंशी बन्ने । सम्पूर्ण अर्थात सम्पूर्ण पवित्र । सम्पूर्ण पवित्र अर्थात सूर्यवंशी १६ कला सम्पूर्ण । कसैले पनि चाहँदैनन् कि म चन्द्रवंशी बनूँ, १४ कलावाला बनूँ । क्षेत्रीय भनेको मनोविकारहरुसंग युद्ध गर्दागर्दै शरीर छोड्नेवाला । चन्द्रवंशी भनेको सम्पूर्ण नबनेरै शरीर छोड्नेवाला । ब्राह्मण भनेको सबै ईश्वरीय नियमहरुको जीवनमा धारण गरेर सम्पूर्ण पवित्र बनेर देवदूत (फरिश्ता) बन्नेवाला । ब्राह्मण नै फरिश्ता, फरिश्ता नै ब्राह्मण । यो नै सम्पूर्णताको अवस्था हो । तसर्थ हाम्रो लक्ष्य के भयो ? परफेक्शन, सम्पूर्णता । आजकाल विजनेशवाला, इन्डस्ट्रिजवाला भन्छन्, ‘हरेक क्षेत्रमा परफेक्सनको खाँचो छ । Qualitative अर्थात गुणवेत्ता हुनुपर्ने खाँचा छ ।’ लक्ष्य नै हो – पर्फेक्शन । परफेक्शन कसरी प्राप्त हुन्छ ? यसको लागि पहिले चाहियो- कलेक्शन । कलेक्शन अर्थात संग्रह गर्नु एकत्रित गर्नु । के एकत्रित गर्ने ? ज्ञानको प्वाइन्ट एकत्रित गर्ने । ज्ञान नै हाम्रो धन हो । बाबा भन्नुहुन्छः जति तिमी आफ्नो बुद्धिरुपी भण्डारमा ज्ञानरत्न एकत्रित गर्छौ, सत्ययुगमा तिम्रो महलमा उति नै हीरामोती जडित हुनेछ । यो ज्ञानधन हो, यसलाई संकलन गर्नुपर्छ । दुनियाँमा मान्छेहरु अरु अरु चिज संकलन गर्नमै व्यस्त छन् । सलाईका खाली बट्टा पनि संकलन गर्दछन्, चुरोटका ठुटाहरु समेत संकलन गर्दछन् । यसो गरेमा उनीहरुको नाम गिनिज बुकमा आउँछ । तपाईँ ज्ञानको रत्न संकलन गर्नुहोस् र गुण संकलन गर्नुहोस् । तपाईँको कुनै चिज संकलन गर्ने शोख छ भने अविनाशी चिज संकलन गर्नुहोस् । ज्ञानरत्न संकलन गर्नुहोस् । गुण संकलन गर्नुहोस् । सबैको सेवा गरेर आशिर्वाद संकलन गर्नुहोस् । जति सेवा गर्नुहुन्छ, जति अरुलाई सुख दिनुहुन्छ, उति नै आशिर्वाद प्राप्त हुन्छ । आज सबको मन दुःखी छ, अशान्त छ । घरघरमा झगडा छ, अशान्ति फैलिएको छ । उनलाई ज्ञान सुनाएर उनको जीवनमा शान्ति सुख उत्पन्न गर्नुहोस्, बाबाको बच्चा निर्माण गर्नुभयो भने उनीहरुबाट तपाईँलाई आशिर्वाद मिल्नेछ । यो आशिर्वाद पनि संकलन गर्नुहोस्, किनकि ज्ञानरत्न, दैवीगुण र आशिर्वाद ईश्वरीय कमाइ हुन्, यो तपाईँकै साथ जानेछ । यस प्रकार ज्ञानधन संकलन गर्नुहोस्, दैवीगुण संकलन गर्नुहोस्, सेवा गरेर आशिर्वाद संकलन गर्नुहोस् र योग गरेर बल संकलन गर्नुहोस् । आत्मा खाली भइसकेको छ, जसरी कि कारमा पेट्रोल खाली भयो भने त्यो चल्न बन्द हुन्छ, ब्याट्री डिस्चार्ज हुन्छ । अतः आत्माको लागि योगबल संकलन गर्नुहोस् । यही नै कलेक्शन हो ।
दोस्रो हो – करेक्सन । उल्लिखित कुराहरु संकलन गरेर आफूमा जुन कमी कमजोरी देखिन्छ, त्यसको करेक्शन गर्नुहोस् । करेक्सन गर्नुको अर्थ यो हो कि एकपटक भूल भयो भने दोस्रो पटक भूल हुन नदिने । यदि तपाईँले एउटै गल्तीलाई करेक्शन गर्नमै सारा जीवन व्यतित गरिदिनुभयो भने यो जीवन नै कति समय रहला र ? समय कति बाँकी छ ? फेरि हामी समयमै मंजिलमा पुग्न नसकौँला । करेक्शन गरिहाल्नुस्, समय गइरहेको छ, यो श्वासको कुनै भरोसा छैन । शिव बाबाबाट यति उच्च, अनमोल र शक्तिशाली ज्ञान मिलेको छ । करेक्शन गर्नुहोस् र त्यसपछि कनेक्शन गरिहाल्नुस् ।
तेस्रो हो – कनेक्शन । जब शिव बाबासंगको कनेक्शन टुट्नेछ, यी सारा विकारहरु फेरि आइहाल्छन् । यी कमीकमजोरी किन आउँछन् ? किनकि लाइट हाउस र माइट हाउस शिव बाबासंग कनेक्शन कमजोर भएर टुट्न सक्छ र यी सबै विकारहरु फेरि आउन सक्छन् । या शिव बाबासंग या दैवी परिवारसंग कनेक्शन कम हुन जान्छन् । क्लासमा आएर मात्र हुँदैन, कार्यक्रममा भाग लिएर मात्र हुँदैन, संगठनमा लागेर मात्र हुँदैन । बाहिरी मान्छेहरुसंग ज्यादा संगत गरेर, व्यर्थ गफ गरेर समय बिताइरहेको भए पनि कमी, कमजोरी तथा माया आउन सक्छ । उताको स्मृति बारबार आइरहन्छ । दैवी परिवारसंग पनि र संगठनको पनि बल मिल्छ, यसैकारण यो कनेक्शन पनि ठीक्क राख्नुपर्छ । बाहिरका मान्छेहरु जोसंग आफ्नो व्यवहार छ, व्यापार छ, नोकरी छ, लेनदेन छ, नातासम्बन्ध छ, उनको साथ पनि आफ्नो कनेक्शन ठीक्क राख्नुपर्छ । उनीहरुको साथ हाम्रो वाणी, कर्म, सम्बन्ध, सम्पर्क कस्तो छ ? मर्यादायुक्त र नियमयुक्त हुनुपर्छ । बाबाले बताउनुभए जस्तै असूल? मुताविक होओस् । यसको अलावा आफ्नो कनेक्शन आफैसंग पनि ठीक राख्नुपर्छ । कहिलेकाहीँ आफ्नो कनेक्शन आफैसंग पनि खराब भएको हुन्छ । कसरी ? हाम्रो एउटा आदि स्वरुप र अर्को अनादि स्वरुप छ । हाम्रो कनेक्शन यी दुवैसंग हुनुपर्छ । यदि हाम्रो कनेक्शन द्वापर स्वरुप वा कलियुगी स्वरुप भयो भने त गडबड हुन सक्छ । यसको लागि आफ्नो कनेक्शन आफ्नो मूल स्वरुप अर्थात आदि स्वरुपसंग हुनुपर्छ न कि मध्यम वा अन्तिम स्वरुपसंग । कलेक्शन, करेक्शन र कनेक्शन यी तीनैसंग ठीक्क राखे के मिल्छ ? परफेक्शन । यस प्रकार सम्पूर्णताको स्टेज प्राप्त हुन्छ । बाबाले युक्ति बताइदिनुभएको छ । बाबा भन्नुहुन्छ, युक्तिबाटै मुक्ति मिल्छ । यो युक्ति कलेक्शन, करेक्शन र कनेक्शन अपनाएमा विकारहरुबाट कमीकमजोरीहरुबाट र खराब कुराहरुबाट मुक्ति मिल्छ ।
हाम्रो सबैप्रति शुभ-भावना र शुभकामना हुनु आवश्यक छ कि यसको भलो होस्, यसको कल्याण होस् भनेर । मान्छेहरु त नारा लगाउँछन् कि प्राणीहरुको कल्याण होस्, भला होस् भनेर, हाम्रो मनको भित्रैबाट हरेक प्रति यस्तो शुभ-भावना हुनुपर्छ । यदि कसैसंग कुरा गर्नुछ भने पोजिटिभ कुरा गरौँ । सामुन्ने वालाले नेगेटिभ कुरा गरेको छ भने पनि उसलाई बदलेर हामीले पोजिटिभमा ल्याऔँ । पोजिटिभमा ल्याउँदा हामी आफ्नो अन्तस्करणको गहिराइबाटै उसप्रति यस्तो सोचौँ कि यस व्यक्ति पनि कुनै तरिकाबाट बाबाको बनोस्, उसको कुनै तरिकाबाट कल्याण होस्, यो पनि राम्रो बाटोमा लागोस्, यो पनि हाम्रो जस्तै सतयुगी राज्यको हकदार बनोस् । यस्तो भावना नभएर हामीले कुनै नै कुनै तरीकाबाट घृणा गरिरहने, यो व्यक्ति ठीक होइन खराब हो, यो कहिल्यै बदलिन सक्दैन, योबाट टाढै रहनु राम्रो हो भन्ने सोच्यौँ भने त्यस व्यक्ति झनै टाढिन सक्छ । हामीले त यो सोच्नुपर्छ कि यसको कल्याण गर्नु हाम्रो कर्तव्य हो । डाक्टरको काम नै रोगीलाई उपचार गर्नु हो । डाक्टर नै रोगीबाट टाढा रहन खोजेमा उसले आफ्नो कर्तव्य कसरी निभाउन सक्छ ? यसरी नै हामीले त्यस व्यक्तिलाई त्यत्तिकै छाड्यौँ भने उसलाई कल्याण कसले गर्ला ? हामीले आफ्नो पनि कल्याण गर्नुपर्छ र साथीभाइको कल्याण गरेर बाबाको बनाउनु पर्छ । यस प्रकार हामीमा शुभ-भावना भयो भने हाम्रो दृष्टि र वृत्ति ठीक रहन्छ ।
वृत्ति र वातावरणको धेरै हदसम्म कनेक्शन हुन्छ । वातावरण बनाउने हाम्रो आफ्नै काम हो । वातावरणबाटै हाम्रो दृष्टि वृत्ति ठीक हुन्छ र दृष्टि वृत्तिबाट नै वातावरण बन्दछ । कुनै व्यक्तिलाई देख्नेबित्तिकै तपाईँमा कस्तो भावना जागृत हुनुपर्छ ? के यस्तो सोच्नुहुन्छ कि आफ्नै फाइदा होस् ? र आफ्नै स्वार्थ सिद्ध होस् ? यसबाट कुनै आफ्नो काम पट्याइयोस् ? वा यस्तो हुनुपर्छ कि म पनि भगवानकै बच्चा हुँ, यो मेरोमा आयो भने कुनै न कुनै अविनाशी देन दिऊँ, यहाँबाट ऊ खाली हात नजाओस्, यहाँबाट यसले मेरो कुनै चिज लिएरै जाओस् । मुख यसरी खोल्नोस्, दृष्टि यसरी दिनोस् । केही गर्न नसकेमा यस्तो भाइब्रेशन दिनोस् कि, एक किरण यसरी फ्याँक्नोस् कि उसले कुनै चिज लिएरै जाओस् । खाली हात कहिल्यै नपठाउनोस् । तपाईँ त दाताको बच्चा हुनुहुन्छ, खाली हात नपठाउनोस् । कोही घरमा आउँछ, कोही बसमा भेट हुन्छ, कोही ट्राफिकमा भेट हुन्छ भने यस्तो कोशिस गर्नोस् कि उसको कुनै प्राप्ति होस् । यसरी कलेक्शन, करेक्शन कनेक्शनबाट हामीले परफेक्शन पाउन सक्छौँ ।
(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)