सन्जीवलाई शुभकामना पत्र
प्यारो भदाहा सन्जीव,
तिमी आजदेखि विवाह बन्धनमा बाँधिएर दाम्पत्य जीवनको नयाँ अध्याय शुरु गरेको यस सुखद अवसरमा मस्तै बधाई । तिमीहरुको दाम्पत्य जीवन सदा सुखमय रहोस् । तिमीहरुको युगल पाइलाहरु निरन्तर अगाडि बढिरहून् मस्तै मस्तै शुभकामना ।
तिम्रो विवाहोत्सवमा आउनुपर्ने कुनै आवश्यकताभन्दा पनि मेरो पारिवारिक कर्तव्य थियो । कर्तव्यबोध व्यक्तिको अन्तःस्करणबाट उब्जिने कुरा हो कसैले सम्झाउनुपर्ने बुझाउनुपर्ने कुरा नै होइन ।
मान्छे परिवारकै घेराभित्र जन्मन्छ, परिवारकै घेरामा जीवनको विविध भूमिका निभाउँछ र परिवारकै घेराबाट सांसारिक विदा लिन्छ । शाश्वत् जन्म-मृत्यूको बिचमा पर्ने वैवाहिक कार्यक्रमलाई पनि जीव जगतले शाश्वत जैविक क्रियाकलापको नजिक पुर्याएको छ । अतः यी कुराहरु मान्छेका पेशागत क्रियाकलापहरुभन्दा धेरै माथिका कुराहरु हुन् । जीवनको अवधिभर हुने यस्ता सुख, दुःखका संस्कृतिजन्य कार्यक्रमहरुले नै परिवारको महत्त्वबोध गराउँदछन् ।
त्यसैअनुसार हाम्रो पारिवारिक सल्लाहअनुसार काठमाण्डौबाट तिम्रो विवाहोत्सवको कार्यक्रममा म आउने निर्णय भएको थियो । बरु संविधान परिवर्तन गर्न सहज होला तर ड्युटी परिवर्तन कदापि नहुने स्वास्थ्य संस्थाको एक कर्मचारी, एक विद्यार्थी र एक नवजात शिशुकी आमा समेतको भूमिकाहरु एकैपटक निर्वाह गरिरहेकी तिम्री दिदी अस्मिता र उसको बाध्यतामा भरथेग गरिरहेकी तिम्री फुपूको बाध्यता तिमी पनि बुझ्न सक्छौ ।
परिक्षीत त्यतै भएकोले तिम्रो विवाहोत्सवमा दुवै बाबुछोरा उपस्थित हुने पक्कापक्की भैसकेको थियो । त्यसैअनुसार मैले प्लेनको टिकट लिने वा टिकट नपाइएमा गाडीमा भए पनि आउने गरी कार्यक्रम सुनिश्चित् गरिसकेको थिएँ ।
यता भने मेरो अफिसतिर वार्षिक म.ले.प. गराउने सिलसिलामा महालेखा परीक्षक स्वयंको उपस्थितिमा मंशिर पहिलो सातादेखि सचिवस्तरीय तथा विभागस्तरीय भर्चुअल मिटिङहरु नियमित रुपमा धमाधम भैरहेका थिए । महालेखा परीक्षकबाट सचिव तथा विभागी प्रमुखहरुलाई लेखा, सम्बन्धित प्राविधिक एवम् स्टोरका कर्मचारीहरुलाई टेबुलमा स्टाण्डबाइ राख्न बारम्बार निर्देशन आइरहन्थे । मेरो मनमा चिसो पस्थ्योः ‘कहिले मेरो यो अपरिहार्य कार्यक्रम रद्द हुने त होइन ?’आफ्नो मनलाई बुझाउँथेँ, ‘मलेप डोरलाई देखाउनुपर्ने स्रेस्ता तथा कागजपत्रहरु पूर्वतयार छन् । विभागतर्फ आर्थिक कारोबारको दायरा निकै सिमित रहेकोले लेखापरीक्षण गराउन खासै समय लाग्ने होइन । सहयोग गर्ने लेखापाल सीताजी पनि हुँदैहुनुहुन्छ । सीताजी उपस्थित हुन सक्नुभएन भने अन्यत्र कार्यालयहरुको लेखापरीक्षण हुँदाहुदै म बिहेको कार्यक्रममा आइपुगिहाल्छु ।’
संयोग कस्तो पर्यो भने मंशिर १५ गतेदेखि नै म कार्यरत रहेको विभागको लेखापरीक्षण हुने भैदियो । जबकि तिम्रो १६ गतेको विहेमा पुग्नको लागि म १५ गते त रुकुम पुगिसक्नुपर्ने थियो । मैले हत्तपत्त सहायक मित्र सीताजीलाई फोन लगाएँ । उहाँ विश्वव्यापी महामारी कोभिड १९ बाट सक्रिय संक्रमित भई घरमै आइसोलेशनमा हुनुहुन्थ्यो । अपितु रिपोर्ट नेगेटिभ आइसकेकोले मलेप गराउन उपस्थित हुनुहुनेछ भन्ने कुरामा म ढुक्क थिएँ । उहाँले बिछ्यौनाबाट अझै उठ्न नसकेकोले हालसालै अफिसमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभयो । तपाईँ जसरी पनि आउनैपर्छ भन्न मिलेन । म एउटा छाँगाबाट खसेँ ।
उता सल्ले अस्पत्तालका आधाभन्दा बढी कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएकोले परिक्षीत पनि आइसोलेशनमा बस्नुपर्ने अर्को बाध्यता सिर्जना भयो र ऊ पनि तिम्रो वैवाहिक कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारीले म अर्को छाँगाबाट खसेँ । तिम्रो विवाहोत्सवमा सहभागी हुन म मात्रै भए पनि कुनै हालतमा पनि पुग्नुपर्छ भन्ने मानसिक दबाब बढ्न पुग्यो ।
यस विभागको लागि मलेप डोरमा खटिनुभएका मलेपका निर्देशक रमेश नेपालको फोन खोजेर उहाँलाई फोन लगाएँ । मलाई थाहा नै थियो एक स्वतन्त्र संवैधानिक निकायले तय गरिसकेका वार्षिक कार्यक्रमहरु मैले त के नेपाल सरकारले नै अनुरोध गरे पनि परिवर्तन हुनसक्दैनन् । तर नेपाल सरकारभन्दा पनि ठूलो भूमिकामा रहनुभएका नेपाल सरले “त्यति जरुरी काम भए यथाशक्य छिटो फर्कने गरी जानु न त !” भन्दै व्यावहारिकताको नमूना प्रस्तुत गर्दै मलाई विवाहोत्सवमा सहभागी हुन अनुमति दिनुभयो ।
तत्पश्चात् मैले मेरो महानिर्देशकज्यूसँग विदा मागको अनुरोध गर्दा उहाँले मलेप खटिइसकेको अवस्थामा कुनै हालतमा विदा दिन नसकिने आफ्नै बाध्यता तेर्स्याउनुभयो जुन जिम्मेवार पदाधिकारीको हैसियतले अस्वाभाविक निर्णय भने थिएन । म अन्तिम छाङ्गाबाट उठ्नै नसक्ने गरी खसेँ ।
स्वीकृत विदाबिना र अझ ‘नजा !’ भन्दा भन्दै एकजना कारिन्दा कर्मचारी कार्यालयमा लामो अवधिको लागि अनुपस्थित हुनसक्दैन भन्ने कुरा तिमी पनि कर्मचारी भएकोले राम्रोसँग बुझ्न सक्छौ । हुन त जीवनका अपरिहार्य साँस्कृतिक अनुष्ठानका पारिवारिक कार्यक्रमहरुको लागि परिवारबाहिरका मान्छेसँग विदाको पूर्व स्वीकृति खोजिरहनु नपर्ने हो तर पनि म कर्तव्यबोधको बलियो जन्जिरमा बाँधिन पुगेँ र तिम्रो विवाहोत्सवमा पुग्ने मेरा सबै कार्यक्रमहरु रद्द गर्न पुगेँ ।
प्यारा भदाहा भदैनी,
तसर्थ तिम्रो जीवनको सबैभन्दा ठूलो खुशीको पलमा पनि बधाई एवम् शुभकामना दिने कार्यक्रममा तिम्रो आफ्नै फुपाजु सहभागी हुन सकेन भन्नुपर्दा लज्जाबोध भैरहेको छ ।
लगभग यस्तै परिस्थितजन्य घटना यस अघि पनि मैले बेहोरिसकेको छु ।
२०६८ सालको असारको अन्तिम साता । म सूचना आयोगमा लेखा जागिरेको भूमिका निभाइरहेको थिएँ । यसै बखत मेरो भान्जा उज्ज्वल भण्डारी जन्डिस रोगले ग्रस्त भई नर्भिक अस्पत्तालको शैयामा थियो । विभिन्न अस्पत्तालहरु (सानोठिमी, गठ्ठाघर, लोकन्थली आदिमा) गरिएको उपचारबाट उज्ज्वलको स्वास्थ्यमा खासै सुधार नआएकोले नर्भिक अस्पत्तालमा भर्ना गरिएको थियो ।
उतिबेला बहिनी निशा र जुवाइँ जनकको पराइस्थलको एक मात्र पारिवारिक सहारा म नै थिएँ । आफ्नो बच्चाको स्वास्थ्यमा कुनै उपचारले पनि सुधार नहुँदा उनीहरुको दिलदुखाइ भनिसाध्य थिएन । उनीहरुलाई आफन्तहरुको आडभरोसा र शान्त्वना चाहिने त्यतिबेलै थियो । तत्कालीन शिक्षा सचिव दिपेन्द्र विक्रम थापाज्यू लगायतले परिवारतुल्य भूमिका निभाएर अस्पत्तालमा धाइरहेको हुनुहुन्थ्यो । तर म भने असार महिनाको सालतमामीको खाताबन्दीमा लाग्नुपर्ने बाध्यता थियो र उनीहरुलाई मलहम लगाउनको लागि अस्पत्तालको बेन्चमा सन्तानको स्वास्थ्यलाभको लागि अलापविलाप गरिरहेकी सहोदर बहिनीसमक्ष स्वयं उपस्थित हुन सकिरहेको थिइनँ ।
अस्पत्तालमा समय दिँदा अफिसका सञ्चालन भइसकेका कार्यक्रमहरुको भुक्तानी हुन सक्दैनथ्यो । किनकि अफिसमा लेखाको कर्मचारी मबाहेक अर्को विकल्प थिएन । भान्जाको दयनीय अवस्था बुझ्नुको सट्टा आफ्नो जागिरे बाध्यता बहिनीलाई कसरी बुझाऊँ भन्नेमै म छटपटाउनुपर्ने विडम्वनापूर्ण स्थिति उत्पन्न भएको थियो । झुलुक्क अस्पत्तालमा झुल्किए पनि हत्तपत्त चारचिरा परेको छातीलाई अफिसमा पुगेर आफ्नो जागिरे कर्तव्यले सुमसुम्याउँथेँ । त्यतिबेला मैले करिब एकहप्ता नसुतेरै काँडातुल्य कष्टसाध्य दिनरात कटाउनुपरेको थियो ।
नर्भिक अस्पत्तालमा पनि उपचार हुन नसकेपछि भान्जालाई अन्तर्राष्ट्रिय बाल अस्पत्ताल महाराजगन्जले सन्चो गरायो । मेरो खुशीको सीमा नै रहेन । टुक्रिएका मनहरु बिस्तारै जोडिँदै गए ।
यस्तै २०७५ असारमा पनि आफ्नी धर्मपत्नी पाटन अस्पत्तालको शैयामा छटपटाइरहेकी थिइन् भने म भने खाताबन्दीको काममा व्यस्त हुनुपरेको थियो ।यस्ता विडम्वनापूर्ण परिस्थितिजन्य घटनाहरु मैले मात्र होइन मजस्ता धेरै मित्रहरुले भोग्नुपरिरहेको हुन्छ ।
यस्ताखालका नितान्त व्यक्तिगत जागिरे बाध्यताहरुमा म अरु कसैलाई दोष दिन चाहन्नँ । लेखाको कर्मचारी हुनुको नाताले भोग्नुपरेका वा भोग्नुपर्ने कष्टहरु हुन् यी । लेखाको कर्मचारीको लागि सालतमामी र लेखापरीक्षण त ठूला गौँराहरु नै हुन् । जतिसुकै नियमसम्मत र सुव्यवस्थित रुपमा कामहरु सम्पादन गरे पनि यी गौँराहरुको त्रासले नहल्लाई छोड्दैन ।
जागिरको हात नचुठेसम्म यी गौँराहरुलाई कुनै हालतमा पन्छाउन सकिँदैन र मिल्दैन भन्ने कुरा तिमीले बुझ्ने नै छौ ।
तिमी दुवै जनालाई पुनः मस्तै बधाइ र शुभकामना ।